पाठकविरुद्ध आयोगमै गम्भीर प्रकृतिका उजुरी

  • यम विरही । 
२०७२ माघ ७ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का पूर्वअध्यक्ष इडवड पेरिवेसलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट कब्जामा लिएको भन्दै छानबिनका लागि आयोगमै उजुरी परेको छ। 

पाँचतारे डिलक्स होटल निर्माणका लागि अध्ययन भ्रमणमा आएका पेरिवेसलाई पाठकले आफू मानवअधिकार आयोगको सदस्य रहेको बताउँदै जबरजस्ती कब्जामा लिएर धम्क्याएको दाबी उजुरीमा गरिएको छ। उनलाई धम्क्याएका कारण होटल उद्योगमा उनले गर्ने भनेको करोडौं लगानीबाट हात झिक्नुपरेको दाबी उजुरीमा छ। 

अमेरिकी नागरिक पेरिवेस विश्वका धनी व्यक्तिमध्येका एक व्यवसायीसमेत हुन्। जाउलाखेलस्थित सदर चिडियाखानामा रहेको ‘हिप्पोपोटामस’ उनैले उपहार दिएका थिए । नेपालका ठूला होटलमा उनको अहिले पनि अर्बौंको लगानी छ। 

होटलमा थप लगानीका विषयमा अध्ययनका लागि पेरिवेस २०७२ असोज २६ गते नेपाल आएका थिए । भ्रमण सकेर थाई एयरको जहाजबाट अमेरिका फर्कने क्रममा गत असोज ३० गते पाठकले पेरिवेसलाई विमानस्थलमै कब्जामा लिएर धम्क्याएको उजुरीमा उल्लेख छ।

उडानअगावै विमानस्थलमै पुगेर बसेका पाठकले दिउँसो साढे १ बजे स्वदेश फर्कन लागेका पेरिवेसलाई केही समय जबरजस्ती कब्जामा लिएर धम्की दिएको दाबी उजुरीमा गरिएको छ। पाठकमाथि छानबिन माग राखेर स्वतन्त्र होटल मजदुर संघका तर्फबाट सदस्य पूर्णबहादुर छन्त्यालले आयोगमा उजुरी दिएका हुन्।

नेपालमा लगानी गरेका होटल मजदुरमाथि अत्याचार गरेको भन्दै पाठकले पेरिवेसमाथि लाञ्छना लगाएको दाबी पनि होटल मजदुरको छ। आयोगमा उजुरी परेकाले विमानास्थलमै भेट्न आउनुपरेको भन्दै पाठकले धम्क्याएको आरोप उजुरीमा छ।

पेरिवेसले मेलमार्फत आफूलाई 'ह्यारेस' गरेका कारण अत्यन्त दुःखित भएको जानकारी छन्त्यालले आयोगलाई दिएका छन्। 'पाठकज्यूको धम्कीले आत्तिएका पेरिवेसले अमेरिका जाँदाजाँदै मेल गरी मलाई सुदीप पाठकले एयरपोर्टमा कब्जामा लिए र जबरजस्ती आफ्ना कुरा भने। 

मलाई ह्यारेस गरे। म अत्यन्त दुःखित छु', पेरिवेसले इमेलमार्फत लेखेको उक्त उल्लेख गर्दै उजुरीमा भनिएको छ, 'म अब नेपालमा लगानी गर्दिनँ।'

उनी निराश भएका कारण होटल मजदुर अत्यन्त दुःखित भएको पनि उजुरीमा उल्लेख छ। 

पेरवेसले सञ्चालन गरेका होटलमा मजदुरमाथि कुनै अन्याय नभएको दाबी छन्त्यालको छ। 'आयोगजस्तो गरिमामय निकायले यस्तो कार्य किन गर्‍यो?' उजुरीमा प्रश्न गरिएको छ।

विनाशकारी भूकम्प, बन्दहडताल र भारतीय नाकावन्दीका कारण राष्ट्रको आर्थिक अवस्था कमजोर भई जनजीवन कष्टकर बनेका बेला पाठकले गरेको कार्यबाट होटल मजदुर स्तब्ध भएको बताउँदै उजुरीमा आयोगको आधिकारिक धारणा सार्वजनिक गर्नसमेत माग गरिएको छ।

पाठक नेपाल मानवअधिकार संगठनको अध्यक्ष हुँदा संविधानसभाको दोस्रो निर्वाचनका बेला पर्यवेक्षकका लागि दातृ निकायबाट प्राप्त करोडौं बजेट दुरुपयोग गरेको आरोपसहित गम्भीर प्रकृतिका चारवटा उजुरी उनीविरुद्ध परेका छन्। उजुरीमाथि आयोग अध्यक्ष अनुपराज शर्माले गोप्य अध्ययन गरिरहेका छन्। 

'दर्ता भएका सबै उजुरी अध्यक्षले खिचेर राख्नुभएको छ । अध्ययनपछि मात्र सबै सत्यतथ्य आउला,' स्रोतले भन्यो, 'उजुरीमा पाठकलाई सदस्य पदबाट हटाउन माग छ।' पाठकले भने उजुरीका विषयमा आफूलाई जानकारी नभएको बताए। 'के उजुरी छन्, मलाई केही थाहा छैन। यत्तिकै हावामा उडेर भएन,' पाठकले बुधबार भने, ‘भोलि आयोगमा आउनुस् के रहेछ त्यहीं कुरा गरौंला।'
साभार: अन्नपूर्ण पोष्ट 

प्रकाशित मिति: Thursday, January 21, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।