अब्बल प्रेमसाथी बनाउँने होडमा किशोरकिशोरी

जमाना अथवा समय वितिरहेको छ आफ्नै सुर र रफ्तारमा । त्यही जमानाको सुरमा मानव जीवन पनि हिडिरहेको छ आफ्नै धुनमा र त्यही जीवनको भेलसँगै आजका किशोरकिशोरी तथा युवायुवतीहरूकोे प्रेम यात्रा पनि बहकीरहेको छ, हुइकीरहेको आफ्नै रफ्तारमा ।

प्रेम जिवित पदार्थ सबैमा हुन्छ । मात्र अभिव्यक्ति गर्ने शैली फरक । बोटविरुवा तथा चराचुरूङ्गी, जीवजन्तुहरूमा प्रेम गर्ने शैली मानवको भन्दा फरक छ । किनभने मानव मात्र संसारको यस्तो श्रेष्ठ जिवित वस्तु हो जसको प्रेम र भावना लगायतका क्रियाकलापहरू अन्य जीवित पदार्थभन्दा अलग हुन्छ, उत्कृष्ठ हुन्छ । मानिस प्रेम र भावना अभिव्यक्त गर्न विभिन्न तौरतरिकाहरू अपनाउदै अगाडि बढ्छ । प्रेम भावना हरेक मानवमा उच्चत्तम हुन्छ । तर यस लेखमा भने विशेषगरी किशोरकिशोरी तथा युवायुवती अवस्थाको प्रेम बारे चर्चा गरिन्छ ।

शम्भुराईले गाएको गीत “... उहिले त जमानामा प्रेम गर्न गाह्रो हुन्थ्यो, बोल्यो कि त कसैसँग नचाहिँदो हल्ला हुन्थ्यो ... ” को सम्झना यो पंक्तिकारको मनमा घरिघरि आउँछ । आजको खुल्ला प्रेम बजार देखेर नै होला उनले यो गीत गाए  । जुनगीतले नेपालमा मात्र होइन भारतको दार्जिलिङ, सिक्कीम, लखनउ लगायतका नेपाली वस्तीहरूमा समेत यस पंक्तिकारले घन्किएको सुन्यो । सायद जमानामा नै यस्तो परिवर्तन भएको हो कि ? किनकी पहिलेको जमानामा र हालको जमानामा प्रेमको बाटो र प्रेम प्रदर्शन गर्ने तरिका फरक भएको छ । पहिलेको प्रेम बजार संकुचित थियो भने अचेलको प्रेम बजार खुला देखिन्छ । हुन त प्रेम भन्ने कुरा भित्री हृदयदेखि सुटुक्क गरेको नै मीठो र स्थायी हुन्छ भन्छन् । त्यही माया सच्चा पनि हुने गर्दछ । तर आजकलको प्रेम देखावटी भएको छ । यसरी देखावटी प्रेमले किशोरकिशोरी तथा युवायुवतीको जीवनलाई अप्ठ्यारोमा पार्ने गरको प्रशस्तै उदाहरणहरू भेटिन्छन् प्रेम बजारमा ।

साँच्चै भन्नु पर्दा आजकलका किशोरकिशोरी तथा युवायुवतीहरू अब्बल प्रेमी तथा प्रेमिका बनाउने होडमा लागेको देखिन्छ । तेरो भन्दा मेरो प्रेमी या प्रेमिका राम्रो ‘हेन्डसम’, ‘व्युटी’ छ भन्नेकुरा अरूलाई देखाउन चाहन्छन् । यो वास्तवमा प्रेममा विकसित भएको नकारात्मक सोच हो । यसले गर्दा उनीहरूको शैक्षिक जीवनमा नकारात्मक असर परिरहेको हुन्छ । यो होड केवल बाहिरी (भौतिक, शारीरिक) बनावटलाई आधार मानेर गरेको पाइन्छ । यो प्रेम देखावटी अर्थात नक्कली पनि हुने गरेको तथ्यहरू छन् । केटाले केटी र केटीले केटा साथी बनाउने होडमा नराम्रो तरिकाले फस्न सक्ने स्थिति प्रबल देखिन्छ ।

विशेषगरी स्कूल र कलेजका विद्यार्थीहरूले आफ्नो समय प्रेमको बयान, व्याख्या र प्रस्तुतीमा खर्चेको देखिन्छ । यद्यपि यतिखेर उनीहरुको प्रेम गर्ने उमेर होइन, पढ्ने उमेर हो । पढेर असल मानिस बन्ने समय, राम्रो बाटो पहिल्याउने समयभरि उनीहरू विपरित लिङ्गी साथीप्रति सोचमग्न हुन्छन् । जब उनीहरू पढ्न भनेर बस्छन् त्यतिखेर किताबमा अक्षर होइन तिनै प्रेमसाथीहरूको अनुहार देख्ने गर्छन् । अब भएन फसाद ... ? जब कुनै किशोर या किशोरी अर्थात् युवा या युवती प्रेममा फस्छ त्यसपछि ऊ पढाई, खेलकूद तथा अन्य आफ्नो व्यक्तिगत विकासको बाटो लिन असक्षम हुन्छ अर्थात् उसको चौतर्फी विकासको दम कम हुन्छ यो ध्रुबसत्य हो ।

अब हेर्नुस् बिहान उठ्ने वित्तिकै किताब र कापी समात्ने विद्यार्थीले मोबाइल उठाएर लभ म्यासेज लेख्न थाल्छ । पाठ रट्नुको सट्टा प्रेमी÷प्रेमिकाको लागि सायरी रट्न थाल्छ । मिनिङ कण्ठ गर्नुको सट्टा प्रेम सायरी कण्ठ गर्न व्यस्त हुन्छ अनि कहाँ पढ्छ विद्यार्थी ... । त्यति मात्र होइन आजभोलि त फेसबुक जस्तो सामाजिक सञ्जालले विद्यार्थीहरुको समय वर्वाद गरिरहेको अवस्था छ । अनि बेलुका सुत्नुभन्दा अगाडि यसो ५÷१० मिनेट मीठो वार्तालाप नगरी कसरी निदाऔं भन्ने भावना उनीहरूका विकास भैसकेको हुन्छ । जुन भावनालाई दूरसंचार सेवा प्रदायक कम्पनीहरुले रात्रीकालीन प्याकेजहरु छुटमा दिएर ती क्रियाकलापमा बढावा दिइरहेको छ ।

कोही साथीसँग भेट भयो भने या स्कूल, कलेज जाने बखत बाटो भरि प्रेमी र प्रेमीकाको कुरामात्र चल्छ । ... ओइ फलानालाई मैले आज यसो भने ... उसो भने... यस्तो प्रस्ताव गरे ... उसले नो भनिन .. । अचेल त फोनमा हाम्रो गफ चल्छ त ... । तेरो भन्दा मेरा गर्लफ्रेन्ड/व्वाइफ्रेण्ड व्युटी/हेन्डसम छ ... कि कसो ओइ ... । ... मलाई हेरेर फलानी क्या झक्कास मुस्कुराएकी ... म त दङ्गै परेको नि यार ... । ... फालानकिो त आँखा क्या दामी एकै नजरमा लट्ठ बनाइदिन्छे तेल्ले त ... । त्यो केटा त कति हेण्डसम छ नि ... । फलानीको केटो भन्दा त्यो त कति असल छ कति ... । ... यो केटी फसाउन पाए सबैभन्दा मेरी ... राम्री हुन्थी ... आदि इत्यादि ।

उपरोक्त वाक्यांश सामान्य नमूना मात्र हुन् । यी शब्दहरू ५–६ कक्षा देखि लिएर ९–१० कक्षा, ११–१२ कक्षा हुँदै स्नातक तहका विद्यार्थीहरूले अक्सर बोलिरहने शब्दावलीहरू हुन् । यसरी अरूको भन्दा आफ्नो केटासाथी या केटी साथी व्युटी/हेन्डसम भएको देखाउने होडमा उनीहरू अक्सर गरेर नराम्रो लतमा फस्ने गरेको देखिन्छ । यो लत सबभन्दा हानीकारक हो । सूर्ती, खैनी सेवन, धुम्रपान, मध्यपान भन्दा बढी खतरनाक प्रेम लत हो । धुम्रपान, मध्यपान तथा अन्य कूलतहरू त सबैले प्रत्यक्ष देख्छन् र तिनको छुटकाराको बाटाहरू पनि छन् । तर प्रेमलत भनेको यस्तो लत हो जुन लागेपछि छुट्दैन र यसको उपचार व्यवस्था पनि छैन । यदि आजका किशोरकिशोरी तथा युवायुवती यो लतबाट मुक्त हुन सके भने तिनको भोलिको संसार उज्वल हुन्छ । भोलिको बाटो सुगम हुन्छ । उनीहरू जे जुनसुकै कठिनाई पन्छाउन पनि सक्षम हुन्छन् । तर यही प्रेमलतमा फसे भने उनीहरू ‘लभ’ गरेर हतारमा ‘म्यारिज’ गर्ने र पछि पछुतो मान्दै ठेस र अटेस लाग्दै आफ्नो जिन्दगी घिसार्नु बाहेक अरू केही हुन सक्दैन । प्रेमलतमा फस्ने अधिकांश हाल यस्तै भएको उदाहरणहरू पंक्तिकारसँग धेरै छन् । जुन आगामी अंकहरूमा दिदै जाउँला ।

यसरी आफ्नो प्रेमी÷प्रेमिका अब्बल देखाउने होड नेपालको सहरहरू काठमाडौैं, पोखरा, धरान विराटनगर जस्ता ठूला सहरहरुमा झनै मौलाएको देखिन्छ । हरेक दिन जसो सहरका बाटिका (कम्प्लेक्स) हरू किशोर जोडीले खचाखच हुनु । चौकचौकमा कुममा कुम जोडेर हिड्नु, साइबरहरूमा प्रेमजोडी छिरेर घण्टौ रमाउनु आदि अब्बल प्रेमी/प्रेमीका बनाउने होडका उदाहरणहरू हुन् । यस विषयमा तपाईले ध्यान दिनु भएको छैैन भने तपाईको कार्यालय छुट्टिको दिन पारेर आफूलाई पायक पर्ने चौक, साइबर र बाटिका (बगैंचा) हरूमा घुमेर अवलोकन गर्नुस् है । कतै ‘ग्रुप स्टडी’ गर्न साथीकोमा जान्छु भनेर हिडेका/हिडेकी तपाईको सुपुत्र÷सुपुत्रीले समेत त्यही गलत बाटो पहिल्याएको/पहिल्याएकी छ/छे कि ? अहिले पढ्ने उमेर हो, प्रेम गर्ने उमेर पछि आउँछ भनेर आफ्ना सन्तानलाई सम्झाउनुहोस् । होसियार भएर छोराछोरीको लागि अलिकति समय निकाल्नुहोस् । आफ्ना छोराछोरीले गलत बाटो पहिल्याउनु भन्दा अगाडि नै सजग भएर तिनलाई सही मार्गदर्शन गरेर सफल अभिभावक बन्नुहोस् !!

लेखन: गणेश पुमा राई चिन्तन

प्रकाशित मिति: Monday, September 07, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।