नक्कली एमआरपी ७० हजारदेखि १ लाख रुपैयाँ सम्ममा किनबेच

गिरोह नेपालदेखि मलेसियासम्मै, १२ नेपाली विमानस्थलबाट पक्राउ 

प्रकाश ढुंगाना। 
२०७२ माघ १५। उच्च सुरक्षा प्रणाली अपनाएर बनाइएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि नक्कली भेटिन थालेको छ। नक्कली एमआरपी ७० हजारदेखि १ लाख रुपैयाँमा खरिद बिक्री हुने गरेको खुल्न आएको छ। सक्कली पासपोर्ट प्रयोग गरेर नक्कली एमआरपी बनाउने गिरोह नेपालदेखि मलेसियासम्म रहेको पुष्टि भएको छ। एक साताको अवधिमा नक्कली एमआरपी बनाएर मलेसियाबाट नेपाल आएका १२ जना नेपाली युवालाई अध्यागमन विभागले पक्राउ गरेपछि नक्कली एमआरपी बनाउने गिरोह नै रहेको खुल्न आएको हो।

पहिलो पटक ४ जना, त्यसपछि ३ र बाँकी तेस्रो पटक पक्राउ परेको अध्यागमन विभागले जनाएको छ।  उनीहरुले सक्कली पासपोर्टमा फोटो भएको पेज दुरुस्तै बनाई आफ्नो फोटो टाँसेर आएको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विभागका महानिर्देशक केदार न्यौपानेले सेतोपाटीलाई बताए।

नक्कली एमआरपी बनाउने गिरोह नै सक्रिय भएको र उनीहरुले समस्यामा परेका नेपाली कामदारबाट चर्को रकम लिई बेच्ने गरेको न्यौपानेले बताए। नक्कली एमआरपी बनाउन को कसरी र कहाँ संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

आनन्द राना, शर्मा तामाङ, रामबहादुर तामाङ, जयलाल तामाङ, लालमान तामाङ, विकल लामा, पदम धनुके, दिपनारायण साह, टिकाप्रकाश श्रेष्ठ, रामकृष्ण पाख्रिन लगायतकालाई अध्ययागन विभागले नियन्त्रणमा लिएर जाली राहदानी बनाएको  मुद्दा दायर गरेको छ ।

एजेन्टहरुले अरुकै नाममा जारी भएको एमआरपी किनेर बेच्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ। एमआरपीधारीसँग बढीमा ४० देखि ५० हजारसम्ममा किन्ने र अरुलाई  ७० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्ममा बेच्ने गरेको खुल्न आएको हो। यस विषयमा प्रहरीले पनि अनुसन्धान सुरु गरिरहेको छ।

रामेछापका पदम धनुकेले बिरामी हुदाँसमेत नेपाल आउन कम्पनीले नदिएको र मलेसियामा नै रहेको चन्द्रप्रताप श्रेष्ठ, मलेसियामा रहेको नेपाली दूतावासको कर्मचारी हुँ भन्ने रविन भन्नेले नै नक्कली एमआरपी बनाइदिएको बताए। उनले एमआरपी बनाइदिएबापत् आफूले ३ हजार मलेसियन रिंगिट दिएको समेत बताए। नेपाल पठाउन एमआरपी बनाइदिने विमानस्थलसम्म आएर सेटिङ मिलाइदिएको उनले बताए।
सुनसरीका दिपनारायण  साहले कम्पनीमा सेवा सुविधा धेरै नभएको र गाह्रो काम गर्नुपर्दा बिरामी हुदाँसमेत नेपाल आउन नपाएपछि एजेन्ट खोजेर नेपाल आएको बताए। उनले पनि ३ हजार मलेसियन रिंगिटमा नक्कली पासपार्ट बनाउन दिएको बताए।

२० महिना अघि मलेसिया गएका बारा निजगढका विकल लामाले बिरामी भएपछि घर आउन कम्पनीले नदिएको र काम गर्न नजादाँ प्रहरी लगाएर पक्राउ गरिदिन्छु भनेपछि भागेर एजेन्टमार्फत नेपाल आउन एमआरपी बनाएको बताए। उनले आफ्नो एमआरपी नक्कली भएको समेत थाहा नभएको बताए।

३३ महिनापछि नेपाल आएका ललितपुरका रामकृष्ण पाख्रिन पनि नक्कली एमआरपी भेटिएपछि अध्यागमनको नियन्त्रणमा छन्। उनले कोत्रायको गोरखा होटलका संचालकले नेपाल पठाइदिने भनेर ३५ सय रिंगिट लिएको र पासपोर्ट हातमा राखेर पठाइदिएको बताए।

१२ जनामध्ये उनीहरुलाई नक्कली एमआरपी बनाइदिने २ समूहमा रहेका नेपालीहरु छन्। एउटालाई चन्द्रप्रताप श्रेष्ठ र अर्कालाई गोरखा होटलका संचालकको समूहले सक्कली पासपोर्ट बिगारेर नक्कली फोटो टाँसिदिएका छन्।

बरामद भएका सक्कली पासपोर्ट केही मलेसिया दूतावासबाट समेत जारी भएको पाइएको छ। सक्कली पासपोर्ट एजेन्टको हातमा कसरी पर्‍यो, ती सक्कली पासपोर्टधारी कहाँ छन् यस विषयमा पनि अनुसन्धान भइरहेको न्यौपानेले बताए। उनका अनुसार मलेसियामा रहेको नेपाली दूतावासको पनि कमजोरी भेटिएको छ।

मलेसियाका लागि नेपाली राजदुत निरन्जनमानसिंह बस्नेतले दूतावासमा रबिन भन्ने कोही पनि कर्मचारी नभएको प्रष्ट पारे। मलेसियामा कामदार स्वदेश पठाउने एजेन्टहरु धेरै भएको र उनीहरुलाई पक्राउ गर्नुको विकल्प नभएको बताए। साथै उनले मलसियाको अध्यागमन विभागले उनीहरुलाई नेपाल जान कसरी अनुमति दिए भन्ने पनि शंकाको घेरामा रहेको बताए।

मलेसिया सरकारले अवैधानिक रुपमा रहेका कामदार फर्काउन दिएको समय गत डिसेम्बरमा सकिएको छ। ५५ हजारभन्दा बढी अवैध नेपाली कामदार स्वदेश फर्किए पनि अझै सोही संख्याको हाराहारीमा कामदार मलेसियामा नै लुकेर बस्दै आएका छन्।

अवैधानिक रुपमा बसेका कामदारलाई स्वदेश फर्काउन कोप्रासी भन्ने संस्थालाई अनुमति दिइएको थियो। तर जनवरीदेखि सो संस्था पनि बन्द छ। उसले प्रतिकामदार १२ सय ८० रिंगिटमा उठाइ स्वदेश पठाउने गर्दथ्यो। संस्था बन्द भएपछि एजेन्टहरुको हाबी भएको र कामदारसँग चर्को रकम लिने गरेको कोप्रासीका भोलेन्टियर राजु शर्माले बताए।

पासपोर्टमा नक्कली भिसा
१२ जनासँग रहेको एमाआरपीमा मलेसियाको नक्कली भिसा भेटिएको छ। एजेन्टहरुले नै भिसा लगाइएको एमआरपी आफूहरुलाई दिएको उनीहरुले बताए। एजेन्टले नेपालको विमानस्थलमा विदामा मलेसियाबाट आएको भन्नु भनेर सिकाएको उनीहरुले बताए।

अवतरण रातको समयमा
मलेसियाबाट नेपाल आएका उनीहरुलाई एजेन्टले रातको समयमा काठमाडौं ओर्लने गरेर विमान चढाएर पठाएका छन्।

एयर एसिया, मालिन्दो एयर, मलेसियन एयरलाइन्सबाट उनीहरु आएका हुन्। प्रायः रातको ९ बजेको समयमा काठमाडौं अवतरण हुने गरी जहाज चढेका छन्।

एजेन्टहरुले केहीलाई बंगलादेशको ट्रान्जिट बनाएर पनि पठाएका छन्। नेपालको विमानस्थलमा पक्राउ परे, नेपालीलाई बनाउन दिएको नभन्नु पनि उनीहरुले कामदारलाई सिकाएका छन्। उनीहरु आएका एयरलाइन्स कम्पनीको पनि मिलेमतो रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

यसरी पक्राउ परे
रामेछापका पदम धनुके सवा ८ बजे एयर एसियाबाट ल्याण्ड गरे । अध्यागमनका कर्मचारीलाई एमआरपी देखाए। अध्यागमनका कर्मचारीले फोटो, भिसा  हेरे। अरु एमआरपीभन्दा बायो मेट्रिक पेज भएको पाना निकै बाक्लो जस्तो लाग्यो। राम्रोसँग नियाल्दा गमले बायोमेट्रिक भएको फोटो हुने पेज उप्कियो।

बिस्तारै उत्काएर हेर्दा अरुकै नाममा रहेको एमाआरपी प्रयोग गरिएको देखियो। एजेन्टले दुरुस्तै हुने गरी बायोमेट्रिक पेज बनाएका थिए। त्यही पेजमा नक्कली पेज गम लगाएर टाँसेका थिए। अध्यागमनका कर्मचारीले उनलाई नियन्त्रणमा लिए। मलेसियाबाट आएकालाई विशेष निगरानी गरे । सोही दिन ३ जना नक्कली एमआरपीसहित पक्राउ परे। (अन्नपूर्णपोष्टबाट) 

प्रकाशित मिति: Friday, January 29, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।