पैसामा बिक्छ, ठूलाका हातमा छ यहाँको न्याय, कसरी लोकतान्त्रिक नेपाल भन्नु?

लक्ष्मण थारु। 
२०७२ माघ १२। कैलाली जिल्ला अदालतले २०७२ भदौ ७ को टीकापुर घटनाको आरोपमा २१ जनालाई पुर्पक्षको लागि जेलमै थुना गर्ने आदेश दियो । 

झुठ्ठा मुद्दामा, त्यो पनि राजनीतिक दबाब र जातीय पूर्बाग्रहको संक्रमणले । न्यायाधीश भुवनसिंह थापाको आदेश बुझ्न गाह्रो भएन । 

टीकापुर हत्या दर्दनाक र निन्दनीय छ । तर डीएसपी विश्वराज खड्का थारूहरूलाई नेता बनेको देख्न चाहँदैनन् । उनकै अहंकारले सम्पूर्ण बनावटी किटानी जाहेरी र प्रहरीसमक्ष गरिएको भनिएको बयान सबै सबै बनावटी छ । 

हामी सबै अदालतको एउटा कोठामा कोचिएका छौं । केही बेरमा जेल लैजाने तयारी हुँदैछ । बाटैभरि पुलिसै पृुलिसको ताँती छ । त्यसो त साथीभाइ, आन्दोलनकारी शुभेच्छुकहरू पनि तारिखमा छुट्छन् कि भनी लिन ठूलै संख्यामा आएका छन् । साथीहरू जबर्जस्ती हाँस्नका लागि मजाक गर्न थाले । कसैले मामाघर जाँदैछम्, कसैले ससुराली जाँदैछम्, कसैले तलब पाइने भो अब भन्दैछन् । जेहोस्, आँखामा आँसु कमैको छ । वानडन भनिने पुलिसको ठूलो गाडीमा कोचियो सबैलाई । नारा घन्काउन थाल्यौं । 

–हाम्रो आन्दोलन जारी छ ।
–झुठ्ठा मुद्दा खारेज गर ।

२१ जनामा एक जना बाहेक सबैको लागि जेल जीवन पहिलो थियो । मेरो पनि जेल जीवन पहिलो हो । जेलको आन्तरिक व्यवस्थापन र नियम कानुन हाम्रो बस्ने कोठा, बन्दीहरू कस्ता छन् ? कुनै जानकारी छैन, तर पुग्यौं ।

जेलको गेटभित्र हुलिँदा कैदी संख्या ३८५ पुगेछ । कोही दश वर्षसम्म यहाँ बिताएका छन् । लहरै जनयुद्ध सँगै लडेका २०/२५ जना देखें । उनीहरूकै सहयोगले आधा घण्टा छलफल र जानकारी लिँदै साँझको खाना खाई कोठा नं. ९ मा सुतियो ।

जिप्रका जस्तो सानो कोठामा खप्टिएर सुत्ने बाध्यता छैन यहाँ । सबै कोठामा टिभी, रेडियो घन्किँदै छ । बाहिर एउटा कुनामा जिम गर्ने केही सामग्री देखिन्छ ।

मनमनै लाग्यो, कुनै मेलामा घुमघाम गर्दैछु । अलि मख्खै थिएँ । दुई दिन चुपचाप खाने, बस्ने सुत्ने र परिचय गर्नमै लाग्यो । त्यसो त सबैले यहाँ मलाई सम्मान नै गर्छन् ।

बिस्तारै बुझ्दै जाँदा संसार भेटियो । बाघ मारेको, गैँडाको सिङ बेच्दाबेच्दै, तीन वर्षीय नाबालिका बलात्कार गरेका ७० वर्षीय, काठ तस्करी, लागूऔषध, नक्कली नोट तस्करी, ज्यानमारा, चोर चन्दाल, हातहतियार खरखजाना कस्ता अभियुक्त छैनन् यहाँ । जस्तो खोज्यो उस्तै पात्रहरू, नियत र औकात भएका छन् ।

तर मेरो ध्यान यहाँको बेथिति भनौं, अस्तव्यस्त व्यवस्थापनतिर तानियो । भित्रै पसल छ, चियापसल छ, अनेक व्यापार चल्छ यहाँ ।

केही साथीहरूबीच छलफल गर्‍यौं । पहिला आवश्यक माग राखौं, अनि आन्दोलन सुरु गरौं । सबैले समर्थन जनाए । तत्काल नौबुँदे माग राख्यौं ।

शुद्ध खानेपानीको अभाव, चामलमा प्रतिकेजी रु. दश कमिसन, खेलकुदका सामग्री छैन । पठनपाठनका लागि न कुनै किताब, न पत्रपत्रिका, वर्षाै बसेकाहरू छुट्दा आत्मनिर्भरताको कुृनै आधार छैन । अंगे्रजी, जापानी, कोरियन, चिनियाँ भाषाको क्लास, डान्स तालिमलगायतको माग राख्यौं ।

जेलर अखण्ड पक्षघर नै छन् । खाउँलाझैं हकारे । देखाइदिन्छु भन्दै हुने नहुने बर्बराउन थाले । उनको बर्बराहटले पहिल्यै सबै त्रसित थिए । जब म प्रतिवाद गर्न थालें, लात्ती बजार्दै उनी सिडिओकहाँ हुइँकिए । अर्काे दिन सिडिओ, एसपी म बस्ने कोठामा भित्रै आए । हातमा कागज देखाउँदै सिडिओले भने, ‘तपाईंंहरूका माग सबै जायज छन् । यसरी नै सबैले सोच्ने हो भने देश बन्छ’, सिडिओसँग गफ लम्बियो ।

उनले फेरि सोधे, ‘यसबाहेक केही छ ?’

सबै कैदीले मेरै मुख हेर्न थाले । उनले मलाई नेताजी नै भन्नुपर्‍यो भनें, ‘६० प्रतिशत कैदी यहाँ निर्दाेष छन् ।’

– हो र ?
– तपाईंंलाई बढी थाहा छ ।
– निर्दोष पनि हुन सक्छन् । यो सुधारगृह हो ।

यति भन्दै उनी जान हतारिए । हामी खानामा लाग्यौं ।

राति कोठामा लामै छलफल भो । कैदी जेलकै विषयमा । थप छलफल बिहान हुने निश्चित छ । दैनिक कैदीहरूकै जमघट छ हाम्रै वरिपरि । लाग्छ, हाम्रै हातमा फैसला गर्ने अधिकार छ ।

कुनै बेला माओवादी छँदा यसै कारागारमा आक्रमण गरी सबै बन्दी मुक्त गरेको, केही वर्षपछि यसै कारागारमा बन्द जीवन बिताउँदै छु ।
६ वर्षदेखि कैदी रहेका महेश जोशीले सोधे,

– यो कारागार आक्रमणमा तपाईं पनि हुनुहुन्थ्यो दाइ ?
– थिएँ भाइ ।
– किन आक्रमण गर्नुभो ?
– लडाइँकै क्रममा हो । तर साथीहरू धेरै बन्दी भएकाले छुटाउन आक्रमण ग¥यौं ।
– तोडेर लैजानुभयो ?
– कैदी मात्रै होइन, हतियार पनि सबै कब्जा गरेका थियौं ।
– दाइ मेरो नि ६ वर्ष भो यहाँ ।
– मुद्दा के हो ?
– हत्या अभियोग ।
– कहाँ को ?
– डुडेझारी ।

म अचम्मित भएँ । माओवादी केन्द्रीय योजनामा भएको त्यो घटना, तर एउटा सर्बसाधारण छ वर्षदेखि कैदी कसरी ? फेरि माओवादी पटक पटक सरकारमा पनि गयो ।

– अनि पार्टीले क्यै गरेन ?

यति भन्दा उनी बर्बराउन थाले,

– कत्रो दुःख गरेर जुनयुद्ध लडियो । पार्टीकै निर्देशनमा डुडेझारी घटना भएको नेता भनाउँदाहरू सिंहदरबारको कुर्सी पाएसी आफ्नै स्वार्थमा डुबे ।

उनको कुरामा मैले नि समर्थन जनाएँ । कुरा गर्दै थियौं । अर्का युवा नमस्ते सर भन्दै छेउमै बसे ।

– के छ भन्नु त ।
– केही कुरा सोध्नु थियो सर ।
– नाम के हो ?
– रामबहादुर शाही ।
– कति वर्ष भयो जेलमा ?
– दश वर्ष ।
– केस के हो ?
– मानव बेचबिखन ।
– कसलाई बेच्नु भो ?
– कसैलाई बेचेको छैन, फँसाको ।
– कसरी ?
– श्रीमतीसँगै दिल्लीमा काम गथ्र्याैं, श्रीमतीले अर्कै केटासँग लागेर र बहाना बनाएर मुद्दा हालिदियो ।
– श्रीमती कहाँ छ ?
– त्यही केटासँग गयो ।
– अनि झुठा मुद्दा हो भन्नुभएन ?
– भनें ।
– अनि ?
– पुलिसले पैसा माग्यो । मैले दिन सकिनँ । जेल हालिदियो ।

कुरा गर्दागदै अर्काेले भन्यो– सर मेरो नि सुन्नु हुन्छ ?

– भन्नु न ।
– मलाई नि झुठा मुद्दामा फँसायो ।
– कसरी ?
– गाउँमा झगडा भयो । एउटा म¥यो । मार्नेहरू फरार छन् । मलाई पो सित्तैमा जेल हाल्यो ।
– कति वर्ष भो जेल ?
– नौ वर्ष ।
– सजाय कति तोकेकोे छ ?
– दश वर्ष ।
– एक वर्ष त छ नि ।
– हो, एकै वर्ष बाँकी छ । तर मार्नेहरू ठूला जातकालाई केही भएन । म निर्दाेष तर तल्लो जातको भएकाले फँसायो, न्याय र क्षतिपूर्ति पाउनुपर्‍यो ।
– नाम के हो ?

ती पीडित चक्रबहादुर विकको वास्तविकता के हो, बुझ्नैपर्ने लाग्यो । तर घुस दिन नसकेकै कारण, तल्लो जाति भएकै कारण जेल कोचिएको कुरा सुन्दा दिग्दार लाग्यो । साँच्चै निर्दाेषले सजाय पाउँदाजस्तो पीडा के होला ? कति मजाक छ शासकहरूलाई ? मुठ्ठीमा कानुन ? यही हो लोकतन्त्र, मानवअधिकार ? कैदीको बीचमा सोच्दै थिएँ । आफैलाई प्रश्न पनि गर्दै थिएँ । अर्का अलि पाका मेरो छेउमा आएर सर मेरो नि सुन्नु भन्न थाले ।

– नाम के हो ?
– लक्ष्मी चौलाई ।
– घर कहाँ हो ?
– धनपा १२, जुगेडा ।
– काम के गर्नुहुन्थ्यो ?
– राजनीति ।
– केस के हो ?
– गैँडाको खाग राखेको ।
– किन राखेको ?
– हो, घरमा राखेर गल्ती भो । तर राख्ने मान्छे अर्कै पार्टीका हुन् । मलाई थाहै थिएन । गैँडाको खाग हो भनेर । उनीहरू राखेर जानासाथ पुलिस आयो, समात्यो ।
– अनि राख्नेहरू समातिएनन् ?
– समातिएनन् ।
– किन ?
– उनीहरूको सरकार थियो ।

यसरी केही कैदीका मात्रै सुन्दा मेरो माथा गरम भइसकेको थियो । झन धेरै कैदी झुम्मिए । दर्जन बढीले भन्दैथिए ‘मेरो नि सुन्नु ।’ ‘अर्काे दिन सुनौं है’ भनेर म कोठामा एक्लै चिन्तन गर्न थालें ।

आखिर के हो यो सब ? निर्दाेष धेरै छन् भन्न अप्ठ्यारो हुँदै भएन । यो मुद्दा राष्ट्रव्यापी होला भन्ने लाग्यो र यो अनुसन्धानले मेरो विद्यावारिधि नै होला जस्तो लाग्यो । अरु के के लाग्यो लाग्यो ।

सुतेकै छु । दर्जन जति कैदीहरू सुतेकै ठाउँमा आए । अब त आफ्ना लेखेर दिन बित्न थाले । वास्तविकता बुझ्नैपर्छ जिम्मेवारीजस्तो सम्झें । त्यसैले, कैदी नाइकेलाई बोलाएँ ।

– तपाईंलाई थाहा छ यहाँ सब कुछ ?
– छ सर ?
– के के ?
– थाहा त छ । तर हाम्रो कसैले सुन्ने होइन । तपाईं नि २÷४ दिनमा छुट्नुहुन्छ होला, त्यसपछि बिर्सिनुहुन्छ होला ।
– उनको कुरासँग म सहमत भएको मुन्टो हल्लाएँ ।
– तैपनि भन्नु न ?
– के के भनूँ सर । सुनाउँदा यहाँ त महाभारत बन्छ । यहाँ बेथिति छ । बोल्न कोही सक्दैनन् । यहाँ पैसा हुनेहरू छुटेर जान्छन् । निर्दाेष सजाय भोग्छन् ।
– कति छन् निर्दाेष ?
– होलान् कम्तीमा ६० प्रतिशत ।
– कसरी ?
– सोध्नु न सबैलाई । तपाईं ठूलाबडा । तर सुन्ने मात्रै होइन, पहल पनि गर्दिनुप¥यो । बरु साथ हामी दिन्छौं ।
छेउमै उभिएका बझाङ छन्नाका भूपेन्द्र सिंहलाई सोधें । किनकि उनी आफू निर्दाेष होइन भनेर मलाई पहिले नै भनिसकेका थिए ।
– भूपेन्द्र के हो यहाँको हालत ?
– सत्य हो दाजु ।
– के सत्य ?
– निर्दाेष धेरै छन् ।
– साँच्चै ?
– हो दाजु, पञ्चायतको नियत, चिन्तन शैली यहाँ लागू छ ।

यसअघि दाङ, भैरहवा, चितवन, काठमाडौं, सुनसरी, सप्तरी, नेपालगंज, डोटीका कारागारमा पनि भेटघाट गर्न कैयौं पटक गएँ । तर यस्ता कुरा कमै सुनेको थिएँ । सायद बाहिरैबाट बुझ्न कठिन विषय हो जस्तो लाग्दै छ आज ।

यो गम्भीर प्रकृतिको सवाल, सम्मानित न्यायमूर्तिको जिम्मेवार सवाल । तर सरकारको मौनता किन ? हामी आफै पनि निर्दाेष छौं ।

मैले धनगढीका प्रतिष्ठित एकजना अधिवक्तालाई फोन गरें । धेरै विषय जानकारी गराएँ । उनले सिधा सिधा राजनीतिक अस्थिरता र बदलाभावले सम्मानित अदालत निष्पक्ष नभएको स्वीकारे । अर्काे फोन काठमाण्डां गरें, सर्वाेच्चमा वकालत गर्दै गरेका अधिवक्तालाई ।

यहाँको सबै जानकारी गराएँ । उनले पनि राजनीतिक दल र नेताहरू लोभीपापी भएकै कारण सम्मानित अदालत स्वतन्त्र नभएको स्वीकारे ।

अब त झन के के सोच्न थालें । बाहिरको घुमुवा राजनीतिभन्दा जेलभित्रै अति व्यस्त हुन थालें । बाहिर भेट्न आउनेको पनि लर्काे छ ।

घरीघरी भेटघाटमा आउनेलाई पनि यहाँको जानकारी गराउन थालें ।

यस्ता गम्भीर विषयमा मलाई हमेशा उचित र परिपक्व सल्लाह दिने डट डट वालीसँगको सम्पर्कविच्छेद छ । धैरे प्रयास गर्दा पनि, पटक पटक खबर पठाउँदा पनि भएन । छटपटिएँ, के कसरी अगाडि बढौं भनेर, तर सम्पर्क हुन सकेन ।

आन्दोलन कमजोर मात्रै भएको छैन । करिब तुही नै सकेको भान हुन्छ । केपी ओलीको नेतृत्वमा सरकार नयाँ बन्यो रे । मन्त्री बन्न सबै पार्टीमा भाँडभैलो छ रे । टिभी, रेडियोमा सुनेरै थप आफै विश्लेषण गर्नुपर्ने । कैदीहरू पनि पटक पटक सोध्छन्– के के हुँदैछ सर ।

कैदीहरूसँग यसरी दैनिक छलफल र उनीहरूको निर्दाेष बोली सुन्दा मेरो ध्यान मल्लिक आयोगतिर तानियो ।

क्रमशः 
‘सेक्स, युद्ध र जेल’ (२०७२) पुस्तकबाट
साभार: इसमताबाट

प्रकाशित मिति: Tuesday, January 26, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।