प्रधानमन्त्रीले जनजातिलाई राहु र केतु सम्झनुभयो

  • गणेशकुमार राई । 
‘प्रधानमन्त्रीले जनजातिलाई राहु र केतु सम्झनुभयो’ : थापा  
२०७२ माघ २।  मगरहरुको महान् चाड माघे सकरातीको अवसर पारेर राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता गंगाबहादुर थापाले जनजातिहरु सूर्य ग्रह भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीले राहु र केतु सम्झिएको बताए । 
तस्वीर : गणेशकुमार राई

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीसँग आक्रोश व्यक्त गर्दै थापाले भने, ‘हामीले अधिकार माग्यौं । तर, प्रधानमन्त्रीले आफूलाई शान्तसँग बस्न नदिने राहु र केतु सम्झनुभयो ।’ 

उनले मगर समुदायको तर्फबाट पहिचानसहितको मगराँत राज्यको माग गर्दै धर्मनिरपेक्षताको कुनै व्याख्या गर्न नहुने र संघीय राज्यहरुको हरेक निकायमा पूर्ण समानुपातिक समावेशी प्रणाली लागु गरिनुपर्नेमा जोड दिएका थिए ।

थापाले पहिचानसहितको राज्यहरु प्रदान गर्दा कुनै पनि हालतमा देश नटुक्रने जिकिर गर्दै यदि त्यसो हुँदा देश टुक्रिए टुँडिखेलमा ‘मगराँत स्वायत्त राज्य जिन्दावाद !’ लेखिएको झण्डाको डण्डीमा झुन्ड्याएर फाँसी दिनसमेत चुनौति दिएका थिए ।

ओलीको जवाफ, ‘मगरहरु राहु र केतु होइनन्, मेरा दाइना हुन्’

निर्धारित समयभन्दा निकै ढिला आइपुगेका प्रधानमन्त्री हतारोमा थिए । अरुको पालोलाई मिच्दै उनले मन्तव्यका क्रममा थापालाई जवाफमा भने, ‘मगरहरु मेरा लागि राहु र केतु होइनन् । जनजातिहरु मेरा लागि राहु र केतु होइनन् । उनीहरु मेरा दाइना हुन् । दाइना भएकैले म प्रधानमन्त्री भएको हुँ । उपराष्ट्रपति मगर, सभामुख मगर, मन्त्री मगर, राज्यमन्त्री मगर । अनि कसरी राहु र केतु ? मगरहरु मेरा दाइना हुन्, म मगरहरुको दाइना हुँ ।’

आयोजकबीच भने कार्यक्रममा केपी ओलीलाई प्रमुख अतिथि ल्याउने कि नल्याउने ? भन्ने सन्दर्भमा विवाद रहेको थियो । ओलीलाई प्रमुख अतिथि बनाउने भएपछि बैठकमै एक महिलाले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती महिलाको प्रतिक्रिया यस्तो रहेको थियो :

‘सिंहदरबारको दशैं पूजा, पशुपतिनाथको भित्री कोठामा, सत्यनारायणको पूजामा, भागवतगीतापाठ गर्दा, रुद्री लगाउँदा अनि जनै फेर्दा हामीलाई प्रमुख अतिथि बनाउँछन् ? बनाका छन् कहिले ? माघे सकरातीमा ओलीलाई प्रमुख अतिथि बनाउने मगर संघका २–४ जना नाइकेहरुलाई जनै देऊ ।’

‘तीरले लाग्यो, मगराँत पाइने भो’
ओलीले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै धनुले वाण हान्दा ‘मगराँत’ लेखिएको फ्लेक्समा लागेपछि ‘होऊ… तीरले लाग्यो, अब मगराँत जसरी नि पाइन्छ’ भन्दै ग्राउन्डबाट हुटिङ भएको थियो ।

हजारौं मगर समुदायको उपस्थिति रहेको टुँडिखेलमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । युवायुवतीहरु खैंजडी र मादल बजाउँदै कौडा नाच्नमा व्यस्त देखिएका थिए । (इसमताबाट) 

प्रकाशित मिति: Saturday, January 16, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।