नाकाबन्दीको विरोधमा प्रदर्शन

ऋषि राई, कटारी (उदयपुर) । 
२०७२ मंसिर १८ । भारतीय नाकाबन्दीको विरोधमा उदयपुरमा पनि विरोध प्रदर्शन गरिएको छ । शुक्रबार उदयपुरको कटारीमा देशभक्त नेपाली नागरिकहरुको समूहले विरोध र्‍याली प्रदर्शन गरेको हो । नाकाबन्दी, दण्डहिनता र अराजकताको विरोधमा गरिएको प्रदर्शनमा हजारौंको संख्यामा नागरिकहरु तथा विद्यार्थीहरुले सहभागीता जनाएका थिए । 

नाकाबन्दी, दण्डहिनता र अराजकताको विरोध गरौं, सार्वभौम नेपाली राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, हिमाल पहाड तराई कोही छैनौ पराई जस्ता नारा लगाउँदै गरिएको नगर परिक्रमामा उदयपुरलाई कुनै पनि प्रदेशमा नटुक्राउन पनि आग्रह गरिएको थियो । आपुर्ति व्यवस्था सहज गर, उत्तरी नाका खुल्ला गर भन्दै गरिएको नाराबाजीमा सिमा सुरक्षा बल गठन गर्न समेत आग्रह गरिएको थियो ।

र्‍यालीमा सहभागीहरुले तत्काल समस्या समाधान गर्न तर्फ सरकार र भारतीय दुवै पक्षलाई दबाब दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताएका थिए । र्‍यालीको गोलपार्कमा समापन गर्दै समाजसेवी बयोबृद्ध डाकबहादुर थापाले भारतले खराब छिमेकीको व्यवहार गरेको बताए । र्‍यालीमा कटारी नगरपालिकामा रहेका सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

लामो समयदेखिको मधेसमा जारी आन्दोलन र भारतिय अघोषित नाकाबन्दीले पहाडमा समेत जनजीवन कष्टकर बन्दै गएको भन्दै उदयपुरमा पनि प्रदर्शन गरिएको हो । र्‍यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक तथा स्वतन्त्र नागरिकहरुको स्वतस्फुर्त सहभागीता रहेको थियो ।







प्रकाशित मिति: Friday, December 04, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।