यात्रुमाथि बसवालाको दुर्व्यवहार, प्रहरीले कारबाहीको सट्टा उल्टै पीडितलाई हप्काए

२०७२ पुस २६। काभ्रेकी ४२ वर्षीया शोभा गुरुङ गत १९ गते कोटेश्वरबाट घर जान ६२५५ नम्बरको हेलम्बु जाने बस चढिन् ।

भक्तपुरको साँगा पुग्दा नपुग्दै बसको सहचालकले बसको भाडा माग्यो । ‘मैले २०/२० रुपैँयाको दुई वटा नोट दिएं’, उनले भनिन्,‘उनले ५० रुयैँया हो भाडा भन्दै मलाई अपशब्द बोल्दै गाली गर्‍यो ।’ ‘म सँधै सार्वजनिक बसमा यात्रा गर्ने मान्छे मलाई भाडाको विषयमा विवाद नगर्नु भन्दा मेरो हातको पैसा खोसी च्यातेर ६ टुक्रा बनाई मेरो मुखमा फाली जङ्गलको बीचमा गाडीबाट झार्न खोज्यो,' उनले गुनासो गरिन् । कोटेश्वरबाट बनेपा सम्मको भाडादर ३७ रुपैयाँ हो । ‘गाडीबाट जङ्गलको बीचमा झार्न खोजेपछि १०० नम्बरमा फोन गर्दा भक्तपुरको प्रहरीले बनेपा प्रहरीलाई फोन गर्न आग्रह गर्‍यो’, उनले भनिन् ।

बनेपाबाट सडकमा खटिएका प्रहरीलाई उजुरी गर्दा वास्ता नगरेको उनले बताइन् । ‘बनेपाको प्रहरीलाई उजुरी गर्दा उल्टो कुरा गरेको भन्दै थप सहचालकको पक्षमा बोल्यो’, उनले भनिन्,‘सडकमा खटिएका शान्तानारायण श्रेष्ठले मलाई नै गाली गरे।’ प्रहरीले बसको पक्षमा बोल्दै मान्छेको भिडमा हाँसी मजाक गरेको उनले बताइन् ।

सडक, सवारी र यात्रुको सुरक्षाको लागि सडकमा खटिएका प्रहरीले सार्वजनिक सवारीमा यात्रुलाई दुर्व्यवहार हुँदा समेत कुनै उजुरी नसुन्ने र पीडितको वास्ता नगर्ने जस्ता कार्य गर्दै आएको यात्रुहरुको गुनासो छ । ‘प्रहरीले दुर्व्यवहारको उजुरी नसुनेपछि पत्रकारलाई उजुरी गर्छु भन्दा पत्रकार र पत्रिकाकै खिल्ली उडाए’, उनले भनिन् । उक्त बसको सहचालकले लामोदुरीको बसको भाडा बढी हुन्छ भन्ने थाहा छैन भन्दै विभिन्न शब्दमा गाली गलौज गरेको उनले दुखेसो पोखिन् ।
(कान्तिपुरबाट साभार)



प्रकाशित मिति: Sunday, January 10, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।