‘मदन पुरस्कार’ सत्ताधारीहरुको हो, ‘अस्वीकृत पुरस्कार’ प्रतिपक्षी विचारधारी साहित्यकारहरुको लागि हो

२०७३ बैशाख ४। डा. कविताराम श्रेष्ठ  आफूलाई ‘अस्वीकृत विचार साहित्य अभियन्ता ‘ भन्न रुचाउँछन् ।  उनैको पहलमा २०५४ सालमा ‘अस्वीकृत विचार साहित्य गुठी’ स्थापना भएको थियो । सो गुठीले २०५५ सालदेखि सत्ताको विपक्षमा रहेको विचारलाई सम्मान गर्नका लागि ‘अस्वीकृत विचार साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । २०६६ सालदेखि विभिन्न कारणले स्थगित सो पुरस्कार यस वर्ष एकमुष्ठ रुपमा प्रदान गरिँदै छ । हाल उनी बेलायतबाट केही समयका लागि काठमाडौंमा छन् । छिट्टै प्रदान गर्न लागिएको सो पुरस्कारबारे उनीसँग गरिएको संक्षिप्त कुराकानी ।

लामो अन्तरालपछि ‘अस्वीकृत पुरस्कार’ प्रदान गर्दै हुनुहुँदो रहेछ ?

हो, लामो समयपछि पुरस्कार दिँदैछौं । २०५५ सालदेखि २०६५ सालसम्म नियमित रुपमा यो परस्कार प्रदान गरिएको थियो । त्यसयता विभिन्न कारणले पुरस्कार स्थगित हुन पुगेको थियो ।

के थियो त्यस्तो कारण ?

अस्वीकृत विचार साहित्य गुठीका अध्यक्ष हुनुहुन्थ्यो कृष्णचन्द्र सिंह प्रधान, २०६६ सालमा उहाँ खस्नुभो । उपाध्यक्ष हुनुहुन्थ्यो गोविन्द भट्ट, उहाँ पनि त्यसपछि खस्नुभो । दुई वर्ष सरासर यसरी पुरस्कार प्रदान गर्न सकिएन, स्थगित भयो । त्यसपछि म बेलायत लागेँ । मलाई क्यान्सर लागेको पत्ता लागेपछि उतै अपरेसन भयो । ‘किमो’ गर्नुपरेपछि त अरु काम गर्न सम्भवै भएन । परिवारकै सदस्यहरुले पनि अब त धेरै भो पुरस्कार दिनुपर्छ भन्न थाले । यस वर्ष २०६६ सालदेखि बाँकी रहेका वर्षको गरेर एकै पटक पुरस्कार दिँदैछौं ।

कति जनालाई दिँदै हुनुहुन्छ ?

आठ जनालाई दिँदैछौं ।

कस्तो कृति वा व्यक्ति चाहिँ पुरस्कारका लागि तपाईंहरुको छनौटमा पर्छ ?

साहित्यमा तीक्ष्ण लेखन छ तर विचारकै कारणले सीमान्तीकृत हुन पुगेको छ भने त्यस्तो लेखकलाई हामी प्राथमिकता दिन्छौं ।

भनेपछि वैचारिक रुपमा प्रतिपक्षीय लेखकहरुलाई प्राथमिकतामा राख्नुहुन्छ ?

हो, एकदम सही भन्नुभो ।

तपाईंकै अनौपचारिक कुराकानीको  सन्दर्भमा भन्नुभएको थियो कि मदन पुरस्कार भनेको दान दिएजस्तो हो, म त्यो पुरस्कार दिए पनि लिने छैनँ । त्यसरी भन्ने हो भने त ‘अस्वीकृत पुरस्कार’ दान नै भयो नि ?

मैले कुन अर्थमा भन्न खोजेको हुँ भने मदन पुरस्कार भनेको सामन्ती सत्ताको पक्षपोषणमा रहेको पुरस्कार हो । यो त राणा-शाह शासकहरु ढलिसक्दा पनि त्यही विचारको पक्षपोषण गरिरहेको छ मदन पुरस्कारले । अहिलेसम्म पनि यो पुरस्कारको चरित्रमा फेरबदल आएको छैन ।

त्यसो पनि भनिहाल्न मिल्दैन कि ? किनभने २ वर्षअघि तपाईंले भन्नुभए जस्तै प्रतिपक्षीय लेखक राजन मुकारुङलाई ‘दमिनी भीर’ उपन्यासका लागि मदन पुरस्कार दिइएको छ नि ?

मैले त्यतिबेलै भनेको थिएँ- राजन मुकारुङलाई त्यो पुरस्कार दिनु भनेको मदन पुरस्कारको भित्ता ढल्नु जस्तो हो । त्यो उपन्यास सत्तापक्षीय होइन प्रतिपक्षीय साहित्य नै हो । तर २०६२/०६३ सालको जनआन्दोलनको रापताप खप्नका लागि मात्र त्यो पुरस्कार राजन मुकारुङलाई दिइएको हो । मैले अलिकति पनि समावेशी काम गरिनँ भने म ढल्छु भनेर मात्र त्यो पुरस्कार दिइएको हो । म राजन मुकारुङ भएको भए मदन पुरस्कार लिने थिइनँ । अहिले मदन पुरस्कार फेरि पुरानै दिशामा फर्किसकेको छ । अब प्रतिपक्षीय र विद्रोही विचार भएकाहरुलाई मदन पुरस्कार दिइने छैन ।

अनि तपाईंको ‘के किन भनियो ?’ पुस्तकका लागि पनि त मदन पुरस्कारको चर्चा चलेको थियो रे नि ?

मेरो यो किताब प्रकाशन भएपछि केही साथीहरुले ‘यो तेरो किताब मदन पुरस्कारका लागि दे’ भनेका थिए । मैले प्रस्टै भनेको थिएँ- ‘मदन पुरस्कार त म घरमै ल्याएर दिए भने पनि लिन्नँ । तिमीहरुले मलाई के भनेको ?’
(इसमताबाट साभार।)

प्रकाशित मिति: Saturday, April 16, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।