आय–व्यय विवरण नबुझाउने बहालवाला मन्त्रीको पार्टीसहित १५ पार्टीहरु खारेज

२०७२ फागुन २३। लगातार तीन आर्थिक वर्षको आय–व्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगरेको भन्दै निर्वाचन आयोगले खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको पार्टी खारेज गरेको छ । आयोगले सिंहको समाजवादी जनता पार्टीलाई खारेज गर्ने निर्णय गरेको हो । 

मन्त्री सिंहसँग यस विषयमा प्रतिक्रिया लिँदा उनले निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार मिचेको बताए । उनले यसबारे आफूलाई आधिकारिक पत्र नआएको बताउँदै  आधिकारिक पत्र आएपछि आउँदो कदम चालिने बताए । 

आयोगले निर्धारित समयभित्र आफ्नो भनाइ पेश नगर्ने तथा लगातार तीन आर्थिक वर्षको आय–व्यय विवरणको वार्षिक प्रतिवेदन समेत पेश नगर्ने १५  राजनीतिक दलहरुलाई निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गर्ने निर्णय गरेको छ ।

खारेज भएका पार्टी निम्न छन्ः

– समाजवादी जनता पार्टी
– जनता दल युनाइटेड
– जनता पार्टी नेपाल
– नेपाली जनता पार्टी
– नेपाल जनभावना पार्टी
– स–शक्ति नेपाल
– नेपाल राष्ट्रिय लोकतान्त्रिक दल
– नेपाल राष्ट्रिय जनकल्याण पार्टी
– जनमुक्ति पार्टी नेपाल
– शिव सेना
– लिवरल समाजवादी पार्टी
– नेपाल साम्यवादी दल
– नव नेपाल प्रजातान्त्रिक दल
– संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी
– समाजवादी पार्टी

दर्ता खारेज हुने निर्णय भएका दलहरुले प्राप्त गरेको नाम, चुनाव चिन्ह र झण्डा खारेज गर्ने निर्णय भएको मितिले एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिजमा राख्ने आयोगले जनाएको छ ।

सर्वसाधारणको जानकारीका लागि आयोगले दल दर्ता खारेजीसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता वासुदेव गुरागाईंले बताए ।

त्यसैगरी पाँचवटा दलले तीन आवको निर्धारित समयभन्दा पछि विवरण बुझाएका, ५० वटाले दुई आवको वार्षिक प्रतिवेदन पेस नगरेका र ६५ वटा दलले एक आवको प्रतिवेदन पेस नगरेको उनले बताए ।

निर्धारित समयभित्र एक र दुई आवको आयव्यय विवरण पेस नगर्ने र आफ्ना भनाइ तीन आवसम्म पेस नगर्ने राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ बमोजिम कारबाही हुने प्रवक्ता गुरागाईंले जानकारी दिए । (रातोपाटीबाट)

प्रकाशित मिति: Sunday, March 06, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।