पुरातात्विक सम्पदा उत्खनन प्रयासको आशंकामा दुई व्यक्ति प्रहरी नियन्त्रणमा

  • विद्या राई, घोरेटार । 
२०७२ माघ २।  भोजपुरको दक्षिणी गाविस सिन्द्राङ वडा नं.९ मा पर्ने संखामचुली क्षेत्रबाट एक पुरुष र एक महिला गरी अपरिचित दुईजनालाई शुक्रबार नियन्त्रणमा लिएको छ । 

ऐतिहासिक तथा पुरातात्विक तवरले छुट्टै अस्तित्व बोकेको संखामचुलीमुनिको सयबृक्ष नजिकैको गुफामा तपस्वीको रुपमा पौष २७ गतेबाट बस्दै आएको बताउने उनीहरुलाई संखामडाँडामा सुरुङ खनिएको पाएपछि स्थानीयले नियन्त्रणमा लिएको हो । उनीहरु बस्न थालेदेखी संखाममा सुरुङ खनिएको पाएकाले सार्वजानिक स्थल अतिक्रमण तथा पुरातात्विक सम्पदाको उत्खननको आशंकामा स्थानीयले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

उनीहरु आफुलाई तपस्वी बताउदै आएपनि त्यहाँ सोधखोज गर्न गएका स्थानीयलाई वास्तविक परिचय दिन, गुफामा छिर्न, फोटो खिच्न नदिएपछि अझ आशंका बढेको हुँदा नियन्त्रणमा लिएको स्थानीय सुमनहरी खालिङले बताएका छन् । गुफामा रहेका उनीहरुलाई शुक्रबार घोरेटारबजारमा ल्याईएको थियो । शनिबार ईलाका प्रहरी कार्यालय, स्थानीय सरोकारवाला लगायतको रोहवरमा उनीहरुलाई सोधपुछ गर्दा सुरुङका विषयमा आफुहरु अनविज्ञ रहेको जानकारी दिएको छन् । 

उनीहरु पवित्र मनले धर्मकर्म गर्न पाँच बर्षका लागि काठमाडौबाट संखाममा आईपुगेकाले स्थानीयबाट शंका भन्दा पनि सुरक्षा र सरसहयोगको अपेक्षा गरेको बताएका छन् । स्थानीयसंग विनाजानकारी गुफा बस्नु र वास्तविक परिचय नखुलाउनु आफ्नै अदुरदर्शिताको कारण गल्ती भएको महसुस गरेको बताएका छन् । सुरुङका सम्बन्धमा निर्दोष रहेको र निर्दोषता कुनै दिन खुल्ने हुँदा स्थानीयले गुफा बस्ने वाताबरण दिएमा बस्ने नभए असुरक्षित रुपमा बस्न नसक्ने बताएका थिए । 

ज्ञान आर्जनका लागि अाध्यात्मिक दर्शनकै लागि आएको उनीहरुले बताएपछि पर्यटकीय सम्भावना बोकेको संखामचुली र सयबृक्षको प्रचारप्रसार र प्रवर्द्धनमा सहयोग पुग्ने भएकाले स्थानीयले गुफामा बस्न दिने भएको छ । यसका लागि स्थानीयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तर जिल्ला प्रशासन कार्यालय भोजपुरबाट सिफारिस नलिईकन तपस्या गर्न नदिने इलाका प्रहरी कार्यालयलाई आदेश आएकाले सिफारिस नलिएसम्म बस्न नदिने इन्स्पेक्टर कमल भट्टराईले बताएका छन् । खनिएको सुरुङका सन्दर्भमा स्थानीयले निगरानीमा राख्ने भएको छ । करिव २२ फुटको गहिराईमा खनिएको सुरुङमा मान्छे हिड्न सक्ने खालको रहेको स्थानीय याङ्गखीमहाङ राईले जानकारी गराएका छन् । 
तपस्याका लागि आएका उनीहरुसंग एमआरपी पासपोर्ट बाहेक अन्य प्रमाण नपाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर भट्टराईले जनाएका छन् । पासपोर्टमा उल्लेख भएअनुसार २७ बर्षीय निराजन राई नाम गरेका पुरुषको ठेगाना खोटाङ जिल्ला रहेको तर हाल बसोवास काठमाडौ बताएका छन् भने महिलाको ठेगाना ताप्लेजुङ जिल्ला र नाम गोमा लिम्वु (३९) उल्लेख भएपनि बसोवास धरान ११ रेल्वेमा रहेको बताएकी छिन् ।

काठमाडौमा किरात धर्मको माङसेवा तपस्याका क्रममा भेट भएका निराजन र गोमा यसअघि मंसिर २ गते मंसिरे सेवा गरेर सयबृक्षबाट फर्केका थिए । त्यसपछि सयबृक्ष क्षेत्रमा अध्यात्मिक तपस्या सफल गर्नसक्ने अनुमान पछि यो पटक लामो समयका लागि तपस्या गर्न आएको उनीहरुले बताएका छन् । उनीहरुले गुफामा खानाका लागि फलफुल, कन्दमुल, दाउरा बस्नको लागि म्याट, ओड्ने ओछ्याउने, बत्तीका लागि मट्टितेल लगायतको व्यवस्था आफै गरिसकेका छन् । साथमा किरात धर्म, बौद्ध धर्म लगायत अध्यात्मिक पुस्तकहरु रहेका छन् । 

अविवाहित निराजन स्नातकोत्तर गरेको शिक्षित पुरुष समेत रहेको बताएका छन् । गोमा विवाहित रहेको दश बर्षे छोरा सहितको श्रीमान घरानमा बसोवास गर्दै आएको बताएका छन् । आफ्ना बारेमा नकरात्मक सन्देश जाने हुदा गोप्य रहन चाहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: Saturday, January 16, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।