सत्ताको आडमा नेताहरुको बैंक ब्यालेन्स बढ्छ, कसरी उभो लाग्छ देश !

  • लोकनारायण सुवेदी 
प्रकृतिका नियमहरु तोडिँदैनन् ती स्वपरिचालित छन् । त्यसैले सम्बत्सरहरु पनि नियमानुसार फेरिन्छन् । तर मानिसका र खासगरी समाज, देश र राष्ट्रको जिम्मेवार र निर्णायक तहमा बसेका मानिसहरु नियमबद्ध किसिमले चलेनन् भने मुलुकका समस्या पनि हल हुँदैनन् । अहिले हाम्रो राजनीतिक नेतृत्व त्यसरी नै चलेको छ । फलतः राजनीतिक परिवर्तनलाई देश र जनताको हितमा प्रयुक्त नगरी केही दलका नेतृत्वको निहीत स्वार्थका लागि मोड्ने सर्बसत्तावादी सोच, व्यवहार र विकृतिजन्य राजनीतिक संस्कृतिले गर्दा देशमा जुन स्थिति आज सिर्जना भएको छ त्यो अत्यन्तै अत्याशलाग्दो छ र असैह्य खालको छ ।

देश र जनताप्रति समर्पित नभएको र तिनबाट अलग्गिएको यस्तो सत्ता र श्रोत साधनका निमित्त मात्र गरिने अस्वीकार्य गतिविधि र ताण्डवलाई नै लोकतन्त्रको जलप लगाएर चलाउने परिपाटीले राष्ट्रका कुनै पनि वास्तविक समस्याहरु हल हुँदैनन् । त्यसले गर्दा बेलाबेलामा समस्याले विस्फोटक रुप लिन्छन् भन्ने कुरा विश्वका विभिन्न देश र नेपालकै पनि आजसम्मका अनेक अर्थ–राजनीतिक आन्दोनलले एकदमै प्रष्ट पारेका कुरा हुन् ।

सत्ताको आडमा राष्ट्र र जनताको सम्पत्ति लुटेर ब्याङ्क ब्यालेन्स बढाएकाहरुबाट यस्तो महती कार्य सम्पन्न गर्नसक्ने कुनै विश्वासिलो आधार छैन र विलकुलै बन्दैन पनि ।
आजसम्मको हाम्रो यस्तो अनुभवको परिप्रेक्षमा मुलुकले एकाएक सही मोड लेला भनेर विश्वास गरिहाल्ने आधार पनि बन्दैन र कसैले विश्वास पनि गर्दैन । वास्तवमा हाम्रो देशको राजनीति अत्यन्तै गलत किसिमले प्रतिक्रियात्मक र आवेगात्मक ढंगले सनकका भरमा जस्तो गरी चलाइँदै आएको छ । परिणामतः त्यसले कुनै दलको कुनै गुटलाई कुनै समयमा सहयोग पु¥यायो या पुग्यो होला । तर समग्र देश र जनताको हिसावले त्यो प्रत्युत्पादक नै बन्ने गर्‍यो र बन्दै आएको छ । गलत राजनीति चलाएपछि यो कुरा वास्तवमा त्यसको स्वाभाविक परिणति हुन पुग्छ नै । आजको हाम्रो राष्ट्रिय राजनीतिको नियति पनि यस्तै हुँदै आएको छ र भइरहेको छ ।
निश्चय पनि जबसम्म राज्यको हरेक अंगप्रत्यंग र पक्षहरुमा डेमोक्रेसी (लोकतन्त्र)मा मेरिटोक्रेसी (योग्यता) को कदर हुँदैन; नातावाद र कृपावाद उन्मुलन गरिँदैन;

जबसम्म कालाबजारिया, तस्कर, भ्रष्ट्राचारी, घुसखोरी, आतंकवादी, अपहरणकारी, महिला बेचबिखन र बलत्कारी जस्ता जघन्य अपराधीलाई हदैसम्मको दण्ड सजायको व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने परिपाटी बस्दैन; राज्य, सरकार र निजी क्षेत्रको आधारभूत क्षमता अभिवृद्धि गरिदैन;

जबसम्म बस्तु र सेवा जनतालाई सही समयमा उपलब्ध गराउने सुशासनको प्रत्याभूति हुँदैन; अनि मुलुक हाक्ने राजनीति मूल्य, मान्यता र नैतिकतामा आधारित हुँदैन; स्वस्थ्य, स्वाबलम्बी र आत्मनिर्भरमुखी अर्थतन्त्र निर्माणको जग बलियो बनाइँदैन;

जबसम्म किसानहरूले सुनिश्चित भविष्य बन्ने गरी सहज ढंगले खेती गर्न पाउँदैनन्; उद्यमी, व्यापार–व्यवसायीहरूले सुपथ रूपमा उद्योेग–व्यापार गर्ने परिस्थिति बन्दैन;

जबसम्म न्यायलयमा निष्पक्ष निर्णय हुँदैन र पीडितले न्याय पाउँदैन; वुद्धिजीविहरू अर्काको दाश हुनबाट जोगिदैनन् र कुनै पद पाउनका निमित्त चाडकी बजाउन लागि पर्दछन्; जबसम्म जातीय विद्वेष र घृणा समाप्त हुने उपयुक्त धरातल बनाइँदैन अनि निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको साधन र श्रोतमाथि सार्थक पहुँच हुँदैन अनि आर्थिक विकासको लागि अति आवश्यक भौतिक आधारभूत संरचना खडा गरिँदैन,

लोकतन्त्र आएपछि बडो आतुरताका साथ सत्ताको सिढी चढेका वा चढ्न हतार गर्ने गरेकाहरुले ‘जो हात सो साथ’ गर्ने हिजोकै पुरानो सामन्ती तथा आजको नवसामन्ती परिपाटीमा चुर्लुम्म डुबेर हिँडेको देखियो । जसको परिणाम आज देश र जनताले नराम्रोसँग भोगिराख्नु परेको छ ।
जबसम्म टुकी बाल्ने मटितेल र पिउने एक थोपा पानी पाइँदैन, भूकम्प पीडितलाई बचाउने कोही हुँदैनन्, अनन्त अर्थहीन आन्दोलन समाप्त नभएर चलिरहन्छन् र बाह्य शक्तिले गरेको अनैतिक नाकावन्दी खुल्दैन अनि त्यस्तो अवस्थामा पनि जनताको संरक्षक कोही हुँदैन भने त्यो राष्ट्रको भविष्य उज्ज्वल हुँदैन र सभ्यता पनि जीवन्त बन्दैन र रहँदैन ।

यो दुनियाँको इतिहासले देखाएको वस्तुगत र ऐतिहासिक यथार्थ पनि हो । त्यसैले देशमा अभ्रष्ट, अविवेकबाट मुक्त र असन्तुलित ढंगले चल्नबाट जोगिन सक्ने इमानदार राजनीतिक नेतृत्वको खोजी भइरहेको छ । जनताको चौतर्फी असन्तुष्टीले नै यस्तो विकल्पको वातावरण बन्ने गर्दछ । मुलुक फेरि चाहेर नचाहेर त्यही दिशातर्फ सोझिँदै जान थालेको छ ।

यद्यपि सत्तामा गिर खेलेर तर मारेकाहरुले आफुलाई जतिसुकै डेन्टिङपेटिङ गरेर प्रस्तुत गर्न खोजे पनि पुरानै तरीकाले चल्दा यो समस्याको कीमार्थ समाधान हुँदैन र त्यो कुनै राष्ट्रिय समस्या समाधानमुखी विकल्प हुन सक्तैन भन्ने यथार्थ पछिल्लो राजनीतिक परिवर्तनपछिको राजनीतिक परिचालन, व्यवस्थापन र परिणामले प्रष्ट पारेको छ । यस स्थितिलाई बदल्ने र चल्ने साँच्चिकै दृढ संकल्प, राजनीतिक इच्छाशक्ति र साहसको खाँचो आज सर्वत्र देखिएको छ । वास्तवमा यो नैतिकता र इमानदारीको नै संकट हो । त्यो संकट मोचन नभइकन वैज्ञानिक र व्यवहारिक तर्क, विवेक, क्षमता र सीप भएका जो कोही गुणवान व्यक्तित्व पनि किनारामा धकेलिने र पछि पर्ने कुरा निश्चित छ । कम्तिमा लोकतन्त्रमा यस्तो हुनु नहुने हो । किनभने लोकतन्त्र गुणका आधारमा चल्ने व्यवस्था हो भन्ने गरिन्छ ।

हाम्रो देशको राजनीति अत्यन्तै गलत किसिमले प्रतिक्रियात्मक र आवेगात्मक ढंगले सनकका भरमा जस्तो गरी चलाइँदै आएको छ त्यसले कुनै दलको कुनै गुटलाई कुनै समयमा सहयोग पुर्‍यायो या पुग्यो होला तर समग्र देश र जनताको हिसावले त्यो प्रत्युत्पादक नै बन्ने गर्‍यो र बन्दै आएको छ ।
तर लोकतन्त्र आएपछि बडो आतुरताका साथ सत्ताको सिढी चढेका वा चढ्न हतार गर्ने गरेका कसैले पनि यसको हेक्का राख्न खोजेको पटक्कै देखिएन । बरु उनीहरु ‘जो हात सो साथ’ गर्ने हिजोकै पुरानो सामन्ती तथा आजको नवसामन्ती परिपाटीमा चुर्लुम्म डुबेर हिँडेको देखियो । जसको परिणाम आज देश र जनताले नराम्रोसँग भोगिराख्नु परेको छ ।

हुन पनि परिवर्तनपछिको हाम्रो सत्तामा पुग्दै आएको राजनीतिक नेतृत्व, विश्वास र भरोसालाग्दो विलकुलै बन्न सकेन र बन्ने प्रयत्न पनि गरेन । त्यो राजनीतिक, आर्थिक र वैदेशिक सम्बन्धका तीनै मोर्चामा एकदमै असफल र पराश्रित मात्रै देखियो । अहिलेको संकट अर्थात् भूकम्पपछिको जनराहत व्यवस्थापनमा कमी र व्यापक भ्रष्टाचार, संविधान निर्माणमा मूल मुद्दामा सहमतिको अभाव र उत्पन्न असन्तुष्टी तथा भारतीय मोदी सरकारको अनैतिक र अमानीिय नाकाबन्दी यी तीनै क्षेत्रमा राजनीतिक नेतृत्व (सत्ता र प्रतिपक्ष) पूर्णतः असफल र ‘किम कर्तव्य विमूढ’को जस्तै अवस्थामा रहेको देखिनुले यो कुराको पुष्टी गरिरहेको छ । यसले गर्दा आन्तरिक र बाह्य दुवै क्षेत्रमा राजनीतिक नेतृत्व, सरकार कसैको पनि बिश्वसनीयता कायम रहन सकेको छैन ।

राजनीतिक परिवर्तनले ल्याएका उपलब्धीहरुलाई संस्थागत गर्ने क्रममा नै यस्तो नाजुक स्थिति देखिनु कुनै शुभ संकेत विलकुलै दिँदैन । बरु यसले देश र जनतलाई अझै अन्यौल, अस्थिरता र अनिश्चिताकै माहोलमा अल्मल्याउने कुरा भने निश्चित छ । यस स्थितिलाई चिरेर अघि बढ्नका लागि अहिले ब्याप्त भ्रष्टाचार, जनता र राष्ट्रप्रतिको गैर जिम्मेवारी, औसरबादीता, बेइमानी र धोकाधडीको राजनीतिका बिरुद्ध सशक्त किसिमले खडा हुनु अत्यावश्यक छ । यसरी जनता र देशप्रति तिनका समस्या समाधान गर्ने विशुद्ध भावनले समर्पित राजनीतिक संस्कृतिको निर्माण आजको सर्वोपरी खाँचो भएको छ ।

सत्ताको आडमा राष्ट्र र जनताको सम्पत्ति लुटेर ब्याङ्क ब्यालेन्स बढाएकाहरुबाट यस्तो महती कार्य सम्पन्न गर्नसक्ने कुनै विश्वासिलो आधार छैन र विलकुलै बन्दैन पनि । त्यसैले आज जनताप्रति इमानदार, समर्पित र स्वच्छ मानिसहरुको एकता सर्वोपरी आवश्यकता बन्न गएको छ । त्यसले मात्र राष्ट्रिय राजनीतिप्रति एउटा विश्वासिलो जगको निर्माण गर्न सक्तछ । अन्यथा सम्बतसर फेरिँदै गर्छ, तर हाम्रो सन्दर्भहीन चिन्तन, चरित्र र व्यवहार भने फेरिएको हुँदैन र जति वर्ष बिताए पनि नेपाल बिश्वमा एउटा पराश्रित, पिछडिएको र निर्धनत्तम् देशहरुमध्येको एक भएर रहन्छ । त्यसैले अब सकिने कि सच्चिने अन्तिम संघारमा हामी पुगेका छौ, हाम्रो देश पुगेका छ । जस्तो रोजिन्छ त्यस्तै परिणाम आउँछ नै ।

हाम्रो चिन्तन, चरित्र, आचरण र ब्यवहारमा जुन छिचरो र बिसंगतिपूर्ण देखिदै आएको छ त्यसले हरेक वर्ष फेरिने सम्वत्सरसँग कुनै तादाम्यता राख्दैन । समय आफ्नै वैज्ञानिक गतिमा हिँडिरहन्छ । समयको पदचापलाई बुझेर अघि बढ्न सकेमा मात्र देश र जनतालाई उध्र्वगमी र अग्रगामी दिशामा डो¥याउन सकिन्छ । अन्यथा फेरि पनि हाम्रो नियति एउटा पछौटे र दरिद्रतम देशबाहेक अरु केही हुने छैन ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।)
साभार: इसमताबाट।

प्रकाशित मिति: Sunday, January 03, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।