एघारौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता दमकमा हुने

विद्या राई, घोडेटार । 
२०७२ असोज ९ । बुङ्वाखा मासिक काठमाडौंको वार्षिकोत्सवको अवसरमा हुन लागेको एघारौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता– २०७२ झापाको दमकमा किरात भवनमा सञ्चालन हुने भएको छ । बुङ्वाखाको वार्षिक कार्यक्रमअन्तर्गत यो वर्ष किरात राई यायोक्खा झापाको सहआयोजनामा एघारौं संस्करणका रुपमा आगामी मङ्सिर २४ गते सञ्चालन गर्ने भएको हो । 

पछिल्लो पिढीका बान्तावा राईहरूले आफ्नो मातृभाषा, पहिचान र संस्कारलाई बेवास्ता गर्दै आएकाले भाषा लोप हुन लागेकोले यसको संरक्षण तथा संवद्र्धनमा टेवा पुग्ने उद्देश्यले सञ्चालन गरिँदै आएको कुरा बुङ्वाखा मासिकका सम्पादक तथा संयोजक पदम राईले बताएका छन् । लोपोन्मुख भाषा, संस्कार–संस्कृतिलाई कविताको माध्यमबाट जगेर्ना गर्ने लक्ष्यसँगै साहित्यप्रेमी बान्तावाहरूको सिर्जनशीलतालाई प्रस्फुटन र निखारता थप्नसमेत सहयोग पुग्ने उनले बताए । 

प्रतियोगितामा सहभागी हुन मङ्सिर १० गतेसम्ममा कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । सम्पादक राईले जानकारी गराएअनुसार देशभरबाट प्राप्त हुने कविताहरूमध्ये ‘उत्कृष्ट ११ कविता’को छनोट गरी प्रतियोगितामा वाचन गराइने भएको छ । जसबाट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगीलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ अङ्कित प्रमाणपत्रका साथ क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । उत्कृष्ट ११ मा छनोट भएकालाई उत्कृष्ट प्रमाणपत्र र अन्यलाई सहभागिताको प्रमाणपत्र प्रदान हुने आयोजकले बताएको छ । 

सोही अवसरमा एकजना वान्तावाभाषी स्रष्टालाई ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७२’ बाट  पुरस्कृत गरिने भएको छ । किरात राई भाषाहरूमा गीत–संगीतमा योगदान गर्ने एकजना किरात राई संगीतकर्मीलाई ‘बुङ्वाखा संगीत पुरस्कार’ प्रदान गरिनेछ । त्यस्तै बुङ्वाखामा वर्षभरीमा नियमित र उत्कृष्ट समाचार, लेख सम्प्रेषण गर्ने संवाददाता वा नियमित स्तम्भकारलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार– २०७२’ बाट पुरस्कृत गरिनेछ । 

‘बुङ्वाखा’ मासिकले स्थापनाकालदेखि नै किरात राई भाषा, संस्कृतिको संरक्षणको अभियान चलाउदै आएको छ । किरात राई भाषाहरूमध्ये सबैभन्दा नियमित प्रकाशित यो पत्रिका हालसम्म १२७औं पूर्णाङ्क प्रकाशनमा आइसकेको छ ।

प्रकाशित मिति: Saturday, September 26, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।