राज्यले लिएको अग्रगमनको बाटो आत्मसात गर्न नसकेको नेपाली सेना

नेपाली सेना नेपाल र नेपाली जनताको रक्षक हो वा कुनै सम्प्रदायको मात्र ?

राजेश चाम्लिङ । 
२०७२ फागुन २४। 

सेनाले सबै पक्षलाई समयानुकूल छुट दिएझैं देखिए पनि आफ्नो मूल पक्ष ‘हिन्दु मूल्यमान्यताअनुसारको सेना’ हुनुपर्ने मान्यता भने छोडेको छैन । 

‘फेरि शिवरात्रीमा उर्धी आयो– देश धर्मनिरपेक्ष भइसक्यो । शिवरात्री नमनाउनू ।’ 

मैले बुझिहालें, माओवादीले फेरि बखेडा झिकेछ । 
म आफै प्रधानमन्त्री (तत्कालीन पुष्पकमल दाहाल) कहाँ गएँ ।
‘शिवरात्री किन नमनाउने हजुर ?’
‘देश धर्मनिरपेक्ष भइसक्यो । एउटा धर्म–विशेषको चाडलाई राष्ट्रिय सेनाले किन दिवसको रुपमा मनाउने ?’, प्रधानमन्त्रीले भन्नुभयो ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले आफ्नो ‘आत्मकथा’मा उल्लेख गरेको प्रसंग हो यो । कटवालले सेनामा परम्परादेखि नै यस्तो चलन रहँदै आएको लगायतका तर्क प्रस्तुत गर्दै अन्त्यमा शिवरात्रीको दिन नै सेना दिवस मनाउने निश्चित भएको समेत उल्लेख गरेका छन् । कटवालले तर्क गरेझैं शिवरात्रीको दिनलाई सैनिक दिवसको रुपमा मनाउन थालेको केही दशकमात्र भएको छ । सेनालाई हिन्दुकरण गर्ने मनोवैज्ञानिक प्रयासस्वरुप राजा वीरेन्द्रको पालादेखि मात्र सुरु गरिएको हो ।

सेनामा पुजारी भर्ना
शिवरात्रीलाई कहिलेदेखि सैनिक दिवसको रुपमा मनाउन थालियो, यकिन तथ्य कसैले पनि बताउन सकेनन् । एक जर्नेलले यसको सुरुआत राजा वीरेन्द्रको पालादेखि मात्र भएको बताए । ‘कहिले राजाको जन्मोत्सवको अवसरमा, कहिले वैशाख १ गते सैनिक दिवस मनाइन्थ्यो ।’ अवकाशप्राप्त एक उपरथी (मेजर जनरल)ले भने, ‘नयाँ वर्ष पनि मनाउनुपर्ने, शिवरात्री पनि, राजाको जन्मोत्सव पनि । यस्तै झन्झट भएपछि राजा वीरेन्द्रको पालादेखि शिवरात्रीलाई नै सैनिक दिवसको रुपमा मनाउन थालिएको हो ।’

नेपाली सेनाको विकास प्रक्रिया हेर्दा पनि त्यही देखिन्छ । राज्य विस्तार अभियानको क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहले स्थापना गरेको तिलंगा नामक स्थायी सेनालाई नै नेपाली सेना भनिँदै आएको छ । यही समयलाई उल्लेख गर्दै सेनाले आफ्नो इतिहासलाई अढाइ सय वर्ष लामो भएको दाबी गर्दै आएको छ । यद्यपि आधुनिक संगठनात्मक प्रणालीमा विकसित हुन भने नेपाली सेनालाई लामो समय लाग्यो । पूर्वरथी कुलबहादुर खड्काका अनुसार २००९ सालदेखि मात्र आधुनिक ढंगबाट व्यवस्थित रुपमा क्याम्प स्थापना गरेर बस्न सुरु गरेको हो । यसले पनि सेनाले शिवरात्रीलाई सैनिक दिवसको रुपमा मनाउन सुरु गरेको लामो समय नभएको स्पष्ट पार्छ ।

सैनिक संरचनाभित्र हिन्दुकरणको प्रक्रिया भने निकै अघिदेखि सुरु भएको हो । सेनाको संस्थापक नै नेपाललाई ‘असिल हिन्दुस्तान’ बनाउने अभियानका अभियन्ता भएपछि त्यसो हुनु अस्वाभाविक पनि होइन । तर देशमा राजतन्त्रको अन्त्यसँगै धर्मनिरपेक्षता र समावेशीकरणतिर फड्को मारिसक्दा पनि राज्यमातहत रहेको सेनाले आफूलाई परिवर्तन गर्ने सुरसार गरेको छैन । र, सेना पनि एक अंगको रुपमा रहेको राज्यको पुनःसंरचनाको नारा लागे पनि सेनाको लोकतन्त्रीकरण र पुनःसंरचनालाई खासै वास्ता गरिएको छैन ।

धर्मनिरपेक्ष राज्यको सेनाका प्रत्येक गण तथा गुल्ममा अहिले पनि हिन्दु देवीदेवताको पूजा हुने गर्छ । यसरी ब्यारेकभित्र पूजाआजा गर्न सेनाले सार्वजनिक आह्वान गरेर स्थायी रुपमा पुजारीको नियुक्ति गर्ने गरेको छ । ‘कार्यालयको प्रकृति हेरेर हुद्दा (सार्जेन्ट)देखि उपसेनानी (लेफ्टिनेन्ट)सम्मको दर्जामा पुजारी नियुक्त गरिन्छ ।’ सेनाका एक अधिकारीले भने, ‘उदाहरणका लागि गुल्ममा जम्दार हुनसक्छ भने हेडक्वार्टर (मुख्यालय)मा उपसेनानी दर्जाको पुजारी हुन्छ ।’

सेनाको तह (¥याङ्क)अनुसार सार्जेन्ट पुछारबाट तेस्रो वरियताको पद हो । यसभन्दा मुनि प्यूठ र अमल्दारको दर्जा हुन्छ । अर्थात् सामान्य नागरिकले सेनामा प्रवेश गर्दा प्यूठमा भर्ति हुनुपर्छ । तर पुजारीले भने सुरुमै उनीहरुभन्दा दुई तह माथिल्लो दर्जा पाउँछ । पुजारीको रुपमा नियुक्त हुने सेनाका अधिकारीले कुनै पनि प्रकारको शारीरिक अभ्यास गर्नुपर्दैन । उसको काम ब्यारेकमा भएका मन्दिरको दैनिक पूजा गर्नु, चण्डी पाठ गर्नु, निशानको पूजा गर्नु मात्र हो । यस्तो काम सेनाका हरेक सानोभन्दा सानो संरचनासम्म हुने गर्छ ।

सिपाहीदेखि जर्नेलसम्मलाई हिन्दु धर्मप्रति प्रतिबद्ध बनाउने क्रममा सेनाले निकै मिहेनत गरेको देखिन्छ । अवकासप्राप्त एक उपरथीका अनुसार सेनाको नेतृत्व तहमा पुग्ने प्रत्येक जर्नेलले बढुवा हुनासाथ हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिरमा पूजा गर्ने तथा राँगाको बलि दिने प्रचलन अहिले पनि कायमै छ । नेतृत्वका रुपमा विकास हुने ‘सेकेन्ड लेफ्टिनेन्ट’का सबैलाई सेवाप्रति समर्पित हुने कसम (सपथ) तलेजु भवानीको मन्दिरमै लगेर देवीलाई साक्षी राख्दै खुवाउने गरिन्छ ।

समायोजित माओवादीले गरे बलिपूजा
अनौठो पक्ष के छ भने धर्मनिरपेक्षता र गणतन्त्रका लागि लडेका माओवादी लडाकुलाई पनि नेपाली सेनाले समायोजनपछि देवीलाई साक्षी राखेर नै कसम खुवाइएको थियो ।

‘सेनामा आउँछु र जागिर खान्छु भनेपछि त सैनिक नियम मान्नैपर्छ, मान्दैनौं भन्नेहरुले त रकम लिएर छाडिहाले नि !’ माओवादी लडाकुलाई समायोजन गर्ने बेला सेनाको महङ्खवपूर्ण स्थानमा रहेका एक जर्नेलले भने, ‘त्यसैले उनीहरुलाई छुट्टै तरिकाले सपथ खुवाउने कुरा भएन । जसरी सेनाले सपथ खान्छ, त्यसरी नै गरेका हुन् ।’ स्रोतका अनुसार अधिकृत तहमा समावेश हुनेलाई पनि देवीको मन्दिरमा बलि दिएर सपथ खुवाइएको थियो ।

कटु यथार्थ के हो भने नेपाली सेनाको जागिर खाने प्रत्येकले आफूलाई गैरहिन्दुको रुपमा चिनाउन सक्ने स्थिति छैन । सरकारी जागिर खाने प्रत्येकले वार्षिक रुपमा कार्य सम्पादन मूल्यांकन फारम भर्नुपर्ने हुन्छ । उक्त फारममा भएको मूल्यांकनकै आधारमा बढुवा हुने वा नहुने निर्धारण हुन्छ । निजामती र संस्थानका कर्मचारीसँगै शिक्षक र प्रहरीलगायत सबैले यो फर्म भर्नुपर्छ । र, सेनामा पनि यही नियम छ । निजामतीभन्दा सेनामा एउटा रमाइलो भिन्नता छ । त्यो हो, सेनाको फारममा प्रत्येक वर्ष ‘धर्म’ पनि उल्लेख गर्नैपर्छ । अन्य सरकारी सेवामा प्रवेश गर्दा सुरुमा भर्नु परे पनि कार्य सम्पादनको मूल्यांकन फारममा ‘धर्म’ उल्लेख गर्नुपर्ने बाध्यता छैन ।

‘हामीले जानेर वा नजानेर सुरुमा धर्मको महलमा हिन्दु लेखियो ।’ बहालवाला एक गैरहिन्दु मेजरले भने, ‘सुरुमै त्यो लेखिएपछि अहिले सच्याउने कुरा पनि भएन । फेरि हिन्दु धर्म लेख्दैमा केही बितिहाल्ने पनि होइन । बरु लेखिएन भने तल–माथि हुनसक्छ भनेर पनि हिन्दु नै लेखिन्छ ।’ सेनाको प्रमुख चिन्ह (लोगो) नै हिन्दु धर्ममा आधारित त्रिशुल र डमरु राखिएको छ । सेनाका अधिकांश गण र गुल्मका प्रतीक तथा चिन्ह पनि हिन्दु धर्मकै आधारमा राखिएको छ ।

के छ अन्तर्राष्ट्रिय प्रचलन ?
जुनसुकै अवस्थामा पनि कमान्डरको आदेश पालना गर्नु र एकीकृत रहनु सेनाको मुख्य विशेषता हो । प्रत्येक देशको सेनालाई एकीकृत राख्न केही न केही व्यवस्था गरिएको हुन्छ । सैनिक अधिकारीहरुले नेपाली सेनाले स्थापनादेखिकै प्रचलनअनुसार हिन्दु धर्मका मूल्यमान्यतालाई ‘एकताको मूल आधार’ बनाएको तर्क गर्दै आएका छन् ।

‘कुनै पनि धर्मलाई विभेद नगर्नु भनेको वा धर्मनिरपेक्ष हुनु भनेको भएभरका सबै कुरा ल्याएर सेनामा थुपार्नुपर्छ भनेको होइन होला’, नाम उल्लेख नगर्ने सर्तमा सेनाका एक बहालवाला सहायकरथीले भने, ‘आफ्नो फौजलाई आफूले भनेको समयमा चलाउनेगरी नियन्त्रणमा राख्नु त प¥यो नि ! आदेश दिएको बेलामा त्यो हिन्दु धर्मकाले दियो कि क्रिस्चियनले अथवा राईले दियो कि बाहुनले भन्दै विचार गरिराख्ने खालको सेना सेना हुनसक्दैन ।”

कुनै निश्चित धर्मको मूल्यमान्यताअनुसारको बनाएर मात्र कमान्डरको आदेश पालना गर्ने सिपाही बनाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय प्रचलन पाइँदैन । चीनमा कुनै पनि सैनिक अधिकारीले आफ्नो परिचयपत्रमा धर्म उल्लेख गर्न पाउँदैन । डेनिस जे. बल्स्कोले ‘द चाइनिज आर्मी टुडे’मा उल्लेख गरेअनुसार त्यहाँका सैन्य अधिकारीले कुनै धर्मप्रति आस्था राख्नेगरी गतिविधि गरे दण्डित गर्ने प्रचलन छ । विभिन्न समुदाय र धार्मिक समूहको आधारमा छुट्टाछुट्टै टुकडीसमेत रहनेगरी सैन्य संरचना निर्माण गरेको बेलायत, अमेरिका, भारतलगायतमा पनि एउटै धर्मको मूल्यमान्यतालाई मात्र प्राथमिकता दिनेगरी अभ्यास गराइँदैन । बेलायती सेनामा भर्ना हुने नेपाली (गोर्खा) सिपाहीले क्रिस्चियन धर्मअनुसारको गतिविधि गर्नुपर्ने जरुरी छैन । उनीहरुलाई बेलायतको झण्डा र बेलायती महारानीको फोटो साक्षी राखेर कसम खुवाउने गरिएको छ ।

नेपालमै पनि छ
सैन्य स्रोतका अनुसार पृथ्वीनारायण शाहकै पालादेखि रहेको गुरुङ पल्टनका रुपमा परिचित कालिबहादुर र मगर पल्टनको रुपमा परिचित गोरखबहादुर गणमा आफैले जाँड–रक्सी पकाउन, खान छुट छ । माओवादी जनयुद्ध पूर्वतिर विस्तार भएपछि २०५७ सालमा किराती पल्टनको रुपमा स्थापना गरिएको रिपुमर्दिनी गणले उधौली–उभौलीको अवसरमा साकेला नाच्ने, जाँड–रक्सी क्याम्पभित्रै खाने छुट पाएको छ । रिपुमर्दिनी गण अहिले सिराहामा छ । यद्यपि यी गणमा पनि हिन्दु देवीको मन्दिर, चण्डी पाठ, पुजारी आदिको प्रचलन भने छँदैछ । सेनाले सबै पक्षलाई समयानुकूल छुट दिएझैं देखिए पनि आफ्नो मूल पक्ष ‘हिन्दु मूल्यमान्यताअनुसारको सेना’ हुनुपर्ने मान्यता भने छोडेको छैन । (इसमताबाट साभार)

प्रकाशित मिति: Monday, March 07, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।