डा. ज्योति रायमाझी ।
२०७३ बैशाख १७ । हालको आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान, वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्कमात्रै नभएर यौवनावस्थाका महिलासमेत स्तन क्यान्सरको सिकार हुन थालिसकेका छन्।
पश्चिमी राष्ट्रहरू अझ भनौ विकसित मुलुकमा त प्रत्येक आठ महिलामध्ये एकलाई स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखा पर्नु निश्चय नै भयावह स्थिति भएको स्वीकार्नुभन्दा अर्को विकल्प छैन। एसियाली महिलामा चाहिँ प्रत्येक २२ जनामा एकजनालाई उक्त समस्या देखा पर्ने गरेको तथ्यांक उपलब्ध छ।
स्तन क्यान्सर कुनै पनि उमेरसमूहका महिलाहरूलाई हुन सक्छ। तर पनि बढ्दो उमेरका महिला नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै यस रोगको सिकार हुन थालेका छन्। महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो। संख्याका हिसाबले हेर्दा नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा रहेको छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो।
रोगीलाई जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सककहाँ जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो÷तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ। त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन पनि सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउनै सकिँदैन।
बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाँ पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ। तिनको स्तन काटेर फ्याक्नुपर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवनसमेत बचाउन सकिन्छ।
नेपालमा बढ्दो उमेरका युवतीहरूसमेत यस समस्याबाट पीडित हुने गरेको पाइनु निश्चय नै चिन्ताको विषय हो। युवतीमा उक्त रोगले तीव्र रूपमा आक्रमण गर्ने गरेको पाइएको छ। आश्चर्यको कुरा त यो छ कि स्तन क्यान्सर केवल महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गरेको छ। रोगी जनसंख्यामध्ये करिब एक प्रतिशत पुरुषलाई सो रोग लागेको पाइन्छ। रोगका कारणमध्ये पाँचदेखि १० प्रतिशत वंशानुगत देखिएका छन् भने ९० प्रतिशत चाहिँ रोगको पारिवारिक इतिहास भएको कारणले हुने गरेको देखिन्छ।
रोगका लक्षणहरू
करिब ६० देखि ८० प्रतिशत महिला आफ्नो जीवनकालमा क्यान्सर नभए पनि स्तनसम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।
स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन्। त्यस कारणले नै सबै महिलाले नियमित पहिले आफैंले आफ्नो स्तनको परीक्षण गर्ने र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ। जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन्। लक्षणहरूमध्ये केही निम्न छन्:
- कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने
- कुनै एक वा दुवै स्तनको आकार प्रकारमा परिवर्तन हुने
- स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने
- स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रङ परिवर्तन हुने
- स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स-साना घाउ÷खटिरा÷बिमिराहरू देखा पर्ने
- स्तनको मुन्टो पहिलेको भन्दा फरक रूपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धस्सिने आदि।
- अकस्मात शारीरिक तौल घट्ने
- शरीरका हड्डीहरू दुख्ने
स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरूमध्ये दोस्रो र क्यान्सरकै कारण हुने महिला मृत्युको पनि दोस्रो ठूलो कारण रहेको छ। धेरै महिलाले सर्वप्रथम थाहा पाउने स्तनसम्बन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा÷कडा डल्लाहरू नै हुन्।
४० वर्षमुनिका महिलामा ८०-९० प्रतिशत गिर्खाहरू क्यान्सर नहुन सक्छन् भने ४० वर्ष माथिका महिलामा ती गिर्खाहरू क्यान्सरकै लक्षण हुन सक्ने सम्भावना बढी हुन्छ। तर सबै महिला स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन्।
लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण एसियाली महिला रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाँ पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ।
तसर्थ, २० देखि ४० वर्षका महिलाले स्तनको नियमित स्वयं परीक्षण गर्नुका साथै प्रत्येक दुई-तीन वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनु बुद्धिमानी हुनेछ। ४० वर्ष माथिका महिलालाई बर्सेनि स्क्रिनि· म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य छ। समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीवन गुम्नबाट पनि बचाउन सकिन्छ।
आफैं स्तन परीक्षण गर्ने तरिका
१) २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको ५-७ दिनमा परीक्षण गर्ने।
२) महिनावारी सुकेको र गर्भवती महिलाले हरेक महिनाको एउटै गते ÷दिनमा परीक्षण गर्ने।
३) आफ्नो स्तनको बारेमा थाहा पाउने जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस्।
४) परीक्षण हरेक महिना अनिवार्य रूपमा गर्ने।
५) परीक्षणका लागि जम्मा जम्मी १० मिनेट लाग्ने हुँदा अल्छी गर्ने वा हेलचेक्रयाइ गर्ने बानी हटाउने।
तरिका
क) पहिलो तरिका
१) ऐना अगाडि बसेर कमरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने
२) स्तनको आकार, प्रकार एकनास छ छैन परीक्षण गर्ने
३) गिर्खा छ, छैन परीक्षण गर्ने
४) स्तनको मुन्टोभित्र गएको छ, छैन परीक्षण गर्ने
५) छालाको रङमा फरक छ छैन हेर्ने, सुन्तलाको जस्तो रङ छ छैन हेर्ने।
ख) दोस्रो तरिका
दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर पनि हेर्ने।
ग) तेस्रो तरिका
अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने। फोटोमा देखाए जस्तैः
घ) चौथो तरिका
अनि काखीमुनि छाम्ने
ङ) पाँचौ तरिका
स्तनको मुन्टो निचोरेर पीप, रगत वा पानी आएको छ छैन हेर्ने
माथिका जाँचहरू गर्दा यदि गिर्खा फेला परेमा स्तनसम्बन्धी विशेषज्ञ शल्य चिकित्सक कहाँ गई विशेष परीक्षण गराउने।
क्लिनिकल परीक्षण
रेडियोलोजीकल परीक्षण, भिडियो एक्स-रे, म्यामोग्राम, एमआरआई, टिस्यु डायग्नोसिस, एफएनएसी, बायोप्सी आदि गराउँदा रोगबारे यकिन गर्न सकिने हुन्छ। तसर्थ अनुभवी शल्यचिकित्सकको सल्लाह-सुझावमा ती परीक्षणहरू गराउनु वाञ्छनीय हुन्छ।
विशेषज्ञबाट स्तन परीक्षण र सुझाव
- ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एक पटक गरिन्छ।
- २०-४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एक पटक जाँच गर्नुपर्छ।
- बढी जोखिमको संकेत भएका महिलाका लागि अरूभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ।
- यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो।
म्यामोग्राम कहिले गरिन्छ ?
- ३५ वर्षभन्दा माथिका उमेरसमूहका महिलाका लागि मात्र यो जाँच गरिन्छ।
- ४० वर्षमाथिका महिलाको लागि हरेक वर्ष एक पटक गर्नुपर्छ।
- अति जोखिम भएका महिला जस्तै जसको परिवारमा यो किसिमको रोग भएको इतिहास छ, उनीहरूका लागि अरू महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ।
यो जाँचको माध्यमले ८५ प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने हुँदा यो अत्यन्तै महत्वपूर्ण जाँच हो।
यसले पाँच मिलिमिटरसम्मको अर्थात् चामलको दाना जत्रो क्यान्सरयुक्त ट्युमर पनि पत्ता लगाउन सक्छ र यस्तो अवस्थामा पत्ता लाग्दा स्तन जोगाउन सकिने त निश्चितै हुन्छ र बिना किमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन सक्छ।
एसियाली महिलामा पश्चिमी देशका महिलाका दाँजोमा यो रोग निश्चित रूपमा कम हुने गरेको पाइएता पनि रोगसम्बन्धी ज्ञान नभएकोले हाम्रोजस्तो देशमा महिला यो रोगको विकसित अवस्थामा अथवा यो रोग फैलिसकेको अवस्थामा मात्रै डाक्टरको सल्लाह लिन आउँछन्।
त्यसैले यो रोगसँग लड्ने तरिका भनेको नै रोगसम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो।
रोगसम्बन्धी आवश्यक जनचेतनाको विकास होस् भनेर हामीले नर्भिकमा नियमित रूपमा रोग परीक्षण शिविरहरू सञ्चालन गर्ने/गराउने, आफ्नो स्तन आफैंले कसरी जाँच्ने, जीवनशैलीमा कस्तो र कसरी सुधार ल्याउने, खानपान कस्तो हुनुपर्ने, नियमित गर्नुपर्ने व्यायाम कस्तो, कति र कसरी गर्ने आदि बारे पनि बिरामीहरूलाई आवश्यक सरसल्लाह/सुझाव दिने गर्दै आएका छौं।
ती प्रक्रियाहरूले पनि समयमै रोग पत्ता लगाउन धेरै हदसम्म मद्दत गर्ने हुँदा तिनको अनुसरण गर्नु अति आवश्यक हुन्छ। किनकि रोग लागि अथाहा धनराशिका साथ रोगको उपचार गराउनुभन्दा रोग लााग्नै नदिनु अति उत्तम हो। रोक्न सकिने रोग लागी अकालमै ज्यान गुमाउनुभन्दा भविष्य सुरक्षित पार्नु अझ उत्तम हो। (अन्नपूर्ण पोष्टबाट साभार)
खिलानाथ ढकाल ।
२०७३ बैशाख १७। उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावल सुदूरपश्चिमका जिल्ला भ्रमणमा जाँदैछन् भन्ने थाहा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक लगिदिन अनुरोध गर्यो। जनक शिक्षाको तर्फबाट रक्षामन्त्रीका स्वकीय सचिवलाई फोन गरेर केन्द्रका प्रतिनिधिले अनुरोध गरे, ‘पाठ्यपुस्तक लैजान सहयोग गरिदिनू।’
रक्षा मन्त्रीको सचिवालयबाट जवाफ आयो, ‘हेलिकप्टर खाली छैन, सिट सबै प्याक भइसके।’
दुई क्वीन्टल तौल किताब अछाम जिल्ला पुर्याउनु थियो, रक्षामन्त्री चढ्ने हेलिकप्टर त्यही जिल्ला जाने भएकाले केन्द्रले अनुरोध गर्यो।
(सेतोपाटी) |
लिमिटेडका प्रतिनिधिले सोचेका थिए, ‘हेलिकप्टरमा छिटो र एकैचोटीमा पुर्याउन सकिन्छ, १० गते मंगलसेनमा वितरणको कार्यक्रम राख्ने।’
वितरण कार्यक्रमको मुख्य अतिथि भने उनै रक्षामन्त्री रावल थिए। तर दुई टन क्षमता भएको नेपाली सेनाको महंगो हेलिकप्टर एमआई–१७ मा रक्षामन्त्री रावल, एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, पूर्वमन्त्री कर्णबहादुर थापालगायत पार्टीका नेता कार्यकर्ताको ‘दलबल’ अँट्यो, किताब अँटेन।
केन्द्रका प्रतिनिधिले १० गतेको कार्यक्रम स्थगित गरे। काठमाडौं र धनगढीबाट केही किताब बोकेर प्लेनमा गए। १२ गते महेन्द्र माविमा उनै रावलको मुख्य आतिथ्यमा किताब बाँडियो। ती र धनगढीबाट अगाडि नै लगिराखिएका किताब रावलले बाँडे।
‘मन्त्रीलाई जानकारी भएन होला, पिएलाई भनेको थिएँ,’ केन्द्रका एक अधिकारीले भने, ‘हेलिकप्टर प्याक भनेपछि किताब लैजान सकिएन।’
रक्षामन्त्री रावलले हेलिकप्टर लिएर जाँदा महत्वपूर्ण सरकारी काम ‘पाठ्यपुस्तक’ वितरण गरेको भनेका थिए। डडेलधुरा, अछाम र बाजुरामा रक्षामन्त्री रावल आफू र पार्टीका कार्यकर्ता भरेर हेलिकप्टरमा उडे।
ठूला–ठूला विपद् र राष्ट्रलाई पर्दा प्रयोग गर्न भनेर महाभूकम्पपछि नेपाल ल्याइएको एमआई–१७ मा चढेर रक्षामन्त्री रावलले चार दिन ती जिल्ला घुम्दा छात्राबासदेखि मन्दिर उद्घाटन र एमाले पार्टीको नगर कमिटी अधिवेशन उद्घाटन गरे।
नेपाली सेनाको एमआई–१७ हेलिकप्टर कस्तो हो? यो कति खर्चिलो छ? र कस्ता ठाउँमा प्रयोग हुन्छ?
‘यो सुन्दैगर्दा एउटा नागरिकको तर्फबाट म भन्छु, एमआई–१७ मा रक्षामन्त्रीको त्यो भ्रमण औचित्यपूर्ण देखिएन,’ पूर्व रक्षासचिव देवेन्द्र सिटौलाले भने, ‘यस्तो महत्वपूर्ण चिजको दुरूपयोग हुनु हुँदैन, यस्तो सामग्री प्रयोग गर्दा औचित्य प्रष्ट खुल्नुपर्छ।’
सिटौलाका अनुसार यो हेलिकप्टर चार दिन फन्फनी उडाउँदा लाख दुईलाख मात्रै खर्च हुँदैन, साइकलले काम चल्ने ठाउँमा रेल लिएर किन जानुपर्यो भन्ने चाही महत्वपूर्ण हो। ‘आपत–विपद आइलाग्यो भने लिएर हिँड्ने चिज हो, अथवा भीभीआईपीको विशेष भ्रमणमा दुई चार घन्टा लान सकिन्छ तर चार–चार दिनसम्म लगिनु र पार्टीका कार्यकर्ता घुमाइनु यो चानचुने विषय होइन,’ सिटौला भन्छन्, ‘मैले रक्षा मन्त्रालयमा सात वर्ष काम गरेँ, बाढीपहिरो आएको अवस्थामा भए एउटा कुरा हुन्थ्यो, सानो काममा घुमफिर गर्ने, व्यक्तिगत हिसाबले हिँड्ने प्रवृत्ति पहिलेदेखि नै छ।’
यत्रो हेलिकप्टर नै लानुपर्ने काम के थियो? सेनासँग अरू पनि हेलिकप्टर थिएनन्? भन्दै सिटौलाले प्रश्न गरेका छन्। ‘राष्ट्रलाई ठूलो क्षति, बाढी पहिरोका बेला प्रयोग गर्नुपर्ने यो चिज सामान्य ज्ञान पनि नराखिकन डुलाउँदा राज्यलाई क्षति र व्ययभार परेको छ,’ सिटौलाले भने।
जंगी अड्डा स्रोतका अनुसार रक्षामन्त्रीले ठूलै हेलिकप्टर मागेपछि एमआई–१७ पठाइयो। र, ब्यारेक भ्रमणको औपचारिक कार्यक्रम थिएन। यहाँबाट हेलिकप्टर उडेपछि मात्र स्थानीय ब्यारेकलाई जानकारी दिइएको थियो। रक्षामन्त्रीको औपचारिक भ्रमण हुँदा प्रधानसेनापति आफैं जाने परम्परा छ। सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरी भ्रमणबारे जानकारी दिन्छ। रक्षामन्त्रीको त्यो भ्रमणमा दुबै भएनन्।
सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीका अनुसार लामो दूरीमा जानुपर्ने भएको र एमआई–१७ भरपर्दो हेलिकप्टर भएकाले पठाइयो। ‘हामीसँग जे उपलब्ध छ, त्यही दिने निर्णय भयो, लामो दूरीका लागि भरपर्दो हुन्छ भनेर पनि हो,’ कार्कीले भने। एमआई–१७ हेलिकप्टरमा मन्त्री रावल बाहेक को–को चढे जंगी अड्डाले भन्न सकेको छैन। ‘त्यो रक्षाको समन्वयमा भएको भ्रमण भएकाले विस्तृतमा हामीलाई थाहा हुने कुरा पनि भएन,’ उनले भने।
एमआई–१७ बाट चार दिन चक्कर लाउँदा रोचक घटना भए। अछामको रामारोशनमा राखिएको एउटा कार्यक्रममा एमआई–१७ बस्न सकेन, आवश्यक ठाउँ नभएका कारण। त्यसैगरी, बाजुराबाट फर्किंदा ऋषिदेवामा एउटा स्कुल उद्घाटन कार्यक्रम थियो, त्यहाँ पनि बस्न सकेन।
बुढाकोटमा पनि कार्यक्रम थियो बस्न सकेन। फर्कियो। लुङग्रा गाविसमा एकपटक बस्न नसकेपछि मंगलसेन ल्याइयो। स्थानीयहरू परिचालन गरेर लुङ्ग्रामा बारीको गह्रो नै खनाइयो हेलिकप्टर बसाउनका लागि।
मार्कु गाविसमा पनि बस्न सकेन, अन्त्यमा एक स्थानीयको गहुँ रोपेको ठूलो गह्रामा बसाइयो। स्रोतका अनुसार गहुँमा बसाउँदा भएको क्षतिको ‘हर्जाना’ तिर्ने सहमति भएको छ। तर अहिलेसम्म हर्जाना नपाएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
घन्टामै पाँच लाख खर्च गर्ने एमआई–१७
डडेलधुरा वा अछाम हेलिकप्टरबाट त्यहाँ पुग्दा डेढ घन्टाभन्दा बढी समय लाग्छ। रक्षामन्त्री रावल ९ गते गएका थिए र १३ गते फर्केका थिए। चार दिन पुरापुर हेलिकप्टरमा डडेलधुरा, बाजुरा र अछामका विभिन्न गाविस घुमे।
चार दिन तीन जिल्ला उड्दा हेलिकप्टर कति घन्टा उड्यो? सेनाले दिन मानेको छैन। तर यो एमआई–१७ हेलिकप्टरको खर्चबारे केही जानकारी प्राप्त भएको छ। सेनाको अति महंगोमध्येको हेलिकप्टर हो एमआई–१७। यस्ता हेलिकप्टर सेनासँग चार वटा छन्। दुई वटा महाभूकम्पपछि ल्याइएको थियो। त्यसअघि रहेका दुईमध्ये एउटा उडिरहेको छ भने एउटा मर्मतको क्रममा ग्राउन्डेड छ।
सैनिक मुख्यालय स्रोतका अनुसार यसको खर्च भनेको प्रतिघन्टा पाँच लाख रुपैयाँ हो। यसले प्रतिघन्टा इन्धनमात्रै सातदेखि आठ सय लिटरसम्म खपत गर्छ। अहिले हवाई इन्धन प्रतिलिटर १०९ रूपैयाँ छ। हिसाब गर्ने हो भने यो हेलिकप्टरले घन्टामा झन्डै एक लाख त इन्धनमात्र सिध्याउँछ।
‘चार्टर गरेर लैजानुपर्थ्यो भने नेपाल राष्ट्र बैंकमा पाँच लाख रूपैयाँ डिपोजिट गरेपछि मात्र यो हेलिकप्टर उड्छ,’ सैनिक स्रोतले भन्यो। साधारणतया प्रधानमन्त्री र रक्षामन्त्रीले हेलिकप्टर प्रयोग गरेको खर्च सरकारले तिर्दैन, आफैंले व्यहोर्नुपर्दा अन्ततः सेनालाई नै व्ययभार पर्न जान्छ।
‘राष्ट्रको संवेदनशील क्षेत्र हो सेना त्यसमाथि उसले प्रयोग गर्ने स्रोतसाधनमा रणनीतिक कुरा हुन्छन्,’ पूर्वरक्षासचिव सिटौलाले भने, ‘मैले प्रश्न गरेको चाहीँ कुन कार्यका लागि यति धेरै खर्चिलो साधन प्रयोग गरियो? भन्ने हो।’ (सेतोपाटीबाट साभार)
दुर्जकुमार राई निर्दोष छन्
राजु स्याङ्तान ।
२०७३ बैशाख १६। दोस्रो जनआन्दोलन दबाउन भूमिका खेल्ने दुर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका छन् । उनको पद पढुवा भएसँगै फेरि एक पटक नेपाली जनमानस तातिएको छ । पटक पटक जनविरोधी व्यक्तिहरु पुरस्कृत हुँदै जाने त्यही बेला साउनको भेल झैं मानिसहरु एक पटक जाग्ने, फेरि निधाउने यो रोग अब नेपालमा दिर्ध रोग जस्तै भएको छ । मानिसलाई गहिरो गरि लागेको छ की, एउटा हत्यारालाई किन बढुवा गरियो ? सिधा अर्थमा हेर्दा कुरा सही हो ।
दुर्ज कुमार राईलाई नियुक्ति गरिएको होइन । उनलाई बढुवा गरिएको हो । नियुक्ति भनेको नयाँ भर्ना हो र बढुवा भनेको पहिला नै काम गरिरहेको व्यक्तिको पदोन्नति मात्रै हो । यस अर्थमा राई दोषी भएको भए त्यतिबेलै (जतिबेला देशमा शाही सत्ता ढल्यो) जनहत्यारा भनि निलम्बन गर्नु पथ्र्यो । एउटा व्यक्ति अपराध गरिसकेपछि यथास्थानमा रहँदासम्म निर्दोष, बढुवा हुने वित्तिकै दोषी, यस्तो दुनियाँमा कतै हुँदैन । त्यसबेला बादशाहलाई गद्दिबाट खसाले लगत्तै उनका भरौटेहरुलाई लखेट्नु पर्ने थियो । आज आएर उनको बारेमा अनावश्यक टिका टिप्पणी गर्नु समयको बर्बादी मात्रै हो ।
राज्यले कस्तो नीति अख्तियार गरेको छ भन्ने प्रवृतिबाट यस्ता व्यक्तिहरु बाहिर आउने गर्छन् । जनताको छातिमा बन्दुक दाग्न आदेश दिनेहरु देशको सम्मानित पदमा आसिन भइरहेको अवस्थामा एक जना निमित्त पात्रलाई गाली गर्नु बचपना मात्रै हुन्छ ।
दुर्जकुमार राई एक निमित्त पात्र मात्रै हुन् । उनको पछाडि आजको सिङ्गो राज्य व्यवस्था छ । यो कोणबाट सोँच्न थाल्दा मात्र समस्याको चुरो कुरा भेटिन्छ । अब प्रश्न उठ्छ त्यसो भए दोषी को हो त ? दोषी खोज्दै जाँदा सबैभन्दा पहिला आजको राज्य व्यवस्थाको संचालक प्रधानमन्त्रीको बारेमा सोच्नु पर्ने हुन्छ ।
जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ?
जनआन्दोलन ताका जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? आदेश पालक दोषी हो भने आदेश दिने कसरी निर्दोष हुनसक्छ ? जनआन्दोलनको खुङ्खार विरोधी प्रधानमन्त्री र हत्या गर्न आदेश दिने उपप्रधानमन्त्री बन्न हुने देशमा एउटा सिपाही बढुवा हुन किन नहुने ? आज भइरहेको परिदृष्य जुन विरुवा रोपिएको हो त्यही फलेको हो । चिलाउनेको रुखमा चिलाउनेकै गेडा फल्छ । त्यहाँ सुन्तला फल्दैन ।
यस अर्थमा आज दुर्जकुमार राईको बिरुद्ध खनिएका विरोधका स्वरहरु उनलाई संरक्षण गर्ने राज्य व्यवस्थाका सञ्चालकहरुतिर सोझिन आवश्यक छ । सारतः आजको सिङ्गो परिपाटी नै बेठिक छ । एउटा व्यक्ति विशेषको बारेमा चियापसलमा बसि टिकाटिप्पणी गर्ने भन्दा सिङ्गो राज्यव्यवस्थाको चरित्रको बारेमा प्रश्न उठाउने सचेत पुस्ता आजको आवश्यकता हो । (साभार, खबरडबलीबाट)
२०७३ बैशाख १६। पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगयतमा नियुक्ति पाएका कर्मचारी बखार्नस्त गर्न अख्तियारले निर्देशन दिएको समाचार छ ।
निदेशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी संलग्न विशेष बैठक बसेको थियो ।
कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन् ।
अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्य पत्र पठाएको छ । (अनलाइन खबरबाट)
२०७३ बैशाख १२। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नहुँदै आधा दर्जनभन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई खाजा, भोजलगायत खर्च (विविध शीर्षक) का लागि एक करोड ५० लाख रुपैयाँ दिइएको थियो ।
प्रधानमन्त्री ओलीले अनावश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ ।
अर्थले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट यो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निकासा दिएको हो । (रातोपाटीबाट) ।
२०७३ बैशाख १०। पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकार जगत नेपालको ‘पहिलो संसद्ः बिपी–महेन्द्र टकराव’ नामक पुस्तक आज व्यवस्थापिका–संसद् भवनमा आयोजित समारोहमा सार्वजनिक गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी ‘आफ्नै कुरा’ र ‘सदन, सत्ता र सडकमा नेपाली काँग्रेस’ नामक पुस्तक प्रकाशित गरिसक्नुभएका पत्रकार नेपालको यो तेस्रो कृति हो । सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले इतिहासको एउटा कालखण्डका बारेमा लेखिएको यो पुस्तकले वर्तमानको विश्लेषण र भविश्यका लागि मार्गनिर्देश गरेको बताउनुभयो ।
उहाँले राष्ट्र, राष्ट्रियता र देशभक्तिका बारेमा जतिकुरा गरे पनि सबै समुदायलाई संविधानमा समेट्न नसकिएको उल्लेख गर्नुभयो । डा यादवले भन्नुभयो– “मधेस र पहाडलाई जोडेर अघि बढ्नसके हामी वास्तविक राष्ट्रवादी बन्न सक्छाँै, यो पनि इतिहासको एउटा कालखण्ड हो ।”
उहाँले मधेसको समस्या समाधान नहुनु पीडा भए पनि तीन करोड नेपालीको भावनाबमोजिम यो संविधान जारी गरेको बताउनुभयो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जनताको भावनाअनुसार संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– “छिमेकी मुलुक भारतले जारी गरेको संविधान १२२ पटक संशोधन गरिसकेर पनि जनभावना समेट्न अझ प्रयन्त गर्दै छ भने हामीले पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान एकपटक मात्र संशोधन भएको छ । यसलाई समयसापेक्ष बनाउँदै लैजान सकिन्छ ।”
पहिलो संसद् एकपटक आधा घन्टाका लागि बहिस्कार भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो– “लामो समयसम्म संसद् बहिस्कार हुुनु राम्रो होइन, हिजो नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एमाओवादीलगायतले संसद् अवरुद्ध गर्न जे–जस्तो गरे त्यो बेठीक भयो ।”
अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले २००७ साल पछिको संसद्लाई अधिकार दिन नचाहे पनि बिपीको कूटनीतिक पक्ष भने राम्रो भएको बताउनुभयो ।
उहाँले राजतन्त्रको जरा अझै विद्यमान रहेकाले हामी सुरक्षित छाँै भन्न नसकिनेतर्फ पुस्तकले सङ्केत गरेको र विगतका अन्दोलनमा जनताको त्यागलाई वर्तमान संविधानले समेट्न नसकेको उल्लेख गर्नुभयो ।
प्राध्यापक लोकराज बरालले पृथ्वीनारायण शाहदेखि अहिलेसम्म आइपुग्दा नेपालको इतिहास कुनै तार्किक दृष्टिले अघि नबढी एक ठाउँबाट अर्को ठाउँमा उफ्रेर फड्को मारेको टिप्पणी गर्नुभयो । (गोरखापत्रबाट)
२०७३ बैशाख ९। सामाजिक सञ्जाल, फेसबुकले अबदेखि म्यासेन्जरमा ग्रुप कल गर्ने नयाँ सुविधा थप गरेको छ ।
यो सुविधा अन्तर्गत एक पटकमा तपाइ बढिमा ५० जनासँग ग्रुप कल गर्न सक्नुहुन्छ । फेसबुकले यो ग्रुप कल सुविधा विश्वव्यापी रुपमा ल्याएको हो ।
यो फिचर आईओएस र एन्ड्रोइड डिभाइसका लागि उपलब्धछ, यदि तपाइ पनि यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने फेसबुक म्यासेन्जरलाइ अपडेट गर्नुपर्ने हुन्छ । (गोरखापत्र अनलाइनबाट)
विक्रम सुब्बा।
२०७३ बैशाख ६। कुनै पेसेवरले काम नगरे “अनप्रोफेश्नल” भनेर भद्दा गाली गरिन्छ । जंगलमा स्कंकलाई घिनलाग्दो जनावर ठानिन्छ र कोही उसको सामु परे खप्नै नसकिने अत्यन्तै गनाउने गन्ध छरेर भगाउने गरिन्छ । त्यस्तै कार्यालयहरूमा ‘अनप्रोफेसनल’ भन्नाले देख्दै काम ठग्न बसेको मानिस भन्ने बुझिन्छ । यो गाली गर्दैगर्दा गाली गर्नेको दिमागमा के कस्तो मानिसको छवि हाजिर हुन्छ त ? सायद निम्नअनुसार हुन सक्छन् –
१) काम गर्ने जिम्मा लिएको तर समयमा काम नगर्ने (समय-चोर) मानिस ।
२) घुमाएर घुस (या जाँड-पानी या कुनै फेवर) माग्ने मानिस ।
३) आफ्नो जातको वा “आफ्नो मान्छे”को काम फटाफट गर्ने (रेसिष्ट) तर अरुको काम भने झुलाउने मानिस ।
४) जुन कामको जिम्मा दिइएको हो सो कामको निम्ति अयोग्य मानिस ।
५) दिइएको कामप्रति उसको रुचि पटक्कै नभएको, अलिक दिनको निम्ति हल्लिन मात्र आएको मानिस ।
६) एक प्रोफेसनलले कसरी काम गर्छ भन्नेबारे जिरो ज्ञान भएको मानिस ।
व्यापारीहरू, गैससवालाहरू, कानुनचीहरू, शिक्षक-प्रोफेसरहरू, डाक्टर-इन्जिनियरहरू, पुलिस, सैनिक, मन्त्रीहरूले जे जसरी काम सम्पादन गरिरहेको देखिएको छ के त्यो प्रोफेसनल किसिमको छ ?
७) त्यस्तो मानिस, जसलाई राम्रो बोल्न र प्रोफेसनल किसिमले व्यवहार गर्नै आउँदैन ।
८) जिम्मा लिएको कामको व्यवस्थापन गर्न नजान्ने अयोग्य मानिस ।
९) सामन्तवादी चिन्तन भएको मानिस, जसले आफूलाई जनताको सेवा गर्न बसेकोभन्दा पनि “म जनताको मालिक हुँ” भनी ठान्छ ।
१०) मुलुकलाई बर्बाद गर्न तलब दिएर राखिएको ठूलाबडाको मानिस ।
११) घुस पाउने हो भने देशै बेच्न तैयार होलाजस्तो मानिस आदि ।
कसरी छु्ट्याउने : को प्रोफेसनल र को अनप्रोफेसनल ?
एउटा डाक्टरले सुत्केरी बेथा लागेको महिला हस्पिटलको गेटमा आइपुगेदेखि विदा दिएर हस्पिटलको गेटबाट बाहिर पठाउनेसम्म कुन कुन चरणमा के के काम गर्दै जानुपर्छ भनेर अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार काम गर्नुपर्छ भनेर तोकिएको छ भने –
प्रोटोकलअनुसार काम गर्ने सीप भएको, ठीक समयमा ड्यूटीमा आउने र काम पनि गरिदिने प्रोफेसनल । र, सो अनुसार काम नगर्ने अनप्रोफेसनल ।
त्यस्तै गरेर सिडिओ कार्यालय वा जिविस वा नगरपालिका वा गाविसमा वा कुनै पनि जिल्लाको अड्डामा नागरिक बडापत्रअनुसार काम गर्ने सीप पनि भएको, ठीक समयमा काम पनि गरिदिने प्रोफेसनल । र, सो अनुसार काम नगर्ने अनप्रोफेसनल ।
यीबाहेक एउटा प्रोफेसनलमा निम्न कुरा पनि हुनुपर्छः
पार्टीहरूले दिनदिनै ढाँटेर काम गर्छन्, अरुलाई उल्लु र आफू मात्र ठीक ठानेर चल्छन्, सम्पतिको विवरण ठिकसँग दिँदैनन्, आफ्नै विधान र घोषणा पत्रलाई पनि बंग्याउँछन् । यस्ता पार्टीलाई प्रोफेसनल भन्न सकिन्छ ?
१) जति बजे कार्यालयमा आउने, काम गर्ने, खाना-खाजा खान जाने र कार्यालय बन्द गर्ने भनी तोकिएको छ सोही अनुसार गर्ने मानिस प्रोफेसनल हो । र, ढिलो कार्यालय आउने, काम गर्ने समयमा गफ गरेर बस्ने, जिस्केर बस्ने, स्वेटर बुनेर बस्ने, चिया खाएर बस्ने, फोनमा लामोलामो कुरा गरेर बस्ने, खाजा खान गएर तोकेको समयमा कुर्सीमा नफर्कने अनप्रोफेसनल हो ।
२) सन्चो छैन भने कार्यालय नजाने वा विदामा बस्ने, कार्यालयमा सेवाग्राही र कर्मचारी साथीहरुसँग हँसिलो भएर बोल्ने-काम गर्ने प्रोफेसनल । र, कार्यालय गइसकेपछि पनि ‘आज सन्चो छैन’ भनेर झोक्राएर बस्ने, ठुस्स परेर अँध्यारो अनुहार लगाएर घिसेपिठे किसिमले काम गर्ने अनप्रोफेसनल ।
३) तोकिएकोजस्तो सफा चट्ट र सालीन किसिमको पहिरन लगाउने, टेबल-कम्प्युटर-कुर्सी-कोठा-दराज-ट्वाइलेट सफा राख्ने प्रोफेसनल । र, नमिलेको वा उच्छृंखल पहिरन लगाउने, फोहोर कोठा, फोहर टेबल-कुर्सी र फोहर ट्वाइलेट, फोहर कोठा-दराज राखेर गनाउने ट्वाइलेटसँगै गनाउने मोजाको गन्ध छर्दै गनाउने खैनी खाँदै वा चुरोट तान्दै गनाउने सास फेर्दै बस्ने अनप्रोफेसनल ।
४) सफा दाँत, सफा हत्केला र नङहरू, सफा देखिने जुत्ता, चिटिक्क टोपी वा सारी-चोलो, सफा झोला वा ब्याग, खाने पानी राख्ने सफा जार-ग्लास, दारी-जुँगा मिलाएर काटेको, कपाल सुहाउँदिलो गरी मिलाएको र फुर्तिलो देखिएर बसेको प्रोफेसनल । पहेँला फोहिरी दाँत-नङहरू, फोहोरी जुत्ता, कच्याक्कुचुक्क टोपी, थोत्रो झोला वा ब्याग, घिनलाग्दो पानीको जार र ग्लास, जिङरिङ्ग दारीजुँगा भएको, हेर्दै अल्छीलाग्दो भएर बस्ने अनप्रोफेसनल ।
५) आफ्ना सहकर्मीलाई सहयोग गर्न तत्पर, कार्यालयमा कुनै पनि अप्ठेरो आइलागे समाधान गर्न सहकर्मीहरूसँग छलफल गरेर समाधान गर्ने प्रोफेसनल । र, आफ्ना सहकर्मीलाई सहयोग नगर्ने, आफूले जानेको कुरा शेयर नगर्ने बरु हतियारको रुपमा दुरुपयोग गर्ने, अप्ठेरो आइलागे चुपचाप बस्ने वा भाग्ने समाधान गर्न नखोज्ने अनप्रोफेसनल ।
फेल भएकाले नेपालको विकास कसरी गर्लान् त ? गफ मात्र हान्नेहरुको हातमा डाडु-पन्यू, काम गर्नेहरू ईमिग्रेन्ट वर्कर ! अनि कसरी नेपालमा विकास हुने ?
६) हिजो राति सिरियलमा के भयो, आज बिहान खानामा कस्तो अचार खाइयो, बाटोमा आउँदा कसले फोन गरेर के के भन्यो भने जस्ता कार्यालयको कामसँग असम्बन्धित कुरा नगरी फटाफट आफ्नो ड्यूटीको काम गर्ने प्रोपेशनल । नत्र खत्तम ।
७) मानिसहरूसँग सकारात्मक र उत्साहका कुरा गर्ने प्रोफेसनल । र, जो जहिले पनि नकारात्मक टिप्पणी मात्र गर्ने, निराशाका कुरा मात्र गर्ने अनप्रोफेसनल ।
८) सानो-सानो गल्ती भए “गल्ती भयो सरी” “यस्तो गल्ती भएकोमा म लज्जित छु”’ भनेर स्वीकार गर्ने र त्यसलाई सुधार्ने प्रोफेसनल । गल्ती भए पनि “आफू ठीक” भनेर अडान लिने, गल्तीलाई सच्याउन नचाहने अनप्रोफेसनल ।
९) सहकर्मीहरूसँग काम गर्दा अनेक सवाल (Issues) सामुन्ने आउँछन् । यस्तो बेलामा जहिले पनि सहीलाई सही र गलतलाई गलत भनेर नम्रतापूर्वक आफ्नो अडान लिने प्रोफेसनल । र, गलत कुराको पक्षपोषण गर्ने र ढिपी कस्ने अनप्रोफेसनल ।
१०) हरेक कुरा नढाँटी बोल्ने, नजानेको कुरा जान्दिनँ भन्ने, खोजेर बुझेर बताउने तर गलत कुरा नगर्ने प्रोफेसनल हो । र, ढाँटेर छलेर बोल्ने, आफ्नो बायोडाटामा नगरेका कामको सूची राक्ने अनप्रोफेसनल हो ।
११) जोसँग जति कुरा शेयर गर्नुपर्ने हो ठिक्क शेयर गर्ने, चिया पसलमा जस्तो फुक्काफाल गफ नगर्ने प्रोफेसनल हो । र, जो चाहिएको भन्दा बढी गफ दिन्छ त्यो अनप्रोफेसनल हो ।
प्रोफेसनलिज्मको सिद्धान्तले के भन्छ ?
सन २००२ मा अध्ययन गरिए अनुसार प्रोफेसनलहरू सृजनशील हुँदैनन् । उनीहरूलाई त निर्दैशिका, प्रोटोकल, नियमले जे जे भनेको छ त्यो मात्र गर्न आउँछ । किनभने तोकेको भन्दा बढी सृजनशील हुन थाले उनीहरूलाई नियम कानुनले बाँध्छ । त्यसैले उनीहरू ईन्डक्ट्रिनेशन गरिएको अनुसार काम गर्ने मात्र हुन् । उनीहरुले सृजनशील हुने गुन्जायस छैन ।
नेपालको सन्दर्भमा प्रोफेसनलिज्मको विडम्बना
नेपालका सबैजसो राजनीतिक पार्टीहरूले दिनदिनै ढाँटेर काम गर्छन्, अरुलाई उल्लु र आफू मात्र ठीक ठानेर चल्छन्, सम्पतिको विवरण ठिकसँग दिँदैनन्, आफ्नै विधान र घोषणा पत्रलाई पनि बंग्याउँछन् । यस्ता पार्टीहरूलाई प्रोफेसनल भन्न सकिन्छ ?
त्यस्तै सरकारी कर्मचारीहरू संगठन खोलेर नेतागिरी गर्छन्, नारा-जुलुस गर्छन् तर काम गर्ने कार्यालयमा नागरिक बडापत्र अनुसार काम गर्दैनन्, प्रमाण पुगे पनि आफ्नो मान्छे होइन भने झुलाउँछन्, दिउँसै घुस लिन्छन् । यस्ता कर्मचारी प्रोफेसनल हुन सक्छन् ?
त्यस्तै व्यापारीहरू, गैससवालाहरू, कानुनचीहरू, शिक्षक-प्रोफेसरहरू, डाक्टर-इन्जिनियरहरू, पुलिस, सैनिक, मन्त्रीहरूले जे जसरी काम सम्पादन गरिरहेको देखिएको छ के त्यो प्रोफेसनल किसिमको छ ? छैन । जाँचको नापोलाई ० देखि १० लाई मेजरिङ रड मान्ने हो भने २-३ भन्दा बढी स्कोर दिन सकिन्न । अहिले अल्फाबेटीकरणको चलन सुरु भएको छ क्यारे । त्यसमा ए देखि (ए प्लस र ए, बी प्लस र बी, सी प्लस र सी, डी प्लस र डी, ई प्लस र ई) ई सम्म छ क्यारे । डी पछिकाहरू फेल सरह हो क्यारे । यो प्रणालीअनुसार पनि डीभन्दा बढी दिन सकिन्न ।
अर्थात फेल भएकाले नेपालको विकास कसरी गर्लान् त ? गफ मात्र हान्नेहरुको हातमा डाडु-पन्यू, काम गर्नेहरू ईमिग्रेन्ट वर्कर ! अनि कसरी नेपालमा विकास हुने ? (इसमताबाट साभार)
चीनसँग भिड्न दक्षिण चीन सागरमा अमेरिकाले सेना उतार्यो
२०७३ बैशाख ४ । बढ्दो चिनियाँ शक्तिसँग भिड्नका लागि अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सेनाको संख्या बढाएको छ ।
दक्षिण चीन सागरमा आफ्नो देशको सैन्य संख्या बढाउनका लागि अमेरिकी विदेशमन्त्री एस कार्टर अघिल्लो सातादेखि भारत र फिलिपिन्समा सक्रिय भएका थिए । फिलिपिन्स र भारतको साथ लिँदै अमेरिकाले दक्षिण चीन सागरमा चीनविरुद्ध आफ्नो सैन्यशक्ति बढाएको हो ।
फिलिपिन्स र भारतको सहयोग लिएर अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सैन्य बललाई बढाउन लागि ती दुई देशसँग भएको सम्झौता भएको खुलासमा पनि कार्टरले गरेका छन् । बढ्दो चिनियाँ शक्तिसँग मुकाबिला गर्नका लागि अमेरिकाले बेइजिङलाई अब दक्षिण चीन सागरमा उसको शक्ति कम गर्नुपर्ने सन्देश दिएको हो ।
भारत र फिलिपिन्ससँगको सम्झौताबाट अमेरिकाले चिनियाँ नेतृत्वलाई आफ्नो प्रगतिमा बाधा पुर्याएइरहेको सन्देश पनि दिन खोजेको छ । अमेरिकाले एसियाका यी दुई देशसँग मिलेर दक्षिण चीन सागरमा उतारेको सैन्य संख्याबारे केही खुलाइएको छैन । तर, दक्षिण चीन सागरमा पहिलो चरणमा जल सेनालाई उतारेको अमेरिकाले दोस्रो चरणमा वायु सेनालाई उतार्ने भएको हो ।
६ दिन लामो भ्रमणका क्रममा भारत र फिलिपिन्स आएका अमेरिकी रक्षा सचिवले शुक्रबार दक्षिण चीन सागरमा न्यूक्लियर हतियारसहितको विमानमा चढेर यात्रा गरेका थिए । अमेरिकी रक्षा सचिव कार्टरले चीनले आफ्नो भनेर दाबी गर्दै नक्कली टापु बनाइरहेकै क्षेत्रमा न्युक्लियर हतियारसहिको जहाजबाट उडान गरेर चीनलाई भिड्न तयार रहेको सन्देश दिएका हुन् ।
कार्टरको भारत र फिलिपिन्स भ्रमणअघि अमेरिका र फिलिपिनो सेनाबीच दक्षिण चीन सागरक्षेत्रमा ११ दिन लामो संयुक्त सैन्य अभ्यास गर्ने सहमति भएको थियो । अमेरिकाले यो सैन्य अभ्यासपछि फिलिपिनो सेनासँगै आफ्ना सैनिक पनि दक्षिण चीन सागरमा राख्ने फैसला गरिसकेको थियो।
यो सैन्य अभ्यास पूरा भएपछि अमेरिकाले फिलिपिनो सेनासँग मिलेर दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधि रोक्न संयुक्त सैन्य गस्ती गर्ने निर्णय पनि गरिसकेको छ । सुरुमा जलसेनालाई फिलिपिनो सेनासँगै गस्तीमा उतारेपछि अमेरिकाले आफ्नो वायुसेनालाई पनि दक्षिण चीन सागरमा उतार्ने तयारी गरेको छ ।
चीनले आफ्नो भनेर दाबी गर्दै आएको सामरिक महत्वको दक्षिण चीन सागरमाथि जापान, फिलिपिन्स र भारतले पनि दाबी गर्दै आएका बेला अमेरिकाले यस्तो कदम चालेको हो । (अन्नपूर्णपोष्टबाट साभार)
२०७३ बैशाख ४। डा. कविताराम श्रेष्ठ आफूलाई ‘अस्वीकृत विचार साहित्य अभियन्ता ‘ भन्न रुचाउँछन् । उनैको पहलमा २०५४ सालमा ‘अस्वीकृत विचार साहित्य गुठी’ स्थापना भएको थियो । सो गुठीले २०५५ सालदेखि सत्ताको विपक्षमा रहेको विचारलाई सम्मान गर्नका लागि ‘अस्वीकृत विचार साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । २०६६ सालदेखि विभिन्न कारणले स्थगित सो पुरस्कार यस वर्ष एकमुष्ठ रुपमा प्रदान गरिँदै छ । हाल उनी बेलायतबाट केही समयका लागि काठमाडौंमा छन् । छिट्टै प्रदान गर्न लागिएको सो पुरस्कारबारे उनीसँग गरिएको संक्षिप्त कुराकानी ।
लामो अन्तरालपछि ‘अस्वीकृत पुरस्कार’ प्रदान गर्दै हुनुहुँदो रहेछ ?
हो, लामो समयपछि पुरस्कार दिँदैछौं । २०५५ सालदेखि २०६५ सालसम्म नियमित रुपमा यो परस्कार प्रदान गरिएको थियो । त्यसयता विभिन्न कारणले पुरस्कार स्थगित हुन पुगेको थियो ।
के थियो त्यस्तो कारण ?
अस्वीकृत विचार साहित्य गुठीका अध्यक्ष हुनुहुन्थ्यो कृष्णचन्द्र सिंह प्रधान, २०६६ सालमा उहाँ खस्नुभो । उपाध्यक्ष हुनुहुन्थ्यो गोविन्द भट्ट, उहाँ पनि त्यसपछि खस्नुभो । दुई वर्ष सरासर यसरी पुरस्कार प्रदान गर्न सकिएन, स्थगित भयो । त्यसपछि म बेलायत लागेँ । मलाई क्यान्सर लागेको पत्ता लागेपछि उतै अपरेसन भयो । ‘किमो’ गर्नुपरेपछि त अरु काम गर्न सम्भवै भएन । परिवारकै सदस्यहरुले पनि अब त धेरै भो पुरस्कार दिनुपर्छ भन्न थाले । यस वर्ष २०६६ सालदेखि बाँकी रहेका वर्षको गरेर एकै पटक पुरस्कार दिँदैछौं ।
कति जनालाई दिँदै हुनुहुन्छ ?
आठ जनालाई दिँदैछौं ।
कस्तो कृति वा व्यक्ति चाहिँ पुरस्कारका लागि तपाईंहरुको छनौटमा पर्छ ?
साहित्यमा तीक्ष्ण लेखन छ तर विचारकै कारणले सीमान्तीकृत हुन पुगेको छ भने त्यस्तो लेखकलाई हामी प्राथमिकता दिन्छौं ।
भनेपछि वैचारिक रुपमा प्रतिपक्षीय लेखकहरुलाई प्राथमिकतामा राख्नुहुन्छ ?
हो, एकदम सही भन्नुभो ।
तपाईंकै अनौपचारिक कुराकानीको सन्दर्भमा भन्नुभएको थियो कि मदन पुरस्कार भनेको दान दिएजस्तो हो, म त्यो पुरस्कार दिए पनि लिने छैनँ । त्यसरी भन्ने हो भने त ‘अस्वीकृत पुरस्कार’ दान नै भयो नि ?
मैले कुन अर्थमा भन्न खोजेको हुँ भने मदन पुरस्कार भनेको सामन्ती सत्ताको पक्षपोषणमा रहेको पुरस्कार हो । यो त राणा-शाह शासकहरु ढलिसक्दा पनि त्यही विचारको पक्षपोषण गरिरहेको छ मदन पुरस्कारले । अहिलेसम्म पनि यो पुरस्कारको चरित्रमा फेरबदल आएको छैन ।
त्यसो पनि भनिहाल्न मिल्दैन कि ? किनभने २ वर्षअघि तपाईंले भन्नुभए जस्तै प्रतिपक्षीय लेखक राजन मुकारुङलाई ‘दमिनी भीर’ उपन्यासका लागि मदन पुरस्कार दिइएको छ नि ?
मैले त्यतिबेलै भनेको थिएँ- राजन मुकारुङलाई त्यो पुरस्कार दिनु भनेको मदन पुरस्कारको भित्ता ढल्नु जस्तो हो । त्यो उपन्यास सत्तापक्षीय होइन प्रतिपक्षीय साहित्य नै हो । तर २०६२/०६३ सालको जनआन्दोलनको रापताप खप्नका लागि मात्र त्यो पुरस्कार राजन मुकारुङलाई दिइएको हो । मैले अलिकति पनि समावेशी काम गरिनँ भने म ढल्छु भनेर मात्र त्यो पुरस्कार दिइएको हो । म राजन मुकारुङ भएको भए मदन पुरस्कार लिने थिइनँ । अहिले मदन पुरस्कार फेरि पुरानै दिशामा फर्किसकेको छ । अब प्रतिपक्षीय र विद्रोही विचार भएकाहरुलाई मदन पुरस्कार दिइने छैन ।
अनि तपाईंको ‘के किन भनियो ?’ पुस्तकका लागि पनि त मदन पुरस्कारको चर्चा चलेको थियो रे नि ?
मेरो यो किताब प्रकाशन भएपछि केही साथीहरुले ‘यो तेरो किताब मदन पुरस्कारका लागि दे’ भनेका थिए । मैले प्रस्टै भनेको थिएँ- ‘मदन पुरस्कार त म घरमै ल्याएर दिए भने पनि लिन्नँ । तिमीहरुले मलाई के भनेको ?’
(इसमताबाट साभार।)
शोभा शर्मा ।
२०७३ चैत ३०। बेलुकी पाँच बजेपछि सर्वोच्च अदालत परिसरबाट कालो धुवाँ फाल्दै एउटा पुरानो कार बाहिरिन्थ्यो। पछिल्लो सिटमा साधारण धोती–ब्लाउज लगाएकी, कपाल सेतै फुलेकी महिला हुन्थिन्।
केही वर्षदेखिको यो दिनचर्या उस्तै छ, खालि गाडी फेरिएको छ। सर्वोच्चले उनलाई नयाँ गाडी दिएको छ, तर उनी अहिले पनि उस्तै साधारण भेषमा हुन्छिन्। यिनी हुन्, सर्वोच्चकी एकमात्र महिला न्यायाधीश सुशीला कार्की, जो आफ्नै बलबुतामा सर्वोच्चको इजलाससम्म पुगेर आजबाटै मुलुकको कायममुकायम प्रधानन्यायाधीश बन्दैछिन्। उनी देशकै पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्।
‘उहाँको जीवनशैली हामी कर्मचारीको भन्दा धेरै साधारण छ,’ सर्वोच्चका सहरजिस्ट्रार विपुल न्यौपानेले भने, ‘हाइफाइ जिन्दगीमा उहाँको रुचि नै देखिन्न।’ सर्वोच्चका सहकर्मी, कर्मचारी र इजलासको बारमा उनीसामु बहस गर्ने वकिलहरू कार्कीको नैतिकता, आचारण र इमान सबैभन्दा बलियो पक्ष भएको बताउँछन्। ‘अचेलको जमानामा कुनै स्वार्थ नभएको र इमान भएको त्यो तहको व्यक्ति मैले कमै देखेको छु,’ अधिवक्ता सुरेन्द्र महतोले भने।
संसदीय सुनुवाइ भएको भए कार्कीले कायममुकायम हुनुपर्ने थिएन। सुनुवाइ समितिमा हुने राजनीतिक दलको हिसाबकिताबले मुलुकमा बन्न लागेकी प्रथम महिला प्रधानन्यायाधीशको पहिलो पाइलामा समेत बाधा हाल्यो। उनी विराटनगरजस्तो राजनीतिक किल्लामा हुर्किएकीले व्यावसायिक जीवनमा आइपर्ने राजनीतिक प्रभाव र बाधाहरूसँग अपरिचित भने छैनन्। अधिवक्ताको पृष्ठभूमि भएकी कार्कीको व्यावसायिक जीवनमा यसको प्रभाव नपर्ने कुरै भएन। ‘उहाँलाई कसैले सजिलै प्रभावमा पार्न भने सक्दैन,’ कार्कीलाई गुरु मानेर २४ वर्ष उनीसँगै काम गरेका विराटनगरका अधिवक्ता शान्तिराम भण्डारीले भने।
भण्डारीलाई धेरै समयअघिको चुनाव अहिले पनि याद आइरहन्छ। सुशीला कार्कीका पति दुर्गा सुवेदी निकट मानिने बद्री बस्नेत त्यो भेगका कांग्रेसी उम्मेदवार थिए। कार्कीको ल फर्ममा काम गर्ने भण्डारी भने कम्युनिस्ट राजनीतिको समर्थन गर्थे। आफ्ना प्रतिद्वन्द्वी लालबाबु पण्डितलाई समर्थन गरेको भन्दै भण्डारीलाई कार्कीको ल फर्मबाट निकाल्नुपर्ने कुरा बस्नेतले गरेछन्।
जब सुशीलाको कानमा यो कुरा पुग्यो, उनले तुरुन्तै बस्नेतलाई फोन गरेर भनिछन्, ‘तपाईंका नातेदारदेखि आफ्ना मान्छेका मुद्दा कति छन्, आउनुस् फाइल लिएर जानुस्, मेरो ल फर्मका साथीहरूलाई निकाल्ने या केही भन्ने होइन।’
२०३५ सालमा अधिवक्ताको लाइसेन्स लिएर कानुन व्यवसाय थाल्नुअघि कार्कीले अंग्रेजी र मनोविज्ञानमा महेन्द्र मोरङ क्याम्पसबाट स्नातक, बनारस विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट बिएल गरेकी थिइन्। उनी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघ समर्थक थिइन्। ‘उहाँले राजनीति, नाता, सम्बन्ध र अन्य प्रभावको छायाँ आफ्नो व्यावसायिक जीवनमा पर्नै दिनुभएन,’ भण्डारीले भने, ‘त्यसैले आफ्ना मान्छे, साथीभाइ र आफन्तहरू उहाँसँग बेखुसी रहन्छन्।’
त्यो बेला पूर्वाञ्चलमा वकालतमा लाग्ने महिला कोही थिएन। उनका ठूलो बुवा तोर्णबहादुर कार्की वकिल थिए। उनैको ल फर्मबाट कार्कीले कोशी अञ्चल अदालतमा वकालत सुरु गरिन्। ‘छोरीमान्छे वकिल कोही छैन, तिमी यो क्षेत्रमा आउनुपर्छ,’ त्यतिबेलाका अञ्चल न्यायाधीश गोपाल खत्रीले उनलाई हौसला दिएका थिए। ‘महिला वकिल भन्दै धनकुटासम्म बहस गर्न लैजान सेवाग्राहीहरू आउँथे भनेर उहाँले मलाई सुनाउनुभएको थियो,’ भण्डारीले भने, ‘पछि विराटनगरमा उहाँले आफ्नै पहिचान बनाउनुभयो।’
कार्कीका लागि वकालत आफ्नो व्यवसाय थियो, तर उनले कहिल्यै मुद्दाको ठेक्का लिइनन्। कसैको ‘एड्भाइजर’ पनि भइनन्। ‘आममान्छे मुद्दा लडिदे भनेर आए उसको फाइल च्यापेर वकालत गरिदिने हो। कहिल्यै मुद्दा जिताएबापत पैसा लिनु पनि भएन,’ भण्डारीले भने, ‘सेवाग्राहीले सकेजति दिन्थे, त्यतिमै चित्त बुझाउनु हुन्थ्यो। ’
कानुन व्यवसायीको जीवनमा मुद्दाका पक्ष–विपक्ष आइरहन्छन्। भण्डारीका अनुसार कार्कीले बलात्कारसम्बन्धी मुद्दा सकेसम्म लडिनन्। पीडितका पक्षबाट त सरकारले नै लडिदिन्थ्यो बलात्कारको अभियोग लागेका मात्रै वकिल खोज्दै आउँथे। उनीहरूका पक्षबाट कार्की लड्दैन थिइन्। आफ्नो ब्रह्मले विश्वास गरेको कुरामा कमै सम्झौता गर्ने स्वभावकी कार्की पुनरावेदन अदालत विराटनगर बारको सर्वसम्मत अध्यक्षसमेत भइसकेकी छन्। त्यो बेला बारमा अहिलेजस्तो दलका निकटहरूको समूह थिएन।
२०६१ सालमा सर्वोच्च अदालतले उनलाई वरिष्ठ अधिवक्ता उपाधि दिएको थियो। २०६५ सालमा सर्वोच्चकै न्यायाधीशका लागि उनी एकमात्र योग्यता पुगेकी महिला थिइन्। सर्वोच्चको अस्थायी हुँदै स्थायी न्यायाधीश भएकी कार्कीले भ्रष्टाचार मुद्दामा तत्कालीन बहालवाला सञ्चारमन्त्री जेपी गुप्तालाई जेल पठाइदिइन्। न्यायाधीश तर्कराज भट्टसहितको बेन्चबाट गरेको यो फैसलाबाट उनको चर्चा झन् चुलियो।
कार्कीसहितको इजलासले गुप्तालाई कैद र जरिवाना मात्रै तिराएन, गुप्तालाई सफाइ दिने विशेष अदालतका न्यायाधीशलाई समेत कारबाहीका लागि न्याय परिषदको ध्यानाकर्षण गरायो। बयान क्रममा गुप्ताले दाबी गरेभन्दा बढी आयलाई मान्यता दिएर सफाई दिएको भन्दै विशेष अदालतका न्यायाधीशलाई कारबाही सिफारिस गरिएको थियो।
न्यायाधीश कारबाहीको निर्णय केही विवादित भने बनेको थियो। उनको इजलासले कारबाही सिफारिस गरेका एक न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिषदले सफाई दिएर सर्वोच्च अदालतको न्यायाधीश समेत बनाएको छ। विशेषले सफाइ दिएपछि सर्वोच्च पुगेको कांग्रेसनेता गोविन्दराज जोशीको मुद्दामा पुनः प्रवेश गरी सुनुवाइ गर्न विशेषमै फर्काइदिने निर्णय पनि कार्कीकै इजलासले गरेको थियो। लामो समय सर्वोच्चमा थन्काइएको खुमबहादुर खड्काको मुद्दामा झगडिया झिकाउने पनि उनै थिइन्। जबकि, यी सबैसँग कार्की पूर्वपरिचित थिइन्।
यी फैसलापछि कार्कीलाई बधाई दिनेहरू धेरै थिए, तर उनी तर्किरहिन्। त्यसैबेला उनले एक पत्रिकासँग ‘फैसला बधाई लिनेदिने विषय नभएको’ प्रतिक्रिया दिएकी थिइन्। ‘फैसला बधाइ लिनेदिने विषय होइन, प्रमाण, मिसिल हेरेर संविधान, ऐन, कानुन र सर्वोच्चले प्रतिपादन गरेको नजिर टेकेर गर्ने न हो,’ उनले भनेकी थिइन्, ‘न्यायाधीशका अगाडि कोही पनि धनी–गरिब, ठूलो–सानो, महिला–पुरुष, परिचित–अपरिचित हुँदैन, मन कठोर वा कोमल बनाउन पनि पाइन्न।’
हालसालै संवैधानिक इजलासबाट भएको खिलराज रेग्मी विरुद्धको रिट खारेज गर्ने फैसलामा पनि कार्कीले ‘रेग्मीलाई सरकारप्रमुख बनाउनु गल्ती भएको’ कमेन्ट दिएकी छन्। संवैधानिक इजलासका अन्य तीन न्यायाधीश यस्तो कमेन्ट गर्न सहमत भएनन्। तर, प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग सहमत हुँदै कार्कीले फैसलामा ‘अबदेखि प्रजातन्त्रको मर्मविपरित हुने यस्तो काम नगर्न’ राय दिइन्। राजनीतिक, पारिवारिक वा परिचितको निकटता नहेरी ‘स्वयम्भूका दुई आँखाले मुद्दा हेर्ने’ उनको छवि अहिले पनि कायम छ।
यति हुँदाहुँदै, सबैभन्दा धेरै ‘राजनीतिक रंग देखिएको’ भन्दै विवादित सर्वोच्चको न्यायाधीश सिफारिसमा निर्णयकर्ताको हिसाबले उनी पनि ‘दोषमुक्त’ नभएको भनी आलोचना गर्नेहरू पनि छन्। ‘परिषदका सबै सदस्य समान रूपले अधिकारसम्पन्न हुन्छन्,’ एक अधिवक्ताले भने, ‘उहाँले पनि राजनीतिक भागबन्डा लगाएर पूर्वसभासदलाई सर्वोच्च ल्याउने निर्णयमा सहमति दिएकाले दोषमुक्त मान्न सकिन्न।’
यतिमात्र होइन, पछिल्लो न्यायाधीश सिफारिसलाई सभामुखले परिषद फर्काइदिएपछि झन् विवादित भएको थियो। त्यतिबेला सभामुख, कानुनमन्त्री र प्रधानन्यायाधीशबीच ‘कार्कीको पालामा एमाओवादीका मान्छे सिफारिस गरिदिने’ सहमतिमा विवाद टुंगिएको समाचार सार्वजनिक भएको छ। उक्त समाचारको अहिलेसम्म खण्डन आएको छैन।
संवैधानिक परिषदले कार्कीको सिफारिस ढिलाइ गर्नुमा पनि एमाओवादीले समर्थन नदिनुले हो भन्ने खबर बाहिर आएका छन्। एमाओवादीले आफ्नो रुचिको न्यायाधीश लानुपर्ने र द्वन्द्वकालका मुद्दामा कठोर फैसला हुन नहुने भन्दै बार्गेनिङ गर्न खोजेको आरोप लगाउनेहरू पनि छन्।
‘यस्तो परिस्थितिमा कसरी काम गर्नुहुन्छ, त्यसले नै उहाँको जोडघटाउ हुनेछ,’ एक वरिष्ठ अधिवक्ताले भने।
पहिलो महिला प्रधानन्यायाधीश कुरिरहेको सर्वोच्च अदालतमा कार्कीले गर्नुपर्ने काम धेरै छन्। राजनीतिले राम्रो गति लियो भने अबको एक वर्षमा नयाँ संविधान कार्यान्वयन हुनेछ। यहीबेला पुनरावेदन अदालत भंग गरेर उच्च अदालत गठन हुनेछ। सिंगो न्यायालयको प्रशासनिक जिम्मा अब उनको हातमा हुनेछ।
न्यायालयको छवि धमिलिँदै गएको अवस्थामा इमान र आचरण राम्रो भएको व्यक्ति नेतृत्वमा जाँदा राम्रा काम हुन्छन् भन्ने धेरैको आश हुन्छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले केहीअघि ‘सुशीला कार्कीमा केही गर्छु भन्ने विश्वास देखेको’ बताएका थिए। आफूमाथि गरिएका यी सबै आशा साबित गरेर देखाउन अब कार्कीसँग १३ महिनाको समय छ।
(सेतोपाटीबाट साभार)
डा. सञ्जीव शर्मा।
२०७२ चैत २८। सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ । अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ । यो बालबालिकाको मिर्गाैला रोग, अल्छीपना वा चकचकेपनाका कारण भएको होइन । तर, बालबालिका र तिनका परिवारका लागि यो चिन्ताको विषय बनेको हुन्छ ।
६ वर्षको उमेरसम्मका बालबालिकाले ओछ्यानमा पिसाब गर्छन् । पाँच वर्षको उमेरमा १५ देखि २० प्रतिशत बालबालिकामा ओछ्यानमा पिसाब गर्ने समस्या हुन्छ । उमेर बढ्दै जाँदा, ओछ्यानमा पिसाब गर्ने समस्या हुने बालबालिकाको संख्या अनुपातिक रूपबाट कम हुँदै जान्छ । १० वर्षसम्म पाँच प्रतिशत, १५ वर्षसम्म दुई प्रतिशत र वयस्क एक प्रतिशतमा यो समस्या हुन सक्छ ।
कस्ता बालबालिकाको ओछ्यानमा पिसाब गर्ने समस्या हुन सक्छ ?
– बालबालिका जसका बाबुआमामा बाल्यकालमा त्यस्तै समस्या थियो ।
– स्नायुको विकास ढिलो भई मूत्रथैली भरिएको थाहा पाउने क्षमता कम भएका बालबालिकामा ।
– गहिरोसँग निदाउने बालबालिकामा ।
– केटीभन्दा केटाहरू यो समस्याले बढी प्रभावित हुन्छन् ।
– मनोवैज्ञानिक वा शारीरिक तनाव बढ्नाले ।
– अत्यन्त कम प्रतिशत बालबालिकामा, मूत्रनली संक्रमण, मधुमेह, मिर्गाैलाले काम गर्न छोड्दा, कब्जियत, सानो मूत्रथैली, स्नायु विकासमा कमी भएको, केटा मान्छेको मूत्रनलीको भल्भमा खराबी भएको आदि कारण पनि यो समस्या हुन सक्छ ।
केही रोग वा संरचनात्मक समस्याको आशंका गरिएका बालबलिकालाई मात्रै पिसाब, रगतमा चिनीको मात्रा, ढाडको एक्सरे र मिर्गौला वा मूत्रथैलीको अल्ट्रासाउन्ड वा अन्य परीक्षण गरिन्छ ।
उपचार
ओछ्यानमा पिसाब गर्ने समस्याको उपचार गरिरहनु पर्दैैन । समयसँगै ओछ्यानमा पिसाब गर्ने समस्या रोकिन्छ र निको हुन्छ भन्ने आश्वासन दिनुपर्छ । उनीहरूलाई गाली गर्न वा सजाय दिनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याको प्रारम्भिक उपचार भनेको शिक्षा, उत्प्रेरणात्मक उपचार तथा तरल पदार्थ पिउने र पिसाब फेर्ने बानी परिवर्तन नै हुन् । यी उपायले पनि ओछ्यानमा पिसाब गर्ने समस्यामा सुधार आएन भने औषधोपचार पनि गर्न सकिन्छ ।
– बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याबारे राम्रोसँग शिक्षा दिनुपर्छ ।
– ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकाको गल्ती होइन, त्यसैले उनीहरूलाई यो समस्याका लागि आरोप लगाउने वा सजाय दिने गर्नुहुँदैन ।
– कसैले पनि बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याका लागि जिस्क्याउनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याले गर्दा बालकले भोग्नुपर्ने तनाव कम गर्नुपर्छ । बालकको परिवार सहयोगी हुनुपर्छ र बालकलाई उसको यो समस्या निको हुने अस्थायी समस्या हो भनेर सम्झाउनुपर्छ ।
– राती बाल्ने बत्तीको व्यवस्था गरेर राति सजिलै शौचालय जान सक्ने बनाउने ।
– थप पाइजामा (पेन्ट), तन्ना र तौलिया सँगै राख्ने जसले गर्दा ओछ्यानमा पिसाब गरेर बालक राति उठ्यो भने उसलाई लुगा फेर्न सजिलो होस् ।
– डस्ना नबिग्रियोस् भनेर डस्नामाथि प्लास्टिकले ढाक्ने ।
– तन्नामुनि ठूलो तौलिया राख्यो भने त्यसले पिसाब सोस्छ र बालकलाई चिसो लाग्दैन ।
– पिसाब नगन्हाओस् भनेर हरेक बिहान नुहाउन प्रेरित गर्ने ।
– कब्जियतको समस्यालाई बेवास्ता नगरी उपचार गरिहाल्नुपर्छ ।
तरल पदार्थ कम गर्ने
– बालकले सुत्न जाने समयभन्दा दुईदेखि तीन घन्टाअघि पिउने तरल पदार्थको मात्रा सीमित गर्ने तर उसले दिउँसो पर्याप्त पानी पिओस् भन्ने सुनिश्चित गर्ने ।
– चिया, कफी, कार्बनयुक्त पेय पदार्थ (कोला) र चकलेट राती नखाने । ती चिजले पिसाब लगाउँछन् र ओछ्यानमा पिसाब गर्ने समस्या बढाउँछन् ।
पिसाब निथार्ने बानीका लागि सुझाव
– सुत्न जानुअघि दुईपटक पिसाब निथार्न लगाउने । पहिलोपटक सधैँ सुत्न जानुअघि र दोस्रोपटक निदाउनुभन्दा पहिले ।
– दिनभर निश्चित समयावधिमा शौचालय जाने बानी बसाल्ने ।
– पिसाब निथार्न प्रत्येक राती बालक निदाएको तीन घन्टाजति पछि उसलाई उठाउने । आवश्यक परे अलार्मको प्रयोग गर्ने ।
– ओछ्यानमा पिसाब गर्ने समय निर्धारण गरेर उसलाई उठाउने समय मिलाउन सकिन्छ ।
ओछ्यानमा पिसाब गर्दाको अलार्म
– ओछ्यानमा पिसाब वा ओसको अलार्म ओछ्यानमा पिसाब गर्ने समस्या नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी विधि हो र सात वर्षभन्दा माथिका बालबालिकाका लागि यसको प्रयोग गरिन्छ ।
– यस अलार्ममा बालकको कट्टुमा एउटा सेन्सर जडान गरिन्छ । जब बालकले ओछ्यानमा पिसाब गर्न लाग्छ, सो उपकरणले पिसाबको पहिलो थोपा नै थाहा पाउँछ र बज्न थाल्छ । यसरी बालक ब्यूँझन्छ र ब्यूँझेको बालकले शौचालय नपुगेसम्म आफ्नो पिसाब रोकिराख्न सक्छ ।
– सो अलार्मले ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुनु ठीक अघि आफैँ ब्यूँझन बालकलाई तालिम दिन मद्दत गर्छ ।
मूत्रथैली प्रशिक्षण अभ्यास
– ओछ्यानमा पिसाब गर्ने समस्या भएका धेरै बालबालिकाको मूत्रथैली सानो हुन्छ । मूत्रथैली प्रशिक्षणको लक्ष्य मूत्रथैलीको क्षमता बढाउनु हो ।
– दिनको समयमा बालबालिकालाई धेरै मात्रामा पानी पिउन लगाइन्छ र पिसाब लागे पनि पिसाब रोकिराख्न लगाइन्छ ।
– यस्ता अभ्यासले बालकले लामो अवधिसम्म पिसाब रोकिराख्न सक्छ । यसले मूत्रथैलीको मांसपेशीलाई बलियो बनाउँछ र मूत्रथैलीको क्षमता बढाउँछ ।
औषधोपचार
ओछ्यानमा पिसाब गर्ने समस्या निको पार्न अन्तिम विकल्पका रूपमा मात्र औषधोपचार गरिन्छ र प्रायः सात वर्षभन्दा माथिका बालबालिकामा यो विकल्प प्रयोग गरिन्छ । यो प्रभावकारी त हुन्छ तर यसले ओछ्यानमा पिसाब गर्ने समस्यालाई निको पार्दैन । यसले पिसाब रोक्ने समय बढाउँछ र अस्थायी रूपमा यसलाई प्रयोग गरिन्छ । प्रायः औषधिको प्रयोग बन्द गरेपछि पुनः ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुन्छ । औषधोपचारभन्दा पनि अलार्मको प्रयोगबाट स्थायी उपचार सम्भव हुन सक्छ ।
चिकित्सकलाई कहिले देखाउने ?
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकाको परिवारले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ :
– दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्या भएमा ।
– सात–आठ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने समस्या रहिरहेमा ।
– कम्तीमा ६ महिना ओछ्यानमा पिसाब गर्न छोडेपछि पुनः सुरु गरेमा ।
– दिसा गर्दा पिसाब नियन्त्रण गुमाएमा ।
– ज्वरो आएमा, दुखेमा, पिसाब निरन्तर भएमा, पोलेमा, अनावश्यक तिर्खा लागेमा तथा अनुहार र खुट्टा सुन्निएमा ।
– पिसाबको प्रवाह कम भएमा, पिसाब फेर्न कठिनाइ भएमा ।
(स्वास्थ्य खवरबाट साभार)
२०७२ चैत २४ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बुधबार प्रकाशन गरिएको तालिका अनुसानर डिप्लोमा इन इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, आइटी र होटल म्यानेजमेन्टको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षा तथा डिप्लोमा इन वायोमेडिकल इक्यिूपमेन्ट इन्जिनियरिङ दोस्रो खण्डको नियमित परीक्षाको तालिका सार्वजनिक गरिएको हो । परीक्षा वैशाख १७ गते देखि सञ्चालन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले जनाएको छ ।
आवेदन भर्न एमआरपी अनिवार्य
रवीन्द्र घिमिरे।
२०७२ चैत २२। दक्षिण कोरियामा नेपाली कामदार पठाउने रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको भाषा परीक्षा आगामी असारको ४ र ५ गते हुने भएको छ । सोमबार बसेको इपीएस-कोरिया निर्देशक समितिको बैठकले २०१७ मा कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो । यसका लागि बैशाखको १५ देखि १८ गतेसम्म आवेदन फारम खुला गरिने इपीएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।
उपत्यका बाहिर ५ वटा संकलन केन्द्र
फारम संकलनका लागि काठमाडौंमा ५ वटा केन्द्र राख्ने निर्णय गरिएको छ । उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा पनि आवदेन संकलन हुनेछ । संकलन केन्द्रहरु केही दिनमै तोकिने बास्तोलाले बताए ।
‘आवेदन भर्न काठमाडौं नै आउन नपरोस् भनेर विभिन्न ठाउँबाट आवदेन लिने निर्णय भएको हो’ बास्तोलाले भने-‘आवदेन दिनको संख्या ठूलो हुने भएकाले सास्ती नहोस् भनेर संकल केन्द्रलाई मोफसलमा पनि लगिएको हो ।’
गत वर्ष भाषा परीक्षाका लागि ८ हजार भन्दा बढीले आवदेन भरेका थिए । यसवर्षदेखि अनलाइन फारम बुझ्ने भनिएपनि पूर्वनिर्धारित समयभन्दा पहिले नै परीक्ष गर्नुपरेकामा सम्भव नभएको उनले बताए ।
एमआरपी अनिवार्य
यस वर्षदेखि इपीएस भाषा परीक्षाको आवदेन दिन मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । परीक्षालाई विश्वसनीय बनाउन र नक्कली परीक्षार्थीको प्रवेश हुन नदिन यस्तो निर्णय भएको बास्तोलाले बताए ।
अब भाषा परीक्षाका लागि आवेदन दिनुअघि नै एमआरपी बनाउनुपर्ने भएको छ । यसअघि नागरिकताका आधारमा फारम संकलन हुने गरेको थियो । ‘परीक्षालाई पूर्ण तवरले निष्पक्ष गराउन यसको व्यवस्था भएको हो’ उनले भने ‘एमआरपी अनिवार्य भएपछि विभिन्न विवरणमा देखिने त्रुटीहरु पनि घट्नेछन् । यसले परीक्षार्थीलाई नै फाइदा हुनेछ ।’
काठमाडौंमा र पोखरामा परीक्षा
भाषा परीक्षा काठमाडौं र पोखरा गरी दुई ठाउँमा सञ्चालन हुनेछ । पोखरामा आवेदन भरेकाहरुले त्यहीँबाटै परीक्षा दिन पाउनेछन् भने त्यसबाहेकाका ठाउँबाट आवदेन भर्नेहरु काठमाडौंमै आउनुपर्नेछ । परीक्षा केन्द्रलाई विकेन्द्रिकरण गर्ने नेपाल र कोरियन सरकारको नीति अनुरुप पोखरामा पनि परीक्षा लिने निर्णय भएको निर्देशक बास्तोलाको भनाइ छ ।
श्रममन्त्री दीपक बोहोराको अध्यक्षतामा बसेको निर्देशक समितिले कोरियामा आफ्नो अवधि नाघिसकेपछि ‘ओभर स्टे’ नगर्न सबै नेपाली कामदारलाई आग्रह गरेको छ । समितिमा श्रमसहित परराष्ट्र, अर्थ र गृह मन्त्रालयका अधिकारी पनि सदस्य छन् । (अनलाइन खबरबाट)
२०७२ चैत २०। नेपाल सरकारले २०७३ मा लागुहुने सार्वजनिक बिदाहरुको सूची प्रकाशन गरेको छ । ती बिदाहरुको सूची मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेर नेपाल राजपत्रमा प्रकाशन गरेको हो ।
जसमा २०७३ सालदेखि बैशाख ११ गतेको लोकतन्त्र दिवसको सट्टा असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको छ । यसका अलावा अन्य केही बिदाहरु पनि हेरफेर भएका छन् ।
विनोद घिमिरे।
२०७२ चैत १९। सरकारले अब जिल्लाहरुमा ‘उपजिल्ला शिक्षा अधिकारी’को व्यवस्था गर्ने भएको छ । यसअघि कामको बढी चाप भएका जिल्लाहरुमा जिल्ला शिक्षा अधिकारी मातहतमा ‘सहायक जिल्ला शिक्षा अधिकारी’को व्यवस्था गरिए पनि त्यसले वैधानिकता पाएको थिएन ।
‘सहायक जिल्ला शिक्षा अधिकारी भनेर मन्त्रालयमा पद दर्ता भए पनि जिल्लामा थिएन,’ शिक्षा मन्त्रालयकी सहायक प्रवक्ता सरस्वती पोखरेलले भनिन्, ‘अब ओएनएम सर्भेलगायतको बाटो खुलेको छ ।’
हाल देशभर झण्डै ६ सय जना ‘सहायक जिल्ला शिक्षा अधिकारी’हरु छन् । ०७० सालमा पद समायोजन हुँदा समानुपातिकरुपमा भएको थिएन । त्यतिबेला एक वर्षभित्र ओएनएम सर्भे गर्ने र समानुपातिक मिलाउने भनिए पनि हालसम्म भएको छैन । जिल्ला शिक्षा अधिकारी र ‘सहायक जिल्ला शिक्षा अधिकारी’ समान पदका हुँदा कार्यसम्पादनमा पनि समस्या थियो ।
‘अब भने पहिलो चरणमा पद दर्ता गर्ने, दोस्रो चरणमा अनुपात मिलाउने र तेस्रो चरणमा संघीयताको ढाँचामा कर्मचारीहरुलाई व्यवस्थापन गर्ने बाटो खुलेको छ,’ सहायक प्रवक्ता पोखरेलले भनिन् ।
हाल कुनै जिल्लामा ६-७ जना सहायक जिल्ला शिक्षा अधिकारी छन् भने कुनै जिल्लामा छँदैछैनन् । काठमाडौंमा ६ जना, झापामा ७ जना र खोटाङमा एक जना सहायक जिल्ला शिक्षा अधिकारीहरू छन् ।
हचुवाको भरमा पद सिर्जना गर्दा कार्यसम्पादनमा सन्तोषजनक नभएको गुनासो बढेको थियो । यसलाई मिलाउन शिक्षा मन्त्री गिरिराज मणि पोख्रेललाई दबाव थियो । मन्त्री पोख्रेलले शुक्रबारको मन्त्रिपरिषदको बैठकमा उपजिल्ला शिक्षा अधिकारीको पद सिर्जना गर्न राखेको प्रस्ताव पारित भएको हो ।
‘अबदेखि जिल्लाहरुमा उपजिल्ला शिक्षा अधिकारी पद रहन्छ,’ शिक्षामन्त्री पोख्रेलका प्रेस संयोजक राजेश चाम्लिङले भने ।
कामको बढी चाप भएका काठमाडौं, ललितपुर, कास्की, मोरङ, झापा लगायतका जिल्लाहरुमा अब जिल्ला शिक्षा अधिकारीले मात्रै सम्हाल्न नसक्ने भएकाले कम्तिमा पाँच-पाँच जना उपजिल्ला शिक्षा अधिकारी आवश्यक पर्ने जानकारहरु बताउँछन् ।
‘पहिलेका भन्दा विद्यालयहरु धेरै भए, क्याम्पसहरु धेरै भए अब जिल्ला शिक्षा अधिकारीले मात्रै सम्हाल्न गाह्रो हुन्छ । त्यसैले परिवर्तित परिस्थितिअनुसार पद सिर्जना गरी कर्मचारीहरुको व्यवस्थापन गर्न आवश्यक छ,’ मन्त्रालयकी सहायक प्रवक्ता पोखरेलले भनिन् । (अनलाइन खबरबाट)