'बाघखोर' प्रकृतिपूजक आदिबासीहरुको एउटा वैज्ञानिक सिर्जना

२०७२ माघ ४। प्राचीनकाल जतिखेर मानव वस्ती कम र जंगलको क्षेत्र बढी थियो । त्यतिखेर मानिसले पालेका घरपालुवा जनावर लगायत मानिसलाई समेत बाघले आक्रमण गरी खाने गर्दथ्यो । समय र परिस्थितिअनुसार बाँच्न सिकेका अादिवासीहरुले स्थानीय सामग्रीको बन्दोबस्त गरी बाघलाई नियन्त्रणमा लिने गर्दथे । जसको निर्माण सामान्य तर वैज्ञानिक तवरले गर्ने गरिन्थ्यो ।

प्रकृतिसँगको निकटता र सङ्घर्षमा जीवन व्यतित गर्ने आदिवासी जनजातिका यस्ता सिर्जनाहरु आजको समयमा लोप हुने अवस्थामा रहेका छन् । बाघले मानिसलाई खाने युगमा बाघकै शिकार गर्थे भने हाल अाएर स्यालले घरपालुवा जनावरमाथि आक्रमण गरी शिकार गर्ने गरेकाले समयानुसार बाघखोर स्यालखोरको सानो चौघेरामा सीमित रहन पुगेको छ । उतिखेर बाघ थुन्न बलिया बलिया खोरहरु बनाइन्थे भने हाल अाएर स्याललाई मात्र थुन्न सकिने मध्यम खालका खोरहरु बनाइन थालिएको छ । बाघ हिड्ने बाटोमा पर्ने गरी बाघखोर बनाइन्थ्यो जसका कारण त्यस्ता ठाउँहरुको नामाकरण समेत चाभखोरा (बाघको खोर) जस्ता शब्दले हुन पुगेका छन् । तर हाल यी सिर्जनाहरु दन्तेकथा जस्तै हुन पुगेका छन् । नेपालको पूर्वी पहाडी इलाकाका केही स्थानमा भने आजका दिनमा पनि यस्ता खोरका केही नमूना अवलोकन गर्न सकिन्छ।

बाघखोर वा स्यालखोर बनाउने तरिका छोटकरीमा 
बाघखोर वा स्यालखोर बनाउँदा सीधा लाइनमा तीनवटा कोठा भएको बन्दकक्ष बनाइन्छ । बाघखोरमा विशेषगरी बाख्रा र स्यालखोरमा कुखुरा राख्ने चलन छ । जसलाई चारो भनिन्छ । तीनकोठा मध्ये चारो बीचकोठामा राखिन्छ, जसलाई यस तरिकाले सुरक्षित राखिन्छ कि छेउतिरका दुवै काेठाबाट बन्द हुने बाघ वा स्यालले  चारोलाई कुनै चोट पुर्याउन नसकोस् । 
दोभाने–२ थुम्लुङ सिरान, भोजपुरको जङ्गलमा अवस्थित बाघखोर। तस्वीर: अजम्बर राई काङमाङ ।
बाहिरपट्टिका दुवै कोठाहरु यति साघुरा हुन्छन् जसबाट बाघ वा स्यालले शरीर फर्काउन सक्दैन । चारोको चिच्याहट वा गन्धले बाघ वा स्याल शिकारको लागि झम्टेर अाउँछ र खोरभित्र छिर्छ । खोरभित्र छिर्ने बित्तिकै भुइँमा भाटा बुनेर वा फल्याकको फित्कौली (पासो)मा टेक्दा कल्की खुस्केर ढोका लाग्न जान्छ । र ढोका खोल्न नसकिने गरी बन्द हुन जान्छ । प्राय गरेर दुवैतिरका ढोकाहरु एकैपटक लाग्ने हिसाबले फित्कौली बनाइएको हुन्छ, जसका कारण भाले र पोथी वा जोडी बाघ दुवैले एकै पटक दुईतिरबाट शिकार झम्टदा  दुईवटा बाघ वा स्याल एकैपटक थुनिने गर्दछन् । 

खोरमा थुनिएको बाघ वा स्याललाई पहिले पहिले बाणको बस्सिले हानेर मारिन्थ्यो भने पछिल्ला दिनहरुमा भने बन्दुक जस्ता हतियारको प्रयोगले मार्ने गरिएको थियो । बाघ वा स्याल मारिसकेपछि बीचमा राखिएको बाख्रा वा कुखुरालाई सुरक्षित साथ निकालिन्छ ।

उहिलेको त्यस समयमा बाघलाई खोरमा थुन्न खोरको निर्माण वा बाघको शिकारका लागि केही व्यक्ति जो शिकारी स्वभावकाहरु खट्थे । तिनले बाघलाई खोरमा थुनिइसकेपछि सङ्तालित (धनुवाण) ले एकै काँडमा मार्दथे । तत्पश्चात् बासको भार बनाई गाउँभरि डुलाइन्थ्यो र हरेक घरले आफ्नो र घरपालुवा जनावरको सुरक्षामा योगदान पुर्याएकोमा खुसी मान्दै चामल, दाललगायतले सघाउनी (पारिश्रमिक) दिइन्थ्यो ती शिकारी युवाहरुलाई। 

र अन्तमा बाघको मासु तथा हड्डी औषधिको रुपमा हरेक घरछिमेकका लागि भाग लगाइन्थ्यो भने छालाले साकेन्वा/ साकेला नाच्ने ठोल (ढोल) माेड्नेलगायत काममा लगाइन्थ्यो । समय, काल, परिस्थितिअनुसार अनेकौ सिर्जना गर्न पोख्त अादिवासीहरुका यस्ता वैज्ञानिक सिर्जनाहरु हाल एकएक गरी लोप हुँदै गएका छन् । राज्यले अंगालेको यससम्बन्धीको प्रतिकूल कानूनले गर्दा समेत यस्ता बाघखोर, चरिलिसो आदिको निर्माण र प्रयोग शुन्य रहेको अवस्था छ ।

प्रकाशित मिति: Tuesday, January 19, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।