पुमा (राई) जाति तथा संस्कृति : एक परिचय

  • गणेश पुमा राई चिन्तन
नेपालको पूर्वी पहाडी जिल्लाहरूमा किरातीहरूको बसोबास क्षेत्र रहेको छ । उनीहरू आफूलाई प्रकृतिपुजक भन्न रुचाउछन् । किरात भित्रकै एक जाति पुमा राई पनि हो । पुमाहरूको आफ्नै मौलिक भाषा, संस्कृति र परम्पराहरू छन् । खोटाङ जिल्लाको दक्षिणी भेगका दिप्लुङ, मौवाबोटे र देवीस्थान गाविसहरू पुमाहरुको प्रमुख बोबी (थलो) हो । त्यसैगरी खोटाङकै चिसापानी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा, काहुले र बोपुङ गाविसहरूमा उनीहरूको बाहुल्यता रहेको छ । त्यस्तै उदयपुर जिल्लाका बेल्टार, बसाहा, रामपुर गाविसहरू लगायत अन्य जिल्लाहरू सुनसरी, सप्तरी, मोरङ, झापा र उपत्यकामा पनि उल्लेख्य रुपमा उनीहरूको बसोबास रहेको छ । साथै भारतको दार्जिलिङमा पनि पुमाहरूको बसोबास रहेको तथ्यहरू प्राप्त भएका छन् । तर जहाँ बसे पनि प्रकृतिपुजक पुमाहरूको संस्कृति र रहनसहनमा एकरुपता देखिएको छ । 

पुमा जाति र तिनको संस्कृतिको अध्ययन गर्न निम्न तथ्यहरू उल्लेख गर्न गरिन्छ:
१. पुमा (राई) को उत्पत्ति, विकास र बसोबास
२. पाछा विभाजन
३. भाषा
४. धर्म
५. संस्कार

१. पुमा (राई) को उत्पत्ति, विकास र बसोबास
साम्खा गर्दै सुप्सङ्मि राहाङ्मि मनकुमार पुमा, पृष्ठभूमिमा जर्मनीकी अनुसन्धाता डियाना स्याकोव
पुमा जातिको उत्पत्ति र विकास सम्बन्धी स्पष्ट लिपीवद्ध इतिहास पाउन सकिएको छैन । तर यस सम्बन्धी आख्यान र लोककथाहरू भने प्रशस्त मात्रामा चलनचल्तीमा रहेका छन् । तिनै लोककथा र केही छिटफुट अनुसन्धानात्मक ऐतिहासिक विश्लेषणहरूबाट प्राप्त तथ्यहरू यस लेखमा प्रस्तुत गरिएको छ ।

किरात चाङफेवाहाङ वंशका यङलुहोङ (यलम्बर) इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरूलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरूले उपत्यकामा बत्तीसौं पुस्तासम्म शासन गरे । यो तथ्य इतिहासहरूमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरू ईष्याले जल्दथे । उनीहरूले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरू नाग, वृक्ष, हावा, पानी, आगो, चट्याङ, हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरूले आफ्ना तीन चुलालाई सुम्निमा, पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरूले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरूले फसाए । यो उनीहरूको कुटनीति (जालझेल) थियो । किरातीहरूको पतनको इतिहास यहीबाट शुरु हुन्छ । 

किरातीहरूको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरूले हार व्यहोनु परेपछि किरातीहरूको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरूले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरू कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती (किराती) हरूको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपि उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरू १. बाउलाई नमार्नु २. दाजुलाई नमानु र ३. भाइलाई नमार्नु थिए । 

लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरूले किरातीहरूको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेलीबाटै थाहा पाए । त्यसपछि लिच्छवीहरूले सर्वप्रथम किराती शक्तिश्रोतहरूलाई वित्तल (अशुद्ध) पारे । तिनको सांस्कृतिक धरोहरहरू नास गर्न थाले । कूलपितृ र भूमिदेवहरूमा वित्तल पार्न थाले । शुरुमा किरातीहरू जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरूको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरूले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालीन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ (यलम्बर) का बत्तीसौं सन्तान थिए । 

उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगेपछि आर्यहरूको किरातीहरू माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरूको मौलिक भाषा, संस्कृति र परम्पराहरू माथि लिच्छवी शासकहरूले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरू किरातीहरूको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरू नष्ट गर्दै लगे । उनीहरूले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरू माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरू उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरू किराती राजाका सन्तति हुन् भन्ने भनाई छ (मिथाहोङ पालुन पुमा राई  वंशावली–२०६२, पृ–१,२)

खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहोङका दुई छोराहरू भए । उनीहरू लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्युपछि उनका छोराहरूले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवान र खम्सोङहोङ खम्बुवानको राजा भए । 

खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी (वालिखा) मा सारे । इतिहास अनुसार किरातीहरू उपत्यकाबाट बनेपा हुँदै बेलकातरीसम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम, भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरूको नास र प्रतिवन्धका कारण तिनको मौलिकता क्रमशः समाप्त हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरूले आफ्नो मौलिकताका धेरै हदसम्म गुमाउन पुगे । उनीहरू शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल, तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरू पाइन्छन् । 

खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा (नागाकी चेली) सँग विबाह गरे । उनीहरूका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छ—
१. जेठा– मापेहोङ, २. माइला– खिन्चीहोङ, ३. साइला– हिनाहोङ, ४. काइला– वानाहोङ, ५. अन्तरे– खप्पाहोङ, ६. जन्तरे– कुर्सेहोङ, ७. लखन्तरे– चालिमहोङ, ८. मन्तरे– सेकुहोङ, ९. गनन्तरे– रामलिहोङ, १०. कान्छा– सेक्रोहोङ, ११. छोरी– सायामा ।
खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए । 

समयक्रम बढ्दै गयो । किरातीहरू ताडो चढाउन खप्पिस थिए । उनीहरू धनुवाण लिएर शिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरू मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरूले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखीकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडाग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा पुुगे र त्यहाँका ग्याल्जुङमा भुटियासँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी (थलो) बनाए । 

छोराहरू हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरू भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरू बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरूको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बताए । उनले बाबुको गाली खानसम्म खाए । पछि फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे ।

खम्बुहोङले छोरा सेक्रोहोङको मृत्युपछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ, खिन्चीहोङका सन्तान सुनुवार, हिनाहोङका सन्तान वायुङ (वाहेङ) र वाम्बुले (अम्बु), खप्पाहोङका सन्तान कुलुङ, कुर्सेहोङका सन्तान तिलुङ, चालिमहोङका सन्तान चाम्लिङ, साङपाङ र पुमा, सेकुहोङका सन्तान दुमी, नाछिरिङ, लोहरुङ र याक्खा, रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ । 

समयसँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ–आफ्नो बोबी (क्षेत्र) छुटाउँदै बस्न थाले । उनीहरू जहाँ, जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरू खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन, बोबी या क्षेत्र बनाएर बस्न थाले । 

आफ्नो बोबी, सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरू पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरूले राम्रो क्षेत्र उनीहरूको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झ¥यो । झर्ने क्रममा उनी दक्षिणी खोटाङको सावाखोला तरे । हालको दिप्लुङ गाविसको आसपासमा उनले आफ्नो अनुकुल वातावरण पाए । स्वच्छ हावापानी, हिमाल र समतलको एकैचोटी दृष्यावलोकन गर्न सकिने दिप्लुङ क्षेत्रले उसलाई मोहक बनायो । र दिप्लुङ क्षेत्रलाई उनले पुमा बोबी, सोहोन बनाए । 

यसरी खोटाङको दिप्लुङबाट पुमा बस्ती दिप्लुङ लगायत मौवाबोटे, देवीस्थान, चिसापानी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा, काहुले र बोपुङसम्म विस्तार भयो । र पछि उदयपुरको बेल्टार, बसाहा, रामपुरमा बसाइँ सराई गरे । बसाइँसराईको क्रममा पुमा जाति हाल सुनसरी, सप्तरी, मोरङ, झापा, काठमाडौं र भारतको दार्जिलिङसम्म पुगेका छन् । साथै अध्ययन, रोजगारी लगायतका शिलशिलामा संसारका कुना कुनासम्म पुरा राईहरु छरिएर रहेका छन् । 

२. पाछा विभाजन 
जातिलाई गरिएको विभाजन नै पाछा हो । पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले  किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ । 

लोककथा तथा बुढापाकाको भनाई अनुसार पाछा छुट्याउनुुको मुख्य उद्देश्य हाडनाताबाट छुटिनु थियो । पुमा वस्ती विस्तार भए पछि उनीहरू वीच विहेवारी गर्न अप्ठ्यारो महसुस हुन थाल्यो । विहेवारीको निम्ति हाडनाताको साइनो लाग्न थाल्यो । त्यस कठीनाईलाई समाधान गर्न तत्कालिन पूर्खाहरूले बोबी र पाछा विभाजन गरेका थिए । पुमा पुस्तालाई जाति र डबलुङ, पालुन पुस्तालाई बोबीमा विभाजन गरे भने उनीहरूको सन्तानलाई पाछाको उपनाम दिए । जस्तो, पुमाहोङका छोराहरू डबलुङ र पालुन दुईजना छोराहरू थिए । ती दुईजना दुईवटा डबलुङ र पालुनको बोबीमा छुट्टिए । डबलुङ र पालुन बोबीका सन्तान फेरि पाछामा विभाजित भए । जसका कारण तिनका सन्तान कुटुम्बेली भए । हाडनाताको साइनो टुट्यो । र ती भिन्न पाछाहरूवीच कुटुम्वेलीको साइनो आरम्भ भयो । 


पुमामा दुई बोबीहरूका गरी जम्मा चौंध पाछाहरू छन् । डबलुङ बोबी अन्तर्गत १. गाराजा २. थुम्राहाङ ३. हाङथाङखा ४. योङदोहाङ ५. लिम्माछित ६. दुमाङलुङ र ७. हादिरा गरी सात पाछा छन् । त्यसैगरी पालुन बोबी अन्तर्गत १. मिथाहाङ २. तोङमालुन ३. मेत्लङथङ ४. वावीहाङ र ५. खाहोङ गरी पाँच पाछा छन् । बुढापाकाको भनाई र लोककथा अनुसार पाछा विभाजन गर्ने समयमा रीरुहाङ र हेन्योङछा परदेश गएका थिए । उनीहरू परदेशबाट फर्कदा पाछा विभाजन भइसकेको थियो । उनीहरूले पनि हाम्रो पाछा चाहियो भने पछि उनीहरूको पाछा रीरुहाङ र हेन्योङछा राखियो । यी दुई पाछा समेत पुमा जातिमा जम्मा १४ पाछाहरू विद्यमान छन् । 

पाछा विभाजनसँगै वंशावलीको नामावली प्रस्तुत गर्दा तथ्य बुझ्न सजिलो हुनेछ भन्ने मैले महसुस गरेको छु । त्यसैले संक्षिप्त किराती वंशावलीचित्र यहाँ प्रस्तुत छ । थप जानकारी यस लेखको बाँकी अंशबाट लिनुहोस् ।

पुमा राईका भाषा, धर्म र संस्कारहरु (यस लेखको बाँकी अंश यो लिङ्कमा क्लिक गरी पढ्नुहोला ) 


लेखन तथा सङ्कलन:
गणेश पुमा राई चिन्तन
ganeshchintan@yahoo.com
https://www.facebook.com/ganeshchintan

प्रकाशित मिति: Friday, September 19, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

1 comments

Ok nixa. I am trying to keep it up and hope to latest generation's support.

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।