त्रुटिपूर्ण संविधान घोषणा गर्नु गल्ति: पूर्वराष्ट्रपति

२०७२ पुस १७। आफैंले संविधान जारी गरेको साढे तीन महिनापछि पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानसभाभित्र रहेका दललाई बाहिर पठाएर संविधान जारी हुनु गल्ती भएको बताएका छन्। 

संविधान घोषणा गर्दा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले बाहिर रहेका शक्तिलाई समेत साथ लिनुपर्नेमा सभाभित्रैका दललाई समेत बाहिर पठाएर संविधान पारित गर्नु त्रुटि भएको यादवको टिप्पणी थियो।

बीपी विचार राष्ट्रिय समाजले बिहीबार आयोजना गरेको 'राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला' नामक पुस्तक विमोचन कार्यक्रममा यादवले संविधान रोक्ने अवस्थामा आफू नभएकाले मात्र घोषणा गरेको भन्दै तितो पोखे।

'गिरिजाप्रसाद कोइरालाले हतियारधारी माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याए तर मैले अनेक आग्रह गर्दा पनि संविधानसभाभित्र रहेका दललाई संविधानसभाभित्र राख्न सकिएन', संविधान घोषणाप्रति असहमति जनाउँदै यादवले भने, 'मेरो आग्रह कसैले पनि मानेन। ठूलो पीडाका बीच मैले संविधान घोषणा गरें। त्यो मेरो पदसँग बाँधिएको दायित्व थियो।'

पूर्वराष्ट्रपति यादवले दलहरूबीच संविधान निर्माणका लागि भएको आठबुँदे सहमतिपछिको राजनीतिक कोर्समा आफ्नो कुनै संलग्नता नभएको भन्दै त्यसमा पनि असन्तुष्टि पोखे। 'दलहरूबीच भएको पछिल्लो आठबुँदे सहमतिपछि म सिनमा छैन', उनले भने। 

उनले संविधान निर्माणजस्तो ऐतिहासिक र महत्वपूर्ण काममा संविधानसभाबाहिर रहेका दललाई समेत साथ लिनुपर्नेमा सभाभित्र रहेका मधेसवादी दललाई सहमत गराउन नसक्नु प्रमुख तीन दलको नेतृत्वको गम्भीर कमजोरी भएको बताए।


‘मैले सबै पक्षको सहमतिका साथ संविधान जारी गर्न आठ-नौ दिन समय थपौं भनेको थिएँ’, यादवले भने, ‘तर दलहरूले पहिला नै मधेसी दलहरूलाई नल्याउने निर्णय गरेर मेरो आग्रहलाई अस्वीकार गरे।' उनले मधेसवादी दलहरूलाई पनि सहमतिमा ल्याएर संविधान घोषणा गरेको भए अहिलेको संकट नआउने र त्यसले विगत १९ वर्षदेखिको राजनीतिक संक्रमण अन्त्य गर्ने पनि बताएका थिए।

मधेसी दललाई बाहिर राखी संविधान घोषणा गरेर मुलुकमा राजनीतिक संक्रमण लम्बिएको र त्यसलाई जतिसक्दो छिटो वार्ता र सहमतिका आधारमा समाधान गर्न नसके महात्रुटि हुने दाबी पनि गरे। 'संविधानसभाबाहिर एउटा फोर्स छँदैछ। मधेसी दलहरूलाई भित्र ल्याउनुपर्छ भन्ने मेरो धारणा थियो। त्यही सल्लाह दिएको थिएँ’, उनले भने, ‘सरकारले सुनेन । दलहरूले मेरो कुरा सुनेनन्।'

यादवले आफूले कांग्रेस र एमालेले भनेजस्तो फास्ट र सुपर फास्ट ट्र्याकबाट संविधान जारी गरे संविधानै नबन्ने सुझाव दिँदै आएको पनि खुलासा गरे । यादवले संविधानसभामा एउटा शक्तिलाई बाहिर राखेर संविधान घोषणा हुनु र अहिले समस्या देख्नु खोक्रो राष्ट्रवादको परिणति भएको पनि बताए। 

'अहिले खोक्रो राष्ट्रवाद चलिरहेको छ', उनले भने, 'यो कायमै भए यसले अधिनायकवाद ल्याउँछ। त्यतातर्फको यात्रा हो यो खोक्रो राष्ट्रवाद।'यादवले मधेसको आन्दोलन र नाकाको समस्या समाधान गर्न संविधानसभाबाहिर भएका शक्तिलाई पनि ल्याएर वार्ता र सहमतिबाट लोकतन्त्रको विधिबाट संविधान संशोधन गरेर जानुपर्ने पनि सुझाए। (अन्नपूर्णपोष्टबाट)

प्रकाशित मिति: Friday, January 01, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।