किरातीहरूको नयाँ वर्ष ५०७६ आजदेखि सुरु

२०७२ माघ १। किराती समुदायले मान्दै आएको किरात यले सम्वत्अनुसार आजदेखि नयाँ वर्ष ५०७६ सुरु भएको छ । 

किराती राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किरातीहरुले यले सम्वत मान्दछन् । यले नयाँ सम्वतको अवसरमा आज किरात राई यायोक्खा केन्द्रीय समितिले केन्द्रीय समितिको कार्यालय कोटेश्वर काठमाडौंमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको यायोक्खा केन्द्रीय महासचिव दिवस राईले बताए । 

काठमाडौंका साथै विभिन्न स्थानमा राई, लिम्बू, याक्खा र सुनुवारले नयाँ वर्ष तथा माघे संक्रान्ति चाड मनाइरहेका छन् । माघे संक्रान्ति किराती, मगर, थारु लागतयका आदिवासी समुदायले धुमधामसँग मनाउँदै आएका छन् । 

आदिवासीहरुले कृषि युग सुरुवात भएको सम्झना गर्दै वनतरुल पोलेर तेलसँग मिसाएर टिका लगाउने, तरुल, सेलरोटी बनाएर खाने गर्दछन् । माघे संक्रान्ति किरातहरुसँगै पश्चिमका मगर र तराईका थारु आदिवासीहरुले भव्य रुपमा मनाउने गर्दछन् । 

आदिवासी जनजातिहरुले मान्ने सांस्कृतिक चाड माघे संक्रान्तिको अवसरमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेखि भण्डारी, उपराष्ट्रपति नन्दकुमार पुनले विज्ञप्ति प्रकाशन गरेर शुभकामना दिएका छन् । 

किरात यले सम्वत् माघ १ गते सुरु हुने भनिए पनि हाल आएर किरातीहरुले यसमा सुधार ल्याउन पहल गरिरहेको देखिन्छ। विक्रम सम्वत् अवैज्ञानिक भएकोले माघ १ गते नै नयाँ वर्षको पहिलो दिन मान्दा पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने कक्षसँग मेल नखाने भएकोले माघ १ गतेभन्दा केही दिन अगाडि नै नयाँ वर्ष सुरु हुने भएको क्यालेण्डर सार्वजनिक गरेका छन्। प्रस्तावित क्यालेण्डर विक्रम सम्वत भन्दा वैज्ञानिक पनि भएको बताइएको छ । (सौजन्य: इसमता) 


प्रकाशित मिति: Friday, January 15, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।