नेपालले बंगलादेशबाट हवाई इन्धन ल्याउने

२०७२ असोज १३ । भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाइ भएपछि सरकारले वैकिल्पक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ । इन्धन आपूर्ति ठप्प भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो ।

'अहिले विशेष परिस्थिति भएकाले हवाईजहाज सहज सञ्चालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृहकार्य गरिरहेका छौं,' निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडकाले भने, 'इन्धन हवाईजहाजबाट ल्याउने छौं । तयारी सोहीअनुसार भएको छ ।'

निगमका अनुसार २०३१ सालबाट भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट इन्धन आयात गर्दै आएको छ । सम्झौताअनुसार पाँच वर्षमा नवीकरण हुन्छ । नेपालले चाहेको अवस्थामा अन्य मुलुकबाट पनि इन्धन आयात गर्न सक्छ । तर, अन्य मुलुकबाट इन्धन आयात गर्दा महँगो र कठिनाइ भएकाले अहिले आईओसीबाट मात्रै इन्धन आयात गर्दै आएको निगमले  जनाएको छ । अहिले विशेष परिस्थिति भएकाले बंगलादेशबाट आयात गर्ने तयारी भएको हो ।

'सम्झौताअनुसार भारतले निर्वाध रूपमा इन्धन दिनुपर्ने हो,' खडकाले भने, 'तर, भारतले दिएको छैन ।' उनका अनुसार तत्कालका लागि  हवाई इन्धन मात्रै ल्याइने छ । डिजेल र पेट्रोल आयात गर्दा केही महँगो पर्ने भएकाले हवाई इन्धन मात्रै ल्याउने गृहकार्य भएको उनले बताए ।

यस्तै इन्धन वितरणमा भारत सहमत नभए चीनबाट आयात गरेर आपूर्ति सहज बनाउने सरकारी योजना पनि छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार अबको दुई दिन सम्ममा भारतले नाकाबन्दी फुकुवा नगरे चीनबाट इन्धन आयात गर्ने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको ती अधिकारीले बताए ।

सरकारसँग सीमित मात्रामा मौज्दात भएकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई मंगलबारदेखि इन्धन दिन बन्द गरिएको छ । काठमाडौंमा  तेल आपूर्ति सहज नभएसम्म अन्तर्राष्ट्रिय उडानहरूले भारतको लखनउ, दिल्ली, बंगलादेशबाट तेल भर्ने छन् । कोरिया, चिनियाँलगायत  पूर्वी रुटमा उडान भर्ने जहाजहरूले ढाका बैंककमा तेल हाल्ने तालिका मिलाएका छन् ।

निगमका इन्जिनियर प्रदीप यादवका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा समस्या देखिए पनि आन्तरिक उडानतर्फ भने समस्या छैन ।  करिब २५ दिनलाई पुग्ने हवाई इन्धन स्टकमा रहेको उनले बताए । उनका अनुसार आन्तरिक उडानका लागि दैनिक ५० किलोलिटर हवाई इन्धन चाहिन्छ । निगमसँग करिब १५ सय किलोलिटर हवाई इन्धन मौज्दात छ ।

यस्तै सम्झौताअनुसार इन्धन वितरण नगरेको भन्दै निगमले भारतीय आयल कर्पोरेसन्स -आईओसी) लाई पत्राचार गरेको छ । नेपालबाट ट्यांकर भारत पुगे पनि आईओसीले किन लोड नगरेको भन्दै वितरण शाखाले पत्राचार गरेको निगमले जनाएको छ । आईओसीले राजनीतिक तहमा कुरा मिले चौबीसै घण्टा इन्धन दिन तयार रहेको जानकारी दिएको खडकाले बताए ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार नाकाबन्दीका कारण इन्धन लिन गएका १ सय ५१ ट्यांकर रित्तै नाकामा थन्किएका छन् । लोड भएका १ सय ९५ ट्यांकर भारतीय भन्सारमा अलपत्र परेका छन् । यस्तै ग्यास बोकेका २ सय १७ एलपीजी ग्यास बुलेट पनि नाकामै रोकिएको उनले बताए । इन्धन मुख्यतः रक्सौल, भैरहवा, काकडभिट्टा, सिलगुढीलगायत नाकाबाट भित्रिन्छ ।

यस्तै कोटा प्रणालीअनुसार मंगलबार निगमले अवधिभर १३ वटा पम्पबाट पेट्रोल वितरण गरेको छ । ती पम्पबाट १ लाख ३ हजार लिटर पेट्रोल वितरण गरिएको छ । सोमबार ११ पम्पबाट पेट्रोल वितरण भएको थियो । मंगलबार ५६ पम्पहरूबाट २ लाख ३६ हजार लिटर डिजेल वितरण गरिएको छ । सोमबार ६० पम्पबाट डिजेल वितरण भएको थियो । 
साभार: कान्तिपुर दैनिक ।

प्रकाशित मिति: Wednesday, September 30, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।