कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु

गणेशकुमार राई । 
२०७२ चैत १०। केही समयअघिबाट अस्तित्वमा रहेको प्रेमवाद (हेभन्ली पाथ)का प्रवर्तक ओम नन्दको कर्तुत पर्दाफास हुन थालेको छ । उनको क्रियाकलापबारे लेखिएको पुस्तिका बजारमा आएपछि ओम नन्दको गलत क्रियाकलापलाई संसारभरबाट आक्रोश व्यक्त भइरहेको छ भने किराती समुदायबाट उनको भण्डाफोर हुन थालेको छ। यसै सन्दर्भमा उक्त पुस्तिका बजारमा ल्याउने भद्रगोल किरातीलाई हेभेन्ली पाथका अनुयायीहरुबाट धम्कीसमेत आउन थालेको छ । 

भद्रगोलले ईसमतासँग कुरा गर्दै भने– “सुवास क्याप्टेनले तपाईंले किन यस्तो गरेको, तपाईं कहाँ हो ? हामीले भेट्नु छ भनी अपरिचतलाई फोन गर्न लगाएको छ । नेपालको नम्बरबाट ‘सुरक्षित बस्नू हामी जे पनि गर्न सक्छौं’ भनेका छन् । मोबाइल नम्बर सेभ गरेर राख्या छु, सम्बन्धित निकायलाई दिनु छ भनी मेरा आफन्त साथीभाइलाई मार्ने धम्की दिएर मलाई तर्साइरहेका छन् । मेरो नाम लिएर विभिन्न प्रेसमा धम्काइरहेका छन् । कवि कविता राई ‘गाउँले’लाई इलामको पशुपतिनगर घरमै पुगी सुवास राई ‘क्याप्टेन’ले धम्की दिएछन् । पटक–पटक अरुलाई फोन गराएर तँलाई सिध्याउँछु भन्नेसम्मको धम्की दिएका छन् उनले ।”

भद्रगोलले भने, ‘राज्यले साधारण मान्छेलाई भगवान् बनाएर नागरिकता दिन मिल्छ ? गृह प्रशासनलाई प्रश्न छ मेरो, यदि मिल्छ भने कस्ताले पाउँछन् बताउनुपर्‍यो ।’
‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्योबेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’

शाही सेनाको हेलिकप्टर चढ्ने ओम नन्दलाई सेनाकै संरक्षण थियो
ओम नन्द तत्कालिन राजनीतिक संगठनसँग समेत जोडिएका थिए । पहिले उनी गोपाल किराती नेतृत्वको तत्कालिन खम्बुवान राष्ट्रिय मोर्चामा संलग्न रहेका थिए भने पछि अशोक राईको नजिक रहेर नेकपा मालेमासमेत संलग्न रहेका थिए ।

तर, उनले राजनीतिक संगठनलाई त्यागेर तत्कालिन दरबारसँग साँठगाँठ गर्न पुगेको बताइन्छ । किरात राई यायोक्खाका पूर्वअध्यक्ष तथा किराती संस्कृतिका अनुसन्धाता चतुरभक्त राईका अनुसार उनी आफ्नो धर्म प्रचारको बहानामा खोटाङ, दिक्तेलमा तत्कालिन शाही सेनाको हेलिकप्टरबाट पुगेका थिए । त्यसबेला उनलाई सेनाले सुरक्षासमेत प्रदान गरेका थिए ।

ओम नन्दका कर्तुतबारे प्रकाशित पुस्तिका (पढ्नका लागि क्लिक गर्नुस्)

राई भन्छन्, ‘माओवादी आन्दोलनताका आर्मीको हेलिकप्टर चढेर गएको र सेनाले नै उनलाई सुरक्षा दिनुले उनी त्यसबेला धर्मको प्रचारभन्दा पनि सेनाको सुराकीका रुपमा त्यहाँ पुगेको हुनुपर्छ । उनी कहीँ न कहीँबाट परिचालित थिए र छन् भन्ने देखिन्छ ।’

उनले थपे, ‘यो किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’

चतुरभक्तका अनुसार ओम नन्द आफूले सगरमाथा आरोहण गरेको र त्यसलाई किरात राई यायोक्खामार्फत् पनि प्रमाणित गरिदिन भन्दै कार्यालयमा आएपछि किरायाका पदाधिकारीहरुले ‘तिमी सगरमाथा चढें भन्छौ, खै त तिम्रो ओँठ फुटेको हुनुपर्ने, अनुहार कालो हुनुपर्ने केही भएको छैन त’ भनेपछि नाजवाफ भएर लज्जित हुँदै फर्केका थिए ।
‘ओम नन्दलाई किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’

राजपरिषदको सभापति र प्रधानमन्त्रीले नै कागजात दिलाएका थिए
ओम नन्दलाई तत्कालिन राजपरिषद् स्थायी समितिका सभापति तथा प्रधानमन्त्री र मन्त्रीहरुले नै ‘ओम नन्द धर्मगुरु रहेकाले कहीँ, कुनै पनि स्थान वा परिस्थितिमा बेरोकटोक घुम्न दिनू’ भनी कागजात दिलाएका थिए ।

ओम नन्दसँग कयौं पटक प्रत्यक्ष भेट गरेका समाजसेवी तथा किरात राई यायोक्खाका पूर्वमहासचिव राजबहादुर राईले भने, ‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्योबेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’

राजबहादुरले ओम नन्द कुनै पनि दैवी शक्ति प्राप्त व्यक्ति नरहेको दाबी गर्दै भने, ‘ओम नन्द एक पटक म धर्मगुरु हुँ भन्दै किरात राई यायोक्खाको कार्यालयमा आए । अनि मैले तिमी गुरु नै हौ भने मलाई भेदेर यहीँ मार भनें । अनि उनी रातोपिरो भएर फर्किए ।’

त्यसबेला उनले किरात राई यायोक्खाका पदाधिकारी र सदस्यहरुसँग तस्वीर खिचाउन खोजेका थिए । तर, उनले फोटो खिचेपछि जोकसैलाई पनि आफ्नो अनुयायीका रुपमा प्रचार गर्ने भएकाले आफूहरुले फोटो खिच्न नदिएको राईको भनाइ छ । ओम नन्दले त्यसबेला किरात राई यायोक्खाको सदस्यता दिलाउनसमेत आग्रह गरेका भए पनि उनलाई सदस्यता प्रदान गरिएन ।

ऊ गद्दार हो भन्ने जनयुद्ध लडेका धेरैलाई थाहा छ
माओवादी सशस्त्र जनयुद्ध सुरु भएकै ताका पूर्वी नेपालमा जातीय मुक्तिको लागि सशस्त्र विद्रोह गर्दै भूमिगत भएको खम्बुवान राष्ट्रिय मोर्चामा ओम नन्द करिब १५ महिनासम्म संलग्न रहे । खरामोमा रहँदा पनि उनी अस्थिर स्वभावका थिए । त्यसबेला उनी हार्मोनियमसमेत बजाउने गर्थे ।

ओम नन्दले ‘किरात धर्म’ संकुचित भएको भन्दै विश्वसामु पुग्नका लागि ‘हेभेन्ली पाथ’लाई अंगीकार गर्नुपर्ने प्रस्ताव पेश गरेपछि उनलाई आयोजकले अधिवेशन हलबाटै गलहत्याएर निष्कासन गरेको थियो ।
तत्कालिन खरामोका प्रमुख गोपाल किराती ‘साइँला’ले भने, ‘भक्तले कसरी बाठो हुने भनेर सोध्थ्यो । मैले मार्क्सवादी पुस्तकहरुको नाम दिएँ । तर, पछि काम्दै भाग्यो । शाही सेनासँग आत्मसमर्पण गर्‍यो । मलगायत क्रान्तिकारीहरुको हत्या गर्न शाही सेनाले त्यसलाई सुराकी बनाएर निकै खोज्यो । ऊ गद्दार हो भन्ने जनयुद्ध लडेका धेरैलाई थाहा छ ।’

देउबहादुरले भक्तकुमारलाई ओम नन्द बनाएका हुन्
हाल गड एन्जल, ओम नन्द, बाल तपस्वी, स्वर्गीक दुत, सत् गुरु आदि नामले चिनिने ओम नन्दको वास्तविक नाम भक्तकुमार राई हो । भक्तकुमार राईले २०५६ सालको रामनवमीको दिनदेखि आफूलाई धर्मगुरुको रुपमा बताउन थालेका थिए ।

उनी इलामको चुलाचुलीस्थित हात्तिलेँदा मन्दिरको मूख्य पुजारी देउबहादुर तुम्बापोको शरणमा पुगे । तुम्बापोले नै उनलाई अभिषेक गरी भक्तकुमार राईबाट ‘ओम नन्द’ नाम फेरिदिएका थिए ।

ओम नन्दका कर्तुतबारे प्रकाशित पर्चा (पढ्नका लागि क्लिक गर्नुस्)

२०६१ सालमा किरात धर्म संरक्षण समितिको तेस्रो अधिवेशन झापाको दमकमा चलिरहेको थियो । ओम नन्दले उक्त अधिवेशनमा ‘किरात धर्म’ संकुचित भएको भन्दै विश्वसामु पुग्नका लागि ‘हेभेन्ली पाथ’लाई अंगीकार गर्नुपर्ने प्रस्ताव पेश गरेपछि उनलाई आयोजकले अधिवेशन हलबाटै गलहत्याएर निष्कासन गरेको थियो ।

पोखरीमा गाड्ने बाँसको लिंगोमा ढुङ्गा बाँध्ने गर्थे, त्यो चमत्कार होइन
ओम नन्दले आफूलाई स्वर्गीक दूतका रुपमा प्रस्तुत गर्दै आएका छन् । यसअघि उनले आफू गौतम बुद्धपछिकै ठूलो भगवानका रुपमा दाबीसमेत गर्ने गरेका छन् । साथै उनले आफू दैविक शक्ति भएको व्यक्तिका रुपमा पनि दाबी गर्दै आएका छन् ।

उनले आफूलाई दैविक शक्तिले सम्पन्न सावित गर्नका लागि पूर्वी नेपालमा रहेका विभिन्न पोखरी वा नदीहरुमा बाँसको लिंगो ठड्याएर चमत्कार देखाउने गर्दथे । तर, उनले त्यो बाँसको लिंगोलाई पोखरी वा नदीको बीचमा कसरी अड्याएका छन् भनेर थाहा नपाऊन् भनेर विभिन्न अफवाह फैलाएका थिए ।

हेभेन्ली पाथको नाममा आर्थिक संकलन गरी ललितपुरस्थित इमाडोलमा व्यक्तिको नाममा करिब १७ रोपनी जग्गासमेत खरिद गरिएको पाथको गोप्य स्रोतले जानकारी दिएको छ । तर, ओम नन्दका यसप्रकारको कर्तुत थाहा पाउनेहरु पहिलेबाटै हेभेन्ली पाथलाई त्याग्दै आएका छन् भने अहिले उनका अनुयायीहरु उल्लेख्य मात्रामा घटिरहेको बताइन्छ ।
अफवाह फैलाउने क्रममा उनले पाँचथर जिल्लामा पर्ने तिम्बु पोखरीमा ठड्याएको लिंगोलाई एक जना गोठालोले चलाएको र उनको सारा परिवार नै नाश भएको हल्ला पूर्वमा चलाइएको थियो ।

उनले बाँसलाई पोखरीमा अड्याएर देखाउने क्रममा पहिले बाँसको फेदमा ढुङ्गा वा बालुवा बाँध्ने र त्यसलाई सन्तुलनमा राखेर पानीको बीचमा अड्याउने गरेका थिए ।

उनले सप्तकोशी नदीको बीच भागमा फूल र पैसा राखेरसमेत देखाए । तर, उनले त्यसका लागि पहिले नदीमा वारिपारि डोरी टाँगेर बीचमा फूल र पैसा अड्याएर देखाएका थिए । जसलाई देखेर सर्वसाधारणहरुमा ओम नन्द साँच्चिकै अद्भूत रहेछन् भन्ने भ्रम पर्न गएको थियो ।

चतुरभक्त राईले यसबारे सुनाए, ‘एक पटक बराह पोखरीमा ओम नन्दले झण्डा गाड्ने भएछन् । मेरा भाइहरु पनि हेर्न गएछन् । उनीहरु त छक्कै परे । ओम नन्द भगवान् नै रहेछ भन्ने भयो । मेरा भाइहरु पनि पौडी खेल्न सिपालु । भोलिपल्ट पोखरीमा के रहेछ ? भनेर पौडी खेलेर भित्रसम्म पसर हेर्दा त बाँसको फेदमा ढुङ्गा बाँधेको थियो रे ।’

अर्थिक हिनामिनामा सुर्वीन
विशेष गरी राई–लिम्बू समुदायमा प्रभाव पारेको भनिएका ओम नन्दको मुख्य सहयोगी रुपमा गोपाल राई उर्फ सुर्वीन हुन् । भोजपुर घोडेटार स्थायी घर भएका उनी सामान्य परिवारमा जन्मिएका थिए ।

किरातीहरुको लयात्मक बोलीमा बोल्ने उनले स्त्रीहरुमाथि विशेष प्रभाव पार्ने गरेको उनी नजिकको स्रोतको दाबी छ । किराती समाज मातृसत्तात्मक रहेको र यस प्रवृत्तिको फाइदा लिन सबैभन्दा पहिले परिवारको महिलालाई प्रभाव पार्ने गरेको कतिपयको ठम्याइ छ ।

गोप्य स्रोतका अनुसार सुर्वीनले हेभेन्ली पाथकै नाममा संकलित रकम दुरुपयोग गरी नयाँ बानेश्वरस्थित कृष्णसदन भवनमा करिब एक करोड लगानीमा ‘अनामिका ब्युटी शैलुन’ स्थापना गर्नुका साथै काँडाघारीमा तीन तले घरसमेत निर्माण गरेका छन् । उनी हाल हुन्डाइ कम्पनीको ‘आइ टेन’ कार चढेर हिँड्ने गर्दछन् । जसको बजार मूल्य करिब २४ लाख रहेको छ ।

ओम नन्दका सहयोगीहरु पुरुष नभएर अविवाहित महिला हुनुपर्ने प्रावधान रहेको छ । उनलाई साँझ–बिहान कन्याहरुले शरीरमा तेल लगाएर मसाज गर्नुका साथै उनी नुहाउँदा होस् या अन्य समयमा होस्, कन्याहरुले नै कपडा फेरिदिनुपर्ने त्यहाँको प्रावधान रहेको छ ।
सुर्वीनका कर्तुतबारे करिब ८ महिनाअघि हेभेन्ली पाथभित्रै पनि चर्को विवाद मच्चिएको थियो । उनीबारे हेभेन्ली पाथकै प्रेसबाट समाचार सम्प्रेषण गरेको थियो ।

सुर्वीनले राई–लिम्बू समुदायका, विशेष गरी लाहुरेहरुका श्रीमतीलाई प्रेमको बारेमा र असल मानवीय व्यवहारबारे प्रवचनसमेत दिने गरेको बताइन्छ । पछिल्लो समय उनको बदलिँदो जीवन शैलीसँगै दैनिकजसो युवतीहरुसँग लन्च/डिनर गरिरहेका तस्वीरहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्दै आएका छन् ।

उनले ठूलो आर्थिक घोटला गरेको भन्दै केही समय गड एन्जलको निजी सचिव पदबाट बर्खास्त गरिएको थियो । तर, हाल पुनः उनैलाई कायम गरिएको छ ।

कन्याले कपडा फेरिदिनुपर्ने ओम नन्द
ओम नन्दका सहयोगीहरु पुरुष नभएर अविवाहित महिला हुनुपर्ने प्रावधान रहेको छ । उनलाई साँझ–बिहान कन्याहरुले शरीरमा तेल लगाएर मसाज गर्नुका साथै उनी नुहाउँदा होस् या अन्य समयमा होस्, कन्याहरुले नै कपडा फेरिदिनुपर्ने त्यहाँको प्रावधान रहेको छ ।

हेमेन्ली पाथका अनुयायी घट्दै
धर्मगुरुको नाममा ओम नन्दले गरेका कर्तुतबारे जानकार भएपछि हेभेन्ली पाथका अनुयायीहरु घट्दै गएका छन् ।

हाल हेभेन्ली पाथलाई आर्थिक संकटसमेत आउन थालेको गोप्य स्रोतको दाबी छ । यसअघि अनुयायीहरुले ठूलो रकम सहयोग गर्दै आएका भए पनि हाल त्यो रोकिँदा काठमाडौंको शान्तिनगरस्थित ‘सिमिचोङ भवन’, बाँसबारीमा अवस्थित ‘लभिज्म प्रेस’ र ललितपुरको तिखिदेवलमा अवस्थित ‘लभिज्म होम्’ सञ्चालनमा संकट देखा पर्न थालेको छ ।

पूर्वी नेपालका धरान, दमकजस्ता सहरहरुमा हेभेन्ली पाथका यति अन्धभक्त अनुयायीहरु रहेका थिए कि उनीहरुले आफ्नो घरसमेत बेचेर आर्थिक सहयोग गरेका थिए । यसरी सहयोग गर्नेमा लाहुरेका श्रीमतिहरु उल्लेखनीय रहेका थिए, जो अहिले आफै भाडामा बस्ने गरेको स्रोतले बतायो ।

हेभेन्ली पाथको नाममा आर्थिक संकलन गरी ललितपुरस्थित इमाडोलमा व्यक्तिको नाममा करिब १७ रोपनी जग्गासमेत खरिद गरिएको पाथको गोप्य स्रोतले जानकारी दिएको छ । तर, ओम नन्दका यसप्रकारको कर्तुत थाहा पाउनेहरु पहिलेबाटै हेभेन्ली पाथलाई त्याग्दै आएका छन् भने अहिले उनका अनुयायीहरु उल्लेख्य मात्रामा घटिरहेको बताइन्छ । (इसमताबाट साभार) 

प्रकाशित मिति: Wednesday, March 23, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।