प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेनन्, सभामुखले समय पाएनन्

२०७२ भदौ २९ । संविधान जारी गर्ने दिन तय भएपछि सोमबार बेलुका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच तय भएको भेटवार्ता हुन सकेन । बेलुका साढे ७ बजेलाई समय मिलाइए पनि प्रधानमन्त्री शीतलनिवास नगएका हुन् । ‘भेट साढे ७ बजेलाई तोकिएको थियो । तर, सन्चो नभएकाले प्रधानमन्त्री सिटामोल खाएर सुत्नुभएको छ, आउन सकिएन भन्ने जानकारी प्राप्त भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘संविधान जारी हुने भएपछि राष्ट्रपतिले केही परिस्थतिमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ । प्रधानमन्त्री सल्लाहकार भएपछि निर्णय दिनुपर्छ । सोही विषयमा छलफल गर्नुपर्छ अनि सभामुखसँग भेट्दा सहज हुने थियो भन्ने हो ।’

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट तय भएको तर नगएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको नयाँ पत्रिकामा खबर छ । ‘संविधानका केही विषयमा राष्ट्रपतिको कन्सर्न छ । त्यसैले केही विषयमा कुराकानी गर्न खोज्नुभएको होला । उहाँहरूबीच टेलिफोन संवाद भने भयो,’ स्रोतले भन्यो । संविधान जारी गर्ने निम्तो दिन सभामुख सुवास नेम्वाङले सोमबार राष्ट्रपतिलाई भेट्ने योजना बनाएका थिए । तर, राष्ट्रपतिले पहिले प्रधानमन्त्रीसँग भेट्ने चाहना राखेपछि सभामुखसँगको भेट मंगलबार बिहानलाई सारिएको छ ।

सभामुखको भेट शीतलनिवासले मंगलबार बिहान ९ बजेलाई तय गरेको छ । असन्तुष्टसहित सबैलाई समेटेर संविधान जारी गर्न राष्ट्रपतिले पटक–पटक प्रधानमन्त्री र दलका नेतालाई सुझाब दिँदै आएका थिए । यसअघि पनि राष्ट्रपतिले असन्तुष्ट दलसँग वार्ता गर्न दुई दिनको समय नपुगे चार दिन थपेर भए पनि सबैलाई समेट्न प्रधानमन्त्रीलाई सुुझाब दिएका थिए ।

प्रकाशित मिति: Tuesday, September 15, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।