सर्वसाधारणलाई ठगी गर्ने सहकारी संचालक पक्राउ

२०७२ मंसिर २३ । ठगी मुद्धामा फरार रहेका मकवानपुर दामन गाविस–७ स्थायी वतन भई काठमाडौँ अनामनगर डेरा गरी बस्ने ३० बर्षीय मिन बहादुर बस्नेतलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला अदालतको २०७१ जेठ २७ को फैसला अनुसार ३२ लाख ९३ हजार ८ सय २४ जरिवाना र ३ बर्ष कैद सजाय हुने ठहर भई फरार रहेका बस्नेतलाई पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतको आदेश बमोजिम कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।

मकवानपुर जिल्ला दामन गाविस–५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको उपाध्यक्ष रहेका बस्नेत समेतले २०६२ साल देखि विभिन्न प्रलोभनहरु देखाई १ हजार १ जना सर्वसाधारणबाट बचत भएको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगी गरेका थिए ।

संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेतको कार्य नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको थियो । त्यस्तै यस अघि सोही मुद्दाका प्रतिबादीहरु मध्ये तुलसी कुमारी बस्नेतलाई २०७२ असार ७ गते अनामनगरबाट र हरि बस्नेतलाई २०७२ असार ८ गते नयाँ नैकापबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Wednesday, December 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।