किसानलाई प्रांगारिक मल अनुदानमा

२०७२ असोज ७ । सरकारले यस वर्षदेखि सबैै जिल्लाका किसानलाई प्रांगारिक मलमा पनि अनुदान दिने भएको छ । यसअघि सरकारले रासायनिक मलमा मात्र अनुदान दिँदै आएको थियो ।

गतवर्षको अनुदान भूकम्प प्रभावित जिल्लाका किसानलाई मात्र प्रदान गरिएको थियो । यस वर्षदेखि भने सबै जिल्लाका कृषि विकास कार्यालयलाई प्रांगारिक मलमा अनुदान दिने व्यवस्था गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले अनलाइनखबरलाई बताए । ‘भूकम्प प्रभावित जिल्लाबाट प्राङ्गारिक मल अनुदानमा वितरण सुरु गरेका थियौं’ उनले भने- ‘अहिले ७५ जिल्लामै अनुदान दिएर किसानलाई प्राङ्गारिक मल उपलब्ध गराउन सुरु गरेका छौं ।’

किलोमा १० रुपैयाँ अनुदान
मन्त्रालयल प्रांगारिक मल जिल्लास्तर अनुदान कार्यविधि-२०७२ लागू गरी किलोमा अधिकतम् १० रुपैयाँ अनुदान व्यवस्था गरेको छ । प्रतिकठ्ठा ५० किलो वा प्रतिरोपनी ७५ किलोका दरले एउटा किसानले अधिकतम् १ हजार ५ सय किलोसम्म अनुदानमा प्रांगारिक मल खरिद गर्न पाउने ठाकुरले जानकारी दिए ।गतवर्ष वर्ष २४ जिल्लामा सरकारले प्राङगारिक मलका लागि ३ करोड ११ लाख रुपैयाँ अनुदान दिएको थियो । सरकारले यसवर्ष भने १० हजार मेटि्रक टन प्राङगारिक मलमा अनुदान दिने तयारी गरेको छ ।

प्रांगारिक मलका लागि टेण्डर आह्वान गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गरिएको छ । जिल्लामा राम्रो गुणास्तरको प्रांगारिक मल उत्पदान गर्ने उद्योगसंग कृषि सहकारीले मल खरिद गर्न सक्नेछन् ।

कसरी पाउने अनुदान ?
किसानले नजिकै रहेको कृषि सेवा केन्द्र वा उपकेन्द्रको सिफारिसका आधारमा अनुदानको प्रांगारिक मल लिनसक्ने व्यवस्था छ । यसका लागि किसानले सेवाकेन्द्र वा उपकेन्द्रमा आफ्नो जग्गा धनीपुर्जा सहित आफ्ना विवरण टिपाउनुपर्छ । त्यसपछि केन्द्रले किसानलाई आवश्यक रहेको प्रांगारिक मलको विवरण राखेर अनुदानको मल वितरण गर्ने सहकारी, बिक्रेता वा डिलरलाई सिफारिस गर्नेछ ।

त्यसपछि किसानलाई सहकारी, बिक्रेता वा डिलरले प्राङ्गारिक मल उपलब्ध गराउनेछन् । सहकारी, बिक्रेता वा डिलरले किसानलाई उपलब्ध गराएको मलको बिल बिजक जिल्ला कृषि विकास कार्यालयमा पेस गर्ने र आवश्यक मूल्यांकन र निरीक्षण गरी बजार मूल्यअनुसार भुक्तानी दिने व्यवस्था छ । किसानलाई अनुदान दिए बराबरको रकम सरकारले मल सहकारी र उद्योगलाई भुक्तानी गर्नेछ ।

उर्वराशक्ति बढाउने उद्देश्य
रासायनिक मलले उर्वर भूमीलाई पनि बिगार्दै लगेपछि सरकारले प्रांगारिक मलमा किसानलाई आकषिर्त गर्न अनुदान दिन सुरु गरेको हो । २ प्रतिशत मात्रै नाइट्रोजन हुने भएकोले प्रांगारिक मल माटोका लागि गुणस्तरीय मानिन्छ । १ हेक्टरमा प्रांगारिक मल डेढदेखि २ मेटि्रकटनसम्म प्रयोग गर्दा लाभदायक हने मन्त्रालयले जनाएको छ ।

‘प्रांगारिक मलले माटोलाई थप उर्वर बनाउँछ, रासायनिक मलले जस्तो उर्वराशक्तिमा असर पार्दैन । लामो समयसम्म माटोमा यसले सकारात्मक प्रभाव पार्छ ।’ मन्त्रालयका प्रवक्ता ठाकुरले भने, ‘त्यसैले रासायनिक मलको प्रयोग घटाउन जरुरी छ । त्यही कारण हामी प्राङ्गारिक मलमा किसानलाई आकषिर्त गर्न खोजिरहेको छौं ।’ 
साभार: अनलाइन खवर 

प्रकाशित मिति: Thursday, September 24, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।