भोगाई जीवनको (कविता)

  • गणेश पुमा राई चिन्तन । 
एक उफ्राईमै आकाश चुम्न सकिने भए
एक बल्ढ्याङ्मै सागर पुगिने भए
म त कति पटक आकाश चुमिसक्थें
अनि कति कति पटक सागर पुगिसक्थें
तर उन्नति त्यति सजिलो रैनछ
आकाश चुम्न अनि सागर पुग्न
सयौं प्रयास गर्नु पर्ने रहेछ
कैयौं प्रयास असफल हुँदा
पुर्पुरोमा हात राखेर
रुदै बस्न मन लाग्दा पनि
दाम्लोमा ‘सचवारी’ बाँध्ने रहर बढ्दा पनि
मनले मनलाई बाँध्नुपर्ने
कति कठोर प्रहरसँग जित्नु पर्ने रहेछ
अनि पो, अविरल, निरन्तर प्रयासले
पारुहाङ पनि खुसी हुँदाहुन्,
र एक दिन
अनन्त प्रयासको मीठो फल
रंग, रस, श्रृंगार सबै मिसाएर
अँजुलीभरि उनै सृष्टिकर्ताले
पस्काइ दिदा रहेछन्
अनि,
यो पलको अनुभूतिमा लाग्छ
संसार सुन्दर छ, अनि रमाइलो छ
बाँच्नु पर्छ धेरै धेरै बर्ष
र लाग्छ
दुःखीको पनि दुःख भाग्छ
अबिरल, निरन्तर मेहनतले
अनि सुखीको पनि सुख भाग्छ
अल्छी, हेलचेक्याई र घमण्डले
त्यसैले हजुर
तपाईं अगाडि बढ्नुस् सुमार्गमा निरन्तर
हजारौं छन् तपाईलाई साथ दिने
साथमा म पनि त छु ज्युदै
हरपल हरक्षण साथ दिने ।।

रचनाकालः २०६९ फागुन

प्रकाशित मिति: Wednesday, September 30, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।