इन्स्पेक्टर राईको पछिल्लो निशानाका ‘डन’ गाँजासहित भारतमा पक्राउ

२०७२ माघ ३। इन्स्पेक्टर राजकुमार राईले डाका मुद्दा अन्तर्गत खोजीको सूचिमा राखेका एमाओवादीको भातृ संगठन वाइसिएल मोरङ ९ का क्षेत्रीय उपाध्यक्ष सुशन लिम्बू भनिने राजेश्वर लिम्बू गाँजा र चोरीका सवारी साधनसहित भारतमा पक्राउ परेका छन् । 

झापा जिल्लाको मेची पुलपारि पानीट्याङ्कीको एक होटलबाट भारतीय प्रहरीले शुक्रबार राति लिम्बुलाई पक्राउ गरेको हो । उनका साथबाट ९ सय ग्राम गाँजा, नेपाली नम्बरप्लेटको एउटा मोटरसाइकल र एउटा बोलेरो गाडीसमेत बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । 

भारतको पश्चिम बंगाल खोरीबारी थानाका प्रहरीले लिम्बुलाई पक्राउ गरेको दार्जीलिङ जिल्लाका एसपी अमीत पी. जावलगीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । पक्राउ गरिएका लिम्बुलाई चार दिनको म्याद लिएर थुनामा राखिएको र अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

को हुन् लिम्बु ?
पक्राउ परेका लिम्बु एमाओवादीका स्थानीय नेता हुन् । विगतमा पनि लागूऔषध काण्डमा पक्राउ परेर जेलबाट छुटेका लिम्बुविरुद्ध डाका लगायतका विभिन्न मुद्दाहरु नेपालका विभिन्न प्रहरी कार्यालयमा छन् । मोरङको उर्लाबारीमा केही दिनअघि दिउँसै भएको लुटपाटमा संलग्न भई फरार रहेको भन्दै उर्लाबारी प्रहरीले उनको खोजी गरिरहेको थियो ।

गत भदौमा इटहरीमा निर्माण व्यवसायी भीम पौडेललाई १० लाख रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेको सामाचार काठमाडौं टुडे डटकम ले प्रकाशित गरेको थियो । पैसा नदिए पौडेललाई मारेर बुढी खोलामा फालिदिने भम्की दिएपछि लिम्बु पक्राउ परेका थिए ।

वाइसिएल नेता लिम्बुलाई एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीको संरक्षण रहेको स्थानीय एमाओवादी नेताहरु बताउँछन् । लागू औषध मुद्दामा जेलबाट छुटेपछि उर्लाबारीमा एमाओवादीले लिम्बुलाई अवीर लगाएर स्वागत समेत गरेको थियो । इटहरीमा बसेर आपराधिक गतिविधि गर्दै आएका लिम्बु त्यसपछि उर्लाबारीमा सरेका थिए । उर्लाबारीको चोकमा माओवादीले अबीर लगाएर स्वागतख गरेका बेलामा उनी लागूऔषध काण्डमा जेल भुक्तान गरेर छुटेका थिए ।

एमाओवादीले संरक्षण गरेको मात्रै नभई वाइसिएलको क्षेत्रीय उपाध्यक्षजस्तो जिम्मेवारीसमेत दिएको भए पनि लिम्बुको पृष्ठभूमि र वर्तमानसमेत आपराधिक रहँदै आएको छ । उनी लागूऔषध र अन्य फौजदारी अभियोगमा जेल पर्दै र छुट्दै गरेका व्यक्ति हुन् ।

उनी राजनीतिक संरक्षणमा गुण्डागर्दी पेशामा संलग्न थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार डाका मुद्दामा लिम्बुको खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीकै यसअघिका प्रमुख प्रहरी निरीक्षक श्रीराम भण्डारीको १० महिने कार्यकालमा पनि लिम्बुविरुद्ध दुई वटा सार्वजनिक अपराधका मुद्दामा लिम्बु खोजीको सुचीमा थिए ।

हाल उर्लाबारीबाट रानीपोखरी प्रहरी कार्यालयमा सरुवा भएका इन्स्पेक्टर भण्डारीले सुशन र उनको सूमहले प्रयोग गर्ने हन्क, आर वान ५ र बुलेट बाइकहरु नियन्त्रणमा लिई अनुसन्धान गरिहेको थियो ।

मोरङको मधुमल्लाका एक व्यक्तिसँग जग्गा विवादमा हत्या प्रयास गरी लिम्बु फरार भएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीमा अहिले पनि उनका तीनवटा मोटरसाइकल नियन्त्रणमै छन् । उनी सवारी साधन चोरीमा समेत संलग्न रहेको प्रहरीको आंशका छ। (मङ्गलबारे पेजबाट साभार) 

प्रकाशित मिति: Sunday, January 17, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।