डा.अयोधीप्रसाद यादव प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

२०७२ मंसिर २३ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा. अयोधीप्रसाद यादवलाई नियुक्त गर्न सिफारिस गरेको छ।

परिषद्को मंगलबार अपरान्ह सिंहदरबारमा बसेको दुई घण्टा लामो बैठकले डा. यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो। डा. यादव हाल आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त छन्। संवैधानिक परिषद्ले एकीकृत नेकपा माओवादीको सिफारिसमा डा. यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो। परिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्तको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

डा. यादव यसअघि २०६३ सालको पुस २७ गते एमाओवादीकै सिफारिसमा आयोगमा निर्वाचन आयुक्त नियुक्त भएका थिए। ६ वर्षे कार्यकाल पूरा गरेका डा. यादवलाई सरकारले २०६९ सालमा दोस्रो कार्यकालका लागि पनि निर्वाचन आयुक्तमा नियुक्त गरेको थियो। 

स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा गोल्ड मेडल हात पारेका सप्तरीका डा. यादवले २४ वर्षसम्म प्राध्यापन गरेका थिए।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तहरुको नाम भने सिफारिस गरेको छैन। आयोगमा अहिले २ जना आयुक्तको पद रिक्त रहेकामा डा. यादव प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएपछि तीन जना आयुक्तको पद खालि हुने छ । (सेतोपाटीबाट)

प्रकाशित मिति: Wednesday, December 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।