बिमा रकम असुल्न बसमालिक आफै बस जलाउँछन्

२०७२ पुस ६ । तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफैं आगजनी गर्न थालेका छन्। 

आन्दोलनकारीले बसमा आगो लगाएको जस्तो देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफैं बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।रौतहटको चन्द्रपुर-८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैंले आगजनी गरेर फरार भएको प्रहरीले जनायो। 

यस्तै घटना दुई साताअघि बाराको निजगढ-पथलैया सडक खण्डमा पनि भएको थियो। मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौंडा चल्ने ना४ख ३२१६ नम्बरको बसमा आगजनी भएको थियो।
 
प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बिमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए।बसमा आगो लगाउने बसका चालक ३० वर्षीय राजीव लामालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ।

मधेसमा आन्दोलन चलिरहेका बेला त्यसको फाइदा उठाएर मालिकले नै बस जलाएको खुलासा भएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ। यस्तै घटना आइतबार रौतहटमा भएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

काठमाडौंबाट झापा जाँदै गरेको ना४ख ५१० नम्बरको मितेरी यातायातको बस बन्दको समयमा इन्धन बोक्न प्रयोग हुँदै आएको थियो। काठमाडौं इन्धन पुर्‍याएर यात्रु नबोकी झापा फर्कंदै गर्दा बिहान करिब ४ बजेतिर बसमा आगजनी भएको थियो। 

आगजनीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।मंगलपुर गाउँनजिकै आगजनी हुँदासमेत बसका कर्मचारीले स्थानीय बासिन्दा र नजिकै रहेको प्रहरीलाई खबर नगर्नुले घटना शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बसका चालक र सहयोगी बसमा आगजनी भएपछि सम्पर्कमा छैनन्। मितेरी यातायात प्रालिका एकजना लगानीकर्ता शेखर गुरागाईंले बसमा आगजनी भएको खबर पाएको र कर्मचारी सम्पर्कमा नआएको टेलिफोन सम्पर्कमा बताए।

बस आबद्ध रहेको युनाइटेड नेपाल प्रालि भलाइ कोषका अध्यक्ष राजेन्द्र तिवारीले बिमा रकम लिनका लागि बसमा आगजनी नभई मालिक र कर्मचारीबीचको विवादले आगजनी गरेको हुनसक्ने आशंका व्यक्त गरे। तिवारीले भने, ‘घटना शंकास्पद रहेकाले बस कम्पनीका मालिकसँग कुरा गरेर वास्तविकता बुझ्ने प्रयास भइरहेको छ।'

बस पुरानो हुँदै गएपछि बिक्री गर्दा कम मूल्य आउने, पुरानो बसमा यात्रुसमेत नचढ्ने भएकाले आन्दोलनका बेला आगजनी गर्ने र बिमा रकम दाबी गर्ने गरेको प्रहरी अनुमान छ। फरार रहेका बसका चालक र कन्डेक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी मनोजकुमार यादवले बसमा आन्दोलनकारीले नभई बसका कर्मचारीले नै आगजनी गरेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।   (अन्नपूर्णपोष्टबाट) 

प्रकाशित मिति: Monday, December 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।