थप २६ नगरपालिका र १ उपमनपा थपिए (नामावली सहित)

२०७२ असोज १ । स्थानीय विकास मन्त्रालयको सिफारिस अनुसार सरकारले विभिन्न जिल्लामा गरी २६ वटा नगरपालिका र १ उपमहानगरपालिका थप्ने निर्णय गरेको छ । यससँगै नगरपालिकाको संख्या २१६ र उपमहानगरपालिकाको संख्या १२ पुगेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्रालयबाट सिफारिस भइआएका २८ मध्ये २६ स्थानलाई नगरपालिका बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले तनहुँको भिमाद र स्याङ्जाको गल्याङबारे थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने गरेको छ ।

सरकारले झापामा गौरादह, तेह्रथुमको बसन्तपुरमा लालीगुराँस, सप्तरीको हनुमाननगरमा हनुमाननगर योगिनीमाई, सिरहाको सुखीपुरमा सुखीपुर र सिरहाकै धनगढीमा धनगढी नगरपालिका बनाउने निर्णय गरेको छ ।

त्यसैगरी ललितपुरको चापागाउँ र बज्रबाराही मिलाएर बज्रबाराही नगरपालिका बनाइएको छ । जुटपानीलाई कालिका नगरपालिका, चितवनमै हर्दी भण्डारालाई राप्ती नगरपालिका, सर्लाहीमा बरहथवालाई बरहथवा नगरपालिका र तनहुँमा भानु गाविसलाई भानु नगरपालिका बनाइएको छ ।

तनहुँमै आँबुखैरीलाई आँबुखैरेनी नगरपालिका बनाइएको छ । नवलपरासीमा मध्यविन्दु नगरपालिका, कपिलबस्तुमा भृकुटी नगरपालिका र स्याङ्जामा भीरकोट नगरपालिका बनाइएको छ ।

लमजुङमा एकै पटक  राईनास, करापुटार र मध्य नेपाल गरी तीनवटा नगरपालिका थपिएका छन् । 

जाजरकोटमा भेरीमालिका नगरपालिका, रुकुममा चौजाहरी नगरपालिका, सल्यानमा बाघचौर नगरपालिका, सुर्खेतमा शुभघाट गंगामाला नगरपालिका र अछाममा कमला बजार नगरापलिका बनाइएको छ ।

त्यसैगरी कञ्चनपुरमा बेलडाँडी नगरपालिका, बेदकोट र कञ्चनपुर नगरपालिका थपिएका छन् । त्यसैगरी बर्दियामा सैनावर नगरपालिका थपिएको छ ।

प्रकाशित मिति: Friday, September 18, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।