युग पाठक |
ऐतिहासिक संक्रमणकालमा छ, नेपाल । सिमान्त आवाजहरूमा ऊर्जा कायमै छ । तर त्यो ऊर्जा फेरि एकपटक दमित हुनथालेको प्रतीत हुन्छ । के इतिहासको गर्भबाट पैदा भएको ऊर्जा नष्ट हुन्छ ? अहँ, त्यस्तो हुँदैन । बरु दबाउन खोजियो भने त्यही ऊर्जा चेप्टिँदा-चेप्टिँदै विस्फोटक हुन्छ ।
किनभने आवाजसँग इतिहास हुन्छ, सिमान्तको नारामा ऐतिहासिक उत्पीडन अन्तरनिहित हुन्छ । तर यथार्थ यो छ कि संविधानसभाको दोस्रो निर्वाचनपछि सिमान्त आवाजलाई छोप्न धेरै शक्ति खर्च गरिएको छ । आखिर असगर अलीहरूलाई अचानक आफ्नो आवाज दबाइएको महसुस किन भैरहेको छ ? कात्तिक २६ गतेको कान्तिपुरमा प्रकाशित कांग्रेस नेता प्रदीप गिरीको आलेखमा यही चिन्ता अभिव्यक्त भएको छ ।
किनभने आवाजसँग इतिहास हुन्छ, सिमान्तको नारामा ऐतिहासिक उत्पीडन अन्तरनिहित हुन्छ । तर यथार्थ यो छ कि संविधानसभाको दोस्रो निर्वाचनपछि सिमान्त आवाजलाई छोप्न धेरै शक्ति खर्च गरिएको छ । आखिर असगर अलीहरूलाई अचानक आफ्नो आवाज दबाइएको महसुस किन भैरहेको छ ? कात्तिक २६ गतेको कान्तिपुरमा प्रकाशित कांग्रेस नेता प्रदीप गिरीको आलेखमा यही चिन्ता अभिव्यक्त भएको छ ।
संघीयताको मुद्दामा आएर संविधानसभा फेरि संकटमा फँसेको छ । भर्खरै कांग्रेसको सात प्रदेश र सुधारिएको संसदीय व्यवस्थाको प्रस्तावमा एमालेले आत्मसमर्पण गर्यो । तत्कालै एमाओवादी, मधेसवादी र आदिवासी जनजाति गठबन्धनले कांग्रेस-एमाले प्रस्तावलाई अस्वीकार गर्यो । अहिले विपक्षी गठबन्धन आन्दोलनतिर लागेको दृश्य एकातिर छ भने केपी ओलीको प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षामा सरकारी गठबन्धन फँसेको छ । ओलीको घिडघिडो प्रधानमन्त्री पदमा यसरी अडिएको छ कि उनी संघीयताको अन्तरवस्तुमा छलफल गर्नुभन्दा ४, ५, ६ वा ७ जति प्रदेश होस्, कांग्रेसलाई रिझाएर संविधान जारी गरिहाल्न चाहन्छन् । ओलीको यही मुढाग्रहमा सरकारी गठबन्धन हेलिएको छ । के संघीयता यति हलुका विषय हो ? यो आलेख यही प्रश्नको जवाफ खोज्न समर्पित छ ।
अलमलमा मुद्दा
संविधानसभाको दोस्रो निर्वाचनपछि दुई प्रकारका भाष्य (व्याख्या) खुब प्रचार गरिएको छ । पहिलो, संविधान (जस्तोसुकै होस्) समयमै जारी गर्नुपर्छ । दोस्रो, पहिचानको मुद्दा जातिवाद हो र पराजित भैसकेको छ । पहिलो भाष्यले नयाँ संविधानलाई केवल कागजको एक पुलिन्दाको रूपमा व्याख्या गर्छ । यसले संविधानसभाको मुद्दा किन उठेको थियो, जनताले किन २०४७ सालको संविधान खारेज गरिदिए र के कारणले हालसम्मका शासन व्यवस्था असफल भए भन्ने प्रश्नहरूमा पर्दा हाल्न खोजेको छ । फगत एक संविधान नामको पुस्तिका जारी गर्नु नै संविधानसभाको काम हो र ६०१ सभासद त्यति काम गर्न पनि अल्छी गरिरहेछन् भन्ने हल्ला यो भाष्यले मच्चाएको छ । प्रकारान्तरले यो भाष्यको अन्तर्यमा भने पुरानै संविधानलाई नयाँ गाता हालेर ल्याउनु ठीक हो भन्ने राजनीति छ ।
दोस्रो भाष्यले चाहिँ कांग्रेस-एमालेको चुनावी विजयलाई पहिचानको पराजयका रूपमा व्याख्या गर्ने गरेको छ । पहिचानको मुद्दालाई जातिवाद भनेर हल्ला गर्ने कांग्रेस-एमालेकै नेताहरू हुन् । संघीयतालाई पहिचानबाट कटाउन 'सरकारी बुद्धिजीवी'हरू पनि कम्मर कसेर लागे । अहिले कांग्रेस-एमालेको सात प्रदेशवाला प्रस्ताव यही प्रस्तावनामा टेकेर आएको छ । तर सत्य यसको ठीक उल्टो छ । आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम लगायत सिमान्तकृत समुदायले पहिचानको माग गर्दा आफ्नो समुदाय वा जातको अधिनायकत्व चाहिन्छ कहिल्यै भनेनन् । जातिवादी कसले भन्यो ? पहिचान र संघीयता विरोधी नेता र सरकारी बुद्धिजीवीले । राजतन्त्रात्मक सामन्ती शासनले अढाई सय वर्षसम्म कथित् उच्च कुल र जातले मात्र शासनसत्ता र अवसर पाउने जातवादी शासन चलायो । मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, महिला लगायतलाई जात, धर्म, समुदाय, लिङ्ग र रङ्गभेदको नीति अन्तर्गत निरन्तर दमन गर्यो, अवसरबाट बञ्चित गर्यो । उनीहरूले राजतन्त्रलाई खारेज गरे र संघीय शासन प्रणालीमा आफ्नो पहिचान स्थापित हुनुपर्छ भने । उनीहरूले देशलाई टुक्रा-टुक्रा गरेर विखण्डन गरौं भनेर कहिल्यै भनेनन् । विखण्डनको हल्ला कसले चलायो ? पहिचान र संघीयता विरोधी नेता र 'सरकारी बुद्धिजीवी'ले ।
संघीयताको मुद्दालाई दूषित गर्नेहरू ती थिएनन्, जसले पहिचान र राज्यमा हिस्सेदारीको माग गरे । ती त सत्तासीन भाष्यकारहरू थिए । त्यसैले संघीयताको बहस नै बहकिएको छ र कांग्रेस-एमालेको नयाँ संविधानको प्रस्ताव नयाँ बहसभन्दा बाहिरबाट आएको छ । यसमा संघीयताको बहसलाई मूल विषयवस्तुबाट कटाउने भाष्यकारहरूको मुख्य भूमिका छ । हेर्दा सामान्यजस्तो लागे पनि पुरानै परम्परा, पुरानै सत्ता र पुरानै शासकीय संरचना यथावत राख्न चाहनेहरूको यो खेल निकै दिलचस्प तर डरलाग्दो छ ।
आमसञ्चारको युगमा भाष्य (व्याख्या) निर्माण रणनीतिक महत्त्वको हुन्छ । अमेरिकी मिडिया इतिहासकार स्टुवार्ट एवेनको पुस्तक 'पिआर ! अ सोसल हिस्ट्री अफ स्पिन'का अनुसार सत्ताधारी विचारलाई सामान्य मान्छेको दिमागमा फिट गर्नका लागि खास भाष्यको रचना गरिन्छ । खास प्रकारको प्रतीकमा अर्कै अर्थ आरोपित गरेर प्रचार गरिन्छ र प्रचार अभियानद्वारा आम मान्छेलाई आफूले चाहेको विचारअनुसार सोच्न बाध्य बनाइन्छ । सन् १९२० को दशकमा एडवार्ड बर्नेजले प्रतिपादन गरेको यही सिद्धान्त अमेरिकाले इराक युद्धमा प्रयोग गर्यो । विश्व व्यापार संगठनको टावरमा हवाइजहाज ठोक्किएर जल्दै गरेको तस्वीरलाई जबर्जस्ती सद्दाम हुसेनसँग जोडेर प्रचार गरियो र अनाहकमा इराकलाई धुलिसात पारियो । तर इराक जलिरहँदा कसैलाई महसुसै भएन कि सद्दाम हुसेनको त्यो घटनासँग कुनै साइनो थिएन । यो तरिकालाई भनिन्छ, 'पब्लिक ओपिनियन म्यानिपुलेसन' अर्थात आम धारणाको अनुकूलन ।
एडवार्ड बर्नेज मनोविज्ञानका प्रणेता सिग्मन फ्रायडका भतिजा थिए । बर्नेजले आम मानिसको मनोविज्ञान अध्ययन गर्ने र त्यसलाई आफूले चाहेअनुसार ढाल्न आवश्यक पर्ने प्रतीक निर्माण गरेर प्रचार गर्ने सिद्धान्तका रचनाकार हुन् । बर्नेजको यही सिद्धान्त अहिले नेपाली राजनीतिमा प्रयोग भैरहेको छ । बहुसंख्यक जनताले आफ्नो नागरिक अधिकार सुनिश्चित गर्न संघीयता र पहिचानको माग गरे । तर बर्नेजका नेपाली अवतारले संघीयता र पहिचानलाई जातिवाद र विखण्डनकारीको नयाँ अर्थमा प्रचार गरे । अर्थात् संघीयता र पहिचानको सक्कली अर्थलाई हटाएर नक्कली अर्थ प्रचार गर्न सफल भए । सत्यचाहिँ के हो भने जसले अधिकारको माग गरे, उनीहरूले कहिल्यै जातिवाद र विखण्डनको उच्चारण गरेनन्, जो पुरानै असफल शासन प्रणाली टिकाएर आफूमात्र मालामाल भैरहन चाहन्थे, तिनले मात्र जातिवाद र विखण्डनको हल्ला गरिरहे । तैपनि धेरैले यो नांगो सत्य देख्न सकेनन् । फलस्वरुप अहिले थुप्रै सचेत नागरिक यो नक्कली अर्थको प्रभावमा परेका छन् ।
नेपाली राज्यसत्ताको इतिहास प्रसंग
बर्नेज जालमा परेका धेरैलाई लाग्छ, संघीयता र पहिचानको मुद्दा अचानक आकाशबाट खस्यो । तर यो राजनीतिक मुद्दाको जरा नेपाल राज्य निर्माणको ऐतिहासिक गर्भसम्म पुगेको छ । झट्ट हेर्दा माओवादी जनयुद्धबाट सुरु भएको राजनीतिक नाराजस्तो लागे पनि गम्भीर अनुसन्धानबाट के थाहा हुन्छ भने यो मुद्दा लामो आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक विभेदकारी शासनबाट विस्तारै विकास भएर अहिलेको स्वरुपमा आइपुगेको हो । अर्थात् जनताको स्वतन्त्रता र अधिकार प्राप्त गर्ने लामो राजनीतिक लडाइँको इतिहासबाट संघीयता र पहिचानको मुद्दा विकसित भएको हो । यो मुद्दाको जरामा पुग्न नेपालको अर्थराजनीतिक इतिहास केलाउनु जरुरी हुन्छ ।
पृथ्वीनारायण शाहलाई आफ्नो राज्य विस्तार अभियान एउटा टुंगोमा पुग्नासाथै थाहा थियो, जमिन त जितियो, तर जनता जितिएको छैन । इतिहासकार लुगविग एफ. स्टिलरका अनुसार उनको फूलबारी सिद्धान्त त्यही 'थाहा'बाट जन्मिएको थियो । त्यसैले उनले पूर्व लिम्बुवानका जनतालाई सामाजिक स्वामित्वको किपट जमिनमा निर्वाध जोतभोग गर्न भन्दै लालमोहर पठाए । मधेसका चौधरीदेखि पश्चिमका रजौटासम्मलाई अमूक स्थानीय स्वायत्त शासनको अधिकार दिन उनी बाध्य थिए, गोर्खाली सैनिक अभियानलाई आवश्यक पर्ने रसदपानी र धन 'रैती'बाट उठाइदिने सर्तमा । तर उनले देखेको 'असली हिन्दुस्तान'को सपना धार्मिक र जातीय विविधता भएको मुलुकको वास्तविकतासँग मेल नखाने प्रकारको थियो । विजित राजाको सामन्ती अहंकार विजित मुलुकको वास्तविकतामा फिट नहुनु स्वाभाविक थियो । राजतन्त्रले सामान्यतः प्रजालाई आफ्नो धर्म, संस्कार अनुकूल बनाउन खोज्छ, नत्र यस्तो शासन प्रणाली फस्टाउँदैन र दरबारमा धन पनि थुपि्रँदैन । पृथ्वीनारायण शाहले त्यसबखत सुरु गरेको धार्मिक दमनको शृङखला नै २५० वर्षमा इसाई र बुद्ध धर्मावलम्बीमाथिको दमन हुँदै असहिष्णु हिन्दुवादी राष्ट्र निर्माणको सैनिक प्रशासनिक र आर्थिक अभियानमा विस्तार भएको हो । यसैको जराबाट जन्मियो, जातवादी शासन पनि ।
महेशचन्द्र रेग्मीले 'अ स्टडी इन नेपाली इकोनमिक हिस्ट्री'मा उल्लेख गरेअनुसार राज्यविस्तारमा प्रमुख सहयोगी रहेका बाहुन, क्षत्री र ठकुरी जातका उच्च खान्दानी परिवारलाई नै पृथ्वीनारायणले विर्ता र जागिरको रूपमा हजारौं बिघा जमिन वितरण गरेका थिए । यहीँबाट सैनिक कमाण्डर नै शासकीय हिसाबले शक्तिशाली हुने र आर्थिक रूपले पनि सम्पन्न हुने क्रम सुरु भयो । अनि उच्च जातका खान्दानी परिवारको सम्पूर्ण पकड सत्तामा स्थापित भयो । काठमाडौंका नेवार समुदायका जमिन भाइभारदारलाई विर्ता दिइयो र रातदिन श्रम गर्ने जनताको वर्षभरिको कमाइ भाइभारदारको ढुकुटीमा जाने व्यवस्था मिलाइयो । काठमाडौं वरपरका तामाङ समुदायलाई त दाससरह नै तुल्याइयो । मधेसका जनताले पुस्तौं-पुस्ता लगाएर तयार गरेको जमिन पनि विर्ता र जागिरमा वितरण गरियो । अनि युद्ध, दरबारमा चल्ने बिहे इत्यादि उत्सव र नियमित कर इत्यादि स्वरुपमा सबै उत्पादनको मुख्य हिस्सा पैसामा रूपान्तर गरेर दरबार र भाइभारदारका ढुकुटीमा पुग्ने नियम चल्यो ।
राणाशासनले यो जातवादी र हिन्दुवादी सत्तालाई मजबुत बनायो । हुन त यो व्यवस्था अन्तर्गत पनि शक्तिको रक्तरञ्जित खेल चलिरहेकै देखिन्छ, इतिहासभरि । एकथरी भारदारको उदय हुँदा पराजित भारदार र तिनको परिवारको सम्पत्ति एवं विर्ता पनि खोसेर खेद्ने चलन थियो । तर मूलतः बाहुन, क्षत्री र ठकुरी जातका शक्तिशाली खान्दानकै हातमा आर्थिक, प्रशासनिक अधिकार केन्दि्रत भैरह्यो । एक प्रकारले राणाशासनको अन्त्य हुँदासम्म सत्ताले दरबार, भारदार र तिनको चाकडीदारलाई चिन्थ्यो, तर जनतालाई चिन्दैनथ्यो । जनता त रगत-पसिना बगाएर तिनको लुटको स्वर्ग सजाउने फगत रैतीमात्र थिए । राणाशासनले मुलुकी ऐनमार्फत पहाडमा जातवादी कानुन र अर्थव्यवस्था मजबुत बनायो । राणाका बफादार बाहुनहरू शक्तिशाली न्यायाधीश भए र तिनले जातवादी कानुन प्रयोग गरेर धेरै गरिब र कथित तल्लो जातका जनताको जग्गा र धनसम्पत्ति लुटे । राणाशासनमै लागु भएको मुखिया प्रथा अन्तर्गतका मुखियाले धेरैलाई डाँडा कटाए, धेरैलाई टिकिखान नसक्ने स्थिति बनाएर मुग्लान लखेटे । मधेसमा त्यही बेला जिमदार प्रथा लागु गरियो । मधेसी चौधरीले प्रगन्नाको कर उठाउने चलन बदल्दै पहाडी जिमदारले मौजा-मौजामा कब्जा जमाए । डा. घनश्याम भट्टराईको नेपालको स्थानीय प्रशासनको इतिहासमा उल्लेख भएअनुसार मधेसमा पठाइने जिमदार अनिवार्य रूपमा उच्च खान्दान -स्वाभाविकै रूपमा उच्च जातको) पहाडी हुनुपथ्र्यो ।
यसबाट के प्रस्ट हुन्छ भने शासकीय हिसाबले नै उत्पीडित जात र उत्पीडित मधेसी निर्माणको प्रक्रिया त्यसबखत तीव्र भएको थियो । मधेस पुगेका जिमदारले सरकार र विर्तावाललाई धन जम्मा गरेर पठाउने काम त गरे नै, आफ्नोलागि पनि राम्रो बन्दोबस्त गरे । जब श्री ३ नै व्यक्तिगत ढुकुटी भर्नमा तल्लिन हुन्थे भने अरु भारदार र जिमदार/मुखियाले त्यसैको सिको गर्नु अनौठो थिएन । मधेस झरेका जिमदारले आदिवासी र अन्य मधेसीलाई झुक्याएर, झुठा मुद्दा लगाएर र कागजपत्र मिलाएर प्रशस्त जग्गा जोडे र अधिकांश मधेसी जनतालाई भूमिहीन गरिब तुल्याइदिए । उता पहाडमा पनि मुखिया र डिठ्ठाहरूको त्यस्तै खेल जारी रह्यो । किराँत र लिम्बुवानका किपट जग्गा जालसाजी गरेर व्यक्तिगत तुल्याइए, दर्जनौं गुम्बाका गुठी जग्गाहरू पनि जफत गरिए । एकथरी जातलाई मासिने लिस्टमा राखेर दास तुल्याइयो, अर्कोथरी जनजातिलाई गोरखा रेजिमेन्टमा भर्ना हुन पठाएर राणा श्री ३ हरूले मोटो धन कमाए । पहिलो र दोस्रो विश्वयुद्धमा 'गोर्खा' सिपाही आपूर्ति गरेर चन्द्रशमशेरले लाखौं धन कमाएको प्रसंग पुरुषोत्तमशमशेर जबराको 'श्री ३ हरूको तथ्यवृत्तान्त'मा पनि पढ्न पाइन्छ । मुलुकी ऐन र अत्यन्त क्रूर हिन्दु वणर्ाश्रम व्यवस्थाले स्वाभाविकै रूपमा दलित र महिलामाथि सबैभन्दा ठूलो शोषण र उत्पीडन गर्यो । फलस्वरुप आजसम्म दलित र महिला झन्डै-झन्डै समान रूपले अपहेलित, उत्पीडित र कमजोर अवस्थामा छन् । यसरी राणाशासनले जातवादी, हिन्दुवादी सत्ता मजबुत बनायो र जनजाति, दलित र मधेसीलाई दोस्रो दर्जाको रैती तुल्यायो ।
के यो दमनचक्र राणाशासनपछि अन्त्य भयो ? भएन, बरु दमनको आधुनिक तरिका अवलम्बन गरियो । चन्द्रशमशेरको पालामा सुरु भएको हिन्दु धर्म र खस भाषामा आधारित राज्य निर्माणको आधुनिक तरिकालाई पञ्चायतले अझ विकसित गर्यो । नेपाली कांग्रेसले सशस्त्र संघर्षमार्फत राणाशासन फाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हो । तर विर्ता उन्मूलनको एउटै कार्यक्रममा वीपी कोइराला घेराबन्दीमा परे । वीपीले त्यसबखत बुझ्न नसकेको कुरा के थियो भने राणा श्री ३ को ठाउँमा शाह श्री ५ को स्थापना हुनु सत्ताको चरित्रको हिसाबले मूलतः उस्तै कुरा थियो । त्रिभुवन जीवित छँदै सक्रिय भैसकेका महेन्द्रको निम्ति यो अवसर थियो र वीपीका निम्ति जेलको निम्तो । कांग्रेसमा स्थापनाकालदेखि नै सक्रिय मधेसी नेताहरू मधेसको मुद्दा उठाइरहेका थिए, खोटाङका रामचन्द्र राईजस्ता विद्रोही नेताले जनजातिको आवाज बुलन्द गर्न खोजेका थिए, तर वीपीले ती सबलाई बेवास्ता गरे । उनलाई श्री ५ प्रति अपनत्व बोध थियो र त्यही उनको राजनीतिक जीवनमा सबैभन्दा प्रत्युत्पादक सावित भयो ।
महेन्द्र बडो रणनीतिक राजा थिए । उनले राणाशासनभरी संस्थागत भएका राजनीतिक, आर्थिक र सांस्कृतिक परम्परालाई नयाँ उचाइमा उठाए । मुलुकलाई हिन्दु राष्ट्रका रूपमा विकास गर्ने उनको चाहनाले परम्परागत रूपमा गाई खाने हिमाली र उच्च पहाडी क्षेत्रका जनजातिलाई जेलमा कोच्यो । धर्मका नाममा श्रमजीवी जनतामाथि दमन हुनु भनेको राज्यप्रति उसको समुदायगत अविश्वास सुदृढ हुनु हो । 'नेपाली' भाषाको नाममा खस भाषा एकछत्र थोपरियो, फलस्वरुप अन्य मातृभाषा भएका जनताको शिक्षामा पहुँच सहज भएन र तिनलाई उपेक्षापूर्वक किनारतिर मिल्काइयो । शासकीय भाषा नबुझ्ने मधेसका आदिवासी एवं अन्य जातका मधेसीलाई सजिलै झुक्याएर जिमदार र सरकारी कर्मचारीले जग्गा हडप्ने, झुठा मुद्दा लगाएर भगाउने, नागरिकता नदिने इत्यादि प्रपञ्च गरिरहे । अमेरिकी सहयोगमा सञ्चालित औलो उन्मूलन कार्यक्रमपछि मधेसमा पहाडी समुदायको बसाइँ-सराइ व्यवस्थित रूपमा राज्यको मेसिनरी प्रयोग गरेर गरियो । यही अवधिमा झापा, मोरङका राजवंशी र पश्चिमका थारु समुदायलाई जरैबाट उखेलेर भूमिहीन तुल्याइयो । तर दमनको यो चरम शृङखला चलिरहँदा रणनीतिक रूपले नै सबै जातजाति र समुदायबाट प्रतिनिधि राजभक्त छानेर सत्ताको केन्द्रमा तान्ने काम पनि गरियो । महेन्द्रको यो रणनीति एउटै भाषा, एउटै भेष र एउटै धर्मको विकासमार्फत राजतन्त्रको निरन्तरताका निम्ति डिजाइन गरिएको थियो ।
पञ्चायतको अवधिमा मधेसले आफ्नै देशभित्र उपनिवेश हुनुको दर्दनाक पीडा भोग्यो भने त्यहाँका आदिवासी पुख्र्यौली भूमिबाट विस्थापित भए । समाजशास्त्री चैतन्य मिश्रले दाङका थारुको अध्ययनक्रममा यही तथ्य फेला पारेका थिए -हेर्नुहोस् ः एसेज अन द सोसोलजी अफ नेपाल) । त्यस्तै फ्रेडरिक एच. गेजले आफ्नो पुस्तक 'रिजनलिजम एन्ड नेसनल युनिटी इन नेपाल'मा उल्लेख गरेअनुसार जबजब मधेसमा किसान वा आदिवासीले आन्दोलन गरे, त्यस विरोधलाई सैनिक बुटले कुल्चिने काम गरियो । त्यसैगरी राणाशासनदेखि सुरु भएको मधेसको जंगल, वन्यजन्तु लगायत बेचेर दरबारिया भारदारले ढुकुटी भर्ने काम पनि पञ्चायतमा चलिरह्यो । विर्तावालहरूलाई विस्तारै आफ्नो जग्गा लुकाउने वा बेच्ने अवसर प्रदान गर्दै आयोजना गरिएको भूमिसुधार नामको नाटक पनि मूलतः मधेसको पुस्तैनी जमिनबाट मधेसी जनतालाई विस्थापित गर्नमा पटाक्षेप भयो ।
२०४७ सालको संविधानले राज्यसत्ताको मूलभूत चरित्र बदलेन । बरु राज्यसत्ताको त्यही चरित्रले कांग्रेस र एमालेका नेताको चरित्रचाहिँ बदल्यो । त्यो संविधानले राज्यको धर्म हिन्दु भनेको थियो र अहिले एमाले नेता मोदनाथ प्रश्रति र कांग्रेस नेता खुमबहादुर खड्का त्यही अभियानमा सामेल भएका छन् । त्यसले महेन्द्रले कोर्न लगाएको १४ अञ्चल ७५ जिल्लाको भौगोलिक, प्रशासनिक विभाजनलाई यथावत राख्यो, अहिले कांग्रेस-एमाले संघीयताको मुखुन्डोले छोपेर त्यही प्रशासनिक विभाजनको दर्शन पछ्याइरहेका छन् । पञ्चायतले १४ अञ्चल र ७५ जिल्लाको प्रशासनिक विभाजन गर्नुमा राज्यलाई आधुनिक बनाउने तत्कालीन अभिप्राय अवश्य थियो । तर त्यो फगत प्रशानिक विभाजनमात्र किन थियो भने पञ्चायतको दर्शन राजतन्त्रको दर्शन थियो र त्यसले राजभक्त जनसंख्या तयार पार्न एउटै भाषा, एउटै भेष र एउटै धर्ममात्र होइन, एउटै उच्च जातको सत्तासीनतालाई स्वीकार गथ्र्यो । गेजले ०३२ सालमा प्रकाशित उल्लेखित पुस्तकमा नेपालको सेना, प्रशासन, प्रहरी लगायत सबै सत्ताका अंग र सम्पत्तिमा पहाडी उच्च जातका खान्दानी मानिसहरूको हालिमुहाली भएको तथ्य उल्लेख गर्दै भनेका छन्, मधेस नै कृषि उत्पादन, उद्योग, व्यापार लगायत आर्थिक शक्तिको केन्द्र भएकोले त्यहाँका जनताले जुनसुकै बेला शासक वर्गको विरुद्ध विद्रोह गर्न सक्छन् ।
माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेस विद्रोह त्यसैले इतिहासको ऊर्जाबाट भएका थिए । अनि त्यही ऊर्जाकै शक्तिले गणतन्त्र स्थापना भएको हो, राज्य धर्मनिरपेक्ष भएको हो र पहिचान एवं समावेशिता सहितको संघीयतामा राज्यको पुनर्संरचना गर्ने सम्झौता अन्तरिम संविधानमा भएको हो । के इतिहासको यो लामो प्रक्रिया दमनकारी, क्रूर र एकपक्षीय थिएन ? किन राणा र अन्य उच्च जातका एलिटले मात्र यो देशमा बगेको पसिनाको मूल्य भव्य महलको झुमरमा हल्लाउन सफल भए ? संसारले ठूलठूला फड्को मार्दा किन यो देश सधंै निम्छरो भैरह्यो ? किन यहाँका जनता रातदिन पसिना बगाउँदा पनि गरिब भैरहे ? भगवानले अद्भुत बुद्धि नदिएर यस्तो भएको हो ? कि सत्ताको चरित्रले अधिकांश जनतालाई हातमुख जोर्नमै सीमित राख्यो र उनीहरूको पसिनाको अधिकांश हिस्सा लुटेर सीमित व्यक्तिले ढुकुटी भरेकोले यसो भएको हो ? पसिनाको मूल्य अलिकति पनि बचत गर्न नपाएपछि मान्छे रचनात्मक कसरी हुन्छ ? के यो जातवादी, हिन्दुवादी र कूलवादी सत्ताको उपज होइन ? आर्थिक इतिहासको अध्ययन गरेपछि एमसी रेग्मीले यस्तै नतिजा निकालेका छन् (हेर्नुस: थ्यच्ड्स हट्स एन्ड स्टुको प्यालेस) ।
सत्ताको भाष्य
नेपाली राज्यसत्ता निर्माणको इतिहास विभेदले भरिएको छ । तर एडवार्ड बर्नेजले आविष्कार गरेको आम जनतालाई एकैपटक भ्रमित पार्ने तरिका यसबखत सत्ताधारीहरू प्रयोग गरिरहेछन् । वास्तवमा पहिचानको मुद्दा हालसम्म सत्ताले थिचोमिचो गरेका जनजाति, मधेसी, दलित, आदिवासी, मुस्लिम लगायतको मनमा आत्मसम्मान भर्ने मुद्दा हो । आत्मसम्मान नभएका जनताले मुलुकप्रतिको अपनत्व गुमाउँछन् । केवल उच्च खान्दानको मात्र आत्मसम्मान र मोजमस्ती जीवित राख्ने सत्ताको चरित्रलाई बदल्न पहिचानको आवश्यकता परेको हो । जातले उच्च तर गरिब बाहुन वा क्षत्रीले पनि परम्परागत जातवादी समाजमा आत्मसम्मान पाउँदैन । जात खसाल्ने, चारपाटा मुडेर खेद्ने लगायतको अपमान धेरै बाहुन-क्षत्रीले पनि इतिहासमा भोगेका छन् । आफूभन्दा तलकोलाई हेप्ने र माथिकाको चाकडी गर्ने परिपाटी नै हालसम्म सत्ताले चलाएको परिपाटी र संस्कार हो । राजनीति पनि यही हो र अर्थव्यवस्थामा पनि यस्तै परिपाटी छ । दरबार वा कुलिनको आशिर्वाद पाएको खण्डमा कोही-कोही तल्लो जातकै मान्छेलाई पनि हैकम र हेपाहा प्रवृत्ति सिकाउने राज्यको चरित्र उही हो ।
तर यो ढोंगी संस्कार केवल दैनिक जीवनमा मात्र छैन, सत्ताको चरित्रमा छ । सेनामा छ, प्रहरीमा छ, प्रशासन यन्त्रमा छ र आर्थिक व्यवहारमा पनि । यसले घुमाउरो पाराले यस्तो तह निर्माण गर्छ, जहाँ उच्च र निचको बीचमा खाडल हुन्छ र यस्तो व्यवस्थाको सिकार अन्ततः सबै समुदायका मानिस पर्छन् । फलस्वरुप समाज र मुलुकले विकासको गति पक्रन सक्दैन । यही निष्कर्ष नेपाल समाजका प्रख्यात अनुसन्धानकर्ता डोरबहादुर विष्टले आफ्नो पुस्तक
'फ्याटलिजम एन्ड डेभलपमेन्ट'मा निकालेका छन् । समाजको आधारभूत चरित्र यस्तो रहेसम्म विदेशी दाताले प्रशस्त पैसा दिएर पनि देशको विकास सम्भव छैन भन्ने निष्कर्ष चैतन्य मिश्र, पिताम्बर शर्मा लगायतका विद्वानले पनि निकालिसकेका छन् । तसर्थ सबैको पहिचानको सम्मानले वास्तविक अर्थमा राष्ट्रिय एकता निर्माण गर्ने हो ।
अन्ततः संघीयता र पहिचानको मुद्दा नेपालको सन्दर्भमा आर्थिक प्रगतिकै निम्ति पनि अपरिहार्य छ । यसले नेपाली समाजलाई एक तह माथि उचाल्छ र सभ्यता निर्माणको दिशातिर उन्मुख गराउँछ । हरेक नागरिकलाई सबल नागरिकका रूपमा उभिन मद्दत गर्ने शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक प्रणाली बनाउने अभियानलाई संघीयता र पहिचानकै फर्मुलाले मात्र सुनिश्चित गर्न सक्छ । तर अधिकार र सम्मानसहित सबै नागरिकलाई न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ अघि बढाउन सक्ने यो प्रयोगले हालसम्म सत्ताको शक्ति दुरुपयोग गरेर व्यक्तिगत ढुकुटी भर्न खप्पिस चतुर एलिट वर्गलाई चाहिँ यसले साइजमा ल्याउँछ । गरिबी र भेदभावले उत्पीडित जनताको आँसु बेचेर पनि द्रव्य जम्मा पार्ने, तिनको पसिना निचोरेर पनि द्रव्य नै जम्मा पार्ने द्रव्यपिचास वर्ग भने यी मुद्दासँग तर्सिएका छन् ।
तसर्थ उनीहरू संघीयता, समावेशिता, पहिचान, लैंगिक समानताजस्ता मुद्दालाई सुमसुम्याए जस्तो गर्छन् र बर्नेज मोडलमा यी मुद्दामा अर्कै अर्थ जोड्छन् । यसरी सामान्य मानिसको बौद्धिक शक्तिलाई नष्ट गर्न र आफ्नो द्रव्यपिचास एजेन्डामा पुरै समाजलाई लतार्न उनीहरू उद्यत देखिन्छन् । सत्ताको यो भाष्यमा हामी कतिन्जेल फँसिरहने ? सुतेको धेरै भयो, अब उठ्ने बेला भैसक्यो ।
खलनायकको खोज
नेपाली राजनीतिमा खलनायकको खोज निरन्तर चलिरहन्छ । राणाशासनमा शत्रु खोज्ने श्री ३ को अटुट परम्परा रहिआयो । श्री ३ को मुकुट लगाउनासाथ उसको पहिलो काम हुन्थ्यो, एउटा शत्रु खडा गर्ने र त्यसमाथि आक्रमण गर्ने । आधुनिक इतिहासको सुरुवात ००७ सालदेखि भएको मान्ने हो भने त्यहाँदेखि यता पनि यही परम्परा नयाँ मुखौटो लाएर प्रकट भैरहेको देख्न सकिन्छ । ००७ सालको क्रान्तिमा राणाहरूलाई खलनायक बनाइयो । राजा महेन्द्रले त्यसैले सुरक्षित तवरले आफूलाई बलियो बनाउँदै लगे र ०१७ सालमा सर्वभौमसत्ता दरबारमा केन्दि्रत गरे । उनी सुरक्षित थिए, किनभने मूल खलनायक त राणाहरू थिए । ०४७ सालको आन्दोलनका क्रममा पञ्चायतलाई खलनायक देखाइयो र खलनायकी भिर्ने मुख्य पात्रहरू पञ्चायती पात्रहरू भए । राजा वीरेन्द्र सुरक्षित तवरले ०४७ को संविधानबाट पास भए र पुनः सर्वभौमसत्ता आफ्नै हातमा राख्न सफल भए । देखावटीका लागि सर्वभौमसत्ता जनतामा रहेको लेखियो, तर सेनाका कार्यकारी परमाधिपति राजा नै थिए र बहुदलका खेलाडी कांग्रेस एवं एमालेका नेताहरू राजाको छायामै टाक्सिएर परम्परागत राजनीतिमा संलग्न भए । राज्यसत्ताको मूल चरित्र उस्तै रह्यो ।
जनयुद्ध र दोस्रो जनआन्दोलन मात्र यस्ता आन्दोलन थिए, जसले पहिलोपटक राजतन्त्रलाई खलनायक बनायो । यी विद्रोह इतिहासको अन्तरालमा देखापरेका व्यवस्था विरोधी विद्रोह थिए । अन्ततः राजतन्त्रको उन्मूलन भयो । अन्तरिम संविधान २०६३ ले समावेशिता, धर्मनिरपेक्षता, संघीयता, पहिचान इत्यादि नयाँ आधारमा राज्य पुनर्संरचना गर्ने वाचा गर्यो । पञ्चायतले कोरेको १४ अञ्चल ७५ जिल्लाको प्रशासनिक विभाजनले जनतामाथि कुलिन शासकले शासन गर्ने प्रबन्ध गर्यो, तर जनताले आफैंमाथि शासन गर्ने प्रबन्ध नयाँ सिद्धान्तका आधारमा गर्नुपर्ने दर्शनको जग बस्यो । अहिले कांग्रेस-एमाले गठबन्धनले असफल भैसकेको पुरानै संसदीय परिपाटी र महेन्द्रकै मोडलमा ७ प्रदेश बनाउने संघीयताको जुन प्रस्ताव ल्याएका छन्, त्यसले एकपटक फेरि नयाँ खलनायकको खोजी सुरु भएको प्रतीत हुन्छ ।
महेन्द्रले आफ्नो समयमा राजतन्त्रकै सीमाभित्र उल्लेख्य काम गरेका थिए । तर भौतिक निर्माणले मात्र न देशको विकास हुन्छ, नत जनताको । नयाँ मुद्दाको सापेक्षमा उनलाई खलनायक सावित गरिएको छ । इतिहासले सबैको हिसाब-किताब गर्छ, ढिलै सही । तर नेपालमा ढिलोमात्र आँखा खोल्ने संस्कारको निरन्तरता छ । यस्तो मूलतः अति व्यक्तिवादी लोभी चरित्र नै शासकीय चरित्र भएकोले हो । राणाशासनले जग बसाएको व्यक्तिगत हितका निम्ति चाकडी पनि गर्ने, दाम पनि चढाउने र जनताको भरमग्दुर शोषण गर्ने संस्कार हाम्रो राज्यसत्ताका सबै अंगमा जीवित छ । यदि संघीयता र पहिचानको सवाललाई खारेज गरेर पञ्चायती शैलीको संविधान बनाइयो भने त्यसले जनताको जीवनमा आधारभूत परिवर्तन ल्याउँदैन । एकथरी मान्छे संघीयताको प्रशासनिक व्यवस्थापनमा टाउको ठोक्काएर बसेका छन् । संघीयताको व्यवस्थापनमा धेरै पैसा खर्च हुने डर भए अहिलेकै व्यवस्था ठीक छ भन्नुपर्यो, दुइटै पनि प्रदेश किन चाहियो ? र यही परिपाटीबाट समाज अघि लाग्दैन भनेर त इतिहासले प्रमाणित नै गरिसक्यो । त्यसैले अब नयाँ खलनायक को हुने ? प्रश्न यो होइन कि खलनायक अहिले के छ वा तुरुन्तै के हुनेछ । धेरै खलनायकहरू आफ्नो टाइममा शासकै हुन्छन् । तर इतिहासको कठघरा छल्न सकिँदैन । जसले समाज विकासको गर्भबाट उब्जिएको पहिचान र संघीयताको मुद्दालाई अपनाउने सपथ लिएको छ, ऊचाहिँ के हेरिरहेको छ ? के यो खलनायकको निर्माण हेरेर बस्ने समय हो ? भोलिका निम्ति खलनायकको खोज गर्नु भनेको वर्तमान असफल तुल्याउनु हो ।
www.ekantipur.com/np/ बाट साभार ।
हङकङको याउ मा तेइ स्थित कम्युनिटी हलमा किरात पुमा राई तुप्खा वाङखाला हङकङले किरात पुमा राई सांगितिक साँझ-२०१४ हालै भव्यताका साथ सम्पन्न गरेको छ ।
यस कार्यक्रमका प्रमुख अतिथि किरात राईहरूको साझा संस्था किरात राई यायोक्खा हङकङका अध्यक्ष शशि मदन राई थिए भने विशेष अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा थिए । त्यस्तै अतिथिहरूमा समाजसेवी हेजेन राई, खोटाङ समाज हङकङका अध्यक्ष अधिराज राई, किरात राई चाम्लिङ खाम्बातिम हङकङका अध्यक्ष पिताम्बर राई, किरात राई साम्पाङ जुम्लेखा हङकङका अध्यक्ष तेज कुमार राई, किरात राई बान्तावा यायोख्ला हङकङका अध्यक्ष तिलक मोहन राई, किरात राई थुलुङ सामा हङकङका अध्यक्ष रामली राई, भारतीय भुपु सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ, लिमा कन्सल्टेन्सीका डाईरेक्टर रजिन राई, नेपाल क्लब हङकङका अध्यक्ष रिता गुरूङलगायत थिए ।
प्रमुख अतिथि शशीमदन राईद्वारा रिवन काटेर उद्धघाटन गरिएको उक्त कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य किरात पुमा राईहरुको उदगम भूमिको सम्बर्धन र संरक्षणका लागि आर्थिक सहयोग पुर्याउनु रहेको पुमा राई तुप्खा बाङखालाका अध्यक्ष सुवाश राईले बताए । नेपालबाट आएका चर्चित कलाकारहरु विलसन विक्रम राई (तोक्मे बुढा), मिलन अमात्य, गिता राई र रेवत राईका साथै स्थानीय हङकङ नेपाली डान्स ग्रुपको समेत अत्यन्तै राम्रो एवं सन्देश मुलक प्रस्तुती रहेको थियो ।
खोटाङ तारा लगायत विभिन्न प्रतियोगिताहरुमा अवार्ड समेत पाईसकेको नवउदयमान गायक रेवत राईले आफ्नै एल्बमका हाल चर्चित 'लाहुरे दाईको छोरीले' लगायत आधा दर्जन गीतहरु पस्किएर दर्शकहरुलाई मनोरञ्जन दिलाए भने 'गाला रातै, गाला रातै' र 'आशैको गुलेलीमा, नजरैको मट्याङग्राले' जस्ता चर्चित गीतहरुमा गायिका मिलन अमात्यलाई साथ समेत दिएका थिए ।
त्यस्तै चर्चित गायिका मिलन अमात्यले 'किन माया लायौं, छाडिजाने निस्ठुरी' लगायत आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन गीतहरु पस्किएर दर्शकहरुलाई स्टेजमै आएर नाँच्न बाध्य पारिन भने आफ्नो प्रस्तुतिले उनि हङकङेली नेपालीहरूको मन जित्न सफल भइन् । त्यस्तै चर्चित नृत्यंगना गिता राईले २ वटा गीतमा एकल नृत्य तथा हाल चर्चित ठूली चलचित्रको 'म त मर्छु क्या हो ठुली' गीतमा विल्सन विक्रम राईसंग नाचेर दर्शकहरुलाई मनोरञ्जन दिन सफल भईन ।
तक्मे बाजेका रुपमा प्रस्तुत भएर दर्शकहरुलाई पेट मिचिमिचि हाँस्न बाध्य पारेका विल्सन विक्रम राईले नातिको रुपमा समेत प्रस्तुत हुँदै उत्तिकै रोचक र घोचक नयाँ प्रहसन प्रस्तुत गरी दर्शकदिर्घालाई बेजोड हँसाएका थिए । हङकङ नेपाली डान्स ग्रुपद्वारा 'नोट, भोट र हाम्रो होइन, राम्रो कलाकारलाई चिन्ने र सम्मान गर्ने बानि बसालौं' भन्ने सन्देशमुलक प्रस्तुती पस्किए।
पुमा राई तुप्खा बंखला हङकङले आयोजना गरेको ‘पुमा राई सांगितिक साँझ २०१४’ सोचे भन्दा भब्य रूपमा सम्पन्न भएको छ । औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष सुवाश राईले सन्चालन गरेका थिए भने दोश्रो चरणको सांगितक कार्यक्रम सृष्टी सुनुवारले संचालन गरेकी थिईन् ।
पुमा राई जाति तथा संस्कृति : एक परिचयको बाँकी अंश, क्रमश...
३. भाषा
३. भाषा
पुमा जातिको आफ्नै मौलिक भाषा छ । तिनले बोल्ने भाषालाई रकोङ (रोखुङ, रोकोङ आदि) भन्दछन् । वंशानुगत हिसावले पनि पुमा भाषा चाम्लिङ र साङपाङसँग धेरै मिल्दछ । पुमा भाषाको संरचना बेग्लै छ । यो भाषाको संरचना नेपाली (खस) र अंग्रेजीसँग मेल खादैन । यो भाषाको संरचना तिब्बत–बर्मेली भाषा समूहसँग मेल खान्छ ।
करिब १२ हजार जनसंख्या रहेको पुमा राईहरुको संख्या नेपालको जनगणना २०६८ ले जातीगत रुपमा १ जना पनि नभएकाे देखाए पनि पुमा भाषा मातृभाषाको रुपमा बाेल्नेकाे संख्या ६६८६ मात्र देखाएको छ ।
त्यसैले तथ्याङ्क विभागको यस संख्यालाई मिथ्याङ्क भनेर किरात लगायतका बहुसंख्यक समुदायबाट विरोध भइरहेको अवस्था पनि छ । यीमध्ये करिब ९० प्रतिशतले आफ्नो मातृभाषा बोल्दछन् । पुमा जातिले आफ्नो रकोङ भाषालाई नै पहिलो भाषाको रुपमा बोल्दछन् । नेपाली (खस) भाषा भने दोश्रो भाषा अर्थात् अन्तरभाषीय संचारको रुपमा प्रयोग गर्दछन् । यद्यपि अंग्रेजी र नेपाली भाषाको अतिक्रमण पुमा भाषामा पनि देखिएको छ । अरु भाषा (नेपाली र अंग्रेजी) को प्रभाव यही गतिमा बढ्दै जाने हो भने निकट भविष्यमा कम मात्रै पुमाहरूले आफ्नो भाषा प्रयोग गर्नेछन् । छिन्ताङ तथा पुमा भाषा अनुसन्धान परियोजनाको निस्कर्ष अनुसार यदि यस भाषाको संरक्षण र संवद्र्धन नहुने हो भने आगामी २५ वर्ष अर्थात् अहिले २५ वर्ष पुगेकाहरूको मृत्यु भए पछि पुमा भाषाको पनि मृत्यु हुनेछ । त्यसैले पुमा भाषा एक लोपउन्मुख भाषाहरूमध्ये एक पर्दछ ।
मुन्दुमवेत्ताहरूका अनुसार पहिले पुमा भाषाको शव्दावली धेरै संख्यामा थियो । तर समयको परिवर्तन सँगै पुमा भाषामा गिरावट आइरहेको छ । र अरु जस्तै पुमाहरूको पनि परिवर्तनीय मनसाय अर्थात पश्चिमेलीको नक्कलले गर्दा पुमा भाषाका शब्दावलीहरू विस्तार हराउदै या हाइब्रिड हुदै जाने क्रममा छन् ।
पुमा भाषामा लिखित दस्तावेजहरू त्यति धेरै संख्यामा प्रकाशित भएका छैनन् । २०६४ असार बाट पुमा भाषामा त्रैमासिक पत्रिका ‘बुङ्वाफोप’ प्रकाशन शुरु भएको छ । बुङ्वाफोपको अर्थ फुलको थुङ्गा भन्ने हुन्छ । यस पत्रिकाको मुख्य उद्देश्य पुमा भाषा र संस्कृतिको प्रचार प्रसार र संरक्षण भएको देखिन्छ । पुमा भाषाबाट टाढिन खोजेका गन्तिका शब्दावलीहरूलाई खोजतलास गरेर यस पत्रिकाले वहार थप्न खोजेको देखिन्छ । पुमा भाषामा हाल चल्तीमा रहेका गन्तिहरू अक (एक), अस (दुई), सुम (तीन) र रेत (आठ) हुन् । तर शुन्य लगायत बाँकी अंकहरू चलनचल्तीमा नरहेकाले लोप भइसकेका छन् । तिनलाई पुनरावृत्ति गर्दै बुङ्वाफोपमा लेखिएको छ– अक (एक), अस (दुई), सुम (तीन), चुछित (चार), छित (पाँच), छेत (छ), सेत (सात), रेत (आठ), लेत (नौ) र अकहोप (दश) । यस माथिको गन्ति चिनीयाँ गन्ति प्रणाली अनुसार अकअक (एघार), अकअस (बाह्र), अकसुम (तेह्र) भन्ने हुन्छ भन्ने बुङवाफोपमा लेखिएको छ । त्यस्तै बार र महिनाको नामावली पनि बुङवाफोप पत्रिकाले प्रकाशित गरेको छ ।
जे होस यस पत्रिकाले युवा जगतमा भाषा प्रतिको झुकाव बढाएको अनुभूति दिएको छ । साथै पुमा भाषामा लिखित उपन्यास योङ्युप्चिदो, पुमा शब्दकोश, व्याकरण र बोलचाल अभ्यासका पुस्तकहरू प्रकाशित भएका छन् ।
४. धर्म
धर्ममा पनि पुमा जातिको मौलिकता छ । किरात मुन्दुम धर्मलाई पुमाहरू आफ्नो मौलिक धर्म मान्दछन् । यो धर्म अन्य धर्म भन्दा फरक छ । यस धर्मअन्तर्गत पुमाहरू सुम्निमालाई लक्ष्मी अर्थात धनकी देवी मान्दछन् । त्यस्तै पारुहाङलाई संरक्षणकर्ता मान्दछन् । यसका अलावा पुमाहरू पृथ्वी, आकाश, हावा, पानी, चट्याङ, वृक्ष, नाग आदि प्राकृतिक वस्तुहरूको पूजा अर्चना गर्दछन् । पुमाहरू भूमि (धर्ती र आकाश) को श्रोतबाटै सम्पूर्ण मानव जीवन सम्भव हुने भएकोले भूमिलाई सर्वोपरी ठान्दछन् ।
हाल किरात धर्मको नाममा थुप्रै प्रचार भएको पाइन्छ । जुन नयाँ किरात धर्म पुरानो मुन्दुमवादी किरात धर्म भन्दा फरक देखिएको छ । मुन्दुमवादी किरातीहरू हाल बजारमा प्रचार भइरहेको किरात धर्म किरातीको मौलिक धर्म नभएको दाबी गर्दछन् । यस सम्बन्धी दिप्लुङ–७, निगालबासका ङापोङ (मुन्दुम गर्न सांस्कृतिक मान्यता पाएको व्यक्ति) श्री लालधन राई भन्छन्– ‘हाम्रा पूर्खाहरू माछा, मासु खाएका थिए । त्यही चिज नखानु भनिन्छ भने त्यो कसरी किरात धर्म भयो त ?’ यसै सन्दर्भमा दिप्लुङ–७, निगालबासकै बुङ्लुमीबुङपेन्मी (मुन्दुम गर्न सांस्कृतिक मान्यता पाएको व्यक्ति) श्री गुमानसिं राई बताउछन्– ‘हाम्रा पूर्खा गाईको मासु खान्थे । त्यसैले मुन्दुम (साम्खा, खली) गर्दा पोओङसा, पोक्पासा (गाईगोरुको मासु) को नाममा सिद्रा चढाउनु पर्दछ । त्यसैले जुन धर्म किरात धर्म भनी प्रचार गरिन्छ । त्यो किरात मुन्दुम धर्मलाई भ्रमित पार्न कसैले विकसित गर्न खोजेको संस्कार मात्र हो ।’
पुमाहरूको मूलघरमा तीन चुला हुन्छन् । तीन चुलालाई तिनले आफ्ना दिवंगत पितृमातृको प्रतिमाको रुपमा लिन्छन् । उनीहरू चुला पुज्नु आफ्नो मौलिक धर्म मान्दछन् । चुलामा साम्खा, खली आदि पुज्छन् । यसलगायतका तिनको धर्मसंस्कृतिलाई पुमा संस्कृतिसँग जोडेर अध्ययन गर्न उचित देखिन्छ ।
५. संस्कार
पुमाहरूको संस्कार निकै रमाइलो देखिन्छ । त्यसो त प्रकृतिपुजकहरूको संस्कार प्रकृतिसँग मेल खाने नै भयो । त्यसैले प्रकृतिका हरेक मौसम अनुसारको संस्कार तिनले अंगालेका छन् । तिनको संस्कारलाई निम्न तीन खण्डमा बाड्न सकिन्छ:
क. जीवन संस्कार
ख. पैतृक संस्कार
ग. अन्न (भूमि) संस्कार
क. जीवन संस्कार
जन्म देखि मृत्यु सम्मको अवधि भित्र जीवन सम्बन्धी गरिने संस्कारलाई जीवन संस्कार भनिन्छ । पुमाहरूका मौलिक संस्कार छन् । तिनको संस्कार जीवन भोगाइको अनुकुलतासँग मेल खान्छ । ती संस्कारहरू जन्म, कुम, पास्नी, छेवर, विबाह, मृत्यु हुन् । यहाँ तिनलाई व्याख्या गरिन्छ:
अ. जन्म:
जन्म जीवनको पहिलो खुड्किलो हो । पृथ्वीमा पाइला टेक्नु भन्दा १० महिना अगाडि देखि मानिसको जीवन प्रकृया शुरु हुन्छ । त्यसैले पुमाहरू जन्म प्रकृयालाई शिशु पेटमा भएको समय देखि जोड्छन् । शिशु पेटमा बसेको समय देखि श्रीमान श्रीमतीले हत्या, हिंसा लगायतका काटमार कार्य गर्दैनन् । साथै श्रीमान पर्खाल लगाउने आदि कार्य गर्दैनन् भने श्रीमति झुटो बोल्ने, खराब चिज हेर्ने आदिबाट टाढा टाढा रहन्छन् । श्रीमतीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखी जटिल कामहरू श्रीमान आफैले गर्दछन् ।
शिशु जन्मिने दिन गाउँको सुडेनी बोलाउछन् । सुडेनीले शिशु जन्माउने तरिकाहरू आमालाई सिकाउछन् । शिशु जन्मिए पछि उनै सुडेनीको सहयोगमा आमाले शिशुको सालनाल काट्ने र नुहाइदिने कार्य गर्दछ । सालनाललाई ढुङ्ग्रोमा राखेर एकान्त ठाउँको दुधालु वृक्षमा झुण्ड्याउछन् । दुधालु वृक्षमा झुण्ड्याउदा आमा दुधालु हुन्छन् भन्ने पुमाहरू विश्वास गर्दछन् । मातृशिशुलाई कुनामा राखी खाना खुवाईसकेर मात्र सुडेनी फर्कन्छन् । सुडेनीलाई नीज मातृशिशु कुमबाट निस्कदा, उसको पास्नी र छेवरमा समेत डाक्ने चलन छ । कुमको खाना (शिशुको शिर उभ्याउनीमा काटेको कुखुराको मासु र भात) सुत्केरी, सुडेनी, छोरीमान्छे र दाँत नफुक्लेको छोरामान्छेले माात्र खान मिल्ने सांस्कृ्तिक परम्पर पुमाहरूमा विद्यमान छ ।
आ. कुम:
शिशुलाई मनतातो पानीले सफा गरेर मातृशिशुलाई घरको न्यानो कुनामा राख्ने चलन छ । यसलाई नै कुम भन्दछन् । कुना सफा र न्यानो साथै हावा ओहोरदोहोर गर्न सक्ने हुनु पर्छ भन्ने विश्वास तिनमा विकसित भएको छ । मातृशिशु कुनामा बस्दा एउटा कुखुराको आवश्यकता पर्दछ । पुमा संस्कार अनुसार शिशु छोरा भए भालेले र छोरी भए पोथीले शिशुको शीर उभ्याउनी गर्दछन् । यसलाई उनीहरू ‘हक्मा’ भन्ने गर्दछन् । मातृशिशु कुनामा बसेको अवस्थामा उनीहरूले आगो, पानी लगायत कुनै चिजमा पनि हात लाउन मिल्दैन । र खानापानी लगायत तिनको सम्पूर्ण आवश्यकताका वस्तुहरू घरको कोही सदस्य वा श्रीमानले हेर्ने गर्दछन् ।
कुममा बसेको अवस्थामा मातृशिशु विरामी परे निकै अप्ठ्यारो पर्दछ । किनकी कुमको अवस्थामा शिशु बाहिर खुल्ला हावामा राख्न हुँदैन भन्ने मान्यता रहेको छ पुमा जातिमा । कुमको अवस्थामा पुमा भित्रको पालुन बाहेक अरु पाछाका धामी र ङापोङ मुन्दुमी उकार गर्न मान्दैनन् । यस अवस्थामा उकार गरे उनीहरूको मन्त्र नलाग्ने र तिनको देवता रिसाउने भन्ने भनाई छ । तर पालुन पाछाका धामी र ङापोङहरू यस अवस्थामा समेत दूरउकार गर्दछन् । दूर उकारको अर्थ सामान्य भन्दा केही परबाट उकार गर्नु भन्ने बुझ्नु पर्दछ । जस्तो विरामी मातृशिशु घरभित्र कुनामा छन् भने धामी या ङापोङले सिकुवामा बसेर नै उकार गर्दछन् । पालुन पाछाका धामी र ङापोङहरू सुत्केरीबाट त्यति टाढा रहनु नपर्नेमा एउटा पुख्यौंली कथन छ । तिनको पूर्खा बौदाप्पा पनि धामी नै थिए । उनले आमाहरूलाई सुत्केरी हुन सहयोग गर्थे भने कुमको भात समेत उनले खान्थे । उनी बारे निकै चाखलाग्दो कथन छ । यो पंक्तिकार यस सम्बन्धी कुनै लेखमा प्रस्तुत गर्ने छ ।
कुमको समय अवधि ५ देखि ७ दिन भित्रको हुन्छ । विशेष तः शिशुको नाभी झरे पछि मातृशिशु निस्कनु पर्छ भन्ने मान्यता छ । र त्यही नाभीले कुमको समयावधि निर्धारण गर्दछ । शिशुको नाभीलाई सानो टोकरीमा हाली सुरक्षित स्थानमा राख्ने चलन छ । कुमबाट निस्कने क्रममा शिशु छोरा भए हलोजुवा ताछेर र कापीमा कख लेखेर र छोरी भए चर्खाको तानको काइयोँ बनाएर र कापीमा कख लेखेर उसको शीर उभ्याउने गरिन्छ । मातृशिशु कुमबाट निस्कदा सुडेनीलाई डाक्नु पर्दछ । उनले नै मातृशिशुलाई कुमबाट निकाल्ने प्रक्रिया गर्दछन् । सुडेनीको एक बोतल रक्सीले शीर उभ्याउनु पर्दछ । कुमबाट निस्केको दिन गंगाजल या गौतपानीले मातृशिशु चोखिन्छन् । कुमबाट निस्के पछि मातृशिशु बाहिर भित्र गर्न स्वतन्त्र हुन्छन् । यद्यपी शिशु जन्मेको २२ दिन सम्म सुत्केरी अवस्थामै उनीहरू रहन्छन् । उनीहरू २२ दिन पुगेको शुभदिनमा गंगाजल वा गौतपानीले चोखिन्छन् ।
२२ दिनमा मातृशिशुको सुत्केरी अवस्था समाप्त भई पुरानै अवस्थामा आउछन् । यो दिन देखि सबै प्रकारका चिजहरूबाट सुत्केरी आमा नजिक हुन पाउछन् । खाना पकाउन, आगो पानी छुन नहुने प्रतिवन्ध फुकुवा हुन्छ ।
इ. पास्नी:
पाँच र छ महिनाको बीचमा गरिने एउटा जीवनसंस्कारलाई पास्नी भनिन्छ । पास्नी छोरीको पाँच र छोराको छ महिनामा गर्ने पुमा समुदायमा चलन रहेको छ । यो साइत हेराएर शुभ दिन पारेर गर्दछन् । शुभ साइत हेर्न पुमाहरू सकेसम्म पुमा ज्योतिषीहरूकोमा जान्छन् । पुमा ज्योतिषीहरू नभेटिएमा मात्र ब्राम्हण ज्योतिषीकहाँ जान्छन् । पास्नीमा बच्चालाई नयाँ कपडा लगाई टिका लगाइदिन्छन् । पास्नी भन्दा अगाडि आमाको हातले सिलाएको भोटो मात्र लगाइदिने चलन छ । पास्नी गरे पछि मात्र मेसिनले सिलाएको कपडा बच्चालाई लगाइदिने पुमा समुदायमा चलन रहेको छ । घरपरिवारको सल्लाह अनुसार यस अवसरमा नातागोतालाई निम्त्याउन या ननिम्त्याउन सक्छन् । तर कोही कसैलाई ननिम्त्याए पनि बच्चाको आमा पट्टिको हजुरआमा र सुडेनीलाई भने अनिवार्य रुपमा निम्त्याउने चलन यस समुदायमा छ । समयको क्रमसँगै पास्नी लगायत अन्य सांस्कृतिक पर्वहरू कम खर्चमा सम्पन्न गर्ने बानी पुमा समुदायमा पनि विकास भएको देखिन्छ ।
ई. छेवर:
पुमा संस्कृति अनुसार कोही व्यक्ति मानिसको संस्कारमा प्रवेश गर्ने रीतलाई छेवर भन्ने चलन छ । छेवर गर्नु पूर्व सो व्यक्ति मानवको संस्कारमा प्रवेश नगरेको अवस्था मान्दछन् पुमाहरू । यसर्थमा छेवर नगरी सो व्यक्तिको विवाह हुन सक्दैन । त्यसैले पुमा समुदायको लागि छेवर एकदम महत्वपूर्ण संस्कार हो ।
जसरी पास्नी छोरी भए पाँच र छोरा भए छ महिनामा गर्दछन् । त्यसैगरी छेवर पनि छोरी भए पाँच र छोरा भए छ वर्षमा गर्ने चलन छ । छेवरको साइत पुमा ज्योतिषीले नै जुराउदछन् । पुमा ज्योतिषी नभए मात्र ब्राम्हण ज्योतिषीको प्रयोग गर्दछन् पुमाहरू । छेवरमा छोरीलाई भए गुन्युचोली र छोरालाई भए दौरासुरुवाल लगाइदिइ टिका लागाइदिन्छन् । पास्नीमा जस्तै परिवारको इच्छा अनुसार नरनाता बोलाई धुमधामसँग या एकदुई जना छिमेकी बोलाई मात्र पनि गर्दछन् । आर्थिक मितव्ययिताका लागि कम र अति निकटतम नातेदार मात्रै बोलाउने चलन यी समुदायमा विकसित भएको देखिन्छ ।
उ. विबाह:
एकल जीवनलाई युगल बनाउने प्रक्रियालाई विबाह भनिन्छ । पुमा समुदायमा मात्रै होइन मानव जीवनमा यसको धेरै ठूलो महत्व छ । यसलाई जीवनको एक अर्को नयाँ अध्याय भन्ने गरेको पाइन्छ पुमा समुदायमा । किनकी विबाह पश्चातको जीवन एकल निर्देशनमा चल्दैन । दुई जनाको सहमतिमा मात्रै विबाह पछिको क्रियाकलापहरू अगाडि बढ्न सक्छन् । यस अर्थमा विबाहलाई पुमा समुदाय बृहत महत्वका साथ हेर्दछन् ।
विबाह गर्ने निश्चित सांस्कृतिक अवधि हुदैन । तर पुमा समुदायमा १५ वर्ष देखि २८ वर्ष सम्ममा विबाह गराईसक्ने चलन विद्यमान छ । तिनमा छोराले कुटुम्बको छोरी ल्याइ घरजम गर्नु पर्दछ । यसरी विबाह गर्दा यस समुदायमा दाइजोको रुपमा छोरीले माइतबाट कर्मघरमा केही सम्पत्ति लानु मनाही छ । दाइजो जस्तो कुसंस्कारलाई पुमा समुदायले अंगालेका छैनन् । यो तिनको सकारात्मक पक्ष हो । तर बसाइँ सराइँ गरी सहरको परिवेशमा फसेका पुमाहरू भने देखासिकीको रुपमा छोरीको विबाहमा केही चिज दिने चलन देखिएको छ । यो नकारात्मक चलनलाई पुमाहरू आफ्नो संस्कार मान्दैनन् । यस सम्बन्धमा प्रतिक्रिया दिदै बेल्टार–१, उदयपुरका ईन्द्रजीत पुमा राई भन्छन् ‘अर्काको छोरी नै ल्याए पछि सम्पत्तिको किन लोभ गर्नु प¥यो । अर्काको छोरी नै सम्पूर्ण हो । वर्षौ सम्म हुर्काइ, बढाई, पढाई गरेको छोरी लिएदिए पछि दाइजोको रुपमा सम्पत्ति लिनु पनि हुन्न र दिनु पनि हुन्न ।’ यसरी पुमा समुदायमा दाइजोको चलन नरहेको पुमा बुढापाकाहरू बताउदछन् ।
पुमा समुदायमा पहिले तानी विबाह (कुटुम्बलाई मन परेको छोरीचेली तानेर लाने) को चलन भए पनि सो विबाह प्रक्रिया विकसित अवस्थामा लोप भएको छ । यस तानी विबाह अनुसार केटी तानेर ल्याएको एक हप्तादिन विते पछि सो विबाह औपचारिक रुपमा प्रमाणित हुन्थ्यो । केटा मन नपरेको अवस्थामा यस अवधिभित्र केटीले जे पनि गर्न सक्ने नियम थियो । प्रतिकारको लागि केटालाई चोटपटक लाउन या भागेर माइत आउने अधिकार केटीमा निहित हुन्थ्यो । तर समयको क्रमसँगै पुमाहरूले यस चलनलाई खराब प्रमाणित गरे । हाल यस समुदायमा यसको नाम निशान समेत भेटिन्न । यो त केवल लोककथाको रुपमा मात्र सुन्न सकिन्छ ।
आजको समयमा पुमा समुदायमा तीन प्रकारको विबाह प्रचलित छन्— मागी विबाह, चोरी विबाह र प्रेम विबाह । यिनको यहाँ विश्लेषण गरिएको छ ।
मागी विबाह
पुमा समुदायमा मागी विबाह पहिलेको बहुप्रचलित चलन हो । यो विबाह अभिभावक र विबाह गर्ने व्यक्ति दुवैको लागि उपयुक्त हुन्छ । विबाहको लागि केटापक्षले कलियाको हात लिन अनिवार्य हुन्छ । त्यसको लागि मूल कलियालाई एक बोतल या एक चिण्डो रक्सीले उनको शीर उभ्याई अनुरोध गर्नु पर्दछ । यस विबाह अनुसार केटा पक्षबाट केटी पक्षमा कलिया पठाउछन् । कलियाको साथमा केटा पनि जान्छ । केटीको घर जाँदा २ वटा चिण्डोमा रक्सी (सोधनी र बोलबन्दा) लगेर कलियाहरू जान्छन् । कलियाहरूले केटीको अभिभावकसँग कुरा राखे पछि उनले आफ्ना दाजुभाइलाई बोलाउछन् र सो जानकारी दिन्छन् । उनीहरूले कुटुम्बलाई केटी दिने या नदिने भन्ने सल्लाह र सुझाव केटीको अभिभावक (गाजीहोङ्पा) लाई दिन्छन् । र केटी कुटुम्बलाई दिने या नदिने भन्ने अन्तिम निर्णय केटीको अभिभावकले दिनुपर्दछ ।
अभिभावकले आज सकारात्मक भए सामान्यत केटा र केटी मनपरापर भए केटी दिने भन्ने निर्णय दिन्छन् । र केटा र केटी बीच त्यही या एकान्त कोठामा कुराकानी गराउछन् । कुराकानी पछि केटी सहमत भए कुरा सजिलै अगाडि बढ्न सक्छ । केटी दोधारोमा परेको बेला केटा पक्षको बारेमा केटा पक्षका कलिया र केटीको अभिभावकलाई केटा असल र योग्य लागेमा छोरीलाई सो कुरा बुझाउछन् । केटीलाई तिनको सल्लाह स्वीकार भए सकारात्मक उत्तर दिन्छिन् । मागी विबाहमा उत्तर एक शव्दको या विना शव्दको संकेत मात्र पनि हुन सक्छ । छोरीको सानो संकेतबाट अभिभावकले स्पष्ट कुरा बुझ्नु पर्ने हुन्छ ।
यसरी छोरीले स्वीकारोक्ति या संकेत दिए पछि गाजीहोङपा (छोरीको अभिभावक) ले कुरा छिनाउछ । तर कुरा नाम र राशवर्गमा अड्कििन्छ । नाम र राशवर्ग मिले कुरा पक्का भयो भन्ने शर्तमा कुरा टुङ्ग्याउछन् । समय रहे या नजिकै ज्योतिषी रहे त्यसैदिन या अर्को दिन नै राशवर्ग हेर्छन् । पुमाहरू यसको निम्ति पनि पुमा ज्योतिषीकै उपयोग गरेको देखिन्छ । त्यसपछि मात्र अघि कलियाहरूले ल्याएको २ चिण्डो रक्सी (खासङमा र बोलबन्दा) केटी पक्ष समक्ष रीतपूर्वक राख्छन् । र सबै दरदाजुभाइ मिलेर खान्छन् । कुरा नमिलेमा अर्थात केटी नमानेमा सो रक्सी केटी पक्षले खान मिल्दैन ।
त्यस पछि पुमा संस्कार अनुसार धेरै पटक रक्सीको रीत पु¥याउनु पर्छ । यस प्रक्रियालाई पुमाहरू ‘चाक्मा÷चाक’ भन्दछन् । यो चाक्मा एक वर्ष देखि तीन वर्ष सम्म लम्विन सक्छ । तर यो समयावधि हाल छोटिएको पाइन्छ । हरेक ‘चाक’ मा सरदर ८ देखि १२ चिण्डो रक्सी केटा पक्षले केटी पक्षलाई बुझाउनु पर्दछ । ती चिण्डो मध्ये हरेक चिण्डोको बेग्ला बेग्लै नाम र शीर्षक हुन्छ । जस्तो, पहिलो ‘चाक’मा केटी पक्षको कलिया लिने एक चिण्डो, गाजीहोङ्पा (छोरीको अभिभावक) भेट्ने एक चिण्डो, दक्छा (दाजुभाइ) भेट्ने एक चिण्डो इत्यादि गरेर ८ देखि १२ चिण्डो सम्म पुग्छ । यसकार्यमा पुमाहरू बिजोरी चिण्डो बोक्न हुन्न भन्ने मान्यता राख्दछन् । त्यसैले हरेक शिर्षकको छुट्याइसक्दा चिण्डोको संख्या बेजोरी हुन पुगे ‘लाम्वा’ ले त्यसलाई जोरी बनाउने गर्दछन् । यसरी चिण्डो लाने क्रममा केटीपक्षको रीतलाई केटा पक्षले अनुसरण गर्दछन् ।
दुवै पक्षको सल्लाह अनुसार ‘चाक’ वर्षको २ या ४ पटक राखेका हुन्छन् । त्यही शर्त अनुसार उनीहरू चल्दछन् । ‘चाक’ मध्येको अन्तिम ‘चाक’ विबाहको दिन लान्छन् । अन्तिम ‘चाक’ सँगै विबाहको मुख्य प्रक्रिया शुरु हुन्छ ।
बेहुलाको घरमा बाजा गाजा बजाउने बोलाउछन् । तिनको टोलीले बाजागाजा बजाउछन् र टोली नेताले बेहुलाको कपडा खोलेर साइत फुकाउछ । त्यो भन्दा अगाडि अरु कार्यक्रममा जस्तै पुमाहरू आफ्ना स्थानीय देवी होङ्मादेवीको नाममा विबाह भाग कपडाको धागो, दही आदि चढाउछन् । साइत फुके पछि बेहुला सिङ्गार्छन् । बेहुला र उसको साथेलाई टिको र सगुन स्वरुप दही, रोटी ख्वाएर जन्ती प्रस्थान गर्छन् । जन्ती जाने क्रममा सबभन्दा अगाडि दुवै कलियाहरू, तिनको पछि बाजागाजा बजाउनेहरू, तिनको पछि बेहुला र साथे त्यसपछि बाँकी सबै जन्ती लाम लाग्छन् । जन्ती अगाडि बढ्ने क्रममा बाटोमा सनाही, दमाहा, ट्याम्कुलो निरन्तर अविच्छिन्न बजीरहन्छन् भने नरीसिङग डाडा, थुम्को आदि ठाउँमा रन्किने गरी बजाउछन् ।
बेहुलीको घरमा पुग्दा बेहुलीको घर छेवैमा जन्ती बस्ने शितल माच बनाएका हुन्छन् । त्यसलाई ‘बुङ्सङ’ भन्दछन् । जन्ती त्यही बुङसङमा बस्छ । कोङ्पी (कलिया) हरू बेहुलीको घरमा जान्छन् र रीत बुझाउछन् । यो अन्तिम रीतमा सम्भवतः विहेका सबै रीतहरू सक्ने परम्परा पुमा जातिमा छ । यस रीतमा अन्तिम चाक स्वरुप चिण्डोहरूमा रक्सी र पुमा जातिको विहेको अन्तिम रीत मानिने ‘बुलु’ बटुको पनि लगेका हुन्छन् । साथै उनीहरूले बेहुलीको लागि ल्याएको कपडा, गहना पनि बुझाउछन् । जन्ती बेहुलीको घरमा पुगेको बेलुका सदा जस्तै अन्तिम चाक स्वरुप गएको रीत (रक्सी) पितृचुलोमा चढाए पछि बाडेर पिउछन् । सो बेलुका (रात) बेहुलीको घरमा निकै रमाइलो हुन्छ । सबैजना रमझममा मस्त हुन्छन् ।
बुलुबटुको बेहुलाको घरबाट निकाल्दा (आन्मा) पुमा ङापोङ या धामीको आवश्यकता पर्दछ । उनले पितृ चुलामा मातृपितृहरूलाई फलाकेर बुलु बाहिर निकाल्छन् । उसैगरी बेहुलीको घरमा पनि सो बुलु लिने क्रममा ङापोङ या धामीले पितृचुलोमा फलाक्नु पर्दछ । यो कार्य जन्ती बेहुली लिएर बेहुलाको घर फर्किने दिन बिहान हुन्छ । सो बुलु लिने क्रमसँगै पुमा संस्कार अनुसार सो घरको चुलोबाट चेली (बेहुली) लाई निकालिन्छ । पितृहरूलाई ‘तिमीहरूको छोरी नातिनी ठूली भइछे, कुटुम्ब आए । कुटुम्बको घर जाँदा तिमीहरूले चित्त दुखाउने हैन है’ भन्ने अर्थमा ङापोङ या धामीले मुन्दुम फलाक्दै चुलोबाट सो बेहुलीलाई निकाल्छन् । बुलु दिनु र लिनुको लागि एउटा÷एउटा कुखुरा पनि पितृलाई चढाउछन् । बेहुलीको घरमा बुलु लिने क्रममा चढाएको कुखुरा बेहुली पक्षको कोङपी (कलिया) ले बेहुला पक्षको कोङपीको हात लगाउछन् । सो कुखुरा हात लगाउने क्रम पनि निकै रमाइलो हुन्छ ।
बेहुली पक्षको कोङपीले भन्छन्– ‘लहै कुटुम्बहरू हो, तपाईहरूले के नै पो पार्छौं भनेर यत्रो दिनसम्म धाइराख्नु भएको थियो । लहै यो एउटा ‘बाक्चाक्वा’ (पुमा संस्कार सम्बन्धी लोकचरीको नाम) पो पार्नु भएछ लहै लानुहोस् है ।’ बेहुला पक्षको कोङपीहरूले सो कुखुरा जन्ती फर्कने क्रमसँगै बोकेर ल्याउछन् र बाटोमा केही वर आइपुगे पछि उनीहरूले पोलेर खानुपर्दछ ।
‘बुलु ही लेमा’ बुलु लिने कार्य सँगै बेहुलीलाई माइतबाट अन्माउछन् । र जन्ती बेहुलाको घर तर्फ बेहुली लिएर फर्किन्छ । जन्ती बेहुलाको घरमा पुग्छ । ‘लामतुम्पा’ बेहुलाको चेलीको हातको परिकार (माइत÷रक्सी, रोटी) जन्तीले खान्छ । लामतुम्पा आधा बाटोमा राख्नु पर्ने हो । तर घरको आँगनमै सो रीत निकाल्दा पनि केही फरक पर्दैन । लामतुम्पा सँगै बेहुलाबेहुलीलाई आँगनमा राखेर सघाउनी ‘साङ्चेप’ लिनेको भाग रोटी रक्सी लगायतको रीत त हुन्छ नै । तर त्यसको अलावा बेहुलीलाई भित्र्याउनु यस दिनको मुख्य कार्य हो । बेहुलीलाई भित्र्याउने क्रममा पनि पुमा ङापोङ या धामी चाहिन्छ । उनले पितृचुलोमा मुन्दुम फलाके पछि बेहुली भित्र्याउने समय हुन्छ । भित्र्याउने क्रममा बेहुलीको सासु, सासु नभए जेठानी दिदीले मूलढोकाको भित्र पट्टिबाट सुम्निमा खुर्पी दिई बेहुलीको हात समातेर तान्नु पर्दछ । बेहुलीले भने भित्र पस्ने क्रममा मूलढोकाको सँघारमा राखिएको दुवै पट्टिको पानी अच्याउनु पर्दछ । र सासु या जेठानी दिदीले दिएको सुम्निमा खुर्पीले साँघार ठुंगी भित्र पस्नु पर्दछ ।
भित्र पसे पछि बेहुलाबेहुलीलाई अग्रजहरू जोडी जोडी बनी सबैले टीका लगाइदिन्छन् । बेहुलाबेहुलीलाई सबै मान्यजन, दरदाजुभाइले टिका लगाइ दिइसके पछि विबाहको सम्पूर्ण सांस्कृतिक रीत पुरा हुन्छ ।
भित्र बेहुलाबेहुलीलाई टिका लगाईदिने समयमा नै बाहिर साङ्चेप (सघाउनी) जम्मा हुदै गरेका हुन्छन् । आफ्नो क्षमता र इच्छा अनुसारको साङ्चेप गर्ने चलन पुमा समुदायमा रही आएको छ ।
उता भतेरमा खट्ने (खाना पकाउने, पानी भर्ने) लाई रीत पूर्वक एक बोतल या एक चिण्डो रक्सी, साथमा रोटी र मासुले शीर उभ्याई भतेरमा खाना फुकाउनु पर्दछ । यो कार्य विहान केही भान खाना पाके पछि गरिन्छ ।
बेहुलाबेहुलीलाई टिका लगाइदिइसके पछि जन्ती लगायत निम्तालुहरूलाई भतेरमा पकाएको खाना खुवाउन बसाउछन् । खाना खान सबैजनालाई बसाएर सबैतिर भात, तरकारी, मासु, अचार, दाल सबै उपलब्ध चिजको एकफेरो पुगे पछि मात्र ‘हात छोड्ने’ अनुमति बुढापाकाले दिन्छन् । त्यसपछि बेहुलाबेहुलीले सबभन्दा पहिले खाए हात छोडे पछि सबैजनाले आफ्नो भरपेट खाना खान्छन् । खान सँगै शुरु गरे पनि उठ्ने बेलामा सँगै उठ्नु पर्छ भन्ने चलन पुमा समुदायमा छैन ।
यसरी सबैजनाले विहेका खाना खाए पछि उनीहरू आ–आफ्नो घरतिर लाग्छन् । टाढाका निम्तालुहरू भने अर्कोदिन या केहिदिन पछि मात्र फर्किन्छन् ।यसरी मागी विबाह सम्पन्न हुन्छ ।
यस प्रस्तुतीमा मागी विबालाई एकदम संक्षिप्त रुपमा राखिएको छ । यसलाई विस्तृत रुपमा राख्दा लेख धेरै लामो हुने हुनाले यस लेखमा मागी विबाहको विस्तारित प्रक्रया राख्न सकिएन । यसको लागि यस पंक्तिकार क्षमा माग्दै आगामी लेखहरूमा पाठकवृन्दलाई विस्तृत जानकारी दिइने छ ।
चोरी विबाह
सामान्यतः लामो समय सम्म ‘चाक’ नपु¥याई र बाजागाजा विनाको जन्तीले बेहुली लगेर बेहुलाको घरमा भित्र्याउने विबाहलाई चोरी विबाह भन्दछन् । यो विबाह मागी विबाहसँग करीब मेल खान पुग्छ । यसको बारेमा संक्षिप्त व्याख्या यहाँ प्रस्तुत गरिन्छ ।
मागी विबाहमा जस्तै चोरी विबाहमा पनि केटा पक्षबाट केटी पक्षमा केटीको हात माँग्नु पर्दछ । शुरुमा विबाह गर्ने घरको अभिभावक या केटा आफैले कलियालाई हात लिन एक बोतल या एक चिण्डो रक्सी लगी मूल कलियाको घर गई उनको शीर उभ्याउनु पर्दछ । कलिया आफैले एकजना साथी खोज्न सक्छ या केटा पक्षले नै तोक्न पनि सक्छन् । उनीहरू खासङ्मा र बोलबन्दा गरी २ चिण्डो रक्सी बोकी कुटुम्बको घर जान्छन् । मागी विबाहमा जस्तै केटीको घरको अभिभावकले दाजुभाइलाई बोलाई निर्णय दिन भन्छन् । तर अन्तिम निर्णय केटीको हातमा हुन्छ । केटीले स्वीकार गरेको खण्डमा विबाहको प्रक्रिया अगाडि बढ्छ । यसक्रममा केटा र केटीको राशवर्ग मिलाउने कार्य हुन्छ ।
त्यसपछि मागी विबाहमा जस्तो धेरै पटक ‘चाक’ नगरी छिटो मिठो विबाह सम्पन्न गर्न तिर प्रक्रिया उन्मुख हुन्छ । विबाहको साइत एक दिन देखि केहि महिना सम्म पछिको हुन सक्छ । मागी विबाहमा जस्ते कलियाहरूले धेरै पटक चाक पु¥याइराख्नु पर्दैन । एकै चोटी केटी लिन गएको दिन नै सम्पूर्ण चाकको सट्टा रक्सी लाने गर्दछन् चोरी विबाहमा ।
विबाहको साइत जुरेको दिन केटा पक्षबाट विना बाजागाजाको ४ देखि १६ जना सम्मको बेहुला र कलियाहरू सहितको समूह बेहुली लिन कुटुम्बको घर पुग्छन् । जन्तीले बाजागाजा नबजाउनु र जन्ती कुटुम्बको घरमा राती नबसी त्यही दिन बेहुली लिएर आउने प्रक्रिया नै चोरी विबाहको प्रमुख विशेषता हो । जन्तीको समूहमा कलियाहरू २ जना, बेहुला र उसको साथे लगायत अरु केही व्यक्ति समेत जान सक्छन् । कलियाले एक चाक बराबरको रक्सी ८ देखि १२ चिण्डो बोकेका हुन्छन् । सो रक्सीको रीत बेहुलीको घरमा बुझ्दछन् । ङापोङ या धामीले सो रीत पितृचुलोमा पितृहरूलाई देखाउछन् । अनि बेहुली पक्षका सबै दरदाजुभाइ मिली पिउछन् । यस पछि बेहुलाको साथमा बेहुली लगाइदिन्छन् । बेहुलीको साथमा उसको साथे र एकजना कुटुनी पनि हुन्छ । यसरी बेहुली लिएर बेहुलाको समूह फर्किन्छ । त्यस दिन बेहुलीलाई बेहुलाको घरभित्र नलाने चलन छ । भित्र लगे पनि मूलढोकाबाट नभई जस्केलोबाट भित्र लाने गरेको पाइन्छ चोरी विबाहमा । त्यसरात बेहुली, साथे र कुटुनी बेहुलाको घरको मतान या नजिकैको छिमेकीको घरमा बस्नुपर्दछ ।
अर्को दिन विहानै देखि बेहुली भित्र्याउने प्रक्रिया शुरु हुन्छ । बेहुलीलाई राती बसेको घर, छिमेकीको घर या केही पर सिंगार्दछन् । बेहुलाको जन्ती बेहुली लिन त्यही पुग्दछ । र अभिभावकको रुची अनुसार बाजागाजा सहित या विना बाजागाजा नै पनि यो प्रक्रिया पुरा गर्न सक्छन् पुमाहरू । यसपछि बेहुली भित्र्याउने सम्पूर्ण प्रक्रिया मागी विबाहको जस्तै हुन्छ ।
त्यसको भोलिपल्ट बेहुलाबेहुली, कलिया र केही अरु व्यक्ति गरी २०–२५ जनाको समूह बेहुलीको माइत जान्छन् । र बेहुलीको माइतमा टिकाटालोको कार्यक्रम हुन्छ । बेहुलीको अभिभावकले नलनाता, दाजुभाइ लगायतकालाई निम्तो गरेको हुन्छ । र सबैलाई विहेको भोज खुवाउने चलन रहेको छ । यसको भोलिपल्ट बेहुलाबेहुली सहित कलियाहरू फर्किन्छन् । यसको जोरी लाउन केहि दिनमा बेहुला र बेहुली एकपटक फेरि बेहुलाको ससुुरालीमा भेटघाट गरेर आउनु पर्ने रीत छ ।
पुमा समुदायमा विबाहको अन्तिम र मुख्य रीत बुलु भने चोरी विबाह भए केहि दिन, महिना या केही वर्ष पछि मात्र बुझाउने गरेको पाइन्छ । बुलु लिनेदिने काम सम्पन्न भए पछि पुमा समुदायमा विबाह प्रक्रिया पुरा भएको मान्दछन् ।
प्रेम विबाह
केटा र केटी एकआपसमा सहमत भई स्वेच्छिक तरीकाले गरेको विबाहलाई प्रेम विबाह भनिन्छ । हाल यस प्रकारको विबाह पुमा समुदायमा पनि फस्टाएको पाइन्छ । विशेषगरी विद्यालय र क्याम्पस स्तरका विद्यार्थी या कुनै माध्यमबाट परिचित भई केटा र केटीको सम्बन्ध विस्तार हुन्छ । विस्तार उनीहरूको मित्रवत नाता नजिकिन जान्छ । यसक्रममा उनीहरू एकआपसमा माया साटासाट गरेको अनुभूति गर्दछन् । यति सम्म कि उनीहरूको सबभन्दा प्रिय र महङ्गो बस्तु आफूहरू मात्रै हो भन्ने सम्झन पुग्दछन् । र अन्तमा कुनै संस्कृति या परम्पराको ख्याल नगरी उनीहरू आपसमा विबाह गर्ने निर्णय सम्म गर्न पुग्छन् ।
प्रेम विबाहमा दुवै पक्षको अभिभावक प्राय सहमत भएको पाइदैन । किन की प्रेम गर्दा प्रेमीप्रेमीकाले आफ्नो जात र संस्कारलाई वास्ता गरेका हुदैनन् । यो नै अभिभावकले स्वीकार्न नसक्ने प्रमुख कारण हो । पुमा समुदायमा यदि प्रेम स्वजातिय र कुटुम्बेली भित्रै भएको छ भने यसलाई अभिभावकले सहर्ष स्वीकार्ने गरेका छन् । यस्तो प्रेमलाई आजका सचेत अभिभावकले मागी विबाह या चोरी विबाहमा परिणत गरीदिने चलन बढेको छ यस समुदायमा । तर अन्तरजातिय र हाडनाता पर्ने बीचको प्रेम सम्बन्धलाई भने अभिभावकले स्वीकार्न सकेको छैन । अभिभावकले स्वीकारे पनि आफ्नो समुदायले यस प्रकारको प्रेम सम्बन्धलाई मागी या चोरी विबाहमा परिणत गर्न सक्दैनन् । जसका कारण ती प्रेमीप्रेमिका गाउँ र समाजलाई त्यागेर टाढा गएर बस्नु पर्ने हुन्छ, जहाँ आफ्नो समुदाय र चिनजानको व्यक्ति कोही पनि नहोस् ।
प्रेम विबाह पुमा समुदायमा निकै फस्टाएको देखिन्छ । स्वजातिय र कुटुम्बेली प्रेमविबाहलाई केटा र केटी दुवै पक्षको परिवार र समुदायले सकारात्मक रुपमा लिएको पाइन्छ । यसले गर्दा पुमा समुदायका युवायुवतीले प्रेम गर्दा स्वजातिय र कुटुम्बेली हेरेर प्रेम गर्नु पर्ने समय आएको छ । यसले गर्दा यस समुदायले आफ्नो संस्कृति र परम्परालाई बचाइराख्न सहज वातावरण मिल्दछ । आजका युवायुवतीले सोच्नु पर्छ कि अन्तरजातिय र अकुटुम्बेली विबाह गर्दा आधुनिक व्यक्ति बनिने होइन । बरु आफ्नै समुदायको कहिल्यै निको नहुने आलो घाउ बन्नु पर्दछ ।
ऊ. मृत्यु:
भौतिक शरीरबाट आत्मा (प्राणपखेरु) उडेर गइ श्वासप्रश्वास प्रक्रिया बन्द हुनुलाई मृत्युको संज्ञा दिइन्छ । मृत्यु पश्चातको पुमा संस्कार नौलो देखिन्छ । यस समुदायमा कालले मरेको र अकालमा मरेकोलाई बेग्लाबेग्लै प्रक्रियाबाट मृत्युसंस्कार गर्दछन् । यस समुदायमा सामान्य विमारबाट भएको मृत्युलाई काल र लडेर, झुण्डेर या चोटपटक लागी मरेकोलाई अकाल मृत्यु भन्दछन् । र त्यही अनुसार क्रियाकर्म पनि पुरा गर्दछन् ।
कुनै परिवारमा व्यक्तिको मृत्यु भए पछि सबै दाजुभाइ, छिमेकी र गाउँले भेला हुन्छन् । एक या दुई जना कात्रो कपडा लिन बजार जान्छन् । कात्रो ल्याइपु¥याए पछि त्यसले लासलाई बेर्छन् र बाँसको गरालो बनाई त्यसमा बाध्छन् । त्यस कात्रोका केही टुक्राको छाता बनाउछन् । एउटा सानो हाडीमा चोखो भात पकाउछन् । बाँसका दुईवटा उल्टो ढुङ्ग्रोहरू बनाई पानी भर्छन् । यसरी मृत्यु हुँदा आवश्यक सामग्रीहरू कात्रो, बाँस, बाँसको उल्टो ढुङ्ग्रो, हाडीमा पकाएको चोखो भात (चाछिवा), एउटा अगुल्टो, कात्रोले बनाएको छाता हुन् ।
मलामी जाने क्रममा सबभन्दा पहिले एकजना अगुल्टो बोकेर अघि लाग्छन् । उसका पछि पछि एकजना उल्टो ढुङ्ग्रो र एकजना छाता बोक्ने हुन्छन् । तिनको पछि पछि लासलाई बोक्छन् । लासको पछाडि बाँकी मलामीहरू हुन्छन् । मलामी जाँदा जोरी भएर जानु पर्छ भन्ने पुमाहरू मान्यता राख्दछन् । लास उठाउनु भन्दा पहिले लासको छेउमा हाडीको चोखो भात परिवारका सदस्यले देब्रे हातले मृत व्यक्तिलाई दिएको जस्तो गर्छन् । यो सबैले तीन तीन पटक दाबिलोले उघाउदै दिन्छन् । यद्यपी त्यो भातले लासलाई छुन हुन्न । व्यक्तिको मृत्यु भए पछि लासलाई कुखुरा, विरालो जस्ता जनावर लगायत अजातले पनि छुनु हुन्न भन्ने संस्कार रहेको पुमाहरू बताउछन् ।
लासलाई नीजि जग्गामा लगी गाडीदिन्छन् । लास बोक्ने बाँस फुटाई घर बनाइदिन्छन् । छानामा त्यही कपडाले छाउछन् । पुमा समुदायमा जम्मा तीन दिन जुठो बार्छन् । यसक्रममा उनीहरू नुनतेल आदि चिजहरू छुदैनन् र खादैनन् । मृत्युको पहिलो दिन सुख्खा भुटेको मकै खान्छन् भने अर्को दिन देखि नुन तेल नलगाएको सादा खाना खान मिल्छ । मृत्यु भएको तीन दिनको विहान अर्को पाछाको व्यक्तिले मृतकको दाजुभाइ जो, जो जुठो बारेका हुन्छन् तिनलाई नुनतेल छुवाई जुठो फुकाउछन् । जुठो फुकाउन दाजुभाइको घरबाट एकएक जना मृतकको घरमा नुनतेल छुन जान्छन् ।
त्यसको केहि दिनमा मृतकको क्रियाकर्म गर्छन् । क्रियामा मलामी जाने सम्पूर्णलाई बोलाई खाना खुवाउने गर्छन् । कोही मलामी छुटे मृतकलाई भाडा लाग्ने र आफ्नो बाटे पहिल्याउन सक्दैन भन्ने मान्यता पुमाहरू राख्दछन् । क्रियाकर्म गर्न मृतको दाजुभाइ भन्दा अर्को पाछाको धामी चाहिन्छ । यो दिन घर उल्टो लिप्छन् । अरु बेला घर लिप्दा सिकुवा बाट भित्र लिप्दै लान्छन् भने त्यसदिन घरको कुनाबाट शुरु गरी बाहिर तिर निकाल्छन् । विहान धामीले क्रियाकर्म गर्छन् भने बेलुका चिन्ता बस्छ । यसलाई घर सफा गर्ने भन्ने नाम दिन्छन् ।
पुमा संस्कारमा समान्य रुपले मृत्यु भएको भए मात्र मृत व्यक्ति कुलपितृमा जन्छ । यसाको अलावा पितृमा जाने अरु आधारहरू पनि चाहिन्छन् । ति हुन्– छेवर भइसकेको, थुकुक्पा (कुलपितृमूली) भएको, स्त्री भए महिनावारी रोकिसकेको र मृत्यु हुने वखत केही चोटपटक नलागेको हुनु पर्दछ । यी आधारहरू नभएको मृत व्यक्ति कुलपितृमा जादैन । तिनीहरू हिमामामोङ समूहमा जान्छन् । कुलपितृमा जानेलाई साम्खा, खली आदि गर्दा नाम बोलाई खाना पानी दिन्छन् भने हिमामामोङमा जानेको काजक्रिया गरे पछि सम्पूर्ण संस्कार पुरा भएको मान्दछन् पुमा जातिहरू ।
कूलपितृमा गएको भए सामान्य धामी बसेर काजक्रिया गर्छन् भने हिमामामोङमा गएको भए काजक्रिया गर्ने धामी उसको घरबाटै धामी बस्दै बाटैभरी पनि धामी बस्दै आफ्नो शक्ति प्रदर्शन गर्दै आउनु पर्दछ । र यस प्रकारले घर सफा गर्ने कार्यलाई मामोङ सेत्मा (मामोङ मार्ने) भन्ने नाम दिन्छन् । यस पछि हिमामामोङमा जाने मृत व्यक्तिको नाम सदाका लागि हराउन पुग्छ । जबकी कुलपितृमा जानेको नाम कुलपितृ नामावलीमा राखिएको हुन्छ । कम्तिमा वर्षमा दुई पटक साम्खा गर्दा तिनको नाम बोलाउने गर्छन् धामी या ङापोङले ।
काजक्रिया गर्दाको रमाइलो पक्ष त धामीले झार्ने चाप हो । यस अनुसार मृत व्यक्तिले कुन चोला फेरेको हो त्यही जीव धामीले चाप स्वरुप झार्दछ । चाप झार्ने क्रममा धामीले किरा–फट्याङ्ग्रा आदि झार्ने गर्दछ । र मृत व्यक्तिले सोही जुनी लिएको मान्यता पुमा जातिहरू राख्दछन् । अझ अर्को पक्ष, मृत्यु भएको दिन त्यस घरको मूल ढोका अगाडि खरानी विछ्याइ डोकोले छोपेर राती छोड्ने चलन छ । विहान उठेर हेर्दा खरानीमा जुन जीवको पादस्वरुप (पाइला) हुन्छ, उसले सोही जुनी लिएको मान्यता राख्दछन् ।
यसरी पुमा जातिमा कसैको मृत्यु भनेको उसको समाप्ती नभइ अर्को जुनीका लागि स्वरुप परिवर्तन गरेको हो भन्ने मान्यता राख्दछन् । केही जुनी पश्चात फेरि मानव जुनीमा फर्कन सकिन्छ भन्ने मान्यता पुमाहरू राख्दछन् ।
ख. पैतृक संस्कार:
मृतआत्माहरूलाई समय समयमा सम्झी खानापानी दिने संस्कारलाई पुमा जातिहरू पैतृक संस्कार भन्दछन् । पुमाहरू पैतृक संस्कार अन्तर्गत साम्खा, खली, मोङहीम आदि पुज्दछन् । तिनको संक्षिप्त व्याख्या यहाँ प्रस्तुत गरिन्छ ।
अ. साम्खा
‘साम्खा पुमा राईहरूको एक महत्वपूर्ण पितृपूजा हो । यो वर्षको २ पटक अनिवार्य रुपमा पुज्नु पर्छ । यसको अलावा घर परिवारमा केही शुभ कार्यहरू (जस्तैः बिवाह) गरेपछि पनि साम्खा पुज्न अनिवार्य हुन्छ । शुभकार्य मात्र होइन घरपरिवारमा अशुभ लक्षणहरू देखा परे पनि ती अशुभ तत्वहरूबाट छुटकारा पाउनको निम्ति साम्खाको माध्यमबाट पितृहरू समक्ष बल शक्ति माग्ने र गल्तिप्रति क्षमा याचना गर्ने गर्छन् पुमा राईहरू’— सोही ठाउँका अर्का बुङ्लुमी–बुङ्पेन्मी मनकुमार राई बताउँछन् । उनी अगाडि भन्छन्—‘साम्खा पुज्न केराको पात, सोलोन्वा (चिण्डो), लापलावा, गाईको मासुको नाममा सिद्रा, दुई माना चोखो चामल, एकमाना चामलको फालामरोङ (चोखोभात) आदि जस्ता सामग्रीहरूको आवश्यकता पर्छ, साथमा एउटा पोथी पनि । चोखो चामल आफ्नै घरको चोखो ओखलीमा कुटेको हुनु पर्ने मान्यता रहीआए पनि समयको क्रमसँगै बजारमा किनेको चामल पनि प्रयाग गर्ने गरीन्छ । तर त्यो चामल पनि आफ्नो घरको चोखो ओखलीमा केहीबेर कुटेर सफा पारेर मात्र चलाउनु पर्छ ।’ साम्खा पुज्ने क्रममा पितृमातृ नामहरू ङापोङले फलाक्छन् । पोथी चढाउनु अगाडि एकपटक र पछाडि एकपटक गरी जम्मा दुई पटक पितृमातृ नाम फलाक्दछन् । साम्खापोथीको मर्नेक्रम र भित्रांङ्गको बनावटबाट त्यस घर परिवारको आगामी भविष्य (स्वास्थ्य तथा दुःखबिमार) दृष्टिगत हुन्छ । साम्खा पोथीको प्रसाद घरपरिवारका सबैजनाले खान हुन्छ भने अजातलाई दिन राम्रो हुन्न भन्ने मान्यता पुमा जातिहरू राख्दछन् ।
‘ताङ्लान (काचोवायु) पन्छाउने साम्खा दिउसो गरिन्छ । ताङलान परपुरुष र परस्त्री बीच गरीने यौनजन्य क्रियाकलापबाट उत्पन्न कुकृत्यलाई भनिन्छ । ताङलान पुज्ने साम्खामा परस्त्रीसँग यौनजन्य व्यवहार गर्ने परपुरुषहरूको नाम समेत लिनु पर्छ । उनीहरूको नाम लिदै तोत्ला (केराको पात) मा स्वर्गीय पितृमातृसरह चोखो भात ताङ्लान पुज्ने धामीले चढाउछन् । त्यसैले परस्त्री र परपुरुष बीच सम्बन्ध राख्नु जस्तो महान पाप अरु केही हुन सक्दैन’– दिप्लुङ–७, निगालबासका एकजना बुङ्लुमीबुङ्पेन्मी मानबहादुर राई बताउछन् । यस साम्खाबाट ती स्त्रीहरू (जो यौनपिडित छन्) लाई चोख्याइएको बुझिन्छ । पुमा राईको संस्कृति अनुसार त्यो बाहेकका बाँकी साम्खाहरू बेलुकीको साँझमा पुज्नु पर्छ ।
आ. खली
‘खली’ लाई पुमा जातिहरू सबभन्दा ठूलो पितृपूजा मान्दछन् । त्यसैले यसलाई ठूलोपूजाको उपनामले पनि व्यक्त गर्ने गर्दछन् । ‘खलीको पुज्ने समयावधि निश्चित हुँदैन, घरमूलीले यसको आवश्यकता महसुस गरेपछि यो पूजा गरिन्छ’– बुङ्लुमीबुङपेन्मी गुमानसिं राई बताउछन् । उनी थप्छन्– ‘३÷४ वर्षको अन्तरालमा खली पूजा गर्नु समयोचित ठानिन्छ । या त घरपरिवारमा विवाह, चुलो छुटाउने, घरमूलीको मृत्यु, माउसुँगुरको मृत्यु आदि क्रियाकपालहरूबाट प्रेरित भइ यो पुजिन्छ । यसको लागि बेतको लौरी, मुसुरीकटुस, अदुवा, घैला, साना घैटा, चिण्डो, कासाको बटुका, चाल्नो, भकिमिल्लोको हाँगा, ऊखु वा जुनेलो, जाँखी, केराको पात, चोखो जाड र माउ सुँगुर आदि सामग्रीहरूको आवश्यकता पर्दछ ।
इ. मोङ्हिम
जीवन भोगाइको क्रममा मानिसबाट थुप्रै गल्तिहरू हुन पुग्छन् । ती जानी जानी या अञ्जानमा गरिने गल्तिहरूबाट छुटकारा पाउन गरिने एक प्रकारको पुमा संस्कारलाई मोङ्हिम भनिन्छ ।
मोङ्हिम पुज्नको लागि धामी (बुङ्लुमीबुङपेन्मी) को आवश्यकता पर्दछ । धामीको आफ्नै एकजना मूल कोट्वाला पनि हुन्छ । धामीले प्रयोग गर्ने फुलहरूको संकलन गर्ने व्यक्तिलाई कोट्वाला भन्दछन् । धामीले आफ्नो गुरुपुजामा प्रयोग गर्ने सम्पूर्ण बुङ्वा (फुल) हरू मोङ्हिम पुज्दा पनि प्रयोग गर्दछन् । यस अन्तर्गत मेहेरीबुङ् (मुसुरीकटुस), गावबुङ (खोल्सीमा फुल्ने एक प्रकारको फूल), सकयक्वा (मालिङ्गो जातको बास), आम्लारीबुङ (अमलाको फुल), दुखुम्लेबुङ (फुस्रेफुल), हाङ्चुप्मीबुङ (फुस्रेकटुस), कुइयाबुङ (अधेरीफुल), मिचिलीबुङ् (झारावाफुल), नाप्चीरीबुङ (अदुवा जातको एकप्रकारको फूल), तारावाबुङ (रुखमा फुल्ने फुल), तक्सरङबुङ (तक्सरङफूल) आदि पर्दछन् । यी फुल लगायत आवश्यक सामग्रीमा बटुकोमा चोखो पानी, लापलावा, ठूलो रातो भाले, एकहात सेतो कपडा आदि हुन् ।
यी माथिको फूलहरूको प्रयोग गरी धामीले मोङ्हिम पुज्छ । यो पुज्ने निश्चित अवधी छैन । अभिभावकले आवश्यकताको महसुस गरे पछि वा धामी ङापोङले यो पुज्ने आवश्यकता बताए पछि यो पुज्ने गर्दछन् । मोङहिम एक पाछाका सबै दाजुभाइको एकैठाउँमा गर्न सकिन्छ ।
परिवार र दाजुभाइमा लडाई झगडा गर्दा, आपसमा गालीगलौज गर्दा, असभ्य शब्दहरू बोल्दा, खुकुरी, खोडा जस्ता हतियारले ताक्दा या काट्दा पुमा संस्कार अनुसार तिनको कुलपितृमा वित्तल परेको हुन्छ । यस्ता खराव आचरणबाट उत्पन्न हुने खरावीलाई हिवादोङ्वा भन्दछन् । यही छिपिदै गए पछि परिवारको अभिभावकको सपना विग्रदै जान्छ । तन्द्रामै घरको दलिन भित्ता आदितिर उसले रातो रातो धब्बाहरू चलेको या हिडेको देख्न थाल्छ । यसपछि उसले मोङहिम गर्नु पर्ने महसुस गरेको हुन्छ ।
ग. अन्न (भूमि संस्कार)
पुमारू आफैमा प्रकृतिको पुत्र÷पुत्री सम्झन्छन् । प्रकृतिलाई नै तिनले आफ्नो सृष्टिकर्ता मान्ने हुनाले भूमिलाई धेरै महत्वका साथ हेर्छन् । भूमि तथा अन्नको पूजा बरोबर गरीरहन्छन् । वर्षको आरम्भ देखि अन्त सम्म नै पुमा जातिहरू अन्न तथा भूमिको पूजा गर्दछन् । ती मध्ये साकेन्वा, नावाङ्गी, लेवा, मङेन आदिको बारेमा यस लेखमा संक्षिप्त व्याख्या गरिन्छ ।
साकेन्वा
वर्षको शुरुवातसँगै प्रकृति पुजक किरात पुमा राईहरूको सांस्कृतिक चाडपर्वको मेहेरो शुरु हुन्छ । त्यसमध्ये एक महत्वपूर्ण संस्कार (पर्व) साकेन्वा पनि हो । विविध पशुपक्षीको नक्कल गरी नृत्य देखाउदै हर्षोल्हास मनाउने प्रक्रिया नै साकेन्वा हो । बैसाखको शूरु देखि जेठको अन्त्य सम्ममा किरात पुमा राईहरू साकेन्वा÷साकेला पुजीसकेका हुन्छन् । ‘घरको तलामाथि सुरक्षित राखिएको ठोलमाने विधिवत चुलो पुजेर फुकाउनु पर्छ’ दिप्लुङ्ग–७ का ङापोङ (चुलो पुज्न सांस्कृतिक मान्यता पाएको व्यक्ति) लालधन राई बताउछन् । उनी अरु थप्छन्– ‘फागु÷साकेन्वा फुकाउन ङापोङ या बुङ्लुमीबुङ्पेन्मी (बैद्यिक फूलपातहरू प्रयोग गर्न सांस्कृतिक मान्यता पएको व्यक्ति) को आवश्यकता पर्छ । उनले पैतृक चुलो पुज्दा गत वर्ष दुखबिमार र महामारीबाट हामीलाई बचायौ । अव यो वर्षको संस्कृतिहरू फेरि शुरु भए । हाम्रो रक्षा गर्नु, हामी तिमीहरूको मान मर्यादा राखी पुज्दै गर्छौं है भन्ने अर्थमा किराती मुन्दुम फलाक्छन् ।’ एउटा पुमा बस्तीका उनीहरू सकभर एक एकदिनको अन्तरमा फागु फुकाउने गर्छन् । जसले गर्दा फागु फुकाएको दिन गाउँ बस्तीका सबैजना एकै घरमा भेला भएर साकेन्वा नाँच्न सकुन् । साकेन्वा नाच सँगै रंगरवास र खुसीयाली मनाउन सकुन् । एकआपसमा हर्षोल्हास र उमंग साट्न सकुन् ।
पुमा राईहरू साकेन्वा÷लाक खेल्ने क्रममा विभिन्न जीवजन्तु र चराचुरुङ्गीको व्यवहारलाई नक्कल गरी नाच्दछन्, जसलाई ‘सिली’ को संज्ञा दिन्छन् उनीहरू । साकेन्वा÷लाकको गीतको लयमा एकले अर्कोको स्वरमा स्वर खापेर गाउँछन् र दोहोरी पनि खेल्ने गर्छन् । साकेन्वा गीत यसरी शुरु गर्छन्–
... ... ...
सोइसोइला चोलिया फाट्यो कुमकुमको सोइसोइला हो सोइसोइला
कुमकुमको कुमकुमको भेटभइयो आज थुमथुमको सोइसोइला हो सोइसोइला
सोइसोइला सिन्कौली सेउली भाँची जाउँ सोइसोइला हो सोइसोइला
भाँची जाउँ भाँची जाउँ रहरै सम्म नाची जाउँ सोइसोइला हो सोइसोइला
सोइसोइला फूलै र फुल्यो टोटोला सोइसोइला हो सोइसोइला
टोटोला टोटोला बाँचेको छौं र यो चोला सोइसोइला हो सोइसोइला
... ... ...
घरमूलीको इच्छाअनुसार एक दिन देखि एक डेढ महिना सम्म ठोलमाने खुल्ला राख्ने गर्दछन् पुमा राईहरू । ठोलमाने यथास्थानमा थन्क्याउने क्रममा समेत पुमाहरू धनधान्यकी देवी सुम्निमाको पूजा गर्छन् । यस सुम्निमा पूजालाई मङेन भन्दछन् । यसको लागि आवश्यक सामग्रीहरू एउटा चिण्डोमा चोखो जाडपानी, अदुवा, भोर्लाको पात र पोथी आदि हुन् । उनीहरू अन्नको भकारीलाई सुम्निमाको बासस्थान मान्दछन् । त्यसैले ठोलमाने थन्क्याउने क्रममा पनि मङेन पूजासँगै जब ङापोङले सुम्निमालाई खेतबारी र बस्तीहरू डुलाएर आगनमा पु¥याउदछ, तब घरका सबै जना फागु सिली सँगै सुम्निमा र ङापोङलाई अन्नधन्नको सह बटुल्न सहयोग गर्छन् । त्यसको लागि सबैजना आँगनमा नाच्दछन् । आँगनमा नाच्ने समूहको ज्येष्ठ सदस्यले हातमा सुम्निमाखुर्पी लिएर अदुवा छर्दै छर्दै लाक खेल्नु पर्दछ । लाक खेल्दै आँगनमा ३÷३ फन्को उल्टोसुल्टो घुमेर भित्र पस्नुपर्छ । भित्र पनि मूलखम्बाको वरीपरी ३÷३ फन्को उल्टोसुल्टो घुमे पछि ज्येष्ठ घरमूलीलाई ङापोङले मङेनपोथीको प्रसाद स्वरुप सुम्निमाको भाग मुटु कलेजो र ढाड दिन्छन् । त्यो लिएर खुर्पी, अदुवासँगै उनी टारमाथि चढ्छन् । साथमा पछि पछि ठोल र माने बजाउनेहरू पनि तिनलाई पछ्याउदै ठोलमाने बजाउदै बजाउदै टारमाथि चढ्नुपर्छ । र तिनलाई यथास्थानमा थन्क्याउनु पर्दछ । यसरी वर्षमा एक पटक फुकाउने फागुको समापन हुन्छ । मङेन गरेको ३ दिन सम्म घरबाट अन्न, पैसा र भोर्लाको पात बाहिर निकाल्न या अरु कसैलाई दिन निषेध हुन्छ ।
नावाङ्गी
पुमा जातिमा नयाँ खाद्य वस्तुहरू भित्र्याउन सांस्कृतिक तवरले फुकाउने प्रक्रियालाई नावाङ्गी भन्दछन् । बैसाक जेठ महिनाबाट थालेको अन्नबाली (कोदो, धान आदि रोप्ने) लगाउने कार्य साउनको अन्तिम हप्तासम्ममा समापन गर्छन् । त्यसपछि फलेको अन्नबाली चोखो र पवित्र भएको दावी गर्दै कुलपितृहरूलाई चढाउछन् । ‘बादर जनावर या किरा फट्याङ्ग्रा केहीले पनि जुठो लगाएको छैन । तिमीहरूको अन्नबाली चोखो नै छ, खाउ है’ भन्ने अर्थमा किराती मुन्दुम फलाक्दै ती अन्नहरू पकाएर पितृहरूलाई चढाउनु पर्छ’— दिप्लुङ्ग–७ कै एकजना बुङ्लुमी–बुङ्पेन्मी गुमान सिं राई बताउछन् । उनी भन्छन्— ‘यसरी अन्न पितृहरूलाई चढाएर फुकाउने पूजालाई नावाङ्गी भन्दछन् । यो नावाङ्गी भदौ महिनामा पुजिन्छ ।’ उनका अनुसार घरआगन चोखोनितो गरेर बिहानै पितृनाम फलाक्दै पुज्छन् । यो पूज्न भोर्लाको नयाँ पात, धानको नयाँ बाला (बालाको नाममा नयाँ बोट नै प्रयोग गर्छन्), चिण्डो लगायतका सामग्रीहरू प्रयोग गर्छन् । यो पूजासँगै घरको ढोके कुनामा राखेर सबै हातहतियारको समेत पूजा गरी अन्न चढाइन्छ । नावाङ्गी पुजे पछि मात्र नयाँ अदुवा लगायतका अन्य नयाँ खाद्यपदार्थहरू खानको लागि फुकेको मान्दछन् उनीहरू । जस्तै ः अदुवा, नयाँ चामल, गिठा भ्यागुर नावाङ्गी गर्नु भन्दा पहिले घरभित्र हुल्न साथै खानलाई प्रतिबन्धित हुन्छ पुमा राईहरूको संस्कृतिमा ।
लेवा
‘लेवा’ पुमा राईहरूको अर्को एक अन्न पूजा हो । यो पूजा यस्तो हो, जुन पुज्नको लागि ङापोङ या बुङ्लुमीबुङपेन्मीको आवश्यकता पर्दैन । घरको मूलिले पुज्दा हुन्छ । लेवा कोदो भित्राउने क्रममा गर्दछन् । यसको उद्देश्य अन्नको सहलाई स्थायीत्व दिनु हो । बारी, खोरियाबाट अन्न बटुल्दै घरमा थुपार्दछन् । ठीक त्यही थुप्रोमा पुजेर सुम्निमालाई खुसी पार्ने गर्दछन् । यसको लागि आवश्यक सामग्रीहरू– सानो माटोको भाडोमा चोखो भात, मुसुरीकटुसको पात, अदुवा र एउटा भाले । राम्रो दिन जुराएर विहानीपख रिमरिममै यो पूजा गर्दछन् । ‘अन्नको थुप्रोमा सुम्निमालाई खुसी पार्ने शब्दहरू फलाक्दै भाले काटिन्छ । र भालेको रगतले अन्न बटुल्ने क्रममा प्रयोग गरिने सबै सामग्रीहरूलाई छर्काइन्छ’ ङापोङ लालधन राई बताउछन् । उनी अगाडि थप्छन्– ‘लेवा गरेको दिन घरको कुनामा एकपाथी कुटेको तर ननिफनेको अन्न थुपारिन्छ । र त्यसको चुलीमा दोहोरो भोर्लाको पात राखी त्यसमा एकचिण्डो चोखो जाडपानी र अदुवा राख्नुपर्छ । त्यसपछि हरेकपल्ट अन्न कुट्दा (झाट्दा) चोखो जाड झानेर कुनाको अन्न, अन्नको थुप्रो र अन्नको भकारीलाई छर्किने गर्नुपर्छ । अन्न (कोदो) कुट्ने (झाट्ने) काम समाप्त भएको दिन लेवा गर्दा कुनामा थुपारिएको एकपाथी कोदो निफनेर मूल भकारीको अन्नमा मिसाइन्छ (लेवा गर्दा प्रयोग गरिने जाड र लेवाभालेको प्रसाद अर्को जातीलाई दिँदा अन्नको सहमा गिरावट आउछ भन्ने मान्यता यस समुदायमा छ) । यसरी कोदो उठाउने कार्य समापन हुन्छ ।’
मङेन
पुमा जातिको धनधान्यकी देवी सुम्निमाको पूजालाई मङेन भन्दछन् । यसको लागि आवश्यक सामग्रीहरू एउटा चिण्डोमा चोखो जाडपानी, अदुवा, भोर्लाको पात र पोथी आदि हुन् । उनीहरू अन्नको भकारीलाई सुम्निमाको बासस्थान मान्दछन् । मङेन गर्ने क्रममा जब ङापोङले सुम्निमालाई खेतबारी र बस्तीहरू डुलाएर आगनमा पु¥याउदछ, तब घरमूली (महिला) लगायत घरका अन्य सदस्य आँगनबाट लाक खेल्दै भित्र पस्नु पर्दछ । घरमुली महिलाले सुम्निमाखुर्पी लिएर अदुवा छर्दै छर्दै लाक खेल्नु पर्दछ । लाक खेल्दै आँगनमा ३÷३ फन्को उल्टोसुल्टो घुमेर भित्र पस्नुपर्छ । भित्र पनि मूलखम्बाको वरीपरी ३÷३ फन्को उल्टोसुल्टो घुमे पछि ज्येष्ठ घरमूलीलाई ङापोङले मङेनपोथीको प्रसाद स्वरुप सुम्निमाको भाग मुटु कलेजो र ढाड दिन्छन् । त्यो लिएर खुर्पी, अदुवासँगै उनी टारमाथि चढ्छन् । यसरी वर्षमा कम्तिमा दुई पटक मङेन गर्दछन् । मङेन गरेको ३ दिन सम्म घरबाट अन्न, पैसा र भोर्लाको पात बाहिर निकाल्न या अरु कसैलाई दिन निषेध हुन्छ ।
यसरी पुमा राईहरू रीति तथा संस्कृतिका धनी छन् । माथि उल्लिखित बाहेक मोङ्हिम लगायतका थुप्रै पितृ तथा धर्ती पूजाहरू पुमा समुदायले पुज्ने गर्छन् ।
यसै सन्दर्भमा भाषा तथा संस्कृति सम्बन्धी अध्ययन परियोजना छिन्ताङ तथा पुमा अभिलेखीकरण परियोजनाका अनुसन्धाता सह प्रा.डा. विष्णु प्रसाद सिं राई बताउछन्— ‘पुमा राईहरू भाषा तथा संस्कृति प्रेमी मात्र नभइ मातृभूमि प्रेमी पनि छन् । नेपाली लगायतका भाषाहरूको अतिक्रमणका बाबजुद पनि उनीहरूको भाषा तथा सांस्कृतिक मौलिकता बाँचीरहनु त्यसको ज्वलन्त उदाहरण हो ।’ संस्कृति र रीतिरिवाजलाई माया र संरक्षण गर्नेलाई रुढीबादी र यथास्थितिबादीको आरोप लाउन नहुने आशयमा उनी थप्छन्— ‘पुमा राईहरूले मानी आएको रीति र संस्कृतिहरूमा थुप्रै बैज्ञानिक आधारहरू पनि भेटिन्छन् । ती संस्कृति भित्रका बैज्ञानिक आधारहरू चिनेर त्यसलाई विकसित गर्नु आजका पुमा युवाहरूको कर्तव्य हो ।’
निश्चय पनि पुमा राईहरू संस्कति र परम्परा प्रेमी छन् । तिनका संस्कृति भित्रका असल र बैज्ञानिक पक्षलाई सवल र खराव नकारात्मक पक्षलाई परिमार्जन गर्दै लगे बेस हुनेछ । विभिन्न दुष्टिकोणले हेर्दा तिनका संस्कृतिहरू असल र समय सापेक्ष नै छन् । पुमा राईहरू पितृ पुज्दा प्रयोग नगरि नहुने जाँड पितृपूजाका लागि आवश्यक मात्रामा मात्र बनाउने चलन पुमा समुदायमा बढेको छ । यो सकारात्मक सोंच हो, पुमा रीति संस्कृतिको समुन्नतिको लागि ।
यसरी आफ्नो संस्कृति र परम्परा युग युगान्तर सम्म समयको बहावमा बहाइ राख्न तिनमा रहेको असल प्रभावलाई बढावा र खराव प्रभावलाई परिमार्जन गर्दै लान अत्यावश्यक छ । तर परिमार्जनको नाममा त्यसको मौलिक विशेषतामा भने खलल पार्नु हुन्न । यसबारे सोंच्ने र अगाडि बढ्ने महान र ऐतिहासिक कार्य पुमा समुदाय र पुमा युवाहरू आफैको हो । र तिनको संस्कृति समग्र नेपालीकै साझा सम्पत्ति हो । यसको संरक्षण र सम्वद्र्धन गर्नेमा सबै नेपालीको समान मनसाय र अभिरुची जाग्नु पर्दछ ।
लेखन तथा सङ्कलन
गणेश पुमा राई चिन्तन
ganeshchintan@yahoo.com
https://www.facebook.com/ganeshchintan
- गणेश पुमा राई चिन्तन
पुमा जाति र तिनको संस्कृतिको अध्ययन गर्न निम्न तथ्यहरू उल्लेख गर्न गरिन्छ:
१. पुमा (राई) को उत्पत्ति, विकास र बसोबास
२. पाछा विभाजन
३. भाषा
४. धर्म
५. संस्कार
१. पुमा (राई) को उत्पत्ति, विकास र बसोबास
साम्खा गर्दै सुप्सङ्मि राहाङ्मि मनकुमार पुमा, पृष्ठभूमिमा जर्मनीकी अनुसन्धाता डियाना स्याकोव |
किरात चाङफेवाहाङ वंशका यङलुहोङ (यलम्बर) इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरूलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरूले उपत्यकामा बत्तीसौं पुस्तासम्म शासन गरे । यो तथ्य इतिहासहरूमा पढ्न पाउँछौं । त्यतिखेर तिनको शासन सुव्यवस्थालाई देखेर लिच्छबीवंशी आर्य जातिहरू ईष्याले जल्दथे । उनीहरूले कैयौं पटक किराती राज्यमा आक्रमण गरे । तर हरेक पटक हार व्यहोर्थे । कारण किरातीहरू नाग, वृक्ष, हावा, पानी, आगो, चट्याङ, हेन्खामा र निनाम्माको पूजा अर्चना गर्दथे । साथै किरातीहरूले आफ्ना तीन चुलालाई सुम्निमा, पारुहोङ र दृष्टिकर्ता निरेवाभुमोङको रुपमा पूजा गर्दथे । र तिनै प्रकृति र सुप्तुलुङबाट किरातीहरूले अथाह शक्ति प्राप्त गर्दथे । पछि किराती चेलीलाई टुनामुना लगाई उनीहरूले फसाए । यो उनीहरूको कुटनीति (जालझेल) थियो । किरातीहरूको पतनको इतिहास यहीबाट शुरु हुन्छ ।
किरातीहरूको राज्यमा कैयौं पटक विशाल शक्ति लगाउदा पनि लिच्छबीहरूले हार व्यहोनु परेपछि किरातीहरूको शक्तिकेन्द्र सम्बन्धी जानकारी लिन उनीहरूले किराती चेलीसँग नाटकीय माया रची विबाह गरेका थिए । देखावटी रुपमा उनले श्रीमानबाट धेरै माया पाएकी थिइन् । त्यसै त किरातीहरू कोमल हृदयका हुन्छन् । श्रीमानको अभुतपूर्व मायाको जालमा फसेकी किराती चेलीले श्रीमान समक्ष आफ्ना माइती (किराती) हरूको शक्तिकेन्द्रका बारेमा एक पछि अर्को गर्दै जानकारी गर्दै गईन् । उनले आफ्नो श्रीमानलाई सर्वस्व ठानेकी थिइन् । यद्यपि उनलाई आफ्ना माइतीको माया पनि बचेकै थियो । त्यसैले उनले आफ्ना बाउमाइतीको शक्तिश्रोतको बारे सुनाउनु अगाडि उनले श्रीमानलाई तीनवटा बाचा गर्न लगाएकी थिइन् । ती तीनवटा बाचाहरू १. बाउलाई नमार्नु २. दाजुलाई नमानु र ३. भाइलाई नमार्नु थिए ।
लिच्छबीवंशी आर्य जातिको कुटनीति यसरी सफल भयो । उनीहरूले किरातीहरूको शक्तिकेन्द्र र तिनको कमीकमजोरीको बारेमा किरातीचेलीबाटै थाहा पाए । त्यसपछि लिच्छवीहरूले सर्वप्रथम किराती शक्तिश्रोतहरूलाई वित्तल (अशुद्ध) पारे । तिनको सांस्कृतिक धरोहरहरू नास गर्न थाले । कूलपितृ र भूमिदेवहरूमा वित्तल पार्न थाले । शुरुमा किरातीहरू जाड रक्सी खादैनथे । काटमार गर्दैनथे । किरातीहरूको सुप्तुलुङमा वित्तल पार्न लिच्छवीहरूले जाडरक्सी खन्याइदिए । सुँगुर र कुखुराको बली चढाए । यसरी किराती शक्तिकेन्द्रमा वित्तल पारे । र अन्तमा तत्कालीन किराती राजा खिगुहोङलाई पराजित गरेरै छाडे । राजा खिगुहोङलाई उपत्यकाको अन्तिम किराती राजा मानिन्छ । उनी यङलुहोङ (यलम्बर) का बत्तीसौं सन्तान थिए ।
उपत्यकामा किराती राजा खिगुहाङले पराजय भोगेपछि आर्यहरूको किरातीहरू माथि दबाब बढ्दै गयो । क्रमैसँग किरातीहरूको मौलिक भाषा, संस्कृति र परम्पराहरू माथि लिच्छवी शासकहरूले प्रतिवन्ध लगाउदै गए । लिच्छवीवंशी आर्यहरू किरातीहरूको समूल नास चाहन्थे । जसको लागि किराती सांस्कृतिक धरोहरमा प्रतिवन्ध लगाएका थिए । तिनले किराती वेद मुन्दुम र किराती शिलालेखहरू नष्ट गर्दै लगे । उनीहरूले किराती चेलीबाट किराती धर्म र संस्कार महत्वपूर्ण शक्तिकेन्द्र हो भन्ने थाहा पाएका थिए । यसरी तिनको किरातीहरू माथिको दबाब बढ्दै गए पछि किराती राजा खिगुहोङ उपत्यकाबाट पूर्वतिर लागे । केही किरातीहरू उपत्यकामा नै रहे । हाल उपत्यकाका ज्यापुहरू किराती राजाका सन्तति हुन् भन्ने भनाई छ (मिथाहोङ पालुन पुमा राई वंशावली–२०६२, पृ–१,२)
खिगुहोङ काठमाडौंबाट पूर्व लागि बनेपालाई आफ्नो राज्यकेन्द्र बनाए । उनको छोरो योक्नेहोङ त्यहाँका दोश्रो राजा भए । योक्नेहोङका दुई छोराहरू भए । उनीहरू लेलिमहोङ र खम्सोङहोङ थिए । योक्नेहोङको मृत्युपछि उनका छोराहरूले सन् ६०० राज्य विभाजन गरे । राज्य विभाजन अनुसार लेलिमहोङ लिम्वुवान र खम्सोङहोङ खम्बुवानको राजा भए ।
खम्सोङहोङका छोरा जुमहोङ थिए । जुमहोङका छोरा खम्बुहोङ भए । खम्बुहोङले आफ्नो राज्यकेन्द्र बेलकातरी (वालिखा) मा सारे । इतिहास अनुसार किरातीहरू उपत्यकाबाट बनेपा हुँदै बेलकातरीसम्म पुग्दा जंगली रुपमा परिणत भइसकेका थिए । आफ्नो मुन्दुम, भाषा संस्कृति र परम्पराको सुरक्षाका निम्ति खिगुहोङले उपत्यका छोडे पनि स्थायी बसोबास र पूर्व शिलालेखहरूको नास र प्रतिवन्धका कारण तिनको मौलिकता क्रमशः समाप्त हुँदै गयो । यसरी समयक्रम सँगै किरातीहरूले आफ्नो मौलिकताका धेरै हदसम्म गुमाउन पुगे । उनीहरू शतप्रतिशत वनमा निर्भर हुन पुगे । वनकै कन्दमुल, तरुल र खोलाको माछा तिनको मुख्य आहारा बनेको थियो भन्ने आख्यानहरू पाइन्छन् ।
खम्बुहोङले वेलकातरीमा आफ्नो राज्यकेन्द्र बनाए । उनले नाहिमा (नागाकी चेली) सँग विबाह गरे । उनीहरूका दश छोरा र एक छोरी गरी जम्मा एघार सन्तान भए । तिनको नामावली यसप्रकार छ—
१. जेठा– मापेहोङ, २. माइला– खिन्चीहोङ, ३. साइला– हिनाहोङ, ४. काइला– वानाहोङ, ५. अन्तरे– खप्पाहोङ, ६. जन्तरे– कुर्सेहोङ, ७. लखन्तरे– चालिमहोङ, ८. मन्तरे– सेकुहोङ, ९. गनन्तरे– रामलिहोङ, १०. कान्छा– सेक्रोहोङ, ११. छोरी– सायामा ।
खम्बुहोङले आफ्नी छोरी सायामाको उनकै मन्त्री न्योहोङसँग विबाह गरिदिएका थिए ।
समयक्रम बढ्दै गयो । किरातीहरू ताडो चढाउन खप्पिस थिए । उनीहरू धनुवाण लिएर शिकार खेल्न जान्थे । यसैक्रममा खम्बुहोङका छोराहरू मापेहोङ र सेक्रोहोङ बेलकातरीबाट शिकार खेल्दै सप्तकोशी पूर्वतिर लागे । घनघोर जंगलमा शिकार गर्ने क्रममा उनीहरूले आफ्नो शिकारलाई घेरामा पार्ने क्रममा थिए । दुईजनाले दुईतिरबाट घेर्न थाले । घेर्ने क्रममा मापेहोङको अगाडि चाल सुन्यो । नदेखीकनै शिकार हो भनी हानेको मापेहाङको बाणले भाइ सेक्रोहोङको मुटु छिचोल्यो । उनी त्यही ढले । मापेहोङ बेहद बेहद पछुताए । पीडाग्रस्त मापेहोङलाई घरमा बाबाको पनि डर भयो । र उनी अरुणको उत्तरै उत्तर लागे । उनी हालको तिब्बतमा पुुगे र त्यहाँका ग्याल्जुङमा भुटियासँग विबाह गरे । र नाम्चेमा आइ त्यसको आसपासमा उनले आफ्नो बोबी (थलो) बनाए ।
छोराहरू हराए पछि खम्बुहोङले अदुवाको कचुर काटी आफ्नो छोराहरू भएको दिशा पत्ता लगाए । कचुर जोखानामा उनीहरू बेलकातरीबाट उत्तर दिशामा भएको देखे । उनले रामलिहोङलाई छोराहरूको खोजी कार्यमा खटाए । रामलिहोङले मापेहोङलाई भेटे । मापेहोङले बाबु समक्ष उपस्थित भइ दुर्घटनाको वृत्तान्त बताए । उनले बाबुको गाली खानसम्म खाए । पछि फेरि मापेहोङ आफ्नै बोबी नाम्चेतिर लागे ।
खम्बुहोङले छोरा सेक्रोहोङको मृत्युपछि उनको ठाउँमा छोरी सायामालाई राखेर दश सन्तानलाई दश किरातको नाम दिए । हाल पनि दश किरात एक भान्सा भन्ने लोकोक्ती किरात समुदायमा पाइन्छ । सायामा र न्योहोङको सन्तानलाई आफ्नै सन्तानमा गाभे । किराती लोककथा अनुसार मापेहोङका सन्तान खालिङ, खिन्चीहोङका सन्तान सुनुवार, हिनाहोङका सन्तान वायुङ (वाहेङ) र वाम्बुले (अम्बु), खप्पाहोङका सन्तान कुलुङ, कुर्सेहोङका सन्तान तिलुङ, चालिमहोङका सन्तान चाम्लिङ, साङपाङ र पुमा, सेकुहोङका सन्तान दुमी, नाछिरिङ, लोहरुङ र याक्खा, रामलिहोङका सन्तान थुलुङ र सायामाका सन्तान यम्फु र नेवाहोङ हुन् भन्ने छ ।
समयसँगै किरात बस्ती विस्तार हुन थाल्यो । दश किरातले आ–आफ्नो बोबी (क्षेत्र) छुटाउँदै बस्न थाले । उनीहरू जहाँ, जुन ठाउँ राम्रो लाग्यो त्यही बस्न थाले । यसरी खम्बुहोङका सन्तानहरू खम्बुवान क्षेत्रभित्र आफ्नो साहोन, बोबी या क्षेत्र बनाएर बस्न थाले ।
आफ्नो बोबी, सोहोन या किपट चुन्ने क्रममा चालिमहोङका छोराहरू पनि अग्रसर भए । यस क्रममा चाम्लिङ मूलघरमा बस्ने भयो भने साङपाङले आफ्नो सोहोन छुट्यायो । दाइहरूले राम्रो क्षेत्र उनीहरूको साहोन बनाए पछि पुमाहोङ पनि आफ्नो अनुकुल ठाउँ खोज्न मूलघरबाट दक्षिणतिर परदेश झ¥यो । झर्ने क्रममा उनी दक्षिणी खोटाङको सावाखोला तरे । हालको दिप्लुङ गाविसको आसपासमा उनले आफ्नो अनुकुल वातावरण पाए । स्वच्छ हावापानी, हिमाल र समतलको एकैचोटी दृष्यावलोकन गर्न सकिने दिप्लुङ क्षेत्रले उसलाई मोहक बनायो । र दिप्लुङ क्षेत्रलाई उनले पुमा बोबी, सोहोन बनाए ।
यसरी खोटाङको दिप्लुङबाट पुमा बस्ती दिप्लुङ लगायत मौवाबोटे, देवीस्थान, चिसापानी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा, काहुले र बोपुङसम्म विस्तार भयो । र पछि उदयपुरको बेल्टार, बसाहा, रामपुरमा बसाइँ सराई गरे । बसाइँसराईको क्रममा पुमा जाति हाल सुनसरी, सप्तरी, मोरङ, झापा, काठमाडौं र भारतको दार्जिलिङसम्म पुगेका छन् । साथै अध्ययन, रोजगारी लगायतका शिलशिलामा संसारका कुना कुनासम्म पुरा राईहरु छरिएर रहेका छन् ।
२. पाछा विभाजन
जातिलाई गरिएको विभाजन नै पाछा हो । पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ ।
लोककथा तथा बुढापाकाको भनाई अनुसार पाछा छुट्याउनुुको मुख्य उद्देश्य हाडनाताबाट छुटिनु थियो । पुमा वस्ती विस्तार भए पछि उनीहरू वीच विहेवारी गर्न अप्ठ्यारो महसुस हुन थाल्यो । विहेवारीको निम्ति हाडनाताको साइनो लाग्न थाल्यो । त्यस कठीनाईलाई समाधान गर्न तत्कालिन पूर्खाहरूले बोबी र पाछा विभाजन गरेका थिए । पुमा पुस्तालाई जाति र डबलुङ, पालुन पुस्तालाई बोबीमा विभाजन गरे भने उनीहरूको सन्तानलाई पाछाको उपनाम दिए । जस्तो, पुमाहोङका छोराहरू डबलुङ र पालुन दुईजना छोराहरू थिए । ती दुईजना दुईवटा डबलुङ र पालुनको बोबीमा छुट्टिए । डबलुङ र पालुन बोबीका सन्तान फेरि पाछामा विभाजित भए । जसका कारण तिनका सन्तान कुटुम्बेली भए । हाडनाताको साइनो टुट्यो । र ती भिन्न पाछाहरूवीच कुटुम्वेलीको साइनो आरम्भ भयो ।
पुमामा दुई बोबीहरूका गरी जम्मा चौंध पाछाहरू छन् । डबलुङ बोबी अन्तर्गत १. गाराजा २. थुम्राहाङ ३. हाङथाङखा ४. योङदोहाङ ५. लिम्माछित ६. दुमाङलुङ र ७. हादिरा गरी सात पाछा छन् । त्यसैगरी पालुन बोबी अन्तर्गत १. मिथाहाङ २. तोङमालुन ३. मेत्लङथङ ४. वावीहाङ र ५. खाहोङ गरी पाँच पाछा छन् । बुढापाकाको भनाई र लोककथा अनुसार पाछा विभाजन गर्ने समयमा रीरुहाङ र हेन्योङछा परदेश गएका थिए । उनीहरू परदेशबाट फर्कदा पाछा विभाजन भइसकेको थियो । उनीहरूले पनि हाम्रो पाछा चाहियो भने पछि उनीहरूको पाछा रीरुहाङ र हेन्योङछा राखियो । यी दुई पाछा समेत पुमा जातिमा जम्मा १४ पाछाहरू विद्यमान छन् ।
पाछा विभाजनसँगै वंशावलीको नामावली प्रस्तुत गर्दा तथ्य बुझ्न सजिलो हुनेछ भन्ने मैले महसुस गरेको छु । त्यसैले संक्षिप्त किराती वंशावलीचित्र यहाँ प्रस्तुत छ । थप जानकारी यस लेखको बाँकी अंशबाट लिनुहोस् ।
पुमा राईका भाषा, धर्म र संस्कारहरु (यस लेखको बाँकी अंश यो लिङ्कमा क्लिक गरी पढ्नुहोला )
२. पाछा विभाजन
जातिलाई गरिएको विभाजन नै पाछा हो । पुमा जातिमा पाछाको अर्थ र महत्व ठूलो छ । पाछाको सामान्य अर्थ खोज्ने हो भने ‘पा’ को अर्थ बाबु र ‘छा’ को अर्थ छोरा भन्ने लाग्छ । पा छा अर्थात बाबुको छोरा । तर पुमा जातिमा पाछाको अर्थ बृहत छ । यसअर्थमा पाछा शब्दले किरातीहरुको पूर्वजको सन्तान समूहलाई खुलाउदछ ।
लोककथा तथा बुढापाकाको भनाई अनुसार पाछा छुट्याउनुुको मुख्य उद्देश्य हाडनाताबाट छुटिनु थियो । पुमा वस्ती विस्तार भए पछि उनीहरू वीच विहेवारी गर्न अप्ठ्यारो महसुस हुन थाल्यो । विहेवारीको निम्ति हाडनाताको साइनो लाग्न थाल्यो । त्यस कठीनाईलाई समाधान गर्न तत्कालिन पूर्खाहरूले बोबी र पाछा विभाजन गरेका थिए । पुमा पुस्तालाई जाति र डबलुङ, पालुन पुस्तालाई बोबीमा विभाजन गरे भने उनीहरूको सन्तानलाई पाछाको उपनाम दिए । जस्तो, पुमाहोङका छोराहरू डबलुङ र पालुन दुईजना छोराहरू थिए । ती दुईजना दुईवटा डबलुङ र पालुनको बोबीमा छुट्टिए । डबलुङ र पालुन बोबीका सन्तान फेरि पाछामा विभाजित भए । जसका कारण तिनका सन्तान कुटुम्बेली भए । हाडनाताको साइनो टुट्यो । र ती भिन्न पाछाहरूवीच कुटुम्वेलीको साइनो आरम्भ भयो ।
पुमामा दुई बोबीहरूका गरी जम्मा चौंध पाछाहरू छन् । डबलुङ बोबी अन्तर्गत १. गाराजा २. थुम्राहाङ ३. हाङथाङखा ४. योङदोहाङ ५. लिम्माछित ६. दुमाङलुङ र ७. हादिरा गरी सात पाछा छन् । त्यसैगरी पालुन बोबी अन्तर्गत १. मिथाहाङ २. तोङमालुन ३. मेत्लङथङ ४. वावीहाङ र ५. खाहोङ गरी पाँच पाछा छन् । बुढापाकाको भनाई र लोककथा अनुसार पाछा विभाजन गर्ने समयमा रीरुहाङ र हेन्योङछा परदेश गएका थिए । उनीहरू परदेशबाट फर्कदा पाछा विभाजन भइसकेको थियो । उनीहरूले पनि हाम्रो पाछा चाहियो भने पछि उनीहरूको पाछा रीरुहाङ र हेन्योङछा राखियो । यी दुई पाछा समेत पुमा जातिमा जम्मा १४ पाछाहरू विद्यमान छन् ।
पाछा विभाजनसँगै वंशावलीको नामावली प्रस्तुत गर्दा तथ्य बुझ्न सजिलो हुनेछ भन्ने मैले महसुस गरेको छु । त्यसैले संक्षिप्त किराती वंशावलीचित्र यहाँ प्रस्तुत छ । थप जानकारी यस लेखको बाँकी अंशबाट लिनुहोस् ।
पुमा राईका भाषा, धर्म र संस्कारहरु (यस लेखको बाँकी अंश यो लिङ्कमा क्लिक गरी पढ्नुहोला )
लेखन तथा सङ्कलन:
गणेश पुमा राई चिन्तन
ganeshchintan@yahoo.com
https://www.facebook.com/ganeshchintan