मलेसियामा किरात पुमा राईहरुको प्रवाशी जीवन : एक झलक
रोजगारीको प्रमुख गन्तव्यको रुपमा चिनिने समुद्रपारीको मुलुक मलेसियामा किरात पुमा राईहरुको विशिष्ट कथा छ । मलेसियामा बैधानिक र अबैधानिक गरेर करिब ७ लाखको हाराहारीमा नेपाली युवाशक्ति रहेका छन् । मलेसियामा नेपालीहरुको आफ्नै तरिकाको छुट्टा छुट्टै कथा रहे पनि किरात पुमा राईहरुको कथा फरक किसिमकोे पाइन्छ ।
हालसालै मलेसियामा किरात पुमा राई तुप्खाबाङ्खाला मलेसियाको गठन भएको छ । संस्थाका अध्यक्ष सुमन पुमाकाअनुसार मलेसियामा धेरै राज्यहरु छन्, जसमध्ये जोहोबारु, पेनाङ्, क्वालालम्पूर, इपो, सेलेङ्गोर राज्यहरुमा पुमा राईहरुको कति बसोबासो रहेको र कस्तो अवस्थामा प्रवाशी जीवन बिताइरहेका छन् भन्ने जानकारीका लागि तथ्याङ्क संकलन गर्ने भएको छ ।
पूर्वी नेपालको खोटाङ, उदयपुर, सुनसरी, मोरङ्, धनकुटा र झापामा पुमा राईहरुको बाक्लो बसोबासो पाइन्छ । बसाइसराईको क्रममा काठमाण्डौ, ललितपुर र भक्तपुरमा पनि पुमाराईहरुको बसोबास पाइन्छ । बिभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा मलेसियामा आएका पुमाहरु हरेक क्षेत्रमा कार्यरत रहेको पाइन्छ । किरात पुमा राई तुप्खाबाङ्खाला मलेसियाका उपाध्यक्ष अम्वरबहादुर पुमा राईले भन्नुभयो, ‘हालसालैको संकलित तथ्याङ्कका अनुसार पुमा राईहरु मलेसियामा ६० प्रतिशत भन्दा बढी सुरक्षागार्ड (सेक्यूरिटी)मा कार्यरत छन्’ । त्यस्तै हरेक तह र तप्का तथा हरेक क्षेत्रमा पुमा राईहरु यहाँ कार्यरत रहेको सचिव लोकेन पुमा बताउँछन् । उनकाअनुसार मलेसियामा धेरैजसो सुरक्षागार्ड त्यसपछि उद्योग र कल कारखानामा कार्यरत रहेको पाइन्छ भने होटल, ब्यापार, र रेमिट्यान्स फर्म समेत सँचालन गरी स्वावलम्वी बनेका पुमाराई यहाँ छन् । बहुआयामिक प्रतिभा भएका पुमाराईहरु साहित्य, पत्रकारिता, लेखन तथा चित्रकलामा पनि यहाँ बस्ने पुमा राईहरु अगाडि रहेका छन् । बहुमुखी कोणबाट हरेक क्षेत्रमा पूर्ण रहे पनि यहाँ सङग्ठित भएर बस्न गाह्रो भएको छ । दुःखको कुरा यहाँ प्रवाशी जीवनको क्रममा जस्तै परिस्थितिमा पनि आफ्नो ड्युटी गर्नुपर्ने भएकोले चाहेको समयमा रोजगार कम्पनीले बिदा नदिदा धेरै दुख झेल्नु परेको उनीहरु बताउँछन् ।
जोहोरबारु राज्यमा कार्यरत कविन पुमाकाअनुसार मलेसिया धेरै ठूलो देश हो । यहाँका हरेक कार्यालयहरु क्वालालम्पूरमा छन् र हालै गठित किरात पुमा राई तुप्खाबाङ्खाला मलेसियाको कार्यालय पनि यही रहेको छ । हामी तुप्खाबाङखालाको भेला र बैठकहरुमा उपस्थित हुन करिब ५ सय किलोमीटर टाढा रहेकोले क्वालालम्पुर पुग्न असमर्थ हुन्छौ । यही लामो दुरिको कारण क्वालालम्पुर पुग्न हामीले एक दिनको विदा लिनु पर्ने हुन्छ । यसकारण यहाँ कार्यरत पुमा राईहरु एकठाउँ भेला भई हरेक तवरले प्रवाशी नेपालीको उन्नतिको बारेमा छलफल गर्न सकिएको छैन ।
पुमा राईहरु आफ्नो भाषा, सँस्कृति र पहिचानको लागि ‘जव मानिसमा चेतनाको विकास हुन्छ, तव उसको आफ्नो पहिचान खोज्न थाल्छ’ भन्ने मूल नाराको आत्मसात गर्दैे किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रिय कार्य समिति ललितपुरको वि.सं. २०६० मा भएको थियो । संस्थाको सम्बन्धित कार्यक्षेत्र नेपाल अधिराज्यभर र विश्वभर छरिएर बसेका अन्य देशका पुमाराईहरुसँग सहकार्य, सहयोग गर्दै जानेछ भन्ने बिधान २०६४ को दफा ४ अनुसार मलेसियामा पनि पुमा राईहरुको सहकार्य अगाडि बढाउँने उद्देश्यले किरात पुमा राई तुप्खाबाङ्खाला मलेसियाको हालै स्थापना गरी सम्पूर्ण किरात पुमा राईहरुको हकहितको लागि सहअस्तित्व रक्षा र बहुपक्षीय उत्थानमा जोड दिदै यस संस्थाको यहाँ आफ्नो कार्य अगाडि बढाएको छ ।
प्रकाश ‘पुष्पक’ राई पुमा
क्वालालम्पुर, मलेसिया ।
प्रकाशित मिति:
Monday, September 01, 2014
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।