पूर्वमा खुल्लादिसामुक्त अभियान बामे सर्दै

पञ्चवर्षीय गुरुयोजना : चारवर्ष बितिसक्दा पनि ६० प्रतिशतमै सीमित 
  • देबराज पुमा राई,  मौवाबोटे, पुस ११ । 
नागरिक स्वस्थ्यका लागि सरकारी लक्ष्य ‘सन् २०१७ भित्रै पूर्वाञ्चलका सबै घरमा शौचालय’को अभियानले गति नलिएपछि अपूरो रहने आँकडा देखिएको छ । तोकिएकै अवधिभित्र खुल्लादिसामुक्त (खुदिमु) गरिसक्ने प्रतिबद्वता जनाउने पूर्वका बिभिन्न १६ वटै जिल्लाका खानेपानी स्वच्छता तथा सरसफाई समन्वय समिति (जेवाससीसी), नियामक क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयलगायत सरोकारवालाहरुले कामको गतिमा गरेको बेवास्ताका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

सन् २०१२ देखि सुरु खुला दिसामुक्त क्षेत्र निर्माण अभियानको प्रगति ४ बर्ष बितिसक्दा पनि ६० प्रतिशत भन्दा माथि जान नसकेको बिभिन्न आँकडाहरुले देखाएका छन् । 
वातावरण सरसफाई तथा नागरिक स्वास्थ्यका लागि विशेष पाँच बर्षे सरसफाई गुरुयोजना तय भएको थियो । पूर्वाञ्चल क्षेत्रीय अनुगमन तथा सुपरीबेक्षण कार्यालय धनकुटाबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन् २०१२ देखि सुरु खुला दिसामुक्त क्षेत्र निर्माण अभियानको प्रगति ४ बर्ष बितिसक्दा पनि ६० प्रतिशत भन्दा माथि जान नसकेको बिभिन्न आँकडाहरुले देखाएका छन् । सुरुवातदेखि हालसम्म पूर्वका १६ मध्ये धनकुटा, इलाम र पाँचथर गरी जम्मा तीन जिल्लाले मात्रै खुदिमु घोषित गरेका छन् ।

त्यस्तै यसैवर्ष अर्थात सन् २०१५ को डिसेम्बरभित्र शौचालय बनाइ सक्नेगरी प्रतिज्ञा सम्झौतामा हस्ताक्षर गर्ने उदयपुर, सुनसरी, ताप्लेजुङ, सोलुखुम्वु, झापा, भोजपुर र मोरङले पनि बाचा अनुसारको काम गर्न नसक्दा थप अन्यौलता बढेको छ । यता लगातारको बन्द र आन्दोलन, हड्तालका कारण तराई क्षेत्रको सिराह, सुनसरी र सप्तरीमा सौचालय निर्माणको काम २० प्रतिशतको हाराहारीमै सीमित रहेको सुपरीबेक्षण कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर देवकान्द चौधरीका अनुसार लगातारको बन्दका कारण निर्माण सामग्री अभावले गर्दा कतिपय तराईका जिल्लाहरुमा खुदिमु अभियानले तीब्रता पाउन सकेको छैन भने पहाडी जिल्लाहरुमा पनि लक्ष्यअनुसारको काम हुन सकिरहेको छैन् ।

प्रकाशित मिति: Sunday, December 27, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।