नाचगान गर्ने बेला भइसकेको अवस्था छैन : बाबुराम भट्टराई

२०७२ असाेज २ । एमाओवादी नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान हुन लाग्दा आफूलाई खुसी र गर्वको अनुभूति भएको बताएका छन् । तर, अहिले नै दिपावली र नाचगान गर्ने बेला नभएको बताए ।

शनिबार काभ्रेको पाँचखाल १६ स्थित धुर्मुस सुन्तली एकीकृत वस्तीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले मुलुक युगीन परिवर्तनको संघारमा भएको खुसीको अनुभूति रहेका बताए । तर, तराई मधेस, थारुवान र जनजातिका कयौं मुद्दाहरु सम्बोधन नभएकाले त्यहाँ असन्तुष्टि कायमै भएको भन्दै उनले उनीहरुलाई छिटो सम्बोधन गर्नु पर्ने बताए ।

‘त्यहाँका जनतालाई पनि विश्वासमा लिएर हामीले संविधान बनाउनु पर्थ्यो, तर सकेनौं । जुन असन्तुष्टि छ, त्यसलाई छिट्टै सम्बोधन गर्‍यौं भने दिपावली गर्ने अवस्था आउँछ’ उनले भने-‘अहिले बढी नाचगान गर्नुभन्दा यसलाई सकारात्मक रुपमा लिएर सबैको समर्थन जुटाएर जानुपर्छ । म मुलरुपमा खुसी छु । तर, आशिंक रुपमा अझै नाचगान गर्ने बेला भइसकेको छैन ।’

भारतीय विशेष दूतको नेपाल भ्रमणबारे सोधिएको प्रश्नमा उनले एउटा छिमेकी चासो व्यक्त गर्दा भने उत्पातै भन्न जरुरी नभएको तर, संविधान नेपाली जनताले नै बनाउने हो भन्ने सबैले बुझ्नु पर्ने बताए । एमाओवादी नेता डा. भट्टराईले भने-‘एउटा कुरा हामी सबैले के बुझ्नुपर्छ भने संविधान बनाउने नेपाली जनताले हो र नेपाली जनताको फैसला सबैले स्वीकार गर्नुपर्छ ।’

मधेसी र थारुवान क्षेत्रका जनतालाई सन्तुष्ट पार्न नसक्दा असहज परिस्थिति बनेको भन्दै उनले भने-‘त्यसबाट छिमेकीको चासो तान्ने र छिमेकी संलग्न हुने खतरा बढेको छ । यसमा हामी सतर्क हुनुपर्छ ।’ अनलाइनखवरमा छापिएको छ ।

प्रकाशित मिति: Saturday, September 19, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।