स्तन क्यान्सर रोक्ने घरेलु उपायहरु
डा. ज्योति रायमाझी ।
२०७३ बैशाख १७ । हालको आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान, वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्कमात्रै नभएर यौवनावस्थाका महिलासमेत स्तन क्यान्सरको सिकार हुन थालिसकेका छन्।
पश्चिमी राष्ट्रहरू अझ भनौ विकसित मुलुकमा त प्रत्येक आठ महिलामध्ये एकलाई स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखा पर्नु निश्चय नै भयावह स्थिति भएको स्वीकार्नुभन्दा अर्को विकल्प छैन। एसियाली महिलामा चाहिँ प्रत्येक २२ जनामा एकजनालाई उक्त समस्या देखा पर्ने गरेको तथ्यांक उपलब्ध छ।
स्तन क्यान्सर कुनै पनि उमेरसमूहका महिलाहरूलाई हुन सक्छ। तर पनि बढ्दो उमेरका महिला नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै यस रोगको सिकार हुन थालेका छन्। महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो। संख्याका हिसाबले हेर्दा नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा रहेको छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो।
रोगीलाई जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सककहाँ जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो÷तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ। त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन पनि सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउनै सकिँदैन।
बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाँ पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ। तिनको स्तन काटेर फ्याक्नुपर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवनसमेत बचाउन सकिन्छ।
नेपालमा बढ्दो उमेरका युवतीहरूसमेत यस समस्याबाट पीडित हुने गरेको पाइनु निश्चय नै चिन्ताको विषय हो। युवतीमा उक्त रोगले तीव्र रूपमा आक्रमण गर्ने गरेको पाइएको छ। आश्चर्यको कुरा त यो छ कि स्तन क्यान्सर केवल महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गरेको छ। रोगी जनसंख्यामध्ये करिब एक प्रतिशत पुरुषलाई सो रोग लागेको पाइन्छ। रोगका कारणमध्ये पाँचदेखि १० प्रतिशत वंशानुगत देखिएका छन् भने ९० प्रतिशत चाहिँ रोगको पारिवारिक इतिहास भएको कारणले हुने गरेको देखिन्छ।
रोगका लक्षणहरू
करिब ६० देखि ८० प्रतिशत महिला आफ्नो जीवनकालमा क्यान्सर नभए पनि स्तनसम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।
स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन्। त्यस कारणले नै सबै महिलाले नियमित पहिले आफैंले आफ्नो स्तनको परीक्षण गर्ने र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ। जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन्। लक्षणहरूमध्ये केही निम्न छन्:
- कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने
- कुनै एक वा दुवै स्तनको आकार प्रकारमा परिवर्तन हुने
- स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने
- स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रङ परिवर्तन हुने
- स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स-साना घाउ÷खटिरा÷बिमिराहरू देखा पर्ने
- स्तनको मुन्टो पहिलेको भन्दा फरक रूपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धस्सिने आदि।
- अकस्मात शारीरिक तौल घट्ने
- शरीरका हड्डीहरू दुख्ने
स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरूमध्ये दोस्रो र क्यान्सरकै कारण हुने महिला मृत्युको पनि दोस्रो ठूलो कारण रहेको छ। धेरै महिलाले सर्वप्रथम थाहा पाउने स्तनसम्बन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा÷कडा डल्लाहरू नै हुन्।
४० वर्षमुनिका महिलामा ८०-९० प्रतिशत गिर्खाहरू क्यान्सर नहुन सक्छन् भने ४० वर्ष माथिका महिलामा ती गिर्खाहरू क्यान्सरकै लक्षण हुन सक्ने सम्भावना बढी हुन्छ। तर सबै महिला स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन्।
लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण एसियाली महिला रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाँ पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ।
तसर्थ, २० देखि ४० वर्षका महिलाले स्तनको नियमित स्वयं परीक्षण गर्नुका साथै प्रत्येक दुई-तीन वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनु बुद्धिमानी हुनेछ। ४० वर्ष माथिका महिलालाई बर्सेनि स्क्रिनि· म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य छ। समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीवन गुम्नबाट पनि बचाउन सकिन्छ।
आफैं स्तन परीक्षण गर्ने तरिका
१) २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको ५-७ दिनमा परीक्षण गर्ने।
२) महिनावारी सुकेको र गर्भवती महिलाले हरेक महिनाको एउटै गते ÷दिनमा परीक्षण गर्ने।
३) आफ्नो स्तनको बारेमा थाहा पाउने जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस्।
४) परीक्षण हरेक महिना अनिवार्य रूपमा गर्ने।
५) परीक्षणका लागि जम्मा जम्मी १० मिनेट लाग्ने हुँदा अल्छी गर्ने वा हेलचेक्रयाइ गर्ने बानी हटाउने।
तरिका
क) पहिलो तरिका
१) ऐना अगाडि बसेर कमरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने
२) स्तनको आकार, प्रकार एकनास छ छैन परीक्षण गर्ने
३) गिर्खा छ, छैन परीक्षण गर्ने
४) स्तनको मुन्टोभित्र गएको छ, छैन परीक्षण गर्ने
५) छालाको रङमा फरक छ छैन हेर्ने, सुन्तलाको जस्तो रङ छ छैन हेर्ने।
ख) दोस्रो तरिका
दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर पनि हेर्ने।
ग) तेस्रो तरिका
अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने। फोटोमा देखाए जस्तैः
घ) चौथो तरिका
अनि काखीमुनि छाम्ने
ङ) पाँचौ तरिका
स्तनको मुन्टो निचोरेर पीप, रगत वा पानी आएको छ छैन हेर्ने
माथिका जाँचहरू गर्दा यदि गिर्खा फेला परेमा स्तनसम्बन्धी विशेषज्ञ शल्य चिकित्सक कहाँ गई विशेष परीक्षण गराउने।
क्लिनिकल परीक्षण
रेडियोलोजीकल परीक्षण, भिडियो एक्स-रे, म्यामोग्राम, एमआरआई, टिस्यु डायग्नोसिस, एफएनएसी, बायोप्सी आदि गराउँदा रोगबारे यकिन गर्न सकिने हुन्छ। तसर्थ अनुभवी शल्यचिकित्सकको सल्लाह-सुझावमा ती परीक्षणहरू गराउनु वाञ्छनीय हुन्छ।
विशेषज्ञबाट स्तन परीक्षण र सुझाव
- ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एक पटक गरिन्छ।
- २०-४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एक पटक जाँच गर्नुपर्छ।
- बढी जोखिमको संकेत भएका महिलाका लागि अरूभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ।
- यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो।
म्यामोग्राम कहिले गरिन्छ ?
- ३५ वर्षभन्दा माथिका उमेरसमूहका महिलाका लागि मात्र यो जाँच गरिन्छ।
- ४० वर्षमाथिका महिलाको लागि हरेक वर्ष एक पटक गर्नुपर्छ।
- अति जोखिम भएका महिला जस्तै जसको परिवारमा यो किसिमको रोग भएको इतिहास छ, उनीहरूका लागि अरू महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ।
यो जाँचको माध्यमले ८५ प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने हुँदा यो अत्यन्तै महत्वपूर्ण जाँच हो।
यसले पाँच मिलिमिटरसम्मको अर्थात् चामलको दाना जत्रो क्यान्सरयुक्त ट्युमर पनि पत्ता लगाउन सक्छ र यस्तो अवस्थामा पत्ता लाग्दा स्तन जोगाउन सकिने त निश्चितै हुन्छ र बिना किमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन सक्छ।
एसियाली महिलामा पश्चिमी देशका महिलाका दाँजोमा यो रोग निश्चित रूपमा कम हुने गरेको पाइएता पनि रोगसम्बन्धी ज्ञान नभएकोले हाम्रोजस्तो देशमा महिला यो रोगको विकसित अवस्थामा अथवा यो रोग फैलिसकेको अवस्थामा मात्रै डाक्टरको सल्लाह लिन आउँछन्।
त्यसैले यो रोगसँग लड्ने तरिका भनेको नै रोगसम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो।
रोगसम्बन्धी आवश्यक जनचेतनाको विकास होस् भनेर हामीले नर्भिकमा नियमित रूपमा रोग परीक्षण शिविरहरू सञ्चालन गर्ने/गराउने, आफ्नो स्तन आफैंले कसरी जाँच्ने, जीवनशैलीमा कस्तो र कसरी सुधार ल्याउने, खानपान कस्तो हुनुपर्ने, नियमित गर्नुपर्ने व्यायाम कस्तो, कति र कसरी गर्ने आदि बारे पनि बिरामीहरूलाई आवश्यक सरसल्लाह/सुझाव दिने गर्दै आएका छौं।
ती प्रक्रियाहरूले पनि समयमै रोग पत्ता लगाउन धेरै हदसम्म मद्दत गर्ने हुँदा तिनको अनुसरण गर्नु अति आवश्यक हुन्छ। किनकि रोग लागि अथाहा धनराशिका साथ रोगको उपचार गराउनुभन्दा रोग लााग्नै नदिनु अति उत्तम हो। रोक्न सकिने रोग लागी अकालमै ज्यान गुमाउनुभन्दा भविष्य सुरक्षित पार्नु अझ उत्तम हो। (अन्नपूर्ण पोष्टबाट साभार)
प्रकाशित मिति:
Friday, April 29, 2016
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।