शेरबहादुर देउवा : रुवाखोलादेखि कांग्रेस सभापतिसम्म

२०७२ फागुन २५। नेपाली कांग्रेसको सभापतिमा पहिलो पटक शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै पहिलो पटक कांग्रेसको सभापति बन्न सफल बनेका हुन् । 

उनले १८२२  मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले १२९६  मत प्राप्त गरे । यसअघि हिजो भएको पहिलो चरणको निर्वाचनमा ११ मत कम ल्याउँदा देउवा सभापति बन्नबाट चुकेका थिए । पहिलो चरणमा भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि सभापतिमा निर्वाचित हुनको लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको निर्वाचनमा देउवासहित पौडेल र कृष्ण प्रसाद सिटौला सभापतिको दौडमा थिए । तर , सिटौला मतपरिणामको आधारमा पुछारमा परेपछि दौडबाट बाहिरिएका थिए ।

काँग्रेसका नवनिर्वाचित देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

उनी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रेरित भएका हुन् । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । देउवा एक छोराका पिता हन् । उनकी धर्मपत्नी आरजु पनि अहिले व्यवस्थापिका–सांसद् छिन् ।

२०४८, २०५१ र २०५६ का संसदीय निर्वाचन तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा जिल्लाबाट विजयी देउवाले गृहमन्त्री तथा पटक पटक प्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी अहिले डडेलधुराबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्छन् । विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।

विसं २०५९ मा प्रधानमन्त्री भएका उनी त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बनेका थिए । नेपाली काँग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति बनेका थिए । काँग्रेस र काँग्रेस(प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भएका हुन् ।

उनी विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसङ्घका प्रथम सभापति हुन् र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।

देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरेका छन् ।

यसअघि पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेद्वार थिए । तर १३ औं महाधिवेशनबाट भने देशकै ठूलो पार्टीको सभापति बन्न सफल भए देउवा । (रातोपाटीबाट साभार)

प्रकाशित मिति: Tuesday, March 08, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।