नयाँ संविधानले विभेद हटायो भनेर झुठको खेती नगरौं –उपाध्यक्ष राई

२०७२ माघ ३ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा पहिचान र अधिकार विषयमा छुटेका बुँदा संशोधनमार्फत् सम्बोधन गर्ने बताएका छन् । 

‘समाजमा व्याप्त विभेदको अन्त्य भएको छ,’ मुलुक विविधताको जगमा निर्माण भएको उल्लेख गर्दै मन्त्री राईले भने, ‘अब पहुँच र प्रतिनिधित्वका सवाल अनि अधुरा पक्ष छन् त्यसलाई संविधान संशोधनमार्फत् सम्बोधन गरिने छ ।’ 

किरात येले संवत् ५०७६ नयाँ वर्षका अवसरमा वाम्बुले राई समाज (वामरास) संस्थाको ललितपुरमा इमाडोलस्थित नवनिर्मित भवन उद्घाटन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । 

मन्त्री राईले राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापित भइसकेको र भरखरै जारी संविधानबाट संस्थागत गर्ने पहल अघि बढाएको उल्लेख गरे । ‘मुलुकका सबै जातजाति भाषाभाषीको भाषा, लिपि, धर्म, संस्कृति परम्पराको संरक्षण संवर्द्धन र राजनीतिक अधिकार सुनिश्चित गराउने पक्षमा सरकार सकारात्मक छ,’ नयाँ संविधानको कार्यान्वयनमा सर्वसाधारणसमेत सकारात्मक बन्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘हामीले गरेका सांस्कृतिक, भाषिक र राजनीतिक आन्दोलनलाई यही संविधानले सुनिश्चित गर्ने हो ।’

‘तर स्वाधिन मुलुकको स्वाभिमानलाई अक्षुण्ण राखेर कुनै सौदबाजी गरिएको छैन,’ नयाँ संविधान जारी गर्ने प्रक्रियामा अनेखाले आग्रह, पूर्वाग्रह र घुँडा टेकाउने दबाब आएको उल्लेख गर्दै मन्त्री राईले भने, ‘अबको एजेन्डा राष्ट्र निर्माणको मात्र हो । भारतले गरेको अघोषित नाकाबन्दी अब छिट्टै अन्त्य हुनेछ भने मुलुकको राजनीतिक आन्दोलनलाई वार्ता र संवादमार्फत् चाँडै निकास पाउने छ ।’

समारोहका विशेष अतिथि किरात राई यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राईले जातीय पहिचानमात्र नभई राजनीतिक अधिकारलाई संविधानले सुनिश्चित गर्न नसकेकोले जनता माथि झुठको खेती गर्न नहुने बताए ।

समाजका अध्यक्ष हिराकाजी राईले किराती वाम्बुले समुदायमा बोलिने भाषा, परम्परागत मुन्धुम संस्कार संस्कृति, इतिहास, शिक्षा, स्वास्थ्य, जनचेतनाका क्रियाकलापलाई संस्थागत रुपमा संरक्षण गर्न भवन निर्माण गरिएको बताए ।

‘सामाजिक पहिचान जोगाउन समुदायका सदस्यहरुको सहयोगमा भवन निर्माण गरेका छौं,’ करिब तीनआजा क्षेत्रफलमा साढे चारतले भवन निर्माण सम्पन्न भएको जानकारी दिंदै उनले भने, ‘अबदेखि भाषा, संस्कृति, लिपिको प्रवद्र्धन गर्न र नयाँ पुस्तामा चेतनामूलक क्रियाकलापहरु सञ्चालन हुनेछ । र हामी आफ्नोपनलाई जोगाउने छौं ।’

उक्त ‘वामरास भवन’ ७५ लाख रुपैयाँ लागतमा सम्पन्न भएको निर्माण समितिका संयोजक तिखबीर राईले जनाए । त्यस अवसरमा भवन निर्माणमा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले राई भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ ।

वाम्बुले राईहरुको मूल थलो ओखलढुंगाको दक्षिण क्षेत्र, खोटाङको पश्चिम तथा उदयपुर र सिन्धुलीमा रहेको छ । बसाइँसराइको क्रममा भोजपुर, सुनसरी, इलाम, झापा, मोरङ, धनकुटा, पाँचथर, सर्लाही, सिरहा, सप्तरी, काठमाडौं, ललितपुरमा बसोबास रहेको छ । (इसमताबाट) 

प्रकाशित मिति: Sunday, January 17, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।