पुमा भाषाको पहिलो पीएचडी
- परशु तिमल्सिना
भाषा संरक्षणको महत्व बुझेका डा. नारायण प्रसाद शर्मा नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण र अनुसन्धानको क्षेत्रमा विज्ञको रुपमा उदाएका छन्।
डा. शर्माले 'थकाली भाषाको उपवाक्यको संरचना' शिर्षकमा भाषाविज्ञान स्नातोकोत्तर तहमा सोधपत्र, थकाली भाषाकै नामपद बनोटको विषयमा अंग्रेजी स्नातोकोत्तर तहमा अर्को सोधपत्र, गुरुङ–नेपाली–अंग्रेजी शब्दकोष तयार पार्ने काम, छिन्ताङ र पुमा भाषाको अभिलेखिकरण परियोजनामा सोही भाषाको श्रब्य–दृश्य निर्माण, अनुवाद, शब्दकोष निर्माण र व्याकरण तयार पार्ने जस्ता अत्यन्त सम्वेदनशील र महत्वपूर्ण काम गरेर लोपोन्मुख अवस्थामा रहेका भाषाको संरक्षणमा महत्वपूर्ण योगदान दिन शुरु गरिसकेका छन्।
पर्वतको राम्जा गाउँमा जन्मिएका डा. शर्माको बाल्यकाल गाउँका गुरुङ साथीहरुसंग बित्यो। संगतकै प्रभावले गुरुङ भाषामा दोहोरो कुरा गर्न सक्ने भए। अध्ययनको सिलसिलामा थकालीको छेउमा बस्न पुगे अनि गुरुङ र थकाली भाषामा के फरक रहेछ भनेर जान्ने चासो बढ्यो। आफूले बोल्ने बाहेक अरु भाषाको बारेमा बुझ्ने जिज्ञासाले उनलाई त्रिविवि अन्तर्गत भाषा विज्ञान विभागको विद्यार्थी बनायो र अध्ययन पश्चात त्यहीँको प्राध्यापक पनि।
अध्ययन र शोध पत्रको लागि नेपालका लोपोन्मुख भाषाहरुको अनुसन्धान गर्ने कामको साथै यस्ता भाषाको विषयमा अनुसन्धान सहायककोरुपमा समेत काम गरिसकेका छन् डा. शर्माले। जर्मनीको लाईप्जिग विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको 'छिन्ताङ र पुमा भाषा अभिलेखीकरण परियोजना' मा ५ वर्षभन्दा बढी कामको अनुभव संगालेका छन्।
नेपाली भाषाको शब्दहरुसँग हुर्केको नारायणको जिब्रोले गुरुङ, थकाली, र राई (किराँतीहरुले बोल्ने) भाषाहरुमा राम्रोसँग खेल्न सक्यो। हुर्केको भन्दा खेलेको भाषाको संरक्षणमा दिमागलाई परिचालन गर्न थाले। विदेशमा पुग्दा पनि उनले आफ्नो हुर्काइसँगै सिकेका भाषाको संरक्षणमा नै काम गरे। अष्ट्रियाको भियना विश्वविद्यालयमा अनुसन्धानकर्ताको रुपमा काम गर्दा उनले राई–किराँती भाषाहरुको समूहमा बोलिनेे पुमा भाषाको सांस्कृतिक पक्षको अनुसन्धानमा लागे।
खोटाङका पाँच वटा गाविसका करिब ४००० जनसङ्ख्याले बोल्ने पुमा भाषामा नै उनले आफ्नो अध्ययनको समय खर्चेका छन्। यही भाषाको संरक्षणका लागि उनले अभिलेखीकरण गर्ने, शब्दकोष निर्माण गर्ने, व्याकरण तयार पार्ने जस्ता कामहरु गरेका छन् र आफ्ना अध्ययनका ज्ञानलाई विश्वका अन्य भाषाविज्ञहरुको बीचमा पुर्याउने काम गरेका छन्।
बेलायत, युरोप, अमेरिका, जापान, सिंगापुर जस्ता देशहरुमा कार्यपत्र प्रस्तुत गर्ने र मुख्य वक्ताका रुपमा नेपालका पुमाजस्ता थोरै जनसंख्याले बोल्ने भाषाहरुको विषयलाई अन्तराष्ट्रिय भाषा विज्ञहरुको ध्यान आकर्षण गर्न सफल भएका छन्।
यहि सिलसिलामा 'मोर्फो सिन्ट्याक्स अफ पुमा, अ टिबेटो वर्मन ल्याङ्गवेज अफ नेपाल' नामक सोधपत्र तयार गरि लण्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (एसओएएस) बाट विद्यावारिधि उपाधी हासिल गरे।
नेपालमा राजनीतिमा जातजाती र भाषा भाषिको विषयले प्रवेश त पायो तर राष्ट्रिय जनगणनाबाट भेटिएका भाषाहरुको संख्या गन्ने बाहेक तिनीहरुको संरक्षणमा कतैबाट पनि पाइला चालेको देखिँदैन।
'नेपाली, मैथली, भोजपुरी जस्ता अलि बढी जनसंख्याले बोल्ने भाषा बाहेक नेपालमा बोलिने अधिकाँश भाषाहरु लोपोन्मुख अवस्थामा छन्। मातृभाषामा प्राथमिक शिक्षा प्रदान गर्ने सरकारको नीति छ, तर ती भाषाहरुको संरक्षण, अनुसन्धान र अभिलेखिकरण भएका छैनन्। यदि यस तर्फ पहल नगर्ने हो भने आउँदा केहि दशक भित्रै नेपालमा बोलिने भाषाको संख्या अहिलेको भन्दा आधा घट्ने देखिन्छ।' डा. शर्माको ठम्याई छ।
आफ्नो अध्ययन र अनुसन्धानबाट सिकेको आधारमा भाषा संरक्षणको महत्व र तरिकाको बारेमा उनीसँग धेरै ज्ञान छ। विश्वका भाषा अध्ययनमा प्रयोग गरिने प्रविधि देखि तरिकासम्मको ज्ञान बोकेका नेपालका महत्वपूर्ण सम्पत्ति डा. शर्मा यी भाषाहरु प्रति सम्वन्धित निकायहरुले आँखा चिम्लेको देखेर दुखी छन्।
उनी भन्छन, 'नेपालभित्र बोलिने भाषाको संख्या सिंगो युरोप महादेशभरि बोलिने भाषाका संख्या भन्दा बढी छ। तर जबजब आधुनिकता र विकासले प्रवेश पाउँछ, तब ती सानो संख्यामा बोलिने भाषाहरु मूलधारको भाषाद्धारा क्रमशः विस्थापित हुँदै जान्छन् अनि कालान्तरमा पूर्ण लोप हुन्छन्। यहि कारणले नेपाली भाषा तथा संस्कृतिलाइ पनि अबको तीन चार दशक भित्रमा खतराको घण्टी बज्न शुरु हुन्छ।'
'पुमा भाषा बोलिने क्षेत्र चाम्लिङ र बान्तवा भाषा बोलिने क्षेत्रको बीचमा पर्दछ। यी दुई भाषा सङ्ख्याको हिसाबले बलिया छन्। पुमा भाषा बोल्नेहरुले जीवनयापनका लागि पनि यी दुई भाषा सिक्नै पर्ने हुन्छ। राष्ट्र भाषा त जान्नु पर्ने नै भयो। साथमा अन्तराष्ट्रिय भाषाको प्रभाव पनि पर्छ नै। मातृभाषालाई घर भित्रमात्र बोलेर अन्य भाषाहरुमा नै बढी ध्यान दिनु पर्ने बाध्यता नयाँ पुस्तालाई छ। यदि यो भाषालाई अहिले नै संरक्षण नगर्ने हो भने अबको तेश्रो पुस्तामा पुग्दा पुमा भाषा बोल्ने मानिस नै भेट्टाउन गार्हो हुन्छ।'
संरक्षणको उपाय पनि उनीसँग छ। 'भाषाको भौतिक स्वरुपलाई बचाउन लोपोन्मुखको खतरामा रहेका भाषाहरुको श्रव्य, दृश्य, लेखन अभिलेख तयार गरिनुपर्छ। तिनै अभिलेखको आधारमा विद्यालयस्तरका पाठ्यपुस्तकहरु तयार गर्दा आधिकारिक हुन्छ।सबै भाषाहरुको यसरी एक तहको अभिलेखिकरण तयार भएपछि अन्य पक्षमा तिनको अनुसन्धान गर्नु पर्दछ। यसको लागि सरकारको सम्वन्धित निकाय र जनजातीका नाममा खुलेका संस्थाहरुले नै पहल गर्नु पर्दछ।'
'जसरी प्रकृतिमा कुनै एक जातीको प्राणी वा बोटबिरुवाको लोप हुँदा पुरै इको सिस्टमलाई नकारात्मक असर पर्दछ, त्यसै गरि एउटा भाषाको लोप हुंदा अन्य भाषा, संस्कृति र संस्कारलाई पनि नकारात्मक असर पर्दछ। भाषा भनेको जिब्रोले बोलिने शब्द मात्र होइन। यो त एउटा मालाको धागो जस्तो हो जसले त्यो भाषा बोल्ने पुरै समुदायको संस्कृति, संस्कार, भावना, इतिहाँस बोकेको हुन्छ। धागो नै चुंडिए पछि के बाँकी रहन्छ र?'
हो भाषाले संस्कृतिलाई जोगाउँछ, संस्कृतिले विकासलाई। लमजुङको घले गाउँले शुरु गरेको संस्कृतिबाट सम्पत्ति जोड्ने अभियानको लहर देशभरि छरिएको छ। भाषा छ र संस्कृति छ अनि संस्कृति छ र विकास छ।
व्यवसायिक फाइदा पटक्कै नहुने भाषा संरक्षणको क्षेत्रमा सम्वन्धित निकायले सहयोग नगरेमा कसरी आफ्नो काम अगाडी बढाउन सकिन्छ त भन्ने प्रश्नको जवाफमा डा. शर्मा भन्छन् –'आफ्नो अनुभव र ज्ञानलाई सकेसम्म यस्ता भाषाहरुको संरक्षणमा नै खर्च गर्छु। थोरबहुत यस क्षेत्रमा लागेका, काम गरेका, रुची भएकाहरुको समूह बनाएर अध्ययन, अनुसन्धान र संरक्षणका तरिकाहरुको विषयमा तालिम दिन्छु र उनीहरुलाई यस काममा प्रेरित गर्छु। आफ्नो क्षमताले भ्याएसम्म सम्बन्धित निकायलाई पनि घचघच्याउँदै अन्य क्षेत्रहरुबाट सहयोग जुटाउँदै नेपालमा बोलिने तर लोपोन्मुख भाषाहरुको संरक्षणमा बिताउने छु। तर सबैभन्दा पहिलो प्राथमिकता सम्वन्धित भाषा बोल्नेहरु मार्फत नै यो काम अगाडी बढाउने हुनेछ।'
डा. शर्मा जस्ता विज्ञहरुको आवाजलाई सुनिदिएर देशका भाषा जोगाउने अभियानमा सम्बन्धित निकायको अलिकति मात्र पहल हुन सकेमा पनि अल्पसङ्ख्यक भाषीहरुलाई मूलधारमा ल्याउने बाटो खुल्न सक्ने देख्छन् डा. नारायण शर्मा। (सेतोपाटीबाट) ।
प्रकाशित मिति:
Monday, December 14, 2015
आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्
1 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
Tuesday, December 22, 2015
सन् २०११ भनिए पनि २००१ कै तथ्याङ्क प्रयोग गरिएको छ। यसमा सुधार गर्न लेखकज्यूलाई अनुरोध ।