सुरुवालको इँजारमा झुण्डेको, दौराको तुनामा अड्केको हाम्रो राष्ट्रियता

  • ससाङ्ग लामा 
२०७२ पुस २३। पछिल्लो समयमा राष्ट्रियता, देशप्रेम र नेपालीत्वबारे सन्चारमाध्यमहरुमा खासगरी विद्युतीय समाचार्-पत्र (अनलाइन पत्रिका), ब्लग र मुहार पुस्तिका (फेसबुक) आदिहरुमा थुप्रै विचार, प्रायोजित हल्ला र स्यालहुइँयाहरु प्रकाशमा आए | राजनीतिक वृत्तमै फलाना ‘र’को एजेन्ट, ढिस्काना साउथ ब्लकको नोकर, तिस्काना भारतीय राजदूतको धुपौरे आदि इत्यादि लान्छना लगाएर एकअर्काको राष्ट्रियतामै प्रश्नचिन्ह खडा गरे |

भारतविरोधी मानसिकता नेपालीहरुमा पहिलेदेखि नै थियो | पञ्चायतको नचाहिँदो राष्ट्रवादले भारतलाई घृणा गर्न हामीलाई सिकायो र त्यही घृणामा टेकेर राजा र पञ्चेले लामो समयसम्म हामीमाथि एकछत्र शासन गरे | अब रह्यो भारतीय हेपाइ र हस्तक्षेपको कुरा- ठुला देशहरुले फुच्चे देशहरुलाई विभिन्न मामिलामा औंला ठड्याउने र हस्तक्षेप गर्ने काम संसारकै चलेको नियम हो । नेपाल अपवादभित्र पर्दैन | तर त्यस्ता बलमिच्याइँहरुलाई साम, दाम, दण्ड, भेद, नीति अपनाइ बडो कुशलतापूर्वक सामना गर्नुपर्नेमा नेपालजस्तो ख्याउटे देशले एकोहोरो रुपमा “धोती मुर्दावाद” भनी हरहमेशा सडकमा उफ्रने मात्र काम गरेको खण्डमा सडकको धुलो सिवाय केही भेट्दैन |

पञ्चायतको ‘राष्ट्रवादी’ राजनीतिलाई गणतन्त्रेहरुले पनि अनुसरण गरेको देख्दा नेपालमा भएको परिवर्तनको उपहास भएको छ र अनि ‘राष्ट्रवाद’को कार्डलाई बहुसंख्यक नेपालीले अझैसम्म पञ्चायती आँखाले हेरेको देख्दा जनतामा राजनीतिक चेतना आएको भन्न सकिन्न |
संयुक्त राज्य अमेरिका, बेलायत, रुस, चीन र अन्य दादा भै टोपल्ने देशहरुले आआफ्ना प्रभुत्वमा रहेका देशहरुमा बेलाबेलामा मुड्की उज्याउँदै आएका छन् | फुच्चे देशका केही कुशल शासकहरु त्यस्ता दादागिरीलाई कूटनीतिक रुपमा सल्टाउँछन् | तर हाम्रा राजनीतिज्ञहरु अत्यन्तै गैरजिम्मेवारीपूर्ण त्यस्ता मामिलालाई सडकबाट सल्टाउन खोज्छन् | “राष्ट्रियतामा आँच” नारा उरालेर जनताको भावनासँग खेलबाड गर्छन् |

पञ्चायती र गणतन्त्रीय राष्ट्रवादमा खोइ के फरक रह्यो र ?
पञ्चायतकालदेखि नै हाम्रो नेपाली राष्ट्रियता हामीसँगै छ र त्यो राष्ट्रियता भासिएको, मासिएको र नासिएको छैन | सत्ताच्युत भएका राजनीतिक पार्टीहरुले बेलाबेलामा ‘राष्ट्रियता’, ‘राष्ट्रिय अखण्डता’ र सार्वभौमसत्तामा आँच आएको जस्ता झेली कुराहरु गरेर जनताको ध्यान आफूतिर तान्न कोसिस गर्छन् | “राजा नरहे देश रहन्न, कांग्रेस नरहे प्रजातन्त्र मासिन्छ” भनेर पहिले पहिले धेरै भट्ट्याउँथे | राजा रहेनन्, देश जिउँदै छ र कांग्रेस खुम्चेको छ तर ‘प्रजातन्त्र’ फस्टाएर ‘लोकतन्त्र’ भएको छ |

मेचीपारिबाट र अन्य भारतीय सीमाक्षेत्रमा बेलाबेला अतिक्रमणहरु हुने गर्छन् | बेलुकी नेपालमा सुतेको मनिस भोलिपल्ट भारतमा बिउँझेको घटना पनि छन् | अवश्य पनि यो राष्ट्रिय अखण्डतामा आँच हो | के निहुँ पाउँ र सत्तासीनलाई हिङ हालूँ भनेर दाउ छोपेर बसेका प्रतिपक्षलाई यो त ठुलो खुराक भैहाल्यो | त्यतिबेला उनीहरुको राष्ट्रवाद हेरिनसक्नु पो हुन्छ त ! धर्ना, टायर-जलन, चक्काजाम र नेपाल बन्द गरेर अघ्घोरै राष्ट्रवादी पो भैटोपल्छन् त ! भारतीय मूलका नेपालीहरुलाई पनि कुटुँला र मारुँला झैँ गर्ने आँधो राष्ट्रवादीहरु पनि देखिन्छन् |

जग्गा मिच्यो भने मिच्नेसँग कुरा गर्ने कि सडकमा बच्चा जस्तो उफ्रने ? भारतको प्रान्तीय र केन्द्र सरकारसँग कुरो गर्ने र अटेर गरे संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न सत्तासीनलाई पो दबाब दिनुपर्छ | समस्यालाई कूटनीतिक रुपमा सत्तासीन र प्रतिपक्ष मिलेर पो सल्टाउनुपर्छ | राष्ट्रियताको नाममा दैनिक जनजीवनलाई अस्तब्यस्त पारेर, आक्रोशित बनाएर, उचालेर, उग्र नाराहरु उरालेर जनतालाई सडकमा किन घचेट्ने ? साउथ ब्लकमा बसेर हुन्छ कि सिंहदरबारमा बसेर हुन्छ देशको राष्ट्रियता जोगाउने कामको लागि हामीले नेताहरुलाई चुनेर पठाएका नै छौं क्यारे ! सबै मामिला सडकैमा फालिन्छ भने नेताको के काम ?

तथाकथित यी राष्ट्रिय प्रतीकलाई फेर्दैमा हाम्रो राष्ट्रियता नासिने कस्तो चुत्था राष्ट्रियता रहेछ त ! सुरुवालको इँजारमै हाम्रो राष्ट्रियता झुण्डेको छ, दौराको तुनामै हाम्रो राष्ट्रियता अड्केको छ र ढाका टोपीले ले नै राष्ट्रियता टिकाएको छ भनेर कसैले भन्छ भने त्योभन्दा हास्यास्पद कुरो अरु के हुन सक्छ ?
पञ्चायतको ‘राष्ट्रवादी’ राजनीतिलाई गणतन्त्रेहरुले पनि अनुसरण गरेको देख्दा नेपालमा भएको परिवर्तनको उपहास भएको छ र अनि ‘राष्ट्रवाद’को कार्डलाई बहुसंख्यक नेपालीले अझैसम्म पञ्चायती आँखाले हेरेको देख्दा जनतामा राजनीतिक चेतना आएको भन्न सकिन्न |

मौन र मुखर बौद्धिकहरुलाई प्रश्न
अब राष्ट्रियताको अर्को प्रसंग कोट्याऊँ- पञ्चायतकालमा प्रतिष्ठापित गरिएका राष्ट्रिय प्रतीकहरु जस्तै गाई, पोशाक, टोपी आदिलाई समयानुकूल परिवर्तन गर्न उपर्युक्त हुन्छ भनी माओवादी र जनताका केही तप्काले आवाज उठाएका थिए | यस्तो आवाज उठेको मात्र के थियो, राष्ट्रियतामा आँच आउने, सार्वभौमसत्तामा धक्का पर्ने, हाम्रो चिनारी नै नासिने र परिचय नै निमिट्यान्न हुने भनी अर्को तप्काले त्यसको जोडदार प्रतिरोध गरेका थिए |

गाई, पोशाक, टोपी आदि राष्ट्रियताकै पर्यायवाची शब्दहरु हुन् भनी दलील पेश गर्दै तिनै चीजले नेपाललाई विश्वसामु चिनाएको र तीबिना हामी परिचयविहीन हुने तर्क पेश गरेका थिए | बस्तुले राष्ट्रियता प्रतिनिधित्व गर्ने यो कस्तो लंगडो तर्क ! निरक्षर र अर्धशिक्षितले ज्ञानको कमीले यसो भन्नु कुनै आश्चर्यजनक कुरो भएन | तर उच्च शिक्षा हासिल गरेका ज्ञानीहरुले पनि राष्ट्रियता भनेको ढाका टोपी, दौरा-सुरुवाल, गाई आदि हुन् भन्ने जस्ता हलुका विश्लेषण गर्छन् भने एकथरि ज्ञानीहरु चुप बसेर मौन समर्थन गरेको पाइन्छ | यी मौनधारी बौद्धिक अवसरवादीहरु समाजको घातक तत्वहरु हुन् र परिवर्तनका बाधक हुन् |

पटक पटक परिभाषित र पुनर्परिभाषित गर्नुपर्ने हाम्रो राष्ट्रियता टोपी, झन्डा र दौरा-सुरुवालैमा निहित छ या त्योभन्दा उँचा स्थानमा छ ? तथाकथित यी राष्ट्रिय प्रतीकलाई फेर्दैमा हाम्रो राष्ट्रियता नासिने कस्तो चुत्था राष्ट्रियता रहेछ त ! सुरुवालको इँजारमै हाम्रो राष्ट्रियता झुण्डेको छ, दौराको तुनामै हाम्रो राष्ट्रियता अड्केको छ र ढाका टोपीले ले नै राष्ट्रियता टिकाएको छ भनेर कसैले भन्छ भने त्योभन्दा हास्यास्पद कुरो अरु के हुन सक्छ ?

भारतले धोती फुकालेर भारतीय ढाँचाको सुट लगाउन थालेको पनि मोरारजी देशाइपछि हो । झन् चीनले त माओ ड्रेस चटक्क छोडेर देङ सियाओ पिङको पालादेखि पुँजीवादी टाइसुट लगाएर संसारलाई चकित बनाइदिए | भारत र चीनको खोइ राष्ट्रियता गुमेको छैन, आर्थिक रुपले ‘हेभिवेट’ पो बनेका छन् |
राष्ट्रियता पोशाक र झण्डामा होइन, भावनामा बहनुपर्छ, मुटुमा सँगालिनुपर्छ, हृदयमा ब्याप्त हुनुपर्दछ, व्यवहारमा झल्किनुपर्दछ र कार्यमा देखिनुपर्दछ | कुनै पोशाक विशेषलाई नै राष्ट्रियताको पर्यायवाची शब्द ठान्नु राष्ट्रियताको गलत परिभाषा हो | राष्ट्रिय ठानिएका प्रतीकहरु शास्वत होइनन् | तिनले तात्कालिन रुपमा त्यस देशको प्रतिनिधित्व मात्र गर्ने हो | कालान्तरमा कुनै पनि देशमा राजनीतिक उथलपुथल भै त्यस्ता प्रतीकहरु फेरिन सक्छन् | इतिहासको कालखण्डमा थुप्रै देशले झन्डा फेरेका छन्, पोशाक फेरेका छन् |

बडो राष्ट्रवादी भएर अंग्रेजहरुले सेक्सपियरकै जमानाको लुगा अहिले पनि लगाएको भए अंग्रेजहरु अहिले ढ्टुवारे जस्ता देखिन्थे | जारकालिन रुस र सोभियत रुसमा थुप्रै क्रान्तिकारी घटनाहरु घटे : व्यवस्था फेरे, झन्डा फेरे, यहाँसम्म कि देशै टुक्रे | तर त्यस देशको राष्ट्रियता टुक्रेको छैन, हराएको छैन, नासिएको छैन | रुसी राष्ट्रियता कायमै छ, अरुस भएको छैन | धेरै टाढा किन जाने ? भारतले धोती फुकालेर भारतीय ढाँचाको सुट लगाउन थालेको पनि मोरारजी देशाइपछि हो क्यारे ! झन् चीनले त माओ ड्रेस चटक्क छोडेर देङ सियाओ पिङको पालादेखि पुँजीवादी टाइसुट लगाएर संसारलाई चकित बनाइदिए | भारत र चीनको खोइ राष्ट्रियता गुमेको छैन त ! यी दुई देशहरु त अहिले आर्थिक रुपले ‘हेभिवेट’ पो बनेका छन् |

राष्ट्रियताको मापदण्ड
राष्ट्रियताको मापदण्ड के त ? राष्ट्रियता केबाट झल्किन्छ ? राष्ट्रियता कहाँ, कसरी र केबाट प्रष्फुटित हुन्छ ? राष्ट्रियता शब्दलाई कसरी बुझ्ने ? देशको ढुङ्गा-माटोलाई सुम्सुम्याउँदा राष्ट्रियता देखिने हो कि ? I love Nepal लेखिएको र नेपाली झन्डा अंकित टिसर्ट लगायो भने पो राष्ट्र्वादी हुने हो कि ? हरहमेशा ढाका टोपी ढल्काए राष्ट्रियताको जगेर्ना हुने हो कि ? हरहमेशा राष्ट्रिय गाना गायो भने पो राष्ट्रियता सम्बर्द्धन हुने हो कि ? राष्ट्रियता शब्दलाई कसरी बुझ्ने ?

शाब्दिक अर्थमा वर्णन गर्ने हो भने राष्ट्रियता र राष्ट्रवाद भन्नु नै देशप्रेम हो, अनि देश भनेको ढुङ्गा माटो र नदीनाला भएको निश्चित भौगोलिक क्षेत्र मात्र नभएर देश भनेको त्यस सीमित क्षेत्रमा बसोबास गर्ने जनता हो | त्यही नेपाली जनता- चाहे त्यो स्वदेशमा होस्, चाहे विदेशमा होस्, एकले अर्कालाई, शिक्षितले अशिक्षितलाई, बलियाले निर्धालाई, बोलक्कडले निमुखालाई, धनीले गरीबलाई, सक्नेले नसक्नेलाई, जान्नेले नजान्नेलाई परेको बेला मदत गरेको खण्डमा त्यही नै सबभन्दा ठुलो राष्ट्रियता हो, देशप्रेम हो र नेपालीत्व हो |

अहिलेलाई खस भाषा नै हाम्रो राष्ट्रियता अक्षुण्ण राख्ने एकमात्र कडी हो | यसको बिब्ल्याँटो ‘नेपाली राष्ट्रियता सुरुवालको इन्जारमा झुण्डेको छ’, ‘दौराको तुनामा अड्केको छ’, ‘ढाका टोपीले थामेको छ’ जस्ता कुतर्क गरिए जातीय विद्वेष फैलाई सहअस्तित्वको भावनामा ठेस पुर्‍याउने छ |
अर्को व्यवस्था नहुन्जेलसम्म राष्ट्रियताको प्रमुख मेरुदण्ड अहिलेलाई खस भाषा हुनसक्छ | नेपाली जनताको सम्पर्क भाषाको रुपमा पूर्णरुपमा स्थापित भएको खस भाषा नै नेपाली राष्ट्रियता जोगाउने एकमात्र प्रतीक हुन सक्छ | जबसम्म यो भाषा जीवित रहन्छ हाम्रो नेपालीत्व र राष्ट्रियता कहीँ जाँदैन | खस भाषाका अगाडि झन्डा र पोशाक त गौण कुरा हुन् |

राष्ट्रियता र खसभाषा
सातसाल अघि र सातसाल पछि पनि सोझा, सिधा र अन्धकारमा रहेका नेपाली जनतालाई राष्ट्रियताको परिभाषा राजा, ढाका टोपी र दौरा-सुरुवालको रुपमा अर्थ्याइयो | राष्ट्रियताको प्रतीक राजा रहेनन्, पोशाक र टोपी धेरैले लगाउन छोडिसके | राजनीतिक रुपले देशले ठुलै फड्को मारिसक्यो, देश गणतन्त्र, धर्मनिरिपेक्ष, नयाँ संविधान निर्माणतर्फ उन्मुख भएको बेला कुनै धर्म विशेष झल्किने झन्डालाई राष्ट्रिय प्रतीकमा राखिराख्न मिल्ला र ? कुनै धर्म विशेषको चाडमा सरकारी खजानाबाट लाखौं रुपयाँ खर्च गर्दा धर्मनिरिपेक्षताको उपहास भएन र ?

दौरा-सुरुवाल र ढाका टोपीलाई राष्ट्रिय प्रतीकबाट हटाए पनि यसको धङधङती अझै गैसकेको छैन | नेपालका पुनरुत्थानवदिहरुले सामाजिक सन्जालमा हालै नेपाली टोपिका नाममा तथाकथित ‘टोपी दिवस’ प्रक्षेपण गरेका छन् | बहुजातीय र बहुधर्मीय राज्यमा परिवर्तित परिवेशमा राज्यले नगरी नहुने प्रराम्भिक कार्यहरु कहिले सुरु होला ? विभिन्न भाषा-भाषीलाई विकास गर्ने समान अवसर प्रदान गरी खस भाषालाई सम्पूर्ण नेपालकै सम्पर्क भाषाको रुपमा प्रस्तुत गरेर दह्रो निर्णय कुन सरकारले लेला ?

अहिलेको अवस्थामा र अर्को व्यवस्था नहुन्जेलसम्म सम्पर्क भाषा हुनुको नाताले खस भाषा नै हाम्रो राष्ट्रियता अक्षुण्ण राख्ने एकमात्र कडी हो, ढुकढुकी हो र राष्ट्रिय पहिचान हो | यसको बिब्ल्याँटो ‘नेपाली राष्ट्रियता सुरुवालको इन्जारमा झुण्डेको छ’, ‘दौराको तुनामा अड्केको छ’, ‘ढाका टोपीले थामेको छ’ जस्ता कुतर्क गरिए जातीय विद्वेष फैलाई सहअस्तित्वको भावनामा ठेस पुर्‍याउने छ |
साभार: इसमता।


प्रकाशित मिति: Thursday, January 07, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।