नयाँ सामाजिक सञ्जाल ‘मीट’ टेलिकमद्वारा सुरु

२०७२ माघ ४ । नेपाल टेलिकमले सोमबारदेखि नयाँ नेपाली सामाजिक सञ्जाल सुरुवात गरेको छ ।  सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमको ‘मीट’ (meet) नामक नयाँ सामाजिक सञ्जालको सुरुवात गरे ।

मीटमा टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ ।  त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिने कम्पनीले जनाएको छ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने अपेक्षा गरिएको छ । ‘मीट’को नेपाली अर्थ भेट्नु भन्ने हुन्छ । सबै भेट हुने प्लेटर्फमको रुपमा यसलाई विकास गरिएको नेपाल टेलिकमले बताएको छ ।

टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप एकीकृत सञ्चार प्रणालीको रुपमा विकास गर्न यो सेवाको सुरुवात गरेको हो । कम्पनीका मोबाइलमार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी रजिस्टर गरेर यो सेवा उपभोग गर्न सकिनेछ ।

टेलिकमले यही सेवा मार्फत ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिने कम्पनीले जानकारी दिएको छ । यो सञ्जालमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम अन्य सेवाहरु समेत उपलब्ध गराउँदै जाने टेलिकमको लक्ष्य छ ।

मीटको सुरुवात गर्दै मन्त्री राईले टेलिकमले नयाँ-नयाँ सेवा सुरुवात गरेकोमा खुसी व्यक्त गरे । टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ सेवा पनि उपलब्ध गराएको उल्लेख गरे । १० करोड रुपैयाँ खर्च गरेर झण्डै दुई बर्ष लगाएर यो संजाल निर्माण गरिएको हो । (अनलाइनखबरबाट) 

प्रकाशित मिति: Monday, January 18, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।