'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना

  • पुष्प चित्रकार। 
खस-नेपाली भाषाको साहित्यमा सत्यतथ्य नखोज्ने र स्तुतिगान गर्ने संस्कृति बलियो छ । लक्ष्मीप्रसाद देवकोटाले रचेको ‘मुना–मदन’ काव्य पनि त्यही संस्कृतिकै सिकार हुँदै आएको छ । ‘मुना मदन’ के कस्तो काव्यबाट प्रभावित भएर लेखिएको थियो भन्नेबारे खोजी नै नगरी केहीले भन्ने गरेका छन् : ‘मुना–मदन’ खण्डकाव्यजस्तो न पहिले निस्क्यो, न त पछि नै निस्कने छ ।’ जबकि त्यससँग कथा, घटनाक्रम, पात्र र प्रस्तुतिसमेत मिल्दाजुल्दा पाँच वटा काव्य सयौं वर्षअघि नै नेपालभाषामा लेखिएको पाइन्छ । यहाँ प्रस्तुत ‘मुना–मदन’का अग्रज रहेका काव्यबारे खोजको दोस्रो भाग:– 

“जि वया ला लछि मदुनि” नेपालको एक प्राचीन गीतिकाव्य हो । आर्थिक विसंगतिमा जकडिएका नायक विवाह भएको एक महिना नहुँदै आर्थिक बोझले गर्दा विवश र बाध्य भई धनका लागि कोमल पल्लव, मुखारविन्दुमा पलाएकी, मादकताले छाएकी भर्खरकी आफ्नी प्रिय पत्नीलाई आमाको स्याहारसुसार र घरधन्दा गरी बस्नु, थोरै समयमा नै आउँछु भनेर तिब्बत जान्छ । तिब्बत गएको धेरै समयसम्म पनि नायकको कुनै पत्र नआउँदा पीरव्यथा र चिन्ताको भुमरीमा नायिका भौंतारिन्छे । आफ्नो ह्दयको धड्कन थाम्दै बूढी सासूले खानपिन छोडेर दुब्ली पातली हुँदै गइरहेकी बुहारीलाई सम्झाउँदै गर्छे । तर धेरै अपशकुनका संकेतले यौवनले कलकलाउँदी बुहारीको मनलाई जित्छन् । आफ्नो पतिको आसिक गरी झ्यालमा बत्ती दिँदा बत्ती धमिलो हुन्छ, सपनामा पतिको परलोक भएको देख्छिन् । बिहानी पख बढारकुढार गर्दा काग आफ्नो सम्मुख आई कराउँछ । यस्तै अपशकुनको विषयवस्तुले उसले आफूलाई सह्माल्न सक्तिन । सासूले धेरै सम्झाउने कोसिस गर्छे तर केही सीप चल्दैन ।

यस्तैमा नायिकाको सौन्दर्यप्रति इर्ष्या र डाह गरिरहेका आफ्नै स्वामीको सबैभन्दा मिल्ने मित्रले तिब्बतमा नायक मरेको चिन्हसहित दुःखको झुटो समाचार ल्याउँछ । यस समाचारले मर्माहत नायिका कति सम्झाउँदा पनि नमानी पतिको नाममा सती जान्छे र नायिका सती गएको केही दिनपछि नै नायक तिब्बतबाट खुसी हुँदै घर आइपुग्छ । आफ्नी धर्मपत्नीले देहत्याग गरेको कुरा सुनेर ऊ रुन्छ अलापविलाप गर्छ, भौंतारिन्छ र आफूले ल्याएको धन–दौलत सबै वेकार देख्छ । फलस्वरुप उसको मनमा ‘जीवन के हो र भन्ने’ जस्तो नकारात्मक भावना उब्जिन्छ र आमा, आफन्त, छरछिमेकीले सम्झाउँदा सम्झाउँदै पनि घरबार छाडेर जान्छ । यसरी “जि वया ला लछि मदुनि” गीतिकाव्यको अन्त्य दुःखान्तको पराकाष्ठामा टुंगिन्छ ।

“मुना–मदन” रच्नुभन्दा एक शताब्दीअगाडि रचिएको नेपालको साहित्याकाशमा देखिने “जि वया ला लछि मदुनि” गीतिकाव्य र भर्खर ३४–३५ वर्ष मात्र पुगेका “मुना–मदन” खण्डकाव्यको विश्लेषणात्मक अध्ययन गरेको खण्डमा “मुना–मदन”जस्तो काव्य नेपालको साहित्यकाशमा धेरै रचिएको थियो भन्ने स्पष्ट आउँछ । र, यिनै लोकप्रिय कृतिहरुको आधारमा धेरै वर्षपछि “मुना–मदन” रचिएको हो भन्ने किटान समेत गर्न सकिन्छ ।
“जि वया ला लछि मदुनि” काव्यको करिब एक शताब्दीभन्दा पछि १९९२ सालमा प्रकाशित भएको देवकोटाको अमर कृति “मुना–मदन” खण्डकाव्य त्यस्तै कथामा प्रस्तुत भएको छ । यसमा पनि आर्थिक विसंगतिमा जकडिएका मदन धनकै लागि सुकोमल, नागकन्याजस्ती मुनालाई थोरै समय मात्र बसेर आउँछु भनेर फकाइफुल्याई जान्छ र गएको धेरै दिन बितिसक्दा पनि कुनै समाचार नपाउँदा मुना उदेक हुन्छे । जहाँ गए पनि न्यास्रोको अनुभव गर्छे । उसले पनि अपशकुनका संकेत देख्छे । सपनामा भैंसीले लघारेको, दाहिने आँखा फर्फराएको आदिले उनको धैर्य छिनिदिन्छन् । तर बूढी सासूले सम्झाउँछे । सासू र बुहारीबीच सुर्ता गर्नमा होडबाजी हुन्छ । यत्तिकैमा सासू बिछ्यौनामा पर्छे । तर पनि बुहारी धैर्य दिइरहन्छे । तर अन्त्यमा केही जोड चल्दैन । मुनाको रुप र मादकताप्रति ईष्र्या र डाह गरिरहेका मदनकै मित्रले मदन तिब्बतमा परलोक भएको झुठो समाचार पुर्‍याइदिन्छ । यसले गर्दा मुनाको छाती चिरिन्छ । उनी भौतारिन्छे र अन्त्यमा मर्छे ।

मुना मरेको केही दिनपछि मदन धन लिएर खुसी हँदै घर आइपुग्छ । तर आफ्नी आमा सिकिस्त अवस्थामा बिछ्यौनामा परिरहेको देखेर ऊ दुःखले अलापिन्छ । अझ आफ्नी धर्मपत्नी मुना मरेको सुन्दा आफूले आफैलाई थाम्न सक्तैन र ऊ भौतारिन थाल्छ । अन्त्यमा मदनकी आमा मर्छे । मदन पनि मर्छ । यसरी “मुना–मदन” खण्डकाव्य पनि दुःखान्तको पराकाष्ठामा पुगेर टुंगिन्छ ।

यी दुवै काव्य वियोगान्तको पराकाष्ठमा टुंगिन्छन्, तापनि एक अर्काेसँग अलिकता फरक पनि छ । “मुना–मदन” खण्डकाव्यका मूल पात्रहरु मदन, मुना र मदनकी आमा तीनै जना पीरव्यथाले पिरोलिँदै मर्छन् भने “जि वया ला लछि मदुनि” गीतिकाव्यमा केवल नायिकाको मृत्यु हुन्छ, त्यो पनि सती गएर । नायिकाको मृत्युले विरहमा परेका नायक घर छोडेर जान्छ र आमा एक्लै हुन्छे । यसरी यस काव्यमा पनि मूल तीन पात्र एक अर्कासँग छुट्टिन्छन्, जुन मृत्यु सरह नै हो भन्दा कुनै अत्युक्ति नहोला । 

“मुना–मदन” र “जि वया लछि मदुनि” दुवै काव्यले पाठकहरुको मनलाई रुवाउँछन् । यसरी दुवै काव्य पाठकहरुको मन जित्न सफल भएको देखिन्छ ।

“मुना–मदन” र “जि वया लछि मदुनि” काव्यमा कथा मात्र होइन, प्रस्तुतीकरण समेत उस्तै देखिन्छ । दुवै काव्यको वियोगान्तमा मात्र नभई शुरुआतमा समेत एकै किसिमको दृश्य हुने, नायक तिब्बतमै चाँडै फर्कन्छु भन्ने आश्वासन दिने जस्ता क्षण दुरुस्त उस्तै छन् । यति मात्र नभई कथामा मुख्य पात्रहरुको पनि एकै किसिमले चित्रण गरिएको छ, विधवा सासू, बेरोजगार नायक, यौवनले कलकलाएकी नायिका, दुष्ट साथी आदि दुवै काव्यमा उस्तै छन् ।
“जि वया ला लछि मदुनि” गीतिकाव्यमा नायकले आफू चाँडै फर्केर आउने अश्वासन दिँदै नायिकालाई यसो भन्दै फकाउँछ—

द छि नि दँ जक चोना वय न्हा
(फर्कन्छु है एक दुई वर्ष मात्र बसेर)

“मुना–मदन” खण्डकाव्यमा पनि नायकले यस्तै उद्गार पोख्छ । “जि वया ला लछि मदुनि”मा एक दुई वर्षको उल्लेख भएको छ भने “मुना–मदन”मा बीस चालीस दिनको मात्र उल्लेख छ ।
“जि वया ला लछि मदुनि” काव्यमा तिब्बतको बाटो कठिन भन्ने कुराको प्राकृतिक चित्रण यसरी गरिएको छ : 

“मुना–मदन” र “जि वया लछि मदुनि” काव्यमा कथा मात्र होइन, प्रस्तुतीकरण समेत उस्तै देखिन्छ । दुवै काव्यको वियोगान्तमा मात्र नभई शुरुआतमा समेत एकै किसिमको दृश्य हुने, नायक तिब्बतमै चाँडै फर्कन्छु भन्ने आश्वासन दिने जस्ता क्षण दुरुस्त उस्तै छन् । यति मात्र नभई कथामा मुख्य पात्रहरुको पनि एकै किसिमले चित्रण गरिएको छ, विधवा सासू, बेरोजगार नायक, यौवनले कलकलाएकी नायिका, दुष्ट साथी आदि दुवै काव्यमा उस्तै छन् ।

थसोया परबत कोसोया समुदर
समुदर हुनुहुन हाल न्हा
सिमाहल लासा लासे लोहात फुगा तसे
नगुतिन फागा फासे दिल न्हा

(माथि हेरे पर्वत, समद्र तल डरलाग्दो
स्याउला डसना, ढुंगाको तकिया, सिरक ताराको)
“मुना–मदन”मा देवकोटाजी प्राकृतिक चित्रण यसरी वर्णन गर्छन्

डाँडा र काँडा, उकाला ठाडा जंघार हजार
भोटको बाटो ढुंगा र माटो नङ्गार उजार 
स्याउला चीसा ओछ्यान खासा जाडोले बज्ने दाँत
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात

यहाँदेखि तिब्बतसम्मको दूरी र यात्राको वास्तविकताबारे विचार गर्ने हो भने चालीस दिन भन्नुभन्दा एक–दुई वर्षको उल्लेख उपयुक्त हुन आउँदछ । चालीस दिनमा ल्हासा पुगी पैसा कमाउनु भनेको सम्भवको कुरा होइन, तर मुनालाई फकाउनका लागि मात्र भनेको हुनाले मदनलाई तिब्बतमा हैजा लागेको कुरा बालकृष्ण समले ‘मुकुन्द इन्दिरा’मा उल्लेख गरेको ‘ऐंसेलुको रुख’जस्तै हास्यास्पद छ । जाडो ठाउँ भएकोले ल्हासामा तथा हाम्रो उत्तरी भेगतिर पनि हैजा रोग अहिलेसम्म सुन्न पाइएको छैन । कुनै पनि साहित्यकारले रचना गर्दा कल्पनामा मात्र उड्न खोज्दा स्वाभाविकताबाट हुत्तिएर जीवनको वास्तविकताबाट टाढिनसक्छ भने लेखक गरिमामा समेत धक्का पुर्‍याइदिन्छ । “मुुना–मदन” काव्यमा चालीस दिनभित्र कमाएर ल्याउने कुरा र “हैजा”को घटनाले काव्यको स्वाभाविकतामा ठेस पुर्‍याएको छ ।

चालीस दिनमा ल्हासा पुगी पैसा कमाउनु भनेको सम्भवको कुरा होइन, तर मुनालाई फकाउनका लागि मात्र भनेको हुनाले मदनलाई तिब्बतमा हैजा लागेको कुरा बालकृष्ण समले ‘मुकुन्द इन्दिरा’मा उल्लेख गरेको ‘ऐंसेलुको रुख’जस्तै हास्यास्पद छ ।
एकपटक देवकोटा गोसाइँकुण्ड जाने क्रममा बाटोमा बिरामी पर्दा उनलाई स्थानीय भोटेहरुले खूब स्याहारसुसार गरी निको तुल्याई फर्काएका थिए रे भन्ने सुन्नमा पाइन्छ । यदि यो कुरा सत्य हो भने उनले आफ्नो काव्यमा भोटेको मानवीय व्यवहारको उल्लेख गर्न “हैजा”को विषय उल्लेख गरेको हुन सक्छ । अनि आपत्विपत्मा मानवसेवा गर्नु नै ईश्वरको सेवा गर्नु हो भन्ने दर्शन दिन खोजिएको होला ।

“मुना–मदन”मा महाकवि देवकोटाले गरेको मुनाको सौन्दर्य र प्राकृतिक वर्णण, ल्हासाका मानिसहरुको स्वभाव, ल्हासाका दरबारको वर्णन इत्यादि उत्कृष्ट कल्पनाका अद्वितीय नमुना हुन् । अवश्य, यी वर्णनले महाकवि देवकोटाको प्रतिभालाई यथेष्ट झल्काउँछन् । सायद यी विषय “जि वया ला लछि मदुनि” गीतिकाव्यमा छैनन् भनी बुद्धिजीवी भनाउँदा साहित्यकारहरु फलाक्दो होलान् । त्यसो भन्नुभन्दा अगाडि दुवै काव्यको लम्बाइबारे पनि सोच्नु आवश्यक हुन आउँछ । यसबारे विचार गर्दा चार लाइनको श्लोकले जम्मा ३२ श्लोकको “जि वया ला लछि मदुनि” गीतिकाव्यमा आठौं संस्करणदेखि ५२ पेजको आकार लिई निस्केको “मुना–मदन” खण्डकाव्यमा जस्तै चित्रण, वर्णन कसरी हुन सक्ला ?

अर्का कुरा महाकवि देवकोटा साहित्य क्षेत्रमा देखा परेको समयमा पश्चिमी साहित्यको प्रभाव पनि निकै परिसकेको थियो । “जि वया ला लछि मदुनि” काव्यको रचना हुँदा पाश्चात्य साहित्य भित्रिनु त कहाँ हो कहाँ, त्यसको छायासम्म पनि आउन पाएको थिएन । यस दृष्टिकोणले पनि “मुना–मदन”मा जस्तो “जि वया ला लछि मदुनि” काव्यमा कल्पनाको तीव्र उडान नभएको हुनसक्छ ।

“मुना–मदन” खण्डकाव्यको दाँजोमा “जि वया ला लछि मदुनि” गीतिकाव्य फुच्चे भएता पनि कथानक, घटना, पात्र, प्रायः सबका सब यी काव्य एउटै धरातलमा पलाएर पनि यस काव्यले विविध विषयवस्तुलाई भित्र्याएझैं लामो “मुना–मदन”ले भित्र्याउन सकेको छैन । “जि वया ला लछि मदुनि”ले सती प्रथा अमानवीय भएको र यसलाई रोक्ने प्रयास चन्द्रशमशेरको समयभन्दा पहिलेदेखि नै भइरहेको झलक निम्न पंक्तिले देखाउँछ—

कुनै पनि साहित्यकारले रचना गर्दा कल्पनामा मात्र उड्न खोज्दा स्वाभाविकताबाट हुत्तिएर जीवनको वास्तविकताबाट टाढिनसक्छ भने लेखक गरिमामा समेत धक्का पुर्‍याइदिन्छ । “मुुना–मदन” काव्यमा चालीस दिनभित्र कमाएर ल्याउने कुरा र “हैजा”को घटनाले काव्यको स्वाभाविकतामा ठेस पुर्‍याएको छ ।

लायकुया प्रधान वल थवथिति फुक्क मुन
सकसिन वनेमते धाल न्हां

(भेला भए आफन्त अनि दरबारी भारदार 
जे हुनु भयो नजाऊ सती भने बारबार)

यसरी “जि वया ला लछि मदुनि” काव्य तत्कालीन समस्या प्रस्तुतमा मात्रै होइन, नेपालका सांस्कृतिक रीतिरिवाजलाई पनि दर्शाउन सफल भएको देखिन्छ । यात्रामा कुनै बिघ्नबाधा आई नपरोस्, गर्न लागेको काम साफल्य होस् भन्ने मंगलकामना गर्ने नेपालीहरुको परम्परा छ । “जि वया ला लछि मदुनि”मा नायक तिब्बत जान लाग्दा नायिकाले गरेको विरहको वर्णन यसरी प्रस्तुत गरिएको छ—

जव ल्हाति सगुन फसे खव ल्हातिं खोबि हुसे
जि प्रभु लिफः मसोसे झाल न्हां

(दाया हातले सगुन थाप्दै, पुछें आँसु बायाँले
फर्की हेर्न सकेन प्रभु जस्तो मायाले)

“मुना–मदन” कल्पनाको उडानमा एउटा मार्मिक कथा मात्र भएर सरर बगेको देखिन्छ । कुनै पनि साहित्यको निर्माण गर्दा साहित्यकारले आफ्नो कल्पनाको कुचीले सामाजको रुपरेखाको चित्रणको साथै कुनै पनि विसंगतिको व्याख्या गरिदिनु साहित्यकारको कर्तव्य हुनु आउँदछ ।

“जि वया ला लछि मदुनि” गीतिकाव्य पनि नेपालको आफ्नै मौलिक लोकलय “सिन्हाज्या” मा रचिएको छ । यो लय किसानहरुले असारे खेती गर्दा गाउने भाकाको भए पनि अरु बेला समेत सुखदुःखको अनुभव गरी गाउने
लोकप्रिय लय हो । त्यसरी नै “मुना–मदन” पनि नेपालको लोकलय “झ्याउरे”मा रचिएको छ । यो लय विशेष गरी “रत्यौली”मा गाउने चलन छ ।

के महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “मुना–मदन” खण्डकाव्य रच्नमा नेपालभाषाको प्राचीन काव्य “जि वया ला लछि मदुनि” बाट प्रेरणा पाएको होइन होला त ? यो सोचनीय विषय हो । पाश्चात्य साहित्यको प्रभाव समेत उतिबेलाको नेपालको साहित्यमा नेपालकै अरु भाषाको प्रभाव पनि पर्न सक्नु कुनै आश्चर्य र अनौठो होइन ।
यसरी “मुना–मदन” रच्नुभन्दा एक शताब्दीअगाडि रचिएको नेपालको साहित्याकाशमा देखिने “जि वया ला लछि मदुनि” गीतिकाव्य र भर्खर ३४–३५ वर्ष मात्र पुगेका “मुना–मदन” खण्डकाव्यको विश्लेषणात्मक अध्ययन गरेको खण्डमा “मुना–मदन”जस्तो काव्य नेपालको साहित्यकाशमा धेरै रचिएको थियो भन्ने स्पष्ट आउँछ । र, यिनै लोकप्रिय कृतिहरुको आधारमा धेरै वर्षपछि “मुना–मदन” रचिएको हो भन्ने किटान समेत गर्न सकिन्छ । यसरी हेर्दा नेपाली साहित्यमा चर्चित “मुना–मदन”को अग्रज काव्य नेपालभाषामा धेरै देखिन्छन् । विशेष गरी “जि वया ला लछि मदुनि”लाई यसको अग्रज काव्यका रुपमा लिन सकिन्छ । 

यहाँनेर कविवर माधवप्रसाद घिमिरेले आफ्नो सफल “राज–राजेश्वरी” खण्डकाव्य नेपालभाषाको प्राचीन काव्य “महारानी विद्यालक्ष्मी विदेशन थेंके हल” बाट प्रभावित भएर लेखेको भन्ने कुरा राज–राजेश्वरीको भूमिकामा उल्लेख गरिएको प्रसंग मननीय हुन्छ । के महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “मुना–मदन” खण्डकाव्य रच्नमा नेपालभाषाको प्राचीन काव्य “जि वया ला लछि मदुनि” बाट प्रेरणा पाएको होइन होला त ? यो सोचनीय विषय हो । पाश्चात्य साहित्यको प्रभाव समेत उतिबेलाको नेपालको साहित्यमा नेपालकै अरु भाषाको प्रभाव पनि पर्न सक्नु कुनै आश्चर्य र अनौठो होइन ।

“मुना–मदन” र “जि वया ला लछि मदुनि” बारे लेख्ने सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा बनारसमा पढ्दाका सहपाठी, काठमाडौं चिकंमुगलको लाखेननि निवासी ९५ वर्षीय गणेशलालले विद्यालयको एक कार्यक्रममा देखाइएको मर्मान्तक ब्यालेपछि देवकोटाले ‘नेपालभाषामा धनी भएर पनि यस्तो मार्मिक साहित्यको अभाव छ’ भनेपछि आफूले “जि वया ला लछि मदुनि”को कथा सुनाइदिएको र त्यसबाट असाध्यै प्रभावित भएर सोही राति यस्तै किसिमको कविता लेखेर देवकोटाले भोलिपल्ट सुनाएको कुरा सुनाएका थिए । त्यसैले साहित्यकारहरुले कुनै पनि साहित्यको मूल्यांकन बिनापूर्वाग्रह निष्पक्ष रुपमा गर्नुपर्दछ । साथै कुनै पनि साहित्यकारले साहित्यको सृजना गर्दा आफू कुन रचनाबाट प्रभावित भएको छ भन्ने माधवप्रसाद घिमिरेले झैं त्यसको छिस्को मात्र भए पनि उल्लेख गर्ने कर्तव्य र इमानदारिता देखाइदिए भावी सन्ततिले सन्तोषको श्वास फेर्न पाउँछन् ।
“Ji Wayala Lachhi Maduni (Pushpa Chitrakar)”. Academia.edu. Retrieved 19 July 2013.
लेखक इतिहासकार हुन् । (इसमताबाट साभार) 

प्रकाशित मिति: Sunday, January 24, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।