किपुरातुबा हङकङको भव्य प्रस्तुती "किरात पुमा राई सांगितिक साँझ-२०१४"

हङकङको  याउ मा तेइ स्थित कम्युनिटी हलमा किरात पुमा राई तुप्खा वाङखाला हङकङले  किरात पुमा राई सांगितिक साँझ-२०१४ हालै भव्यताका साथ सम्पन्न गरेको छ । 

यस कार्यक्रमका प्रमुख अतिथि किरात राईहरूको साझा संस्था किरात राई यायोक्खा हङकङका अध्यक्ष शशि मदन राई थिए भने विशेष अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा थिए । त्यस्तै अतिथिहरूमा समाजसेवी हेजेन राई, खोटाङ समाज हङकङका अध्यक्ष अधिराज राई, किरात राई चाम्लिङ खाम्बातिम हङकङका अध्यक्ष पिताम्बर राई, किरात राई साम्पाङ जुम्लेखा हङकङका अध्यक्ष तेज कुमार राई, किरात राई बान्तावा यायोख्ला हङकङका अध्यक्ष तिलक मोहन राई, किरात राई थुलुङ सामा हङकङका अध्यक्ष रामली राई, भारतीय भुपु सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ, लिमा कन्सल्टेन्सीका डाईरेक्टर रजिन राई, नेपाल क्लब हङकङका अध्यक्ष रिता गुरूङलगायत थिए ।

प्रमुख अतिथि शशीमदन राईद्वारा रिवन काटेर उद्धघाटन गरिएको उक्त कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य किरात पुमा राईहरुको उदगम भूमिको सम्बर्धन र संरक्षणका लागि आर्थिक सहयोग पुर्याउनु रहेको पुमा राई तुप्खा बाङखालाका अध्यक्ष सुवाश राईले बताए । नेपालबाट आएका चर्चित कलाकारहरु विलसन विक्रम राई (तोक्मे बुढा), मिलन अमात्य, गिता राई र रेवत राईका साथै स्थानीय हङकङ नेपाली डान्स ग्रुपको समेत अत्यन्तै राम्रो एवं सन्देश मुलक प्रस्तुती रहेको थियो ।

खोटाङ तारा लगायत विभिन्न प्रतियोगिताहरुमा अवार्ड समेत पाईसकेको नवउदयमान गायक रेवत राईले आफ्नै एल्बमका हाल चर्चित 'लाहुरे दाईको छोरीले' लगायत आधा दर्जन गीतहरु पस्किएर दर्शकहरुलाई मनोरञ्जन दिलाए भने 'गाला रातै, गाला रातै' र 'आशैको गुलेलीमा, नजरैको मट्याङग्राले' जस्ता चर्चित गीतहरुमा गायिका मिलन अमात्यलाई साथ समेत दिएका थिए ।

त्यस्तै चर्चित गायिका मिलन अमात्यले 'किन माया लायौं, छाडिजाने निस्ठुरी' लगायत आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन गीतहरु पस्किएर दर्शकहरुलाई स्टेजमै आएर नाँच्न बाध्य पारिन भने आफ्नो प्रस्तुतिले उनि हङकङेली नेपालीहरूको मन जित्न सफल भइन् । त्यस्तै चर्चित नृत्यंगना गिता राईले २ वटा गीतमा एकल नृत्य तथा हाल चर्चित ठूली चलचित्रको 'म त मर्छु क्या हो ठुली' गीतमा विल्सन विक्रम राईसंग नाचेर दर्शकहरुलाई मनोरञ्जन दिन सफल भईन ।

तक्मे बाजेका रुपमा प्रस्तुत भएर दर्शकहरुलाई पेट मिचिमिचि हाँस्न बाध्य पारेका विल्सन विक्रम राईले नातिको रुपमा समेत प्रस्तुत हुँदै उत्तिकै रोचक र घोचक नयाँ प्रहसन प्रस्तुत गरी दर्शकदिर्घालाई बेजोड हँसाएका थिए । हङकङ नेपाली डान्स ग्रुपद्वारा 'नोट, भोट र हाम्रो होइन, राम्रो कलाकारलाई चिन्ने र सम्मान गर्ने बानि बसालौं' भन्ने सन्देशमुलक प्रस्तुती पस्किए।

पुमा राई तुप्खा बंखला हङकङले आयोजना गरेको ‘पुमा राई सांगितिक साँझ २०१४’  सोचे भन्दा भब्य रूपमा सम्पन्न भएको छ । औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष सुवाश राईले सन्चालन गरेका थिए भने दोश्रो चरणको सांगितक कार्यक्रम सृष्टी सुनुवारले संचालन गरेकी थिईन् ।

प्रकाशित मिति: Sunday, November 09, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।