स्थानीय निकाय निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगको आग्रह

२०७२ पुष २४। निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । साथै उसले स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐनको संशोधन गर्न समेत आग्रह गरेको छ । 

आयोगका पदाधिकारीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोगले स्थानीय निकाय निर्वाचनको आन्तरिक तयारी गरिरहेको बताएका छन् । आयोगले मतदाता नामावली सङ्कलन, मतदानकेन्द्रको स्तरोन्नति लगायतका तयारीबारे जानकारी गराएको छ । 

निर्वाचन आयुक्त इला शर्माले निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई नै दिन समेत ध्यानाकर्षण गराएकी छन् । निर्वाचन मितिको निश्चितता भए मात्र निर्वाचनको पूर्व तयारी राम्रोसँग हुन सक्ने र निर्वाचनको गुणात्मक पक्ष बलियो हुने उनको भनाइ थियो । 

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचन छिटो सम्पन्न गर्न सके भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण तथा विकास निर्माणसँग सम्बन्धित अन्य कार्यहरूमा समेत सघाउ पुग्ने बताए ।उनले निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचनमा मतदाता परिचयपत्रको अनिवार्यतातर्फ आयोगको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आवश्यक कानूनहरूमा गरिनुपर्ने संशोधन लगायतका प्रक्रिया छिटो सम्पन्न गर्ने आश्वासन दिएका छन् ।
(अनलाइनखबरबाट)

प्रकाशित मिति: Friday, January 08, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।