विवादास्पद अमेरिकी उडानको चीनद्वारा आलोचना

२०७२ पुस ५ । अमेरिकाले साउथ चाइना समुद्रस्थित निर्माणाधीन स्पार्टली टापुमाथि बी–५२ बम वर्षक विमान घुमाएर ‘गम्भीर भड्काउ’ ल्याउन खोजेको चीनले आरोप लगाएको छ । 

डिसेम्बर १० को उक्त घटनाका बेला चिनियाँ सेनालाई उक्त क्षेत्रमा उच्च सतर्कतामा राखिएको थियो । साथै उक्त विमानलाई त्यहाँबाट जान पनि चेतावनी दिइएको थियो । पेन्टागनले चीनको उक्त गुनासोमाथि छानविन भइरहेको जनाएको छ । साउथ चाइना समुद्रको ठूला खण्डमा चीनले स्वामित्व दाबी गर्दै आएको छ । जब कि त्यसमा अन्य छिमेकी मुलुकले समेत दाबी गर्दा विवाद हुँदै आएको हो । गत अक्टोबरमा पनि अमेरिकाले यस्तै काम गरेको चीनको आरोप छ । 
शनिबार चीनको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अमेरिकाले जानजान टापु क्षेत्रमा युद्धक विमान घुमाएर क्षेत्रीय तनाव बढाउन खोजेको आरोप लगाएको छ । वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार दुइटा बी–५२ विमानले समुद्र क्षेत्रमा चक्कर मारिरहँदा एउटा चाहिँ खराब मौसमका कारण बाध्य भएर उक्त टापुको नजिक पुगेको हो । चीनले त्यस्तो उडानबाट गम्भीर सैन्य भड्काउ निम्त्याउने र त्यसले साउथ चाइना समुद्र क्षेत्रमा जटिल सैन्यकरणको अवस्थालाई बढाउने उल्लेख गरेको छ । (कान्तिपुरबाट)

प्रकाशित मिति: Sunday, December 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।