​ब्रोडवाई म्यानपावर कम्पनीबाट मलेसिया गएका १८ जना नेपाली अलपत्र

२०७२ भदौ २ । कम्पनीले काम नदिएपछि मलेसियामा  १८  जना नेपाली अलपत्र परेका छन् । तीन महिना अघि सुरक्षा गार्डको काममा मलेसिया पुगेका उनीहरुले दुई महिना देखि काम नपाएका हुन् । 

कम्पनीले एक महिना काममा लगाएर तलव दिएपनि त्यसपछि काम दिएको छैन् । तीन महिनापछि मात्रै काम दिने बताएपछि उनीहरुलाई खान बस्न समस्या भएको छ । नेपाल फर्किन पनि नदिएको र आफूहरुसँग पैसा नभएपछि साथीहरुको सहयोगमा बसिरहेको गुल्मीका टोप बहादुर पुनले बताउनुभयो । घर पठाउन पनि नसक्ने वताएपछि चार दिन अघि नेपाली दुतावास मलेसियामा पुगेका उनीहरुलाई दुतावासले काम र तलवका लागि दवाव दिने बताएको थियो । तर अहिलेसम्म कुनै सहयोग नपाएपछि उनीहरु आत्तिएका छन् । 

अलपत्र पर्नेमा गुल्मीका टोपबहादुर पुन, तनहुँका लेखबहादुर थापा र मधु घर्ती, मोरङका हस्तबहादुर मगर, सिन्धुलीका मुरारी प्रसाद रिमाल, रामेछापका रामसरण खत्री, मिलनकुमार माझी, सन्तबहादुर माझी, लालु प्रसाद माझी र सन्जयकुमार माझी रहेका छन् । यस्तै संखुवासभाका गोरमान गुरुङ, सप्तरीका राजाराम मण्डल, लालु प्रसाद यादव, नरेन्द्र कुमार सिंह, भुदलाल थारु, अशोक कुमार थारु, रामप्रसाद खानाल, मित्र बहादुर रहेका छन् । उनीहरु ब्रोडवाई म्यानपावर कम्पनीबाट १ लाख ५५ हजार तिरेर मलेसियाको अरदमानसरको स्पेशल स्किल सेक्युरिटि सर्भिस एसडिएल बिएचडीमा गएका हुन् । कम्पनीले बेवास्ता गरेपछि कष्टकर जीवन बिताइरहेका उनीहरुले उज्यालो नाइन्टी नेटवर्कमा फोन गरेर नेपाल फर्काउन या काम र तलवका लागि पहल गरिदिन आग्रह गरेको समाचार उज्यालो अनलाइनमा छापिएको छ ।

प्रकाशित मिति: Saturday, September 19, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।