भाषिक–सांस्कृतिक अतिक्रमण र मातृभाषाहरुको भविष्य

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’ 

लोकनारायण सुवेदी। 
२०७२ फागुन २१। मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ । 

हुन त संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती विम्बको माध्यमबाट संसारलाई नया दृष्टिले हेर्ने तरिका विकसित गर्नु अझ बढी हो । तर औपनिवेशिक दबाबहरुले गर्दा विश्वलाई यस्ता भाषामा हेर्न र व्याख्या गर्न विवश पारिएको थियो जुन अरुकै भाषा रहेका थिए । त्यसमा मानिसहरुका वास्तविक सपना आउन पनि सक्तैनथे । साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्दछ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ । त्यस क्रममा मानिसहरु आफ्नै मातृभाषा बोल्न पनि हिच्किचाउन थाल्दछन् र विश्वका अपरिचित भाषाको प्रभुत्वको महिमामण्डन गर्न थाल्दछन् । त्यस्तै भाषामा अभिव्यक्त गर्न थाल्दछन् र त्यस्ता भाषामा बाँधिन पुग्दछन् । अन्ततः यसरी मातृभाषालाई नै परित्याग गर्न थाल्दछन् र अनि आखिरमा गर्वका साथ भन्न थाल्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’

साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्दछ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ ।
हुन पनि मातृभाषामै आफ्ना–आफ्ना उखानटुक्का, लोककथा, सूक्ति हुने गर्दछन् जो हाम्रा आफ्ना स्मृतिको धरतीसँग जोडिएका हुन्छन् । त्यसमा किसानको शक्ति रहेको हुन्छ । त्यसमा एउटा बेग्लै बनावट हुन्छ । एउटा विशिष्ट सामाजिक तथा मनोवैज्ञानिक बनावट हुन्छ, जसमा अस्मिताको रचना भएको हुन्छ । जतिबेला पनि कुनै महादेशको पीडाको बयान गरिन्छ भने कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्तछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्तैन । आत्म अन्वेषणको जुन गहिराइ मातृभाषाकासँग जोडिएको हुन्छ, त्यो अरु भाषासँग हुँदैन । हो, अन्य भाषामा पनि कुरा गर्न या भन्न सकिन्छ तर त्यो मातृभाषामा भनेजस्तो मार्मिकता त्यसमा सम्भव हुँदैन । यो भाषाको वैज्ञानिक तथा सांस्कृतिक तथ्य पनि हो ।

निश्चय नै मातृभाषाबाट आफ्नो परिवेश तथा पर्यावरणको बोध हुने गर्दछ । यो समृद्धीकरणका प्रक्रियामा सुदृढ हुन्छ । यसले विछिन्नताबाट बचाउ गर्ने गर्दछ । मातृभाषाबाट यस्तो मौखिक लय प्रस्तुत हुन्छ जसमा प्रकृति र परिवेशसँग समाजिक संघर्ष पनि प्रकट हुन्छ । त्यसबाट साहित्य र संस्कृतिका सकारात्मक, मानवीय र लोकतान्त्रिक तत्व पनि प्रकट हुन्छन् । आफ्ना संस्कृतिको जरामा गएरै हामीलाई आफ्नो आत्मीयताको अनुभूति हुन्छ । उधारो लिइएको भाषाले सम्पूर्णतः हाम्रा साहित्य र कलाको विकास गर्न सक्तैन । किनभने तिनको चिन्ता र चासो हाम्रो रागात्मकरुपसँग जोडिएकै हुँदैन । यस्तो उधारो भाषाको सत्ताकेन्द्र अन्यत्रै कतै हुन्छ र त्यो मातृभाषाजस्तो जनआकांक्षाको परिपूर्तिको संवाहक हुन पनि सक्तैन । मातृभाषामा धरतीको जुन सुगन्ध हुन्छ, कल्पनाशीलताको जुन पारम्परिक श्रृंखला हुन्छ, त्यो अन्य भाषामा सम्भवै हुँदैन । त्यसमा पनि औपनिवेशिक हिसाबले थोपरिएको भाषामा त बिल्कुलै हुँदै हुँदैन ।

जतिबेला पनि कुनै महादेशको पीडाको बयान गरिन्छ भने कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्तछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्तैन ।
वास्तवमा मातृभाषाहरुले जनताको संघर्ष बोल्दछन् । मातृभाषाको महत्व बुझेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ, आन्दोलन, लोकछवि, आत्मविश्वास र परिवर्तनका लागि यसभन्दा राम्रो अर्को कुनै माध्यम हुँदैन । किनभने उसको सरोकार ती भाषासँग हुन्छ, जसलाई त्यहाँका जनताले बोल्ने गर्दछन्, जसको सेवाको लागि उसले कलम उठाएको हुन्छ । यसरी उसले त्यही गीत गाउँछ जुन जनताले चाहेका हुन्छन् । मातृभाषाको माध्यमको अर्थ सोझो जनसरोकारसँग हुन्छ । यस माध्यमबाट सामाजिक तथा राजनीतिक निहितार्थको समेत बोध हुन्छ ।

हुन पनि मातृभाषाबाटै त्यसको अस्मिताको माध्यमबाट मानिसहरुका वास्तविक आवश्यकतालाई गीत, नृत्य, नाटक, कविताबाट अभिव्यक्ति दिन सकिन्छ र नयाँ चेतनाको आकांक्षालाई वाणी प्रदान गर्न सकिन्छ । श्रमिक वर्ग तथा जनसामान्यलाई मूलतः उनीहरुकै मातृभाषामा राम्रोसँग सम्बोधित तथा सम्प्रेषित गर्न पनि सकिन्छ । मातृभाषामा संरचनात्मक रुपान्तरणको प्रक्रियामा शिक्षा–संस्कृतिको एउटा निर्णायक भूमिका हुन्छ, जुन साम्राज्यवादको आजको नयाँ औपनिवेशिक चरणमा विजयको लागि अत्यावश्यक हुन्छ । शिक्षा र संस्कृतिमा आवश्यक सम्बन्ध हुन्छ र यसले सामाजिक–राजनीतिक–आर्थिक पक्षहरुसँग प्रत्यक्ष सरोकार राख्दछ । त्यसैकारणले त्यहाँ मातृभाषाको प्रभावकारी भूमिका हुन्छ ।

औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरुका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरुको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँदछन् ।
सत्य के हो भने संस्कृति स्वयंमा इतिहासको अभिव्यक्ति र उत्पादन पनि हो । यसको निर्माण प्रकृति तथा मानिसबीचको सम्बन्ध र अन्तर्क्रियामा आश्रित हुन्छ । त्यसैले त्यहाँ मातृभाषाको अन्तरंग प्रवेश हुन्छ । यसरी मातृभाषालाई आधार बनाइयो भने सामुदायिकतामा आबद्ध जनसमुदायले आफ्नो भाषा, साहित्य, कला, स्थापत्य, नृत्य तथा एउटा यस्तो शिक्षा प्रणाली विकसित गर्दछन्, जसले इतिहास र भूगोललाई एउटा पिँढीवाट अर्को पिँढीसम्म पुर्‍याउने गर्दछ । शिक्षा र संस्कृतिले वर्गीय विभेदलाई समाजको आर्थिक आधारमा व्यक्त गर्दछन् । वास्तवमा वर्गीय समाजमा दुई किसिमको शिक्षाका बीच संघर्ष चलिरहेको हुन्छ । यसले वास्तवमा दुई परस्पर विरोधी संस्कृतिको प्रसार गर्दछ र ती दुई परस्पर विरोधी चेतना अर्थात विश्व दृष्टिकोण तथा विचारधाराको बाहक बन्दछ । निश्चितै रुपले औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरुका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरुको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँदछन् भने त्यसको यथार्थ के हो आज बुझिनु र बुझाउनु अत्यावश्यक छ । 

यसको मूल हो, त्यो सौन्दर्यबोध जुन हाम्रा लोककथा, हाम्रा सपना, हाम्रो ज्ञान–विज्ञान, हाम्रो भविष्यको कामना आदिमा लुकेको छ । त्यसको सौन्दर्य वास्तवमा आफ्नै धरतीको गन्धबाट उत्पन्न भएको हुन्छ । अन्य भाषालाई अपनाउने या तिनका माध्यमद्वारा अभिव्यक्त गर्ने कुरामा कुनै खराबी अवश्य पनि छैन । त्यस्ता भाषामा ज्ञानविज्ञान या सामाजिक विज्ञान सिक्ने वा ज्ञानार्जन गर्नमै कुनै संकोच गर्नुपर्ने जरुरी पनि छैन । मूल कुरा के हो भने जुन शक्तिहरु मातृभाषाको रचनात्मकतालाई हीन तुल्याउन सक्रिय छन्, तिनको पहिचान गर्न, तिनका क्रियाकलापबाट सतर्क र सावधान रहनु आवश्यक छ । हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामै सम्भव छ । त्यो असीम छ, कल्पनाको त्यो किनारा हो । त्यो हाम्रो मातृभूमिको रंग हो । त्यसमा हाम्रा स्वदेशी र स्थानीय मूल्य छन् । ती हाम्रा लागि भविष्यकामी छन् ।
मातृभाषामा परम्पराको जीवन्तता हुन्छ । त्यो कुनै अरु देशको वा अन्य धारको मुखापेक्षी पनि हुँदैन । त्यो हाम्रो आफ्नै गोमुखबाट आउँदछ, त्यसमा हाम्रो गर्मी र शीतल दुवै हुन्छ । हाम्रा नशा र कोशिकाहरु त्यसबाट रोमाञ्चित हुने गर्दछन् । त्यसले हाम्रा वर्षौदेखि स्थापित सभ्यताको केन्द्रीयता कायम राख्दछ । त्यो हाम्रो गहन आकर्षण, प्रीति तथा मुक्ति पनि हो । हाम्रो लागि त्यसमा गहन आवेग हुन्छ । त्यसले हाम्रो परम्परामा हामीलाई परिष्कृत पार्न चाहन्छ । त्यसले हामीलाई जुन मिठास दिन्छ, अरु कुनै भाषाले त्यस्तो दिन सक्तैनन् । मातृभाषा जीवन्त अभिव्यक्तिको शायद सबैभन्दा सुन्दर माध्यम हो । यस्तो भाषा केवल सहज शिल्पमात्रै होइन सबैभन्दा अर्थपूर्ण सम्भावना पनि हो । मातृभाषामा कट्टरता नहुनु र यो जनपक्षधर हुनु त्यसको विशिष्ट चरित्र हो । त्यसमा मानिसका स्मृति–विम्ब बढी सुरक्षित र पल्लवित हुन्छन् । त्यसमा जति पारम्परिक अर्थगर्भ हुन्छन् त्यत्तिकै वैज्ञानिकता तथा मनुष्यताको मुक्तिगामी सम्भावना पनि भन्ने तथ्यलाई आत्मसात गरौं ! (इसमताबाट साभार)

प्रकाशित मिति: Friday, March 04, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।