विचरा लण्डनलाई के थाहा तपाईं भूकम्पपीडितलाई एक सुको दिइन्न भनेर यता उफ्रनुभएको

विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित् रामशरण महतलाई खुल्ला पत्र  

“मलाई विश्वास छ, द बैंकर एकपटक जरुर पछुताउने छ ।” 

  • ईश्वर अर्याल। 

आदरणीय भूपूअर्थमन्त्रीज्यू, 
परदेशबाट नमस्कार स्वीकार्नु होस् । 

तपाईंकै अर्थतन्त्रका अवशिष्टहरु हामी आज करिब ४० लाख जतिको संख्यामा भारतमा कुल्ली र पहरेदार, अरबमा निर्माण मजदुर, मलेसियामा काठ फ्याक्ट्री, कोरियामा हली र बाउसे, अमेरिकामा पेट्रोल पम्पको घन्टा हान्ने, जापानमा तन्दुरी कुक र अन्य अरु देशमा विभिन्न जिम्मेवारी सम्हाल्दै घर फर्कने दिन गनेर बसिरहेका छौं । यी सबैको तर्फबाट एकमुष्ट खुल्लापत्र हो, हुन त यिनीहरुजस्तो दिमाग खुस्केकाले मलाई के खुल्लापत्र लेख्न सक्लान् भन्दै ब्ल्याक लेवलको चुस्की लिनुहोला । तर पनि हामी पराइ हैनौ, तपाईंले नेपालमा प्रतिपादन गरेको अर्थनीतिको ‘बाइ-प्रोडक्ट’ हौं । गाउँले भाषामा भन्दा नातामा हामी सौताका छोराछोरीजस्तै हौं । 
 

थोरै इतिहासतर्फ मोडियौं भने पञ्चायतकालताका विदेश बसेर आकर्षक नोकरी खानुभएको तपाईं गिरिजाबाबुले फोन गरेर अर्थमन्त्री बनाइदिन्छु भन्दा तलब सोध्नुभएको थियो रे । बिपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको तीनखम्बे नीतिमा अर्थमन्त्रीको तलब सोधेर काङ्ग्रेसमा समाजवाद त तपाईं आउदै खेरी ढालेर आउनुभएको थियो । त्यसपछि काङ्ग्रेसले अर्थमन्त्री नपाएर छट्पटिइरहेको अवस्था र तपाईंलाई जागिर चाहिएको अवस्थामा राष्ट्रिय योजना आयोगको अध्यक्ष बन्ने ढोका तपाईंलाई खुलेको थियो । अनि तपाईंले द्वैध अर्थतन्त्रलाई एकल अर्थतन्त्रको पगरी गुथाउँदै उत्पादनका सम्पूर्ण साधनलाई नवधनाड्य वर्गको चरणकमलमा बुझाएर गरिब मास्ने परम्परा सुरु गर्नुभएको थियो । 

हामी पराइ हैनौ, तपाईंले नेपालमा प्रतिपादन गरेको अर्थनीतिको ‘बाइ-प्रोडक्ट’ हौं । गाउँले भाषामा भन्दा नातामा हामी सौताका छोराछोरीजस्तै हौं ।
पञ्चायतकालमा फस्टाएका उद्योगहरु कौडीको भाउमा बेचिन सुरु गरेको त्यतिबेलैदेखि हो । अहिले इतिहासको पानामा मात्र यदाकदा पढ्न पाइने कलकारखानाहरु तपाईं राष्ट्रिय योजना आयोगको अध्यक्षको पद सम्हाल्दै खेरी डगमगाएका थिए । ठेक्कापट्टा सुरु गर्नु भो, काङ्ग्रेसी ठेकेदारहरु जन्मे । आज सुशील कोइरालाले प्रधानमन्त्रीको उम्मेदवारी दिइरँहदा पैसाको चलखेल भयो भनेर काङ्ग्रेसलाई लागेका अप्रमाणित आरोपहरुको जन्मदाता तपाईं हो किनभने काङ्ग्रेस ठेकेदारहरुको अघोषित पार्टी भनेर तपाईंले उत्तिखेरै भन्नुभएको थियो । चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ताहरु तपाईंले जन्माउनुभएको हो । यिनीहरुलाई रातारात करोडपति बनाएर देशलाई रातारात लुट्ने खेलोमा जति यिनीहरुको हात छ, त्योभन्दा धेरै मात्र आफ्नो पार्टीलाई पैसाले नुहाउन मिल्ने खालको अर्थतन्त्र निर्माण गर्नु तपाईंको ब्लन्डर थियो । कृषिप्रधान देशलाई तपाईंले अरबप्रधान देशमा रुपान्तरण गरिदिनुभयो ।

बिपीको समाजवादबाट कोशौं दूर रहेर यस्तो अर्थनीतिको जन्मदाता बन्नुभयो, त्यसमा सामाजिक न्याय भन्ने कुरा दूरबिन लगाएर खोज्दा पनि भेटिएन । धनी र गरिबबीच कोरिएको रेखालाई खाल्डो खनेर मेटाउने प्रयास गर्नुभयो, जसको प्रतीकात्मकता अस्ति भर्खरको महाभूकम्पपछाडि तपाईंको छबिमा देखिएको थियो । भूकम्पपीडितहरुले एक सुका पनि नपाउने विषयलाई उनीहरुले त के सोचे तर लण्डनको फाइनान्सियल टाइम्सको ‘द बैंकर’ले तपाईंलाई आज मात्र उत्कृष्ट अर्थमन्त्री छानिदिएको छ । विचरा लण्डनलाई के थाहा तपाईं भूकम्पपीडितलाई एक सुको दिइन्न भनेर यता उफ्रनुभएको थियो, जुन देशको अर्थमन्त्री हुनुन्थ्यो, त्यही देशका जनताहरुसँग यतिसम्म असहिष्णु बनीकन पनि तपाईंलाई विदेशबाट उत्कृष्ट अर्थमन्त्रीको अवार्ड आएकोमा तपाईंलाई बधाई आउनुपर्नेमा चिसोमा लुगलुग कामिरहेका भूकम्पपीडितहरुको नाङ्गो आङ र भोको पेटले तपाईंलाई कुरीकुरी गरिरहेको छ । 

खुला र छाडा अर्थतन्त्रको प्रतिपादक बनेर एउटै नेपाललाई तपाईंले धनीको नेपाल र गरिबको नेपाल बनाएर दुईटा बनाइदिनुभयो । सिके राउतहरुले हाल जुन भौगोलिक विखण्डनको अभ्यास गरिरहेका छन, त्योभन्दा १० गुणा अगाडि बढेर २० वर्षभन्दा अगाडि तपाईंले आर्थिक विखण्डनको प्रारुप तयार गरिसक्नुभएको थियो ।
विचरा बेलायतलाई के थाहा‚ तपाईंकै पार्टिले आजसम्म पुनर्निर्माण प्राधिकरणको विषयमा मुसोबिरालो खेलिरहेको छ । विदेशमा बसेर हामी जसरी अनुराधा या पुष्पाले सिएनएन हिरो अवार्ड जित्दा खुसीले विभोर थियौं, तपाईंले बेस्ट फाइनान्सियल मिनिस्टरको अवार्ड लगाउँदा उत्तिकै लज्जित पनि छौं, सक्नुहुन्छ भने हामीलाई माफ गर्नुहोस् ।

तपाईंको अर्थनीति भनेको भ्रष्टाचार मात्र हो । चार चार पटक अर्थमन्त्री भइसक्दा पनि नेपालको आर्थिक वृद्धिदर जनसंख्या वृद्धिदरकै हाराहारीमा कायम राख्नु तपाईंको सफलता हो या असफलता हो, आजको यो दिन देखेर म दंग परेको छु । अझ चर्चित जस्तापाता मन्त्रीको पगरी गुथ्नुभएको तपाईंको मूल्यांकन त हामीले गरिरहेका नै छौं । दाताहरुको सम्मेलन एउटा भ्रष्टाचार गर्ने बहाना मात्र थियो भन्ने आज प्रमाणित भएको छ । मलाई विश्वास छ, ‘द बैंकर’ एकपटक जरुर पछुताउने छ ।

पश्चिमी शिक्षा पाएर नेपालमा दलाल वर्गको हितमा मात्र राजनीति गर्ने तपाईंले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरुमा पनि निजीकरणको हावा लगाइदिनुभयो । फलस्वरुप गरिब र बिरामी जनता लुट्न भनेर अहिले सयौं मेडिकल कलेज र लाखौं डोनेसन लिएर मात्र विद्यार्थी भर्ना गर्ने स्कुलहरु खोलिएका छन । लोककल्याणकारी योजना तपाईंले घाममा सुकाइदिनुभयो । बिपीले भन्ने गरेको, टुप्पी टोपीबाट बाहिर निस्केका जनतालाई हेरेर नीति बनाउनुपर्छ भन्ने कुरालाई सोझै नकारेर तपाईंले न त टुप्पी न त दिमाग भएका मान्छेहरुलाई हेर्नुभो ।
लेखक
मलाई विश्वास छ, तपाईंजस्ता मान्छेहरु जति एवार्ड र फुली लगाएर दौडे पनि अबका पुस्ताका युवाहरुलाई जित्न सक्नुहुन्न । किनभने अमेरिका, बेलायतजस्ता देशहरुका पुँजीवादको हवाला दिँदै तपाईंले हामीमाथि आर्थिक आतंक मचाउनुभएको थियो, आजका युवाहरुले ती देशका पुँजीवाद अध्ययन गरेर बसिरहेका छन् र तपाईंले भन्ने र लेख्ने गरेका किताबहरुमा यताको अनुभव कसै गरेर पनि मिल्दैन । खुला र छाडा अर्थतन्त्रको प्रतिपादक बनेर एउटै नेपाललाई तपाईंले धनीको नेपाल र गरिबको नेपाल बनाएर दुईटा बनाइदिनुभयो । सिके राउतहरुले हाल जुन भौगोलिक विखण्डनको अभ्यास गरिरहेका छन, त्योभन्दा १० गुणा अगाडि बढेर २० वर्षभन्दा अगाडि तपाईंले आर्थिक विखण्डनको प्रारुप तयार गरिसक्नुभएको थियो । तर विडम्बना‚ तपाईंलाई लण्डनबाट फुली लगाउन भनेर पत्र आएको छ ।

केही दिन तपाईंको चुरीफुरी देखिएला र भन्नुहोला‚ मलाई बेलायतले विश्वको उत्कृष्ट अर्थमन्त्री भनेर भनिदियो । तर यथार्थ के हो भने तपाईं संसारकै उत्कृष्ट भए पनि तपाईंलाई राज्यमन्त्री बनाएर देखाउने हिम्मत बेलायतले गर्न सक्दैन ।

तपाईंको कुरा गर्दा महेश आचार्यलाई पनि सम्झिन मन लाग्छ । कृपया पत्र पढ्नुभयो भने उहाँलाई पनि मेरो नमस्कार भन्दिनुहोला ।
धन्यवाद ।
हाल युएइ अबुधाबीमा कार्यरत अर्याल राजनीतिक विश्लेषण गर्न रुचाउँछन् ।
साभार: इसमताबाट 

प्रकाशित मिति: Wednesday, January 06, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।