सहिद शुक्रराजदेखि गणेशमानसम्मले नागरिक अधिकार माग्दा खेपेको ‘बदमास र उपद्रवी नेवार’को आरोपबाट मुक्ति कहिले मिल्ने ?

  • राजेन्द्र महर्जन 
‘नेवाः प्रदेशमा आदिवासी जनजाति अभियान’ले एउटा नयाँ सांस्कृतिक अभियान थालेको छ । राणाशासनकालमा सहिद बनाइएका प्रजातन्त्रवादी आन्दोलनकारीहरुको जातीय पहिचान लुकाउन पाइँदैन भन्दै अभियानले हो । आन्दोलनले चार सहिदमध्ये दशरथ चन्दको जस्तै अन्य तीन सहिदलाई पनि शुक्रराज शास्त्री (जोशी), गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमाकै रुपमा प्रस्तुत गर्नुपर्ने माग अगाडि बढाएको छ । आआफ्नो जातीय पहिचानप्रति सचेतनता बढेको समय र स्थितिमा यस्तो पहिचान पक्षधर माग उठ्नु अनौठो होइन । 

चाहे पहिचान पक्षधर होस् या विरोधी, सबैले व्यक्ति र प्रतीकहरुमाथि राजनीति गर्छन्, कसैले त्यस्ता व्यक्ति र प्रतीकको जातीय पहिचान लुकाएर, कसैले आफ्नो मात्रै जातीय पहिचान खुलाएर । अरुको पहिचानले नेपाल र नेपालीकै पहिचानमा संकट निम्त्याउँछ भनी ठान्ने नेपालका शासकहरुले पनि लामो समयसम्म पर्वते वा खसआर्य समुदायका सहिद दशरथ चन्दको थरलाई उजागर गर्दै आएको सत्य एकातिर छ । अर्काेतिर गैरपर्वते वा गैरखसआर्य सहिदहरुको जातीय पहिचान लुकाउँदै आएको तथ्य पनि छँदैछ । यही सन्दर्भमा नेवार समुदायका तीन सहिदको थर र जात उल्लेख गरी प्रचार प्रसार गरिनुपर्ने आवाज उठेको तथ्य बुझ्न सकिन्छ ।

इतिहासकार जोन ह्वेल्पटनका अनुसार राणा शासकहरु, विशेषतः शमशेरहरु आफू र आफ्नो शासनलाई ‘पवर्तेहरु’, विशेष रुपमा ठकुरी–क्षेत्री जातहरुका नैसर्गिक च्याम्पियनका रुपमा प्रस्तुत गर्दथे, जुन जातसँग उनीहरुको रगत जोडिएको थियो ।
यस्तो आवाज उठेको बेला एउटा भिन्न खालको प्रश्न पनि उठ्न सक्छ : राणाशासनकालमा प्रजातन्त्रका लागि साहसिक मृत्यु अँगालेका ती प्रजातन्त्रवादीहरु आफ्नो जातीय पहिचानप्रति सचेत थिए कि थिएनन् होला ? प्रजातन्त्रका लागि सहादत प्राप्त गरेका आन्दोलनकारीहरुचाहिँ आफ्नो संघर्षको जातीय आयामबारे अचेत वा बेखबर भएको, तर शासकहरु भने त्यसबाट सचेत र सतर्क भई हिंसात्मक दमनमा उत्रिएको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्छ कि सकिँदैन ?

हुन त यी प्रश्न सहिदहरुको लुकाइएको वा छोपिएको जातीय पहिचान उजागर हुनुपर्छ भन्ने मागका साथ अहिले थालिएको पहिचानको सांस्कृतिक आन्दोलनसँग सीधै नजोडिन पनि सक्छन् । तर उनीहरुको साहसिक सहादतसँग जातीय मुद्दा र पहिचानको सम्बन्धबारे भने गहन खोज र वस्तुवादी व्याख्या गर्नु जरुरी रहेको पाटोलाई भने बेवास्ता गर्न सकिँदैन ।

इतिहासकारहरुका अनुसार शाह शासकहरुजस्तै, राणा शासकहरु पनि आफ्नो जातीय पहिचानप्रति औधी सचेत थिए । पृथ्वीनारायण शाहले बनाउन खोजेको ‘असिल् हिन्दुस्थाना’लाई जंगबहादुर राणाले हिन्दु धर्म, उच्च वर्ण र पर्वते समुदायको वर्चस्व हुनेगरी ‘मुलुकी ऐन’मार्फत व्यवहारमा लागू गरेका थिए । र, जटिल खालको जातप्रथा भएको नेवार समुदाय सिंगैलाई ‘नमासिन्या मतवाली’ समुदायमा खसालेका थिए ।

कमलप्रकाश मल्लका अनुसार यही क्रममा उनीहरुले सन् १९०५ मा अड्डा अदालतमा पर्वते भाषा (पहिले खस कुरा, पछि नेपाली भाषा)का लिखतलाई मात्रै मान्यता दिइने र अन्य भाषाका दस्तावेजलाई मूल्य नदिने घोषणा लागू गरेका थिए । त्यस घोषणालाई अथ्र्याउँदै ह्वेल्पटन लेख्छन्, ‘यस्ता प्रयासको नेपथ्यमा राणाशासनविरुद्ध भएका विरोध मूल रुपमा नेवारहरुबाट प्रेरित रहेको अर्थमा चित्रित गर्ने उद्देश्य थियो ।’
इतिहासकार जोन ह्वेल्पटनका अनुसार राणा शासकहरु, विशेषतः शमशेरहरु आफू र आफ्नो शासनलाई ‘पवर्तेहरु’, विशेष रुपमा ठकुरी–क्षेत्री जातहरुका नैसर्गिक च्याम्पियनका रुपमा प्रस्तुत गर्दथे, जुन जातसँग उनीहरुको रगत जोडिएको थियो । कमलप्रकाश मल्लका अनुसार यही क्रममा उनीहरुले सन् १९०५ मा अड्डा अदालतमा पर्वते भाषा (पहिले खस कुरा, पछि नेपाली भाषा)का लिखतलाई मात्रै मान्यता दिइने र अन्य भाषाका दस्तावेजलाई मूल्य नदिने घोषणा लागू गरेका थिए । त्यस घोषणालाई अथ्र्याउँदै ह्वेल्पटन लेख्छन्, ‘यस्ता प्रयासको नेपथ्यमा राणाशासनविरुद्ध भएका विरोध मूल रुपमा नेवारहरुबाट प्रेरित रहेको अर्थमा चित्रित गर्ने उद्देश्य थियो ।’

ह्वेल्पटनका अनुसार ‘राणा शासनको विरोधमा देखिएको राजनीतिक क्रियाशीलताको पृष्ठभूमिमा पर्वते प्रभुत्वविरुद्ध अन्य समुदायमा रहेको आक्रोशको आयाम पनि छ नै । राणा शासकहरुले आफैले पनि ब्रिटिस शासकहरुसामु नेपाल प्रजा परिषद नामक पार्टी नै मूल रुपमा नेवारहरुको सिर्जनाको रुपमा प्रस्तुत गरेका थिए । तर, राणा शासनका विरोधीहरुले आफ्नो सैद्धान्तिक असहमति कुनै विशिष्ट जात र जातीय समुदायका सदस्यका रुपमा हैन, आम नेपालीकै रुपमै पोखेका थिए, भलै केही नेवारहरुबाट विशेष खालको विरोध प्रकट भएको किन नहोस् । उदाहरणका लागि, प्रजा परिषदका ‘चार सहिद’मध्ये एक

काठमाडौंबासी नेवार धर्मभक्त माथेमाले अर्को नेवारलाई कार्यकर्ता बनाउँदा गरेको संकेतले उनी र उनीजस्ता नेवारहरुमा राणा शासन र पर्वते प्रभुत्वविरोधी जातीय चेतना सुषुप्त वा खुला रुपमा रहेको आभास दिलाउन सक्छ । त्यस्तै, हिन्दु कट्टरपन्थविरुद्ध जीवनभर संघर्ष गरेका आर्य समाजका अगुवा माधवराज जोशीका पुत्र शुक्रराज शास्त्रीले ‘नागरिक अधिकार समिति’मार्फत राजनीतिक र नागरिक अधिकारका लागि संघर्ष गरेका थिए भने नेपालभाषाका किताब रचना गर्दै सांस्कृतिक अभियान पनि चलाएका थिए । सन् १९३३ तिरै ‘नेपालभाषा वर्णमाला’, ‘नेपालभाषा रिडर’सँगै ‘नेपालभाषा व्याकरण’ लेखेका शास्त्री (कृष्णप्रकाश श्रेष्ठ २०५४: ४१) को सांस्कृतिक चेतना र क्रियाशीलता आफैमा अनुसन्धानयोग्य विषय हो । यसको अर्थ यसबारे सबैजसो सहिद, तत्कालीन नेता–कार्यकर्ता र उनीहरुका लेखाइबारे खोज, अनुसन्धान र पुनव्र्याख्या गर्नु जरुरी हुन्छ । त्यसो त प्रजा परिषदका अध्यक्ष टंकप्रसाद आचार्यले जेलबसाइका क्रममा आफ्ना नेवार समकक्षीहरुमा आफूहरु पराजित जनताका रुपमा अनुभूति रहेको र उनीहरुमा ब्रिटिस र पर्वते प्रभुत्वको विरोधमा लड्न जापानी सहयोग लिने चाहना रहेको तथ्य फेला पारेका थिए (ह्वेल्पटन सन् २०११ (सन् २००५): ८२–८३) ।

ह्वेल्पटनका अनुसार ‘राणा शासनको विरोधमा देखिएको राजनीतिक क्रियाशीलताको पृष्ठभूमिमा पर्वते प्रभुत्वविरुद्ध अन्य समुदायमा रहेको आक्रोशको आयाम पनि छ नै । राणा शासकहरुले आफैले पनि ब्रिटिस शासकहरुसामु नेपाल प्रजा परिषद नामक पार्टी नै मूल रुपमा नेवारहरुको सिर्जनाको रुपमा प्रस्तुत गरेका थिए ।
राणाशासनविरोधी नेवार प्रजातन्त्रवादीहरु, विशेषतः तीन जना सहिदहरु राणा, विशेषतः ठकुरी क्षेत्रीका एकाधिकार र आम रुपमा पर्वते प्रभुत्वप्रति विरोध र आफ्नो जातीय पहिचानप्रति सचेतना भए पनि नभए पनि राणा शासकहरु र उनीहरुका बुद्धिजीवीको भूमिका खेल्ने ब्राम्हण अभिजात वर्गका सदस्यहरु भने प्रजातन्त्रवादीहरुको जातीय पहिचानप्रति सचेत थिए अनि त्यही पहिचानबाट प्रकट भएको राजनीतिक चेतना र क्रियाशीलताप्रति पनि सतर्क थिए । उनीहरुले राणाशासनको विरोधमा लागेको निहुँमा १९९७ सालमा समातिएका राजनीतिक र सांस्कृतिक कार्यकर्ताहरुको सूची र तिनीहरुलाई हिन्दु धर्मशास्त्र र ‘उच्च’ जातीय ऐनअनुसार दिइएको सजाय तुलना गरियो भने धार्मिक, क्षेत्रीय र जातीय विभेद र दुव्र्यवहार छर्लंग देखिन्छ (राजेश गौतम २०४६ र भुवनलाल प्रधान सन् २०१४) । गंगालाल श्रेष्ठका चेला प्रो. माणिकलाल श्रेष्ठ नेपालभाषामा कविता र अन्य साहित्यिक रचना गरेकै आधारमा चित्तधर तुलाधर (पछि हृदय)लाई ६ वर्ष कैद गरिनु र प्रजा परिषदका अध्यक्ष आचार्यलाई ब्राम्हण भएकै कारण सर्वस्व भई मुडी दामलको सजायँ दिइनु आफैमा त्यही विभेद र दुव्र्यवहारको द्योतक मान्छन् ।

धर्मभक्त माथेमाले सबैभन्दा पहिले भर्ती गरेका अर्का नेवार गणेशमान सिंहलाई सदस्य बनाउने क्रममा सामान्यतः पर्वते प्रभुत्वविरुद्ध केन्द्रित विद्रोहको संकेत गरेका थिए । सायद, एक नेवारले अर्को नेवारलाई भर्ती गर्दा सामान्यतः पर्वते प्रभुत्वविरुद्ध केन्द्रित विद्रोहको कुरा सुनाउँदा नै उचित हुने विश्वास गरिएको हुनसक्छ
यसै सन्दर्भमा चार जना प्रजातन्त्रवादी अगुवाहरुलाई मृत्युदण्डको सजाय दिएका जुद्ध शमशेरको जातीय घृणाले राणा शासक र तिनका मतियार बुद्धिजीवीहरुमा रहेको जातीय अहंकारलाई प्रदर्शन गरेको देखिन्छ । इतिहासकार भुवनलाल प्रधानका अनुसार १९९७ माघ ७ गते शुक्रराज जोशीलाई सिंहदरबार ल्याइँदा जुद्ध शमशेरले फैसला अघि भनेका थिए, ‘यी सबैको नाइके तैं होस्, तँलाई पल्टनले कुल्चाएर मार्नुपर्छ ।’ फैसला सुनाएपछि पनि शुक्रराजदेखि विशेष रुपले नै क्रुद्ध हुँदै ‘नेवार… ज्यापु..’ इत्यादि शब्दहरु प्रयोग गर्दै गाली गर्दै रहे, जसको प्रतिवाद शुक्रराजले पनि गरे (प्रधान सन् २०१४: ८६, ९२–९३) ।

यसबाट शासकहरुले शासक जाति र थरभन्दा भिन्न जाति एवं थरका आधारमा आफ्ना विरोधी आन्दोलनकारीहरुलाई सजाय दिने गरेको तथ्य देखिन्छ, त्यस जातिवादी व्यवहारप्रति सजाय पाएका व्यक्तिमात्रै होइन, धेरैजसो इतिहासकार पनि बेखबर भएको वा त्यसलाई उनीहरुले बेवास्ता गरेको हुन सक्छ । यसबारे थप खोज र अनुसन्धान आवश्यक हुन सक्छ ।

यसबारे थप खोज र अनुसन्धानका लागि ढोका खोल्ने काम भुवनलाल प्रधानले गरेको पाइन्छ । ‘नेपालको जनक्रान्ति २००७’ पुस्तकमा राणाशासनको विरोधमा काठमाडौं उपत्यकाका गल्लीगल्लीमा समेत भएका प्रदर्शन, तिनको अगुवाइ गर्ने र सहभागी हुनेहरुको सकेसम्म नाम, घटना र प्रसंग उल्लेख गर्न भ्याएका प्रधानले एकाध ठाउँमा शासकहरुको स्वजातिवादी नीति र अन्य जातिविरोधी चरित्र उजागर गरेको पाइन्छ । जुद्ध शमशेरले जस्तै पद्म शमशेरले पनि प्रजातन्त्रको माग गर्ने आन्दोलनकारीहरुलाई ‘नेवार बदमास र उपद्रवी’का रुपमा बुझेका थिए । २००४ वैशाख १ देखि नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा देशभित्रका प्रजातन्त्रवादीहरु ‘सत्याग्रह’मा उत्रिएपछि उनले वैशाख १९ गते टुँडिखेलमा भाइभतिजा र भारदारसामु एकातिर नयाँ विधान बन्न लागेको घोषणा गरे भने अर्कोतिर ‘जुलुस निकाली, नारा लगाई, होहल्ला मच्चाउने… नेवार….. यस्ता उल्लेख बदमासहरु’ भनी गालीगलौज पनि गर्न भ्याए (प्रधान सन् २०१४: १६३) ।

शुक्रराज जोशीलाई सिंहदरबार ल्याइँदा जुद्ध शमशेरले फैसला अघि भनेका थिए, ‘यी सबैको नाइके तैं होस्, तँलाई पल्टनले कुल्चाएर मार्नुपर्छ ।’ फैसला सुनाएपछि पनि शुक्रराजदेखि विशेष रुपले नै क्रुद्ध हुँदै ‘नेवार… ज्यापु..’ इत्यादि शब्दहरु प्रयोग गर्दै गाली गर्दै रहे, जसको प्रतिवाद शुक्रराजले पनि गरे
विशेषतः राजधानी काठमाडौंसँगै भक्तपुर र ललितपुरमा नेवार प्रजातन्त्रवादीहरुको व्यापक सहभागितामा भएको सत्याग्रहलाई ध्यानमा राखेर उनले विधान बनाउन लागेको विशेष घोषणा गर्ने र त्यही विशेष घोषणामै नेवारहरुलाई गालीगलौज पनि गर्न भ्याएको देखिन्छ । नयाँ विधान दिएर थुमथुम्याउने तथा सत्याग्रहलाई बदमास र उपद्रवी नेवारहरुको हर्कतका रुपमा प्रचारबाजी गर्दै बदनाम गर्ने नीति अन्य माध्यमबाट पनि जारी रहेको पाइन्छ । यसैको एक कडी हो, ‘गोरखापत्र’जस्तो सरकारी मुखपत्रबाट सत्याग्रहलाई बदमास नेवारहरुले पर्वतियाहरुविरुद्ध गरेको संघर्षको प्रचारबाजी गर्दै आन्दोलन तुहाउने षड्यन्त्र गर्नु । सत्याग्रहको अगुवाइमा समेत सरिक भएका भुवनलाल प्रधानका अनुसार ‘दुई पटक जुलुस भएको तीन चार दिनभित्र राणा सरकारले गोरखापत्र समेतद्वारा के होहल्ला मच्चाएर दुनियाँदारलाई आपस्तमा मनोमालिन्य र वैरभाव फैलाउने कुचेष्टा गरेको थियो भने उपरोक्त सत्याग्रह बदमास नेवारहरुले पर्वतिया खस बाहुन, क्षेत्रीहरुको विरोधमा गरिरहेका थिए । यस्तो साम्प्रदायिक भावना पैदा गरेर सरकारले यो राष्ट्रिय आन्दोलन धमिल्याउन खोजिरहेको थियो । यस्तो सरकारी गलतफहमीको खण्डन गर्नु र वस्तुस्थिति स्पष्ट गर्नु पनि आन्दोलनका सञ्चालकहरुका लागि नितान्त जरुरी भएको थियो ।’

त्यही जरुरतअनुसार वैशाख २३ गते त्रिचन्द्र कलेजबाट छापामार शैलीमा निस्केको जुलुसमा ‘इन्क्विलाब जिन्दाबाद, राजबन्दी छाडिदेऊ, नागरिक अधिकार दिनै पर्छ’जस्ता नारासँगै नयाँ नारा पनि लागेको थियो । त्यो थपिएको नारा थियो, ‘नेवार–पर्वते एक हो ।’ सहरभित्र छिरेपछि जुलुसले झन् विशाल रुप लिएको र अघिल्ला दुई जुलुसमा भन्दा पनि यसमा झन् धेरै मानिस सहभागी भएको जनाउँदै प्रधानले थपेका थिए, ‘यस्तो जुलुस बदमास नेवारहरुले मात्र निकालेको भनेर सरकारले लगाएको तथाकथित आरोपको विपरीत यस जुलुसमा नेवार, पर्वते, मधेसीलगायत नेपाल राष्ट्रका सबै जात र जातिका आमजनताले भाग लिए । सहभागीहरुको भीडको दृष्टिले पनि यो जुलुस अभूतपूर्व थियो ।’

यसको अर्थ राणा शासनकालमा शासकहरु नेवार पहिचान भएका आन्दोलनकारीहरुबाट त्रस्त थिए र उनीहरुले नेवारहरु बदमास र उपद्रवीका रुपमा पहिचान गरेका थिए । तर धेरैजसो आन्दोलनकारी भने सरकारको यस्तो जातिवादी नीति र चरित्रप्रति बेखबर थिए वा त्यसलाई बेवास्ता गर्दैथिए । त्यसैले होला, नेपाल नेसनल लिगले मात्रै त्यसलाई प्रतिवाद गर्ने गरी ‘नेवार र मधेसीहरुलाई सैनिक सेवामा लिइनुपर्ने माग’ (प्रधान सन् २०१४: ३१) उठेको देखिन्छ । सैनिक सेवामा भर्तीसँगै अन्य पहिचान, पहुँच र प्रतिनिधित्वका मुद्दामा भने नेपाल प्रजा परिषद, नेपाली राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी पनि ठोस माग राखेको पाइँदैन ।

शासकहरुले जातीय र भाषिक पहिचानको आधारमा दबाउने गरे पनि, विभिन्न दलमा नेवारहरुको प्रभाव र उपस्थिति भए पनि, त्यसको प्रतिवाद गर्न उनीहरुले न नीति बनाउन सके, न त कुनै बौद्धिक विमर्श नै खडा गर्न सके । त्यही विडम्बनाको निरन्तरता संघीय गणतन्त्र नेपालमा पनि जारी छ र अहिले एकल जातीय प्रभुत्वविरुद्ध आवाज उठाउनेहरु प्रताडित नै छन्, ब्राम्हणवादविरोधी संघर्ष गर्न खोजेका गणेशमान सिंहजस्तै । आफ्ना राजनीतिक गुरू धर्मभक्त माथेमाबाट पाइएको मन्त्र पर्वते प्रभुत्वविरुद्ध प्रतिरोधलाई सिंहले जीवनको अन्तिम कालखण्डमा भए पनि ब्राम्हणवादविरोधी संघर्षका रुपमा उठाउन खोज्दा उनी नराम्ररी प्रताडित भए । जुद्ध र पद्म शमशेरले जस्तै तत्कालीन शासक र बुद्धिजीवीहरुले उनलाई समेत ‘साम्प्रदायिक नेवार’मा रुपमा बदनाम गरेको तथ्य हेक्का राख्न लायक छ । शुक्रराज शास्त्रीदेखि उनीहरुसँगै गिरफ्तार भएका गणेशमान सिंहले नागरिक अधिकार माग्दा खेपेको ‘बदमास र उपद्रवी नेवार’को आरोपबाट मुक्ति कहिले मिल्ने होला ? (साभार इसमताबाट) 

प्रकाशित मिति: Saturday, January 30, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।