इतिहासको व्याख्या-पुनःव्याख्या र लेखन-पुनःलेखन जरुरी हुन्छ

  • राजेन्द्र महर्जन 
पृथ्वीनारायण-एकीकरण इतिहासको पुनः व्याख्या 

समाजशास्त्री डा. चैतन्य मिश्र– ‘नेपालमा एकीकरणको प्रक्रियालाई केवल पृथ्वीनारायण शाहको रहस्यमय कार्य वा लीला ठानियो । अर्थात् पृथ्वीनारायण शाहको उदय र सिङ्गो मुलुकको एकीकरणको प्रक्रियालाई वैयक्तिक र बढीमा आन्तरिक कारणहरूको उपजमात्र ठानियो । नेपालभित्र त्यसताका भइराखेका आन्तरिक द्वन्द्व, आन्दोलन र प्रक्रियालाई पृथ्वीनारायण शाह वा एकीकरणसँग जोडेर हेरिएन । यसलाई विश्व र दक्षिण एसियाको परिवेश तथा घटनाचक्रसँग जोड्ने प्रयास नै भएन । एकीकरणको प्रक्रियामा पृथ्वीनारायणलाई एकल-पात्रका रूपमा चित्रण गरियो । अरू देशमा पनि यस्तै चलन नभएको होइन ।’ 
कहिल्यै सूर्य नडुब्ने हदसम्म विश्वमा आफ्नो औपनिवेशिक सत्ता कायम गरेको बेलायतका स्कुलमा पढाइने इतिहास अङ्ग्रेजहरूको वीरगाथाले भरिपूर्ण हुन्छ, किन ? इतिहासका किताबमा भारतदेखि दक्षिण अफ्रिकासम्म गरिएको लामो र सिङ्गो औपनिवेशिक ध्वंशले ज्यादै थोरै ठाउँ ओगटेको पाइन्छ, किन ? जापानी सत्ताले चीन, कोरिया र अन्य दक्षिणपूर्वी एसियाली मुलुकमा बीसौँ शताब्दीको पूर्वार्द्धमा मच्चाएको व्यापक र हृदयविदारक साम्राज्यवादी व्यवहार जापानका स्कुलका पाठ्यपुस्तकमा अङ्कित समेत गरिएको छैन, किन ? सिङ्गो उत्तर र दक्षिण अमेरिकामा युरोपेली मुलुक र पुँजीपतिहरूले गरेको संहारको उचित वर्णन र व्याख्या स्कुलका पाठ्यपुस्तकमा भेटिन्न, किन ? र, किन नेपालका इतिहास, राजनीति र समाजका किताबमा पनि ‘राष्ट्रिय एकीकरणका प्रणेता’ पृथ्वीनारायण शाहको गौरवगाथा र ‘छत्तीस जातको फूलबारी’को कथामात्रै लेखिएको पाइन्छ ? किन इतिहास-लेखन, शिक्षाको प्रचार-प्रसार र पाठ्यपुस्तक निर्माणमा ‘राष्ट्रिय एकीकरण’को नाममा उनले गरेका नरसंहार, आर्थिक लुट र जातीय थिचोमिचोलाई पूरै बेवास्ता गरिएको होला ?

यस्ता थुप्रै प्रश्नको जवाफ खोज्न इतिहास र सत्ताको, शिक्षा र सरकारको, मिडियादेखि पाठ्यपुस्तकको, इतिहासकार, लेखक, पत्रकार अनि राज्य वा राजनीतिको सुमधुर सम्बन्ध र अन्योन्याश्रितपनासम्म जानुपर्ने हुन्छ । कुनै पनि सत्ता, राज्य र सरकारले आफ्नो वर्ग, वर्गस्वार्थ, स्वार्थजन्य संस्कृतिअनुरुप ज्ञानको उत्पादन, शिक्षाको प्रचार र लेखनकर्म गर्छन्-गराउँछन् । यस अर्थमा सत्ता र सत्तामा आसीन शासकपक्षीय इतिहास लेखन, शिक्षा र पाठ्यपुस्तकमार्फत प्रचारबाजी र स्कुल-क्याम्पसमा विद्यार्थीहरूमा पठनपाठन सर्वत्र जारी छ । यसबाट न त बेलायतदेखि जापान अछुता छन्, न त अमेरिकादेखि नेपाल नै अलग्ग रहेका छन् ।

कतिसम्म भने संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि पृथ्वीनारायण शाह, नेपालको एकीकरण वा नेपाल राज्यको निर्माणका इतिहासबारे मिडियामा आउने सामग्रीसमेत यही पुरानै सामन्ती सत्ताद्वारा पोषित ज्ञान र शाहवंशीय केन्द्रीकृत राज्यनिर्देशित संस्कृतिअनुसार हुनु यसकै थप दृष्टान्त हुन् । यसले ज्ञानको उत्पादन, संस्कृतिको निर्माणमा मात्रै होइन, मिडिया, सञ्चारमाध्यम, सूचनाको सम्प्रेषण र लेखन-पत्रकारितामा पनि लोकतान्त्रिक विचार, जनमुखी संस्कृति र वस्तुवादी दृष्टिकोणको अभावतिरै जबर्जस्त संकेत गर्छ । र, आफूलाई एक से एक वामपन्थी नेता र राजनीतिक विश्लेषण भन्न रुचाउनेहरुले पनि सामन्ती सत्ताद्वारा पोषित ज्ञान, शिक्षा र संस्कृतिकै पुनःउत्पादन गर्दै आफ्नो वैचारिक दरिद्रताको उदाहरण दिएको पुष्टि हुन्छ ।

पुस २७ वा अन्य कुनै प्रसंगमा आउने पृथ्वीनारायण शाह र नेपालको एकीकरणसम्बन्धी सामग्रीमा फेरि पनि पुरानै सत्ताद्वारा पोषित ज्ञान र दृष्टिकोणको बाहुल्यता रहेको छ, त्यसमाथि कथंकदाचित उठाइने सन्देह, प्रश्न र बहसलाई अराष्ट्रिय, अनेकतावादी वा विखण्डनवादी आरोप लगाइने गरिन्छ । पृथ्वीनारायण शाह र नेपालको एकीकरणसम्बन्धी सामग्रीमा शाहद्वारा गरिएको सैनिक विजयलाई साङ्गोपाङ्गो खोज, अध्ययन र विश्लेषणको खडेरी छ । त्यस्तै खडेरीग्रस्त सामग्रीलाई नै समग्र राष्ट्रिय दृष्टिकोणको रुपमा एकोहोरो थोपर्ने काम भइरहेको छ । यसलाई राष्ट्रिय स्तरको वैचारिक बहसको विषय बनाइएको छैन, कदापि बनाइँदैन पनि होला । उनीहरुका स्वार्थ र दृष्टिकोणको साँघुरो घेरा हेर्दा शाहद्वारा गरिएको सैनिक विजय, त्यसको उद्देश्य र नियत, युद्धको क्रममा भएका उत्पीडन र शोषणको खोज र विश्लेषण गरियो भने, त्यसलाई शिक्षा, पाठ्यपुस्तक र मिडियामार्फत प्रचार गरियो भने ‘राष्ट्रिय एकता’ ध्वस्त हुनेछ भन्ने त्रस्त धारणा लिएर उनीहरु बसेको भान हुन्छ । 

के नेपाल भनेकै पृथ्वीनारायण शाह नामक राजा वा व्यक्ति हुन् र, जसको सैनिक विजयबारे प्रश्न उठाइयो भने नेपालको राष्ट्रियता नै नष्ट हुन्छ ? यस्तै दृष्टिकोण र विश्लेषण कसैको छ भने त्यो नेपाल र नेपाली जनताको ठूलो अवमूल्यन हो, वास्तविक राजनीतिक, आर्थिक र सांस्कृतिक इतिहासको सही प्रतिविम्बन होइन ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने पवित्र उद्देश्यले होइन, ठूल-ठूला राज्य, धेरै बिर्ता, धेरै जमिन, धेरै आर्थिक नाका, धेरै कुत बुझाउने जनता, धेरै सम्पत्ति कब्जा गरी बडामहाराजा बन्ने सपनासहित सैनिक अभियान चलाएको तथ्य सार्वजनिक गर्दैमा के नेपालको राष्ट्रिय एकता विनास हुन्छ ? सैनिक अभियान चलाउने क्रममा उनले देशभरि मच्चाएको नरसंहार, जातीय विनास र आर्थिक लुटपाटको लेखाजोखासहितको इतिहास लेखन र पठनपाठन गर्दैमा नेपाल विखण्डित हुन्छ ? के नेपाल भनेकै पृथ्वीनारायण शाह नामक राजा वा व्यक्ति हुन् र, जसको सैनिक विजयबारे प्रश्न उठाइयो भने नेपालको राष्ट्रियता नै नष्ट हुन्छ ? यस्तै दृष्टिकोण र विश्लेषण कसैको छ भने त्यो नेपाल र नेपाली जनताको ठूलो अवमूल्यन हो, वास्तविक राजनीतिक, आर्थिक र सांस्कृतिक इतिहासको सही प्रतिविम्बन होइन । यो त राजा-महाराजाजस्ता व्यक्तिलाई नै देश मान्ने वा कुनै महान् नायकका वा कुनै राजतन्त्रजस्तो संस्थालाई नै राष्ट्र ठान्ने सामन्ती सोचाइको अभिव्यक्ति हो ।

व्यक्तिलाई हर्ताकर्ता ठान्ने र व्यक्तिगत नायकत्वलाई राष्ट्रिय अभियान मान्ने र ती सबैलाई आन्तरिक अवस्था र बाहृय परिस्थितिभन्दा भिन्नै अलौकिक प्रयासको रुपमा विश्लेषण गर्ने महारोग पनि शाहलाई राष्ट्रिय एकीकरणका प्रणेता ठान्नेहरुमा दृष्टिदोषको स्तरमा देखिएको छ । समाजशास्त्री डा. चैतन्य मिश्रको भाषामा भन्ने हो भने, ‘नेपालमा एकीकरणको प्रक्रियालाई केवल पृथ्वीनारायण शाहको रहस्यमय कार्य वा लीला ठानियो । अर्थात् पृथ्वीनारायण शाहको उदय र सिङ्गो मुलुकको एकीकरणको प्रक्रियालाई वैयक्तिक र बढीमा आन्तरिक कारणहरूको उपजमात्र ठानियो । नेपालभित्र त्यसताका भइराखेका आन्तरिक द्वन्द्व, आन्दोलन र प्रक्रियालाई पृथ्वीनारायण शाह वा एकीकरणसँग जोडेर हेरिएन । यसलाई विश्व र दक्षिण एसियाको परिवेश तथा घटनाचक्रसँग जोड्ने प्रयास नै भएन । एकीकरणको प्रक्रियामा पृथ्वीनारायणलाई एकल-पात्रका रूपमा चित्रण गरियो । अरू देशमा पनि यस्तै चलन नभएको होइन ।’ 

सामन्ती सत्ता र सत्ताको दबदबाअनुसार आफ्नो सोचाइ बनाउनेहरु पृथ्वीनारायण शाह र ‘राष्ट्रिय एकीकरण’लाई कसरी निर्क्यौल गर्ने भन्नेबारे पनि भिन्न-भिन्न दृष्टिकोण रहेकै तथ्य स्वीकार्न समेत तयार छैनन् । उनीहरु त व्यक्ति र संस्थालाई नै ‘राष्ट्र’ मान्ने र ‘राष्ट्रिय एकताको प्रतीक’ ठान्ने सामन्ती संस्कृतिकै पुनःउत्पादनमा उद्यत छन् ।
डा. मिश्रको ठम्याइ छ, ‘जतिखेर नेपालमा एकीकरण भइरहेको थियो, त्यतिबेला अङ्ग्रेजहरूको भारतीय भूभागमा बलियो उपस्थिति हुन लागेको थियो र त्यसले त्यहाँ ठूलो उथलपुथल जन्माइरहेको थियो । इष्ट इन्डिया कम्पनीले लागू गरेको भूमिव्यवस्था, त्यहाँ उत्पन्न अन्य अस्थिरता र द्वन्द्वले त्यहाँको समाजलाई हुँडलिरहेको थियो । त्यसले नेपाली भूभागमा पनि तरङ्ग ल्याइरहेको थियो । महाराष्ट्र, पञ्जाब र उत्तर प्रदेशमा राजारजौटालगायत कृषकहरूमा असन्तोष र सङ्घर्ष व्याप्त भइरहेको थियो । त्यस अस्तव्यस्तताले पृथ्वीनारायणलाई क्षेत्र विस्तार गर्ने बाध्यता र मौका दुवै मिल्यो ।’

त्यो अवधिमा पृथ्वीनारायण एकजना नायक थिए, त्यो नायकत्वको चरित्रमाथि भने बहस हुन सक्छ, हुनुपर्छ । उनलाई नायक बनाउनमा बाहृय कारकतत्वको भूमिकाबारे पनि ठोस विश्लेषण गरिएको छैन, केवल उनले थालेको सैनिक अभियानवश भएको नेपालको भौगोलिक एकीकरणको मात्र महिमागान गाउनु भनेको अप्रत्यक्ष रुपमा राजतन्त्रप्रतिको गुणगानबाहेक केही हुन सक्दैन ।

सामन्ती सत्ता र सत्ताको दबदबाअनुसार आफ्नो सोचाइ बनाउनेहरु पृथ्वीनारायण शाह र ‘राष्ट्रिय एकीकरण’लाई कसरी निर्क्यौल गर्ने भन्नेबारे पनि भिन्न-भिन्न दृष्टिकोण रहेकै तथ्य स्वीकार्न समेत तयार छैनन् । उनीहरु त व्यक्ति र संस्थालाई नै ‘राष्ट्र’ मान्ने र ‘राष्ट्रिय एकताको प्रतीक’ ठान्ने सामन्ती संस्कृतिकै पुनःउत्पादनमा उद्यत छन् । उनीहरुकै तर्कको खेतीअनुसार पृथ्वीनारायण शाहले ‘राष्ट्रिय एकीकरण’ गरी आधुनिक नयाँ नेपाल राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यका साथ उपत्यकादेखि बाइसे-चौबीसे राज्यहरुलाई एकीकृत गरेका थिए, त्यसैले उनी राष्ट्रिय एकीकरणका प्रणेता हुन्, त्यसको जयजयकार गर्नु जरुरी छ ।

यही तर्कलाई छिमेकका छ सय वटा देशको एकीकरणसम्म तन्काउने हो भने सयौँ स्वतन्त्र राज्यमा विभाजित भारतको एकीकरणको श्रेय ब्रिटिस साम्राज्यवादलाई दिनुपर्छ । र, भारतको राष्ट्रिय एकीकरणको प्रणेता भन्दै ब्रिटिस साम्राज्यवादका शासक एलिजाबेथहरुको शालिक प्रत्येक चौराहामा खडा गर्नुपर्छ । तर भारतको इतिहास लेखन र पठनपाठनमा एउटा स्पष्ट धारणा रहेको छ, ब्रिटिस साम्राज्यवादले भारतलाई आधुनिक विशाल देश बनाउने पवित्र उद्देश्य र महान लक्ष्यका साथ भारतको राष्ट्रिय एकीकरण गरेको होइन । अतः उसलाई भारतको राष्ट्रिय एकीकरणको प्रणेताको रुपमा पूजा-अर्चना गर्नु देश र जनताप्रति अन्याय गर्नु ठहरिने छ ।

निःसन्देह, संसारका धेरैजसो आधुनिक देशको निर्माण कुनै साम्राज्यवादी अभियान, कुनै साम्राज्यवादी शासकका महत्त्वाकांक्षा वा राजा-महाराजाका राज्य-विस्तारकै क्रममा भएका हुन् । अठारौँ शताब्दीमा बनेका इटाली, जर्मनी र भारतको इतिहासमा पनि साना ठूला राज्य र जातीय समुदायको विनासकै पुनरावृत्ति देखिन्छ । यसरी हेर्दा अपवादका आधुनिक देशबाहेक सबैजसो देशको निर्माण वा विनिर्माणमा कुनै खास शासक, राजा-महाराजा, कुनै व्यक्ति वा साम्राज्यको भूमिकालाई अस्वीकार गर्न मिल्दैन । त्यस्तो ऐतिहासिक भूमिकालाई यथोचित मूल्यांकन गर्नु पनि पर्छ, जुन निर्विवाद वस्तगुत सत्य हो ।

कुनै सामन्ती राजाले व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाले वशीभूत भई सैनिक अभियान चलाउने क्रममा जुन ढंगले एकीकृत नेपाल देशको निर्माण गरे, त्यसलाई ठाडै अस्वीकार गरेर, नेपाल देशकै नाम फेरेर इतिहासलाई नै भताभुंग पार्ने भनेको कदापि होइन । नेपालको इतिहासलाई मेटेर, इतिहासले कोरेको नेपालको सिमानालाई भत्काएर पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने माग कसैको हुन सक्दैन ।
त्यसरी यथोचित मूल्यांकन गर्ने नाममा बलात्कार गरी बच्चा जन्माउने व्यक्तिलाई ‘पिता’को सम्मान दिइँदैन भन्ने तीतो तथ्यलाई पनि बेवास्ता गर्न मिल्दैन । त्यसरी नै सम्मान गर्ने नाममा बलात्कारी र दमनकारीहरुलाई पनि राष्ट्रिय एकीकरणको प्रणेताको रुपमा पूजा-आजा गर्न थालियो भने प्रत्येक राजा-महाराजा, राजतन्त्र वा साम्राज्यको अर्चना गरिरहनुपर्ने ‘राष्ट्रिय दुःख’ पनि बहन गर्नुपर्ने हुन्छ । र, शासक वा साम्राज्यको पूजा-अर्चना गर्ने ‘राष्ट्रिय दुःख’ बोक्दा हुने सबैभन्दा राष्ट्रिय पीडा भनेको नेपाल, नेपाली जनता र देश-जनताको संघर्षको बदख्वाइँको पीडा हुनेछ । पृथ्वीनारायण शाहलाई ‘राष्ट्रिय एकीकरण’का प्रणेताको रुपमा जयजयकार गरिरहँदा पनि नेपाली जनता महान संघर्ष र ठूलो बलिदानपछि स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र र बहुदलवादी सोच र संस्कृति तथा जाति-भाषा-क्षेत्र-स्रोत-साधनअनुकूलको संघीय राज्यको बेइज्जत भइरहेको तथ्य बिर्सन मिल्दैन ।

यस्ता राष्ट्रिय दुःख र पीडाबाट मुक्त हुनु भनेको कुनै सामन्ती राजाले व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाले वशीभूत भई सैनिक अभियान चलाउने क्रममा जुन ढंगले एकीकृत नेपाल देशको निर्माण गरे, त्यसलाई ठाडै अस्वीकार गरेर, नेपाल देशकै नाम फेरेर इतिहासलाई नै भताभुंग पार्ने भनेको कदापि होइन । नेपालको इतिहासलाई मेटेर, इतिहासले कोरेको नेपालको सिमानालाई भत्काएर पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने माग कसैको हुन सक्दैन ।

हो, इतिहासको सरकारी व्याख्यालाई उल्टाएर वास्तविक पुनःव्याख्या गर्नु र इतिहासका रोगहरुको चिरफार गर्दै वर्तमानमा थिचोमिचो, उत्पीडन र शोषणको अन्त्य गर्नु नै इतिहासप्रति पनि न्याय गर्नु ठहरिन्छ । उत्पीडन र शोषणले भरिएको इतिहासबाट मुक्तिका लागि सत्ता र राज्यको स्वत्व र चरित्रमा परिवर्तन आउन लागेको यो वेला सत्तासँग गाँसिएको इतिहासको व्याख्या-पुनःव्याख्या र लेखन-पुनःलेखन जरुरी हुन्छ, पुरानो सत्ता र इतिहासको अन्योन्याश्रित सम्बन्ध रहेको कारणले । किनभने इतिहास भनेको केवल सत्तासँग मात्रै प्रत्यक्षतः गाँसिएको विषय होइन, न त स्कुल-क्याम्पसका पाठ्यपुस्तक र शिक्षासँग मात्रै टाँसिएको प्रश्न हो । यसको पृष्ठभूमिमा ठूलो आर्थिक, राजनीतिक र सांस्कृतिक मुद्दा रहेको छ, जुन पहाडिया हिन्दू खस-बाहुन पुरुष अभिजात वर्गको प्रभुत्व, उत्पीडन-शोषणबाट समग्र मुक्तिसँग जोडिएका छन् ।

यो मुद्दा लोकतान्त्रिक, जनमुखी र बहुलवादी समाज र संस्कृति निर्माणका लागि आवश्यक राजनीतिक-आर्थिक र सामाजिक आधारमा आमूल परिवर्नतसँग जोडिएको सवाल हो । किनभने वस्तुवादी र आलोचनात्मक चेतको अस्त्रले इतिहासको सही शवपरीक्षा गर्न सकिएन भने तपाईं-हामी सबैको दृष्टिलाई त्यो इतिहासको शवले ठुङ्गिरहन्छ, वर्तमानलाई सही ढंगले चिरफार गर्न तपाईं-हामीलाई असमर्थ बनाउँछ र हामी अग्रगामी, लोकतान्त्रिक र जनमुखी होइन, पश्चगामी, यथास्थितिवादी, अलोकतान्त्रिक बन्न बाध्य पार्ने यत्न गरिरहन्छ ।
साभार: इसमताबाट ।

प्रकाशित मिति: Monday, January 11, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।