मृत्युदण्ड दिन लागिएका कवि असरफ फयादका कविता
- राजा पुनियानी
धर्म अवमानना, कवितामार्फत नास्तिकताको प्रचार, मोबाइलमा नारीचित्र लिएको आरोपमा साउदी अरबले मृत्युदण्ड दिन लागेका प्यालेस्टिनी कवि कलाकार हुन् फयाद । ३५ वर्षका फयादमाथि मनपरी रुपमा तोकिएको सजायविरुद्ध विश्वभरि प्रतिरोधको आवाज उठिरहेको छ । प्रस्तुत छ उनका केही कविताहरु ।
१.
गरिबीको मोसो पोतिदिनु सिवाय
त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन
जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ
जुन दिन जनताको उपयोगको लागि जीवन
तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट अझ्झै बेसी तेल निकाल्न
खासमा यो तेलले खाएको कसम हो
साँचो कसम
२.
भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ
त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल
नदीको पिँधबाट आफैलाई हेर्नू
माथिल्तिर हुनेले फेदमा बस्नेलाई दयादान गर्नुपर्ने हो
विस्थापित असहाय छ
तेल बजारमा बिक्री नहुने खुनजस्तै
३.
मलाई माफ गरिदेऊ
तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ
तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ
मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ
मैले कुनै प्रेम भेटिनँ तर तिमीलाई
केवल तिमीलाई पाएँ
र म तिम्रो पहिलो चाहनेवाला हुँ
४.
ए रात
तिमीसँग समयको अनुभव छैन
तिमीसँग बर्खा पनि छैन
जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष
जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट
जसलाई तिमीले धर्मपरायणता भनेको थियौ
र मुटुबाट
जुन लायक छ
प्रेमको खेलको र तिम्रो अश्लीलताको चिरफारको
त्यो थिलथिले धर्मबाट
त्यो झूटो ताञ्जीलबाट
ती भगवानबाट जसले उहिल्यै आफ्नो इज्जत गुमाइसकेका छन्
५.
अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ
जस्तो कि ग्राहक लोभ्याउन
रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले
डिजेको गीति तालसँगै तिमी आफ्नो भ्रमको बयान गर्छौ
र प्रशंसा गर्छौ ती जिउहरूको
जो झुलिरहेका छन् निर्वासनको गीतमा
६.
हिँड़्ने
या यताउति हल्लिने
या रूनेसम्म हक छैन यद्यपि ऊसित
उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन
अथवा उसको हावा, रद्दी र आँसु ताजा गर्ने
तिमी पनि त कस्तो भुल्छौ अनि
कि तिमी रोटीको एउटा टुक्रा हौ
७.
निर्वासनको दिन
नाङ्गै उभिन्छन् उनीहरू
जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ
यो खुट्टाको लागि स्वस्थकर हुनसक्ला
तर धर्तीको लागि होइन
८.
भविष्यवेत्ताहरू रिटायर भए
सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ
तिम्रो लागि
दैनिक रिपोर्ट बनाउँछन् सुराकीहरू
र मोटो तनाखा थाप्छन्
एउटा इज्जतको जीवन बाँच्न
कत्ति महत्त्वपूर्ण छ पैसा
९.
मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्
देशनिकाला नभई
दैविक सृष्टि नभई
मेरो आकारमा कुनै दैविक छुवाइबिना नै
म पुनर्जीवित भएको छु
म यो पृथ्वीमा नर्कको अनुभव भएर छु
पृथ्वी त आखिर
रेफ्युजीहरूको लागि बनाइएको नर्क न हो
१०.
तिम्रो मूक खुन बोल्ने छैन
जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ
जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको
गुप्ती घोषणा गरिरहनेछौ
तिम्रो आत्मा गुमाउनुले निक्कै खर्चिने छ समय
तेलको आँसु रोएका तिम्रा आँखालाई
फकाउन लागेको समयभन्दा धेरै ।
(सन् २००८-मा दर त-फरबी, बेरुइतद्वारा प्रकाशित फयादको कविता किताब ‘इन्स्ट्रक्शन्स विदिन’-बाट। यो किताब सउदी अरबमा प्रतिबन्धित छ। अरबीबाट अङ्रेजी अनुवाद मोना करीम। नेपाली अनुवाद– राजा पुनियानी)
सौजन्य: इसमता
प्रकाशित मिति:
Saturday, January 16, 2016
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।