गफ मात्र हान्नेहरुको हातमा डाडु-पन्यू, काम गर्नेहरू ईमिग्रेन्ट वर्कर ! अनि कसरी हुन्छ देश विकास?

विक्रम सुब्बा।
२०७३ बैशाख ६। कुनै पेसेवरले काम नगरे “अनप्रोफेश्नल” भनेर भद्दा गाली गरिन्छ । जंगलमा स्कंकलाई घिनलाग्दो जनावर ठानिन्छ र कोही उसको सामु परे खप्नै नसकिने अत्यन्तै गनाउने गन्ध छरेर भगाउने गरिन्छ । त्यस्तै कार्यालयहरूमा ‘अनप्रोफेसनल’ भन्नाले देख्दै काम ठग्न बसेको मानिस भन्ने बुझिन्छ । यो गाली गर्दैगर्दा गाली गर्नेको दिमागमा के कस्तो मानिसको छवि हाजिर हुन्छ त ? सायद निम्नअनुसार हुन सक्छन् –

१) काम गर्ने जिम्मा लिएको तर समयमा काम नगर्ने (समय-चोर) मानिस ।
२) घुमाएर घुस (या जाँड-पानी या कुनै फेवर) माग्ने मानिस ।
३) आफ्नो जातको वा “आफ्नो मान्छे”को काम फटाफट गर्ने (रेसिष्ट) तर अरुको काम भने झुलाउने मानिस ।
४) जुन कामको जिम्मा दिइएको हो सो कामको निम्ति अयोग्य मानिस ।
५) दिइएको कामप्रति उसको रुचि पटक्कै नभएको, अलिक दिनको निम्ति हल्लिन मात्र आएको मानिस ।
६) एक प्रोफेसनलले कसरी काम गर्छ भन्नेबारे जिरो ज्ञान भएको मानिस ।

व्यापारीहरू, गैससवालाहरू, कानुनचीहरू, शिक्षक-प्रोफेसरहरू, डाक्टर-इन्जिनियरहरू, पुलिस, सैनिक, मन्त्रीहरूले जे जसरी काम सम्पादन गरिरहेको देखिएको छ के त्यो प्रोफेसनल किसिमको छ ? 

७) त्यस्तो मानिस, जसलाई राम्रो बोल्न र प्रोफेसनल किसिमले व्यवहार गर्नै आउँदैन । 
८) जिम्मा लिएको कामको व्यवस्थापन गर्न नजान्ने अयोग्य मानिस ।
९) सामन्तवादी चिन्तन भएको मानिस, जसले आफूलाई जनताको सेवा गर्न बसेकोभन्दा पनि “म जनताको मालिक हुँ” भनी ठान्छ ।
१०) मुलुकलाई बर्बाद गर्न तलब दिएर राखिएको ठूलाबडाको मानिस ।
११) घुस पाउने हो भने देशै बेच्न तैयार होलाजस्तो मानिस आदि ।
कसरी छु्ट्याउने : को प्रोफेसनल र को अनप्रोफेसनल ?

एउटा डाक्टरले सुत्केरी बेथा लागेको महिला हस्पिटलको गेटमा आइपुगेदेखि विदा दिएर हस्पिटलको गेटबाट बाहिर पठाउनेसम्म कुन कुन चरणमा के के काम गर्दै जानुपर्छ भनेर अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार काम गर्नुपर्छ भनेर तोकिएको छ भने –

प्रोटोकलअनुसार काम गर्ने सीप भएको, ठीक समयमा ड्यूटीमा आउने र काम पनि गरिदिने प्रोफेसनल । र, सो अनुसार काम नगर्ने अनप्रोफेसनल ।

त्यस्तै गरेर सिडिओ कार्यालय वा जिविस वा नगरपालिका वा गाविसमा वा कुनै पनि जिल्लाको अड्डामा नागरिक बडापत्रअनुसार काम गर्ने सीप पनि भएको, ठीक समयमा काम पनि गरिदिने प्रोफेसनल । र, सो अनुसार काम नगर्ने अनप्रोफेसनल ।

यीबाहेक एउटा प्रोफेसनलमा निम्न कुरा पनि हुनुपर्छः

पार्टीहरूले दिनदिनै ढाँटेर काम गर्छन्, अरुलाई उल्लु र आफू मात्र ठीक ठानेर चल्छन्, सम्पतिको विवरण ठिकसँग दिँदैनन्, आफ्नै विधान र घोषणा पत्रलाई पनि बंग्याउँछन् । यस्ता पार्टीलाई प्रोफेसनल भन्न सकिन्छ ?
१) जति बजे कार्यालयमा आउने, काम गर्ने, खाना-खाजा खान जाने र कार्यालय बन्द गर्ने भनी तोकिएको छ सोही अनुसार गर्ने मानिस प्रोफेसनल हो । र, ढिलो कार्यालय आउने, काम गर्ने समयमा गफ गरेर बस्ने, जिस्केर बस्ने, स्वेटर बुनेर बस्ने, चिया खाएर बस्ने, फोनमा लामोलामो कुरा गरेर बस्ने, खाजा खान गएर तोकेको समयमा कुर्सीमा नफर्कने अनप्रोफेसनल हो ।

२) सन्चो छैन भने कार्यालय नजाने वा विदामा बस्ने, कार्यालयमा सेवाग्राही र कर्मचारी साथीहरुसँग हँसिलो भएर बोल्ने-काम गर्ने प्रोफेसनल । र, कार्यालय गइसकेपछि पनि ‘आज सन्चो छैन’ भनेर झोक्राएर बस्ने, ठुस्स परेर अँध्यारो अनुहार लगाएर घिसेपिठे किसिमले काम गर्ने अनप्रोफेसनल ।

३) तोकिएकोजस्तो सफा चट्ट र सालीन किसिमको पहिरन लगाउने, टेबल-कम्प्युटर-कुर्सी-कोठा-दराज-ट्वाइलेट सफा राख्ने प्रोफेसनल । र, नमिलेको वा उच्छृंखल पहिरन लगाउने, फोहोर कोठा, फोहर टेबल-कुर्सी र फोहर ट्वाइलेट, फोहर कोठा-दराज राखेर गनाउने ट्वाइलेटसँगै गनाउने मोजाको गन्ध छर्दै गनाउने खैनी खाँदै वा चुरोट तान्दै गनाउने सास फेर्दै बस्ने अनप्रोफेसनल ।

४) सफा दाँत, सफा हत्केला र नङहरू, सफा देखिने जुत्ता, चिटिक्क टोपी वा सारी-चोलो, सफा झोला वा ब्याग, खाने पानी राख्ने सफा जार-ग्लास, दारी-जुँगा मिलाएर काटेको, कपाल सुहाउँदिलो गरी मिलाएको र फुर्तिलो देखिएर बसेको प्रोफेसनल । पहेँला फोहिरी दाँत-नङहरू, फोहोरी जुत्ता, कच्याक्कुचुक्क टोपी, थोत्रो झोला वा ब्याग, घिनलाग्दो पानीको जार र ग्लास, जिङरिङ्ग दारीजुँगा भएको, हेर्दै अल्छीलाग्दो भएर बस्ने अनप्रोफेसनल ।

५) आफ्ना सहकर्मीलाई सहयोग गर्न तत्पर, कार्यालयमा कुनै पनि अप्ठेरो आइलागे समाधान गर्न सहकर्मीहरूसँग छलफल गरेर समाधान गर्ने प्रोफेसनल । र, आफ्ना सहकर्मीलाई सहयोग नगर्ने, आफूले जानेको कुरा शेयर नगर्ने बरु हतियारको रुपमा दुरुपयोग गर्ने, अप्ठेरो आइलागे चुपचाप बस्ने वा भाग्ने समाधान गर्न नखोज्ने अनप्रोफेसनल ।

फेल भएकाले नेपालको विकास कसरी गर्लान् त ? गफ मात्र हान्नेहरुको हातमा डाडु-पन्यू, काम गर्नेहरू ईमिग्रेन्ट वर्कर ! अनि कसरी नेपालमा विकास हुने ?

६) हिजो राति सिरियलमा के भयो, आज बिहान खानामा कस्तो अचार खाइयो, बाटोमा आउँदा कसले फोन गरेर के के भन्यो भने जस्ता कार्यालयको कामसँग असम्बन्धित कुरा नगरी फटाफट आफ्नो ड्यूटीको काम गर्ने प्रोपेशनल । नत्र खत्तम ।
७) मानिसहरूसँग सकारात्मक र उत्साहका कुरा गर्ने प्रोफेसनल । र, जो जहिले पनि नकारात्मक टिप्पणी मात्र गर्ने, निराशाका कुरा मात्र गर्ने अनप्रोफेसनल ।

८) सानो-सानो गल्ती भए “गल्ती भयो सरी” “यस्तो गल्ती भएकोमा म लज्जित छु”’ भनेर स्वीकार गर्ने र त्यसलाई सुधार्ने प्रोफेसनल । गल्ती भए पनि “आफू ठीक” भनेर अडान लिने, गल्तीलाई सच्याउन नचाहने अनप्रोफेसनल ।

९) सहकर्मीहरूसँग काम गर्दा अनेक सवाल (Issues) सामुन्ने आउँछन् । यस्तो बेलामा जहिले पनि सहीलाई सही र गलतलाई गलत भनेर नम्रतापूर्वक आफ्नो अडान लिने प्रोफेसनल । र, गलत कुराको पक्षपोषण गर्ने र ढिपी कस्ने अनप्रोफेसनल ।

१०) हरेक कुरा नढाँटी बोल्ने, नजानेको कुरा जान्दिनँ भन्ने, खोजेर बुझेर बताउने तर गलत कुरा नगर्ने प्रोफेसनल हो । र, ढाँटेर छलेर बोल्ने, आफ्नो बायोडाटामा नगरेका कामको सूची राक्ने अनप्रोफेसनल हो ।

११) जोसँग जति कुरा शेयर गर्नुपर्ने हो ठिक्क शेयर गर्ने, चिया पसलमा जस्तो फुक्काफाल गफ नगर्ने प्रोफेसनल हो । र, जो चाहिएको भन्दा बढी गफ दिन्छ त्यो अनप्रोफेसनल हो ।

प्रोफेसनलिज्मको सिद्धान्तले के भन्छ ?

सन २००२ मा अध्ययन गरिए अनुसार प्रोफेसनलहरू सृजनशील हुँदैनन् । उनीहरूलाई त निर्दैशिका, प्रोटोकल, नियमले जे जे भनेको छ त्यो मात्र गर्न आउँछ । किनभने तोकेको भन्दा बढी सृजनशील हुन थाले उनीहरूलाई नियम कानुनले बाँध्छ । त्यसैले उनीहरू ईन्डक्ट्रिनेशन गरिएको अनुसार काम गर्ने मात्र हुन् । उनीहरुले सृजनशील हुने गुन्जायस छैन ।

नेपालको सन्दर्भमा प्रोफेसनलिज्मको विडम्बना

नेपालका सबैजसो राजनीतिक पार्टीहरूले दिनदिनै ढाँटेर काम गर्छन्, अरुलाई उल्लु र आफू मात्र ठीक ठानेर चल्छन्, सम्पतिको विवरण ठिकसँग दिँदैनन्, आफ्नै विधान र घोषणा पत्रलाई पनि बंग्याउँछन् । यस्ता पार्टीहरूलाई प्रोफेसनल भन्न सकिन्छ ?

त्यस्तै सरकारी कर्मचारीहरू संगठन खोलेर नेतागिरी गर्छन्, नारा-जुलुस गर्छन् तर काम गर्ने कार्यालयमा नागरिक बडापत्र अनुसार काम गर्दैनन्, प्रमाण पुगे पनि आफ्नो मान्छे होइन भने झुलाउँछन्, दिउँसै घुस लिन्छन् । यस्ता कर्मचारी प्रोफेसनल हुन सक्छन् ?

त्यस्तै व्यापारीहरू, गैससवालाहरू, कानुनचीहरू, शिक्षक-प्रोफेसरहरू, डाक्टर-इन्जिनियरहरू, पुलिस, सैनिक, मन्त्रीहरूले जे जसरी काम सम्पादन गरिरहेको देखिएको छ के त्यो प्रोफेसनल किसिमको छ ? छैन । जाँचको नापोलाई ० देखि १० लाई मेजरिङ रड मान्ने हो भने २-३ भन्दा बढी स्कोर दिन सकिन्न । अहिले अल्फाबेटीकरणको चलन सुरु भएको छ क्यारे । त्यसमा ए देखि (ए प्लस र ए, बी प्लस र बी, सी प्लस र सी, डी प्लस र डी, ई प्लस र ई) ई सम्म छ क्यारे । डी पछिकाहरू फेल सरह हो क्यारे । यो प्रणालीअनुसार पनि डीभन्दा बढी दिन सकिन्न ।

अर्थात फेल भएकाले नेपालको विकास कसरी गर्लान् त ? गफ मात्र हान्नेहरुको हातमा डाडु-पन्यू, काम गर्नेहरू ईमिग्रेन्ट वर्कर ! अनि कसरी नेपालमा विकास हुने ? (इसमताबाट साभार)

प्रकाशित मिति: Monday, April 18, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।