तेस्रो मुलुकसँगको व्यापारमा भारतको एकाधिकार तोडिँदै

आशिष ज्ञवाली । 
२०७२ चैत ३। तेस्रो मुलुकको व्यापारमा अबदेखि चीन मार्फतपनि गर्न सकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणका क्रममा चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर हुने भएको छ । अहिलेसम्म तेस्रो मुलुकसँगको व्यापार भारतमार्फत हुने गरेकोमा नेपालले सम्झौतापछि चीनको बाटो भएर गर्न खुला हुनेछ । 

सम्झौता भए पनि तत्कालै व्यावसायिक रूपमा तेस्रो मुलुक हुँदै व्यापार हुने सम्भावना भने कम छ । ‘तत्कालै पारवहन सम्झौताबाट तेस्रो मुलुकको व्यापार चीनमार्फत हुन्छ भन्ने होइन । यसले अन्तर्राष्ट्रिय व्यापारमा नयाँ रुटको बाटो खुला गर्नेछ' ,प्रधानमन्त्रीसँग चीन भ्रमणमा जान लागेका एक सरकारी अधिकारीले भने । 

भौगोलिक दुरीका आधारले नेपाललाई तेस्रो मुलुकको व्यापार गर्न भारतको कोलकात्ता नाका सहज छ । चीनले तिब्बत क्षेत्रमा विस्तार गरेको रेलमार्गको कारण पूर्वाधारमा विकास भएमा तेस्रो मुलुक र मध्य एसियामा व्यापार विस्तारका लागि नयाँ विकल्प हुनेछ । पूर्ववाणिज्य तथा आपूर्ति सचिव पुरुषोतम ओझा चीनसँग हुन लागेको पारवहन सम्झौताले तेस्रो मुलुकको व्यापारका लागि भारतको मात्र भरपर्नुपर्ने बाध्यता अन्त्य हुने बताउँछन् । 

‘सम्झौतामा कुन सामुद्रिक मार्ग प्रयोग गरिन्छ त्यस आधारमा तेस्रो मुलुकसँगको व्यापार चीनमार्फत हुने हो । नेपाली सीमादेखि चीनको सामुद्रिक नाका निकै टाढा छ । नेपालतर्फ पूर्वाधार विकास नहुँदासम्म सम्झौता भए पनि कार्यान्वयनमा आउन सजिलो छैन',ओझाले भने ।

चीनले पछिल्लो समय नेपालको सीमा जोडिएको तिब्बतमा आक्रामक ढंगबाट रेल्वे लाइनको विस्तार गर्दैछ । अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्रमार्फत हुने ढुवानीपछि रेल सस्तोमा पर्छ । यसको फाइदा नेपालले उठाउन सक्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले कन्टेटिभीमा जोड दिँदै आएका छन् । यसको प्रभाव नेपालमा पर्न सक्छ ।

अहिले केरुङ नाकासम्म पुग्न बाटो विस्तारको काम भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको यो बाटो दुईवर्षभित्रमा पूरा गर्ने सरकारी लक्ष्य छ । ‘सन् २०२० सम्म नेपालको सीमासम्म चिनियाँ रेल्वेको लिक विस्तार हुन्छ । यो समयसम्म केरुङदेखि गल्छीसम्मको सडक स्तर उन्नति भएमा चीन हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्नका लागि व्यवहारिक रूपमा सजिलो हुन्छ', पूर्ववाणिज्य सचिव ओझाले भने । यस बाहेक काजकिस्तान, उजेकेस्तान लगायतमा देशमा पनि नेपालले आफ्नो व्यापार विस्तार गर्न सक्ने भएको हुँदा त्यो अनुसारको सम्झौता हुनुपर्ने बताए ।

भूकम्पपछि असुरक्षाको कारण देखाउँदै बन्द भएको तातोपानी नाका खोल्न नेपालले चिनियाँ पक्षसँग आग्रह गरे पनि यसमा अझै सकारात्मक संकेत देखा नपरेको सरकारी अधिकारीले बताएका छन् । ‘चिनियाँको बढी जोड केरुङमा छ । तातोपानी नाका भौगोलिक कारणबाट चल्न नसक्ने उनीहरूको तर्क छ' ,भ्रमणमा जान लागेका एक सरकारी अधिकारीले भने । यसबाहेक प्रधानमन्त्रीको भ्रमणमा चीनसँगको व्यापारका लागि थप नाका खोल्ने विषयमा सम्झौता हुनेछ । यसमा मुस्ताङको कोरला नाका अरुभन्दा बढी प्रभावकारी हुने अपेक्षा नेपालको छ ।

यसबाहेक चीनले तीन स्थानमा पेट्रोलियम भण्डारणका लागि सहयोग गर्नेछ । चीनसँगको पेट्रोलियम पदार्थ ल्याउने सम्झौता भए पनि पूर्वाधार तयार नहुँदासम्म व्यवहारिक रूपमा आयात गर्न भने कठिनाइ रहेको सरकारी अधिकारीहरू बताउँछन् । ‘तातोपानी नाका नखुल्ने तथा केरुङबाट मात्र ल्याउनका लागि अझै व्यवहारिक कठिनाइ छ । अनुदानमा दिएको पेट्रोल आए पनि व्यावसायिक रूपमा आयात गर्न केही समय लाग्न सक्छ' ,भ्रमणमा जान लागेका एक सरकारी अधिकारीले भने, ‘सम्झौतापछि पूर्वाधार कसरी तयार हुन्छ । त्यसपछि मात्र व्यावसायिक रूपमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणका क्रममा चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर हुने भएको छ । (अन्नपूर्ण पोष्टबाट साभार) 

प्रकाशित मिति: Wednesday, March 16, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।